विकासन्युज

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताए । ‘करिडोर दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ’, उनले भने, ‘यसअघि छोसेर–कोरला खण्डको १८ किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्यअघि नै सकिएको थियो ।’ गत मङ्सिर ९ गतेदेखि सात दशमलव पाँच मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न थालिएको थियो । प्राविधिक टोलीले सडकको नापजाँच गरिरहेको छ । दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट/पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए। ‘आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण हुँदा सहज भयो’, उनले भने, ‘गत असारमै ८० प्रतिशत निर्माण सकिएको थियो ।’ सो कम्पनीले तनहुँमा पनि हालै दुई वर्ष आयोजना लक्ष्यअघि नै निर्माण सकेको छ । सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र गरिएको हो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ’, उनले भने, ‘निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।’ रासस

पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फर्छ्यौट

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फर्छ्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए । यस्तै सहमति नभएपछि दुई मुद्दा अदालतमा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये नौ सय १८ उजुरीको छानबिन गर्दा चार सय ५९ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ धुर आठ कनवा जग्गा र दुवै पक्षको सहमतिमा रु आठ करोड ८७ लाख ३५ हजार ६१ फिर्ता गराइएको छ । मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याजपीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए । परेका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको सहायक प्रजिअ लम्सालले बताए । छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाइ छ । रासस

लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व २ जना गरी ४ जनाको निर्वाचन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

लाभांश पारित गर्न लुम्बिनी विकास बैंकको साधारणसभा आह्वान

काठमाडौं । लुम्बिनी विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २६ गते कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ पुर्याउने र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

१५ प्रतिशत लाभांश पारित गर्न साना किसान लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । पबन्धपत्र तथा नियमावली संशोधन र कुनै उपयुक्त संस्थासँग मर्जर गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको १३ लाख २० हजार १८३ रुपैयाँ अनुमोदन गर्नेछ । लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

पूर्व-पश्चिम राजमार्ग मर्मतको काम सुरु

काठमाडौं । कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताए । उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ । राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए । “सडक मर्मतका लागि तीन महिनाभित्र काम सक्नेगरी रु एक करोडमा ठेक्का आह्वान गरिएको हो”, उनले भने, “पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ ।” पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम अगाडि बढाउने कार्य हुँदै आएको छ । यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा अस्पाल्ट ओभरले (कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने) कार्यका लागि ७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनको भनाइ छ । “सडक बिग्रिएको थियो, सुधारका लागि कालोपत्रको लेयर थप्ने कार्य थालिएको छ”, उनले भने, “ठेक्का सम्झौताअनुसार कार्य मङ्सिर महिनाभित्रै सक्नुपर्ने थियो, सकिएको छैन ।” निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उनले जानकारी दिए । अबमात्रै पाँच–दश दिनमा सकिने काम छ, त्यसका लागि निर्माण व्यवसायीलाई काम गर्नका लागि म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताए ।

ट्रयाक्टर दुर्घटना हुँदा श्रीमान् श्रीमतीसहित ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिब १०ः१५ बजे भएको कार्यालयले जनाएको छ । विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोविरुद्ध मुद्दा दायर गरेको हो । सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो । उक्त कार्यालयले सवारीसाधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फूलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्दकिशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध दायर गरेको आज एक विज्ञप्ति निकालेर सार्वजनिक गरेको हो । त्यसैगरी धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वरुण कन्सट्रक्सनका सञ्चालक निलम कुमारी यादवविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुले वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ (ख) बमोजिम तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४ (ख) र ६ (३) बमोजिमको प्रक्रिया पूरा नगरी अवैध ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन गर्ने गराउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ ।