आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेशस) प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्ज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेशस) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
महाकाली पक्की पुलले जोडेको रोजगारी, मनग्य आम्दानी
बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार थिए । उनी फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउथे । हाल कृष्णदत्तको दैनिकी फेरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माणका साथै दोधारा चाँदनीको ग्रामीण क्षेत्र सडक सञ्जाल पुगेपछि उनी रोजगारीमा जोडिएका छन् । ‘पक्की पुल बनेपछि अटो किनेर चलाइरहेको छुँ, राम्रो आम्दानी छ’, उनले भने, ‘दोधारा चाँदनीका साथै महेन्द्रनगरसम्मै यात्रु बोकिन्छ ।’ महाकाली पक्की पुलसँगै दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहसम्मको पहुँ चमार्गमा पर्ने जमिनको मुआब्जा पाएपछि कृष्णदत्तको दैनिकी फेरिँदै गएको छ । मुआब्जाबापत पाएको रकमले उनले घर निर्माण गरेका छन् । त्यहीँ घरमा एउटा किराना पसल थाप्नुभएको छ, दुई भैँसी पालिरहेका उनी दूध पनि बेच्छन् । ‘पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ । रोजगारी नहुँदा जीविकोपार्जन गर्न हम्मेहम्मे पथ्र्यो’, उनले भने, ‘हाल घरमै रोजगारी पाएका छौँ ।’ उनका अनुसार पाँच कठ्ठा जमिनको रु ४० लाख मुआब्जा पाएका थिए । दोधारा चाँदनी–१ मा अहिले उनको सात कठ्ठा जमिन बाँकी छ । अटोबाट यात्रु बोकेर दैनिक रु दुई हजार आम्दानी हुने गरेको कृष्णदत्तको भनाइ छ । ‘सहकारीलाई दूध बेच्छौँ । सडक बनेपछि घरमै आएर रु ५० मा सहकारीले दूध लैजान्छन्’, उनले भने। महाकालीमा पक्की पुल निर्माण भएपछि कृष्णदत्तसँगै दोधारा चाँदनीका १० जनाले अटो किनेका थिए । अहिले दोधारा चाँदनीमा अटो व्यवसाय गर्नेको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ । दोधारा चाँदनी–१ का धनबहादुर बम चार वर्षअघिसम्म काम गर्न भारत जान्थे । केही वर्ष भारतमा काम गरेका उनले कोरोना महामारीका बेला घरमै बाख्रापालन गरे। त्यतिबेलासम्म दोधारा चाँदनीको ग्रामीण सडक कालोपत्र भइसकेको थियो । त्यसपछि चिया नास्ताको होटल व्यवसाय थालेका उनले मनग्य आम्दानी गर्दै आएका छन् । ‘यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे’, उनले भने, ‘पक्की पुलसँगै कालोपत्र बाटो बनेपछि मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।’ महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको मात्रै छैन । पुलले यहाँका स्थानीयलाई रोजगारीको ढोका पनि खोलेको छ । दोधारा चाँदनी झोलुङ्गे पुलमा दुई पाङ्ग्रे सवारीसाधनमात्रै चल्ने गरेका छन् । महाकालीमा पक्की पुल नहुँदा दोधारा चाँदनीका स्थानीय भारतीय बाटोको प्रयोग गरेर शारदा ब्यारेज भएर महेन्द्रनगर आउजाउ गर्ने गरेका थिए । पक्की पुल निर्माणले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दाको भनाइ छ । रासस
शिवम् होल्डिङ्सले पनि प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले पनि आईपीओ जारी गर्ने भएको छ । सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । होल्डिङ्सले जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने एक सय रुपैयाँ दरको एक करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । जसको लागि संस्थाले नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाएको छ । संस्थाले अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकहरुतर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ २० प्रतिशत अर्थात १ अर्ब १६ करोड रुपैयाँ सेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया शुरु गरेको हो । त्यस्तै, उक्त सेयर निष्काशन गर्नको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्न सम्झौता गरेको छ । उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स-साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ । शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा परिणत भएको कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरि करिब १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ । कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनिया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट, विनयी त्रिवेणी गाँउपालिका सर्दि, पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत सेयर रहेको छ । उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण सञ्चालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न शुरु गरिसकेको छ । यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्सको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत सेयर लगानी रहेको छ । कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने सेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु विस्तार गर्नेछ । जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत सेयर लगानी विस्तार गर्ने योजना कम्पनीको योजना रहेको जानकारी गराइएको छ ।
हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता
काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ। कोप-२८ मा हानि नोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर र जोखिममा रहेका राष्ट्रहरूले ‘हानि र नोक्सानी’ कोषको माग गरेपछि सम्मेलनले बिहीबार औपचारिक रूपमा कोषको शुभारम्भ गरेको हो । कोप-२८ का अध्यक्ष तथा संयुक्त अरब इमिरेट्स (युएई)का मन्त्री सुल्तान अल जाबेरले कोष स्थापनाको सन्देशले सकारात्मक संकेत दिएको उल्लेख गरेकाे युएनएफसिसिसीको सचिवालयले जनाएको छ। वर्षौंदेखि यस विषयलाई निष्कर्षविहीन अवस्थामा बनाएका धनी राष्ट्रहरूले गत वर्ष इजिप्टको शार्म अल शेखमा भएको कोप-२७ शिखर सम्मेलनमा भएको ऐतिहासिक सम्झौतामा कोषलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कोप-२८ सम्मेलनको उद्घाटनका दिन यही मंसिर १४ गते उक्त कोष र कोषको व्यवस्थापनका लागि चार सय २३ दशमलव एक मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता गरिएको छ । आयोजक संयुक्त अरब इमिरेट्स र जर्मनीबाट एक/एक सय मिलियन, युरोपियन युनियनबाट एक सय ४५ दशमलव छ(जर्मनीको सहित), संयुक्त अधिराज्यबाट ७५ मिलियन, संयुक्त राज्य अमेरिकाबाट २४ दशमलव पाँच मिलियन र जापानबाट १० मिलियन अमेरिकी डलर प्रतिबद्धता भएको जलवायु विज्ञ मन्जित ढकालले जानकारी दिए । जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले गत वर्ष इजिप्टको शार्म अल शेखमा भएको कोप-२७ शिखर सम्मेलनमा औपचारिकरुपमा प्रवेश पाएको थियो। कोषको संरचनाबारे बृहत् वार्तापछि यसलाई अन्तरिम रूपमा विश्व बैंकमा राखिनेछ । सम्मेलन अघि युएईको अबुधाबीमा अक्टोबरमा भएको सङ्क्रमणकालीन समितिको बैठकले हानि नोक्सानीसम्बन्धी कोष परिचालनमा भएको सहमतिको अनुमोदन कोप-२८ ले गर्नुपर्ने जनाएको थियो । यस सहमतिले कोप-२८ को पूर्वसन्ध्यामा सकारात्मक सन्देश दिनुका साथै गति निर्माण गर्नेछ र अग्रपंक्तिमा रहेका समुदायलाई तत्काल सहयोग प्रदान गर्नेछ । वन तथा वातावरण मन्त्रालयले कोप-२८ मा अनुमोदन हुने हानि नोक्सानीका लागि स्थापना गरिएको वित्तलाई प्रभावकारी बनाउन भरपर्दो र पर्याप्तरूपमा वित्त सहयोग गर्न अनुरोध गर्ने जनाएको छ । तीव्ररूपमा भइरहेको जलवायु परिवर्तनमा कम जिम्मेवार स्थानीय तथा बढी प्रभावित संकटासन्न समुदाय छन्। कोषले नेपालजस्ता संकटासन्न विकासोन्मुख देशमा जलवायु परिवर्तन तथा जलवायुजन्य अतिसय मौसमी र ढिलो सुरु हुने विपद्का घटनाबाट हुने आर्थिक र गैरआर्थिक हानि नोक्सानीलाई सम्बोधन गर्ने अपेक्षा राखिएको छ । मन्त्रालयलको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले आन्तरिक क्षमता र तथ्यांकको अभाव देखाइ कसैलाई पनि कोषको पहुँचबाट वन्चित नगराइयोस् भनी आफूहरुले आग्रह गर्ने बताए । साथै यो वित्त अनुदानस्वरूप प्रदान गरी थप ऋणको भार नहुने व्यवस्थाका लागि समेत माग गर्ने उहाँले उल्लेख गरे । अल्पविकसित देशहरूका लागि हानि नोक्सानी वित्त सरल र समन्यायिक पहुँचको आधारमा परिचालन होस् भन्ने कुरा स्थापित गर्न आवश्यक छ । साथै, सान्टियागो संयन्त्रको सचिवालय छनौट र यसका सर्त सम्बन्धमा हुने छलफल र निर्णयमा विकसित देशको आवश्यकता र सचिवालय सञ्चालक संस्थाको उद्देश्यसँग पृथक हुन जरुरी छ । रासस
सेजन अवार्ड दाहाल र भट्टराईलाई, विभिन्न विधामा ५ जना सम्मानित
काठमाडौं । यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई यो अवार्ड प्रदान गर्दै आएको छ । कान्तिपुर दैनिकमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणबारेको समाचार लेखनका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिए । भोला चालिसे लिबरल जर्नलिजम अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन ब्रोडकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेल, सेजन डिजिटल मिडिया अवार्ड क्लिकमाण्डुका राजेश बर्मा र सेजन छापा माध्याम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवरलाई प्रदान गरिएको छ । ‘स्व सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई उपलब्ध गराइएको छ । सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ । रासस
नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा संस्थाको थप ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।
नौ हजार भूकम्पपीडितले पाए २२ करोड
काठमाडौं । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले राससलाई जानकारी दिए । पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म रु दुई करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो । प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि रु २८ लाख, रुकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि रु २१ करोड ४६ लाख २५ हजार र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु ३५ लाख ५० हजार रकम निकासा गरिएको हो । सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिए।
विजय लघुवित्तका संचालक र कर्मचारीले गरे भूकम्प पीडितलाई १५ लाख रुपैयाँ सहयोग
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ । लघुवित्त संस्थाले सञ्चालक समितिदेखि कर्मचारीहरूबाट सहयोग संकलन गरेर पीडित सदस्यहरुलाई नगद सहयोग गरेको जनाएका छ । सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । सीईओ लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिम जिल्लाको आठविसाकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको हो । भूकम्प पीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीहरुले एक दिनको तलब गरी करिब ६ लाख रुपैयाँ योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीहरुबाट संकलित रकमममा नपुगेको रकम संस्थाले हालेर करिब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए । उनका अनुसार पीडितलाई वर्गीकरण गरी परिवारका सदस्य निधन भएको सदस्यलाई २० हजार रुपैयाँसम्मका दरले वितरण गरिएको छ । साविकको विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर गत ३१ असारमा विजय लघुवित्त वित्तीय संस्था बनेको थियो । विजय लघुवित्तका देशभर १४७ शाखा सञ्जाल छन् भने करिब १,४३,००० ग्राहक सदस्यहरु रहेका छन् । जाजरकोटमा मात्रै खलंगा र बारेकोट गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।