काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्लामा स्वागत गरेका छन् । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई सभापति देउवाले डडेल्धुरामा स्वागत गरेका हुन् ।
अभियानको सिलसिलामा देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले सोही ठाउँबाट देउवालाई मोबाइलमार्फत् कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् । साथै, सभापति देउवाले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भएको अध्यक्ष ओलीले जानकारी दिए ।
देउवासँग भिडियो कल गरेको भिडियो पोस्ट गर्दै ओलीले भने, ‘सुन्दर डडेलधुरा, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो, उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो, धन्यवाद शेरबहादुरजी ।’
ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको सभापति देउवालाई जानकारी दिन्छन् ।