विकासन्युज

निफ्रा बैंकले डाक्यो पाँचौं साधारणसभा, ९० करोड ९४ लाख रुपैयाँ लाभांश बाँड्ने

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस १७ गते काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी २१ ऋर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतका दरले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालक निर्वाचन गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट सञ्चालक बनेका प्रवीण सुवेदीको नियुक्तिलाई अनुमोदन गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

आफ्नो उदाहरण दिँदै युएईका लगानीकर्तालाई ढकालले भने – लगानीको अनुकूल वातावरण छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा भएको नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले दुई देशबीच आर्थिक सम्बन्ध मजबुत बनाउनु पर्ने बताए । नेपालको बाह्य क्षेत्र स्थायित्व, युवा जनशक्ति र लगानीका लागि बलियो अवसर रहेको उनको भनाइ छ । उनका अनुसार नेपालमा ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी क्षेत्र लगानीका लागि ठूलो क्षेत्र रहेको उनले बताए । साथै, समय सापेक्ष क्षेत्रीय बजार खुला हुने बताउँदै उनले यूएईका लगानीकर्ताहरूलाई उर्जामा लगानी गर्न आग्रह गरे । पर्यटन क्षेत्रमा लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतको बारेमा जानकारी गराउँदै अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई द्विपक्षीय पर्यटन वृद्धिको सम्भावना रहेकाले होटल, केबलकार र हिल स्टेसनलगायत विश्वस्तरीय पर्यटन पूर्वाधारको विकासमा योगदान दिन आग्रह गरे । नेपालको हावापानी अनुसार कृषि उत्पादन हुने भएकाले लगानी गर्न सकिने उनको भनाइ थियो । नेपालको आईसीटी क्षेत्र, नेपालमा बढ्दो जनशक्ति, डिजिटल अर्थतन्त्र युएईको सफलतासँग मिल्दोजुल्दो रहेको बताउँदै सहकार्य गरेर अघि बढ्न आग्रह गरे । साथै, नवप्रवर्तन उद्यमी वृद्धिलाई बढावा दिँदै यस क्षेत्रमा पारस्परिक साझेदारी गर्न सकिने अध्यक्ष ढकालको भनाइ छ । अध्यक्ष ढकालले व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको समेत बताए । नेपालको बैंकिङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न साझेदारीको प्रस्ताव राखे । कडा परिश्रम र इमान्दारिताका लागि परिचित युएईमा रहेका नेपाली श्रमशक्तिप्रति ध्यानाकर्षण गराउँदै ढकालले प्राविधिक तथा व्यावसायिक तालिमका लागि लगानी गर्न जोड दिए । सरकारी सहयोग र लगानीको अनुकूल वातावरणले नेपालमा सम्भव छ भन्ने उदाहरणका रूपमा उनले आफ्नो व्यक्तिगत यात्रालाई सुनाए । नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्न प्रधानमन्त्री दाहालप्रति आभार व्यक्त गर्दै ढकालले युएईका व्यवसायीलाई नेपालमा लगानी गर्न आमन्त्रण गरे ।

आज ३६औँ विश्व एड्स दिवस, दैनिक ३ हजार ६ सयको मृत्यु

काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण ४ करोड ४ लाख जनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन ३ हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन १ जना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।

नेपाली विमानका लागि युरोपेली आकाश खुलेन, ध्वजावाहकमाथि दोषारोपण

काठमाडौं । युरोपेली सङघ (इयू)ले नेपालका विमान सेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएकोे छ । इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि १०वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ । इयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत कात्तिक २८ मा ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाली विमानमाथिको प्रतिबन्ध नहटाइएको जानकारी दिए । ईयूका प्रतिनिधिमण्डलले भदौ २५ गतेदेखि २९ गतेसम्म नेपालमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र श्री एयरलायन्सको स्थलगत अवलोकन तथा स्थिति मूल्याङ्कन गरेको थियो । इयुले प्रतिवेदनको निष्कर्ष सुरक्षासूचीबाट नेपाल नहटेकोे जनाउँदै पत्राचार गरेको थियो । राष्ट्रिय ध्वजावाहकमाथि दोषारोपण प्रतिवेदनले नेपाल वायुसेवा निगमको संस्थागत कमजोरीहरु औंल्याउदैँ निगमको नेतृत्व, प्रक्रियागत पद्धति तथा समग्र प्रणालीमा व्यापक सुधार गरिनुपर्ने सुझाव दिएको छ । ‘सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) पालना नगरेको, प्राधिकरणले वार्षिक गर्ने संपरीक्षणमा औंल्याएका कमीकमजोरी सुधार नगरेको, संपरीक्षण सूचीको गुणस्तर सुधार नगरेको, उडान समयको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको,’ प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी श्री एयरलाइन्सको वर्तमान कार्यपद्धति सन्तोषजनक रहेपनि थप सुधारका लागि प्रभावकारी कार्यप्रणाली एवं कार्यपद्धति अवलम्बन गर्न प्रतिवेदनमा सुझाइएको छ । कम्पनीको उडान सञ्चालन नीतिमा सुधार गर्नुपर्ने, उडान योजना, चालक दलको थकान व्यवस्थापन नगरिएको प्रतिवेदनमा औल्याइएको छ । इयुको कालोसूचीबाट निस्कन नेपाल सरकारले गरेका प्रयासको सराहना गरिए पनि प्रतिवेदनमा राजनैतिक नेतृत्वलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । प्राधिकरणले अङ्गीकार गरेको सङ्गठनात्मक संरचना, कानुनी प्रबन्धप्रति सन्तोष जनाउँदै इयूले नेपालको हवाई सुरक्षा सुधारका निम्ति निरन्तर सहयोग र गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिए । युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए । दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताए । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश: १६७.५० रुपैयाँ, १६९ रुपैयाँ र १७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५७.५० रुपैयाँ, १५९ रुपैयाँ र १६० रुपैयाँ कायम गरेको छ । आइओसीले बिहीबार नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर २.१२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४.०९ रुपैयाँ घटेको जानकारी दिएको निगमले जनाएको छ ।

ऋणमुक्त बन्यो आयल निगम

काठमाडौं । लामो समयदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ । इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम मंगलबारदेखि ऋणमुक्त बनेको हो । वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मङ्गलवार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ । आईओसीको ऋण जून ३१ र ब्याज जुलाई ८ मा तिरेका थियो । अन्तिम किस्ता स्वरूप ७० करोड बुझाएपछि ऋण मुक्त बनेको निगमले जनाएको छ । यसअघि ६ अर्ब ३० करोड रुपैयाँ तिरेको निगमले बाँकी ७० करोड रुपैयाँ तिरेसँगै ऋण मुक्त भएको आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए ।

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन् । उत्तर-दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्ब २६ करोड छ । सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरु हुनेछ । काम सुरु भएको छ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । पहुँचमार्ग निर्माण सुरु आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ । पहुँचमार्ग भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमाफेदीसम्मको पहुँचमार्ग निर्माण गर्नेछ । रासस