विकासन्युज

जग्गासम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नगर्न माग

काठमाडौं । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेपछि जग्गासम्बन्धी कार्यविधि विवादमा पनि परेको हो । कार्यपालिका बैठकमा उपमहानगर प्रमुख गोपाल हमालले पर्याप्त छलफल र पारित नभइकनै एकलौटी ढङ्गले उक्त कार्यविधि राजपत्रमा प्रकाशन गर्न लगाएको जनाउँदै कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् । “मङ्सिरमा बसेको कार्यपालिका बैठकमा उक्त विषयमा छलफल हुन नपाई गरिएको निर्णयले कार्यपालिकाको अर्थ रहेन”, कार्यपालिका सदस्य एवं वडाध्यक्ष मानबहादुर विष्टले भने, “कार्यविधिलाई गहनरूपमा अध्ययन, छलफल गरेर अर्को बैठकबाट पारित गर्नुपर्छ भन्ने आफूहरूको सुझाव थियो, तर प्रमुख हमालबाट पर्याप्त छलफल र कसैको पनि सहमतिबिना भोलिपल्टै कार्यविधिलाई राजपत्रमा प्रकाशित गर्ने काम भएको छ ।” उपमहानगरपालिकाका वडाध्यक्षसहितका २७ कार्यपालिका सदस्यको बैठकले उक्त कार्यविधि खारेजीको निर्णय गरेको उनले बताए । कार्यविधिलाई खारेज गर्नुपर्ने निर्णयसम्बन्धी प्रस्ताव उपमहानगरपालिकाको सचिवालयमा आज दर्ता गराएको छ । प्रमुख हमालले भने आफ्नो फेसबुक पेजमार्फत आफूविरुद्ध गुटबन्दी भएको भन्दै निर्णयबाट पछि नहट्ने बताएका छन् । उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गामा १० मिटर चौडा बाटो, सडकको दुवैतर्फ नाला निर्माण, विद्युत् पोलको व्यवस्था, तार जडान, पुलेसा निर्माण, ट्रान्सफर्मर जडान र खुला जग्गा अनिवार्य राख्नुपर्ने तोकिएको छ । कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ । सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा उपमहानगर क्षेत्रको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० बनाएको बताइएको छ । कार्यविधि राजपत्रमा प्रकाशन भएलगत्तैबाट धनगढीका जग्गाधनी र व्यवसायीले यस्तो कार्यविधिबाट जग्गाधनीको उठीबास हुने र यसबाट गम्भीर समस्या निम्तिने जनाउँदै विरोध गरेका छन् । उनीहरूले यो कार्यविधि खारेज गर्न सङ्घर्ष समिति गठन गर्नुका साथै निर्णयविरुद्ध अदालतसम्म पुग्ने निर्णय पनि गरेका छन् ।

युनिलिभर नेपालले सिधैं पठायो सेयरधनीको बैंक खातामा १५८० प्रतिशत लाभांश

काठमाडौं । युनिलिभर नेपालले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २६ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई १५८० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पुस ५ गतेदेखि जम्मा गरेको कम्पनीले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने कम्पनीको भनाइ छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार सनराइज क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

ऋण प्रस्ताव पारित गर्न मध्य भोटेकोशीले बोलायो १२औं साधारणसभा

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १२ औं साधारणसभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधा र चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिइएको प्रस्ताव पारित गर्नेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, डाक्यो १९औं साधारणसभा

काठमाडौं । सिक्लेस हाइड्रोपावरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगल लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १३ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

काठमाडौं महानगरद्वारा दुईटा औषधि पसल शिलबन्दी, एउटाले पायो सुधारको मौका

काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । महानगरले वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलका औषधि पसल शिलबन्दी गरेको हो । यसैगरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई महानगरले सुधारका लागि १५ दिनको समय दिइएको छ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गर्नु परेको बताए । अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।

जहाजको शौचालयमा नवजात शिशु भेटिएपछि…

काठमाडौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौं आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने ।

प्रभु हेलिकप्टरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । प्रभु हेलिकप्टरले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यससँगै प्रभु हेलिकप्टर नेपालको पुँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी बन्ने भएको छ । आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले ६ करोड ६० लाख सेयर पुँजी बराबरको एक सय अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । यससँगै, प्रभु हेलिकप्टर नेपालको पुँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी बन्ने भएको छ । कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले विश्वको प्रख्यात एयरबस कम्पनीद्धारा निर्मित एयरबस एच१२५ र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी रोबिनसन हेलिकप्टर कम्पनीद्वारा निर्मित रोबिनसन आर६६ जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरुद्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ । कोभिड-१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तीव्र गतिको माग भएकोले प्रभु हेलिकप्टरले आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्डबाट सम्मानित

काठमाडौं । कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । पुस ३ गते भिसा इन्टरनेशनलद्धारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । स्थापनाकाल देखिनै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बैंकले आगामी दिनहरुमा पनि दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । बैंकले हाल ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।