गौरवका आयोजना समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकारलाई सहजिकरण गर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न विभिन्न प्रधानमन्त्री कार्यालय लगायत विभिन्न मन्त्रालयलाई निर्देशन दिएको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले गरेका निर्णय राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा पूरक वातावरणीय प्रभाव मूल्यांकन समय सीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालय लगायतका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने । राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने । द्रुतमार्ग निमार्णका सन्दर्भमा नेपाली सेनावाट अनुरोध भए बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोगहरु समयमै उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने । द्रुतमार्ग निर्माणका सम्बन्धमा विभिन्न चरणमा आवश्यक पर्ने अन्तर निकाय समन्वयको सहजीकरणको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने । नेपाली सेनाद्धारा निर्माण भईरहेको दार्चुलाको ‘तुसारपानी कोठेधार टिंकर सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिने । साथै उक्त सडक निर्माण कार्य समयबद्ध योजना निर्माण गरी तदारुकताका साथ छिटो निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिने । यस सन्दर्भमा आवश्यक समन्वय र सहजीकरणका निमित्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोग समेतलाई निर्देशन दिने । उक्त सडक अनुगमनको लागि समितिले स्थलगत अनुगमन गर्ने । सार्वजनिक खरिद ऐन, नियमावली अनुसार कामकाज गर्न र द्रुतमार्गमा संलग्न ठेकेदारहरु सम्बन्धी विवादको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालय र रक्षा मन्त्रालयबाट जानकारी लिने । द्रुतमार्गमा काम गर्ने ठेकेदार र निर्माण कम्पनीहरुको बारेमा उठेका विवादको सम्बन्धमा रक्षा मन्त्रालयलाई लेखी पठाउने । नेपाली सेनाले द्रुतमार्गको निर्माण कार्य र जंगी अड्डा निरीक्षणका लागि गरेको आग्रहलाई ध्यानमा राख्दै समितिले नेपाली सेनासँग समन्वय गरी उपयुक्त समयमा भ्रमण गर्ने ।
इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको सपिङ भौचर
काठमाडौं । इसेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गरेका प्रनिश अधिकारीले एक लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका हुन् । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरेका हुन् । सपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भदौ २० गतेदेखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी तथा मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, त्तच् भुक्तानी लगायतका करिब ४ लाख भन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
काठमाडौं-निजगढ फास्ट ट्रयाक समयमै नबन्ने, ५२ अर्ब खर्च गरेर २८ प्रतिशत मात्रै काम
काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौं-तराई/मधेश द्रुत मार्ग सडक आयोजना तोकिएको समयमा निर्माण सम्पन्न नहुने निश्चित भएको छ । २०७४ सालमा सरकारले नेपाली सेनालाई निर्माणको लागि जिम्मेवारी दिएको ६ वर्षमा २८ प्रतिशत पनि प्रगति नभएपछि अबको समयमा बाँकी काम पूरा नहुने निश्चित भएकाे हाे । २०७४ साल बैशाख २१ गते फास्ट ट्रयाक निर्माणको काम नेपाली सेनालाई दिने सरकारको मन्त्रिपरिषदले निर्णय गरेको थियो । जसको ०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए । लामो समयसम्म आयोजनाको अपेक्षित प्रगति नभएको चौतर्फी गुनासो आउन थालेपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिले बुधबार नेपाली सेनासँग सो विषयमा वृहत छलफल गर्यो । बैठकमा नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको सन्दर्भमा अहिलेसम्म भएको प्रगति प्रस्तुत गरेको थियो । तथ्यांकअनुसार फास्ट ट्रयाक निर्माणमा सेनाले अहिलेसम्म २८.५६ प्रतिशत भौतिक प्रगति र २९.४४ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । ७०.९७ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको कामलाई नेपाली सेनाले ११ वटा प्याकेजमा विभाजन गरेर अगाडि बढाएको छ । जसमध्ये अहिलेसम्म ७ वटा प्याकेजको मात्रै काम सञ्चालन भएको, ३ वटा प्याकेज खरिद प्रकृयामा नै रहेको र काठमाडौं तर्फबाट मुख्य प्रवेशद्वार मानिने खोकना खण्डमा विवादित भएकाले कुनै प्रकृया नै अगाडि बढ्न नसकेको सेनाले जनाएको छ । फास्ट ट्रयाकमा ६ वटा सुरुङ मार्ग र ८९ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमध्ये अहिलेसम्म ६२ वटा पुलको निर्माणको लागि ठेक्का सम्झौता भइसकेको, २३ वटा पुल निर्माणको लागि प्रकृया अगाडि बढेको र ४ वटा पुल खोकना खण्डमा पर्छ । फास्ट ट्रयाक निर्माणको प्रकृयामा ४ हजार ७ सय ६६ रोपनी जग्गाको व्यक्तिलाई मुआब्जा दिने काम सम्पन्न भएको खोकना काठमाडौं खण्डमा ४०६ रोपनीको भने बाँकी रहेको अवस्था छ । साथै, भ्याटसहित २ खर्ब ११ अर्ब ९३ करोड लागत रहेको सो आयोजनामा अहिलेसम्म ५२ अर्ब ८६ करोड मात्रै खर्च भएको छ । २०८३ सम्म सम्पन्न नहुने फास्ट ट्रयाकमा अहिले भइरहेको गतिमा काम हुँदा निर्माण सम्पन्न नहुने सांसदहरूले औंल्याएका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा फास्ट ट्रयाकको क्षेत्रमा अहिलेसम्म भएको प्रगतिको तथ्यांकलाई औंल्याउँदै सांसदहरूले ०८३ चैत मसान्तभित्र सो आयोजना सम्पन्न हुन नसक्ने बताएका थिए । समितिको बैठकमा बोल्ने सत्तापक्ष र प्रतिपक्षका झण्डै सबै सांसदहरूको तोकिएको समयमा काम सम्पन्न नहुने विषयमा एकमत देखिन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदको बैठकमा बोल्दै ‘भौतिक र वित्तीय प्रगति हेर्दा फास्ट ट्रयाक हैन कछुवा चिप्लेकिरा ट्रयाक भएको’ टिप्पणी गरे । साथै, उनले ७१ किलोमिटर सडक खण्डमा सेनाको क्षमता २२ किलोमिटर बनाउने मात्रै रहेको समेत बताएका थिए । यस्तै, सांसद गगन थापाले ‘आज हामीले जे जसरी काम गरिरहेका छौं, यसरी ०८३ मा सकिँदैन, ९२/९३ मा पुग्छ,’ भने । सांसद वुद्धीमान तामाङले ‘प्रगतिको हिसाबले अझै १० वर्ष लाग्ने’ बताए भने राजेन्द्र पाण्डेले ‘कामको गति हेर्दा ०८३ सालसम्म सकिने जस्तो नलागेको’ बताएका थिए । बैठकमा बोल्ने अन्य सांसदहरूको पनि सेनाले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने टिप्पणी थियो । सांसदहरूले सेनाले समयमा काम गर्न नसक्ने टिप्पणीपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समयमा काम सम्पन्न गर्न नसकिने स्वीकार गरेका थिए । सांसदहरूको टिप्पणीपछि विभिन्न कानुनी अड्चनहरुरू देखाउँदै प्रधानसेनापति शर्माले भने, ‘यही तालले ०८३ सालसम्म पनि बन्दैन, तर हामीले सक्दैनाैं ।’ समस्याको मुख्य बाधक कानुन फास्ट ट्रयाकको काम अपेक्षित गतिमा अगाडि नबढ्नुमा मुख्य समस्या ऐन कानुन भएको नेपाली सेनाले औंल्याएको छ । इआइए पास हुन समय लाग्नू, समयमा रुख कटान गर्न नपाउनु जस्ता समस्याले गर्दा काममा ढिलाई भएको प्रधानसेनापति शर्माले समितिको बैठकमा बताएका थिए । ‘४ वटा रुख काट्न ४ महिना लाग्ने गरेको छ’, वन सम्बन्धी कानूनतर्फ ईंगित गर्दै उनले भने, ‘१७ सालदेखिको कानून देखाउनुहुन्छ,’ इआइए पास गर्न नै लामो समय लाग्ने गरेको बताउँदै उनले भने, ‘इआइए चेन्ज भएन भने फास्ट ट्रयाक मात्रै होइन धेरै आयोजना सम्पन्न गर्न समस्या हुन्छ ।’ साथै फास्ट ट्रयाकको काम समयमा हुन नसक्नुमा चीन र भारतबाट विस्फोटक पदार्थको आपूर्तिमा भएको ढिलाइले गर्दा पनि भएको सेनाले बताएको छ । तर, सेनाको सो भनाइलाई खण्डन गर्दै सांसद रघुजी पन्तले आफूलाई चाहिने गोली बारुद र गोली गठ्ठा उत्पादन गर्न नसक्ने भन्दै सेनाको क्षमतामाथि प्रश्न गरेका थिए । लागत पनि बढ्ने फास्ट ट्रयाकको काम तोकिएको समयमा पूरा गर्न नसक्दा लागत बढ्ने भन्दै समितिमा बोल्ने सांसदहरूले चिन्ता व्यक्त गरेका थिए । तर, सेनाले आफ्नो कागजीय तथ्यांकमा भने ०८३ सालमा नै सक्ने तथ्यांक पेस गरेकाले थप लागतको विषय उठाएको छैन । सांसदहरूले आयोजना समयमा नसकिँदा देशको विकासको बजेटमा त्यसले असर पुर्याउने तर्क प्रस्तुत गरेका थिए । सांसद गगन थापा लगायत केही सांसदहरूले आयोजनालाई समयमा नै सम्पन्न गर्न समितिले सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । सांसद थापाले सेनाले फास्ट ट्रयाकको काम समयमा सक्न क्यालेन्डर बनाउन सुझाउँदै आवश्यक सहजीकरण समितिको तर्फबाट गर्ने बताए । ‘सेनाले क्यालेन्डर बनाओस, हामी कहाँ-कहाँ सहजीकरण गर्नुपर्छ त्यहाँ गरौं, हामीले यसलाई प्रतिष्ठाको विषय बनाएर काम गरौं’, बैठकमा उनको भनाइ थियो । सांसद लिलानाथ श्रेष्ठले ‘समयमा नै काम गर्नलाई कानुन नियम संशोधन गरेर अगाडि बढ्नुपर्छ’ भन्ने भनाइ राखेका थिए भने अर्का सांसद राजेन्द्रकुमार राईले पनि ‘कसरी काम छिटो गर्न सकिन्छ भनेर बाटो निकाल्नुपर्यो’ भन्ने भनाइ राखेका थिए ।
आइएमई पेले पायो ‘भिजा पार्टनरसिप’ अवार्ड, फिनटेक उद्योगमा उत्कृष्ट
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आईएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो । यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ । आइएमई पेले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ । आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।
सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् । सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । नवनियुक्त न्यायाधीशहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थिए । यसअघिको संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
६ दशकसम्म नथाकेका डा.पाण्डे र सपनाले दिएको त्यो सफलता
काठमाडौं । चिटिक्कको सुट पाइन्टमाथि रातो टाई । हँसिलो मुहार । मुहारको मुस्कानले बताइरहेको थियो मिहिनेत । उमेरले ६० वर्ष । तर, कल्पना पनि गर्न सकिँदैन, ६० वर्षको उमेरसम्म पनि यतिसम्मको सक्रियता रहन्छ ? यही जिज्ञासामा हामीले सुरुमा डा. चक्रराज पाण्डेसमक्ष राख्यौं । उनले जवाफमा भने, जति काम गरियो, जति आफूलाई व्यस्त राख्न सक्यो, त्यति नै जवानी भइन्छ ।’ चिकित्सा क्षेत्रमा एउटा परिचित नाम हो डा. चक्रराज पाण्डे । ३२ वर्षको उमेरदेखि अहिले ६० वर्षसम्म आइपुग्दा पनि उनी आफ्नो क्षेत्रमा सक्रिय छन् । वरिष्ठ अर्थोपेडिक सर्जनकारूपमा उनले उपत्यकाका धेरै अस्पतालमा काम गरे । उनी अहिले काठमाडौँको लाजिम्पाटमा आफ्नै अनामिवा अस्पताल सञ्चालन गरिरहेका छन् । उनको दिन बिरामी हेर्दै, अप्रेसन गर्दै बित्छ । गएको साता उनकै अनामिवा अस्पताल गएर डाक्टरलाई भेट्दा उनी बिरामीको जाँच गरिरहेका थिए । एउटा डाक्टरको दैनिकी कसरी बित्छ ? हाम्रो जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘बिरामी हेर्दै, उपचार गर्दै,’ उनले थपे, ‘ मेरो त केही समय पढाइमा बित्छ ।’ पढाइको मतलब उनी कुनै कोर्षको तयारीमा छैनन् । आफूले उपचार गर्ने बिरामीको सफल उपचार कसरी गर्ने भन्नेमा उनी धेरैभन्दा धेरै मिहिनेत गर्छन् । उनी भन्छन्, ‘एउटा गुड डाक्टर तब बेष्ट ठानिन्छ, जब उ आफ्नो विशेषज्ञताबारे पोख्त हुन्छ ।’ डा. पाण्डे हरेक दिन बिहान सबेरै उठेर सबैभन्दा पहिले आफ्नो नित्यकर्म गर्छन । त्यसपछि आज गर्नुपर्ने काम के छ, आफ्नो दैनिकी रुटिन हेर्छन । त्यो दिन कस्तो बिरामीको अप्रेसन गर्नुपर्छ, त्यसका लागि चाहिने औषधी, प्रविधि तथा उपकरण कस्तो छ र त्यसका लागि अक्सिजनको व्यवस्था छ या छैन भन्नेबारे हेर्छन् । त्यसपछि त्यो केशलाई सफल बनाउन कसरी काम गर्ने भनेर डाक्टर र नर्ससँग छलफल गर्छन् । आफ्नो टोलीसँगै गएर बिरामीको सल्यक्रिया गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूसँग भेटघाट गर्छन् । दिउँसोको खाना खाएर फेरि काममा लाग्छन् । अस्पतालमा अहिले दैनिक ६०/७० बिरामी आउँछन् । तीमध्ये अप्रेसन गर्नुपर्ने कमै हुन्छन् । उनले दिनभर गरेको कामको समीक्षा साँझ हुन्छ । फेरि भोलिको अप्रेसनका लागि कति जना छन्, त्यसको तयारीमा लाग्छन् । उनी आफ्नो मानसिक र शारिरीक अवस्थालाई कसरी सन्तुलन राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउँछन् । उनी आफ्नो लागि पनि समय छुट्याँउछन् । घरमा श्रीमती छिन् । छोराछोरी विदेशमा पढ्छन् । ‘छोराछोरीसँग भीडीओमा कुरा गर्छु, धेरै समय म आफ्नो काममा बिताउँछु, मेरो मुख्य काम भनेको बिरामीको सेवा गर्ने र पढ्ने हो,’ उनले भने । उनी आफूलाई मान्छेसँग भेटघाट तथा कुराकानी गर्न मन पर्ने बताउँछन् । ‘हाउ इज दि डाक्टर्स थिंक,’ ‘मेडिकल कम्प्लिकेसन’ लगायतका किताबहरू उनी बढी पढ्छन् । अरूको अनुभवबाट पनि धेरै विषयहरू सिक्न सकिने उनी बताउँछन् । अध्ययन कति आवश्यक ? एउटा डाक्टरका लागि अध्ययन कति आवश्यक छ होला ? जवाफमा उनले भने, ‘डाक्टरलाई मात्रै होइन, हरेक क्षेत्रको मान्छेलाई अध्ययन आवश्यक छ, सबैले पढ्नैपर्छ, सबै कुरा अनुभवबाट मात्रै सिकिँदैन, अध्ययनबाट धेरै कुरा सिकिन्छ ।’ उनी पढ्ने विषय अनुसन्धानसँग जोडिएकोले सोही अनुसन्धानका आधारमा बिरामीको उपचारको निर्णय हुने बताउँछन् । २७ वर्षअघि उनले अर्थाेपेडिक पढे । २७ वर्ष अगाडिको अर्थोपेडिक्सलाई मात्र आधार मान्ने हो भने राम्रो डाक्टर भइँदैन । हरेक दिनको अपडेटले अहिलेको अर्थोपेडिक्समा आफूलाई माथि राख्न सकिएको उनी बताउँछन् । ‘म अब केही गर्दिनँ भनेर बस्नुहुन्छ भने त्यो दिन पढाइ छोड्नुपर्छ । तर, म यो काम गर्छु भनेको दिनसम्म पढ्नैपर्छ, पढाइ भन्दा अर्को विकल्प म देख्दिनँ,’ उनले भने । सपनाले दिएको त्यो सफलता डाक्टर पाण्डे दिनमै १५ वटासम्म अप्रेसन गरेको उनीसँग अनुभव छ । अहिले पनि उनी दैनिक दुई÷तीन जनाको अप्रेसन गर्छन् । अप्रेसन आफैंमा एउटा गम्भीर र जटिल विषय हो । मान्छेको मासु काटेर पुनः सिलाउनु असामान्य काम हो । कुनै माया, ममता, डर र त्रासको प्रवाह नगरी अप्रेसन गर्ने डाक्टर आफैंमा महान हुन् । दिनभर अप्रेसन गर्ने डाक्टरले राति कस्तो सपना देख्छन् होला । यो जिज्ञासा हामीले डा. पाण्डेसँग राख्यौं । जवाफमा उनले भने, ‘मैले गाह्रो अप्रेसनहरू सपनामै सामाधान गरेको छु, कहिलेकाहीँ किताबमै नपाएको प्रश्नको उत्तर मैले सपनामा पाउने गरेको छु,’ उनी रोकिए । सपनामा अप्रेसन कसरी सम्भव भयो ? हाम्रो जिज्ञासामा थप उत्सुकता थपियो । उनले सुस्त गतिमा त्यो दिन स्मरण गर्दै भने, ‘म ग्राण्डी अस्पतालमा कार्यरत थिएँ, तीन खुट्टा भएको बच्चाको अप्रेसन गर्नुपर्ने थियो, बच्चाको तीन खुट्टामध्ये कुन खुट्टा निकाल्ने भन्ने अन्योलता मनमा रहिरह्यो, अन्योलताकाबीच सुतें,’ त्यो कहानी सुनाउँदै डा. पाण्डेले अगाडि बढ्दै भने, ‘राति यो खुट्टा निकाल्दा राम्रो हुन्छ, बच्चा स्वस्थ हुन्छ भन्ने सपना देखें, भोलि बिहान सपनाले निकाल भनेको खुट्टा निकालें, अप्रेसन सफल भयो ।’ त्यो अप्रेसन उनको जीवनको अविस्मरणीय पल बनेको छ । उनी थप्छन्, ‘जब कुनै विषय समाधान हुँदैन, तबसम्म दिमाखमा खेलिरहन्छ, मेरो दिमाखमा बिरामीको विषय बाहेक अन्यले खासै स्पेस पाउँदैन ।’ बिरामीप्रतिको व्यवहार भनिन्छ नि, ‘मुस्कान एउटा औषधी हो ।’ कुनैपनि मान्छेसगँ हामी मुस्कुराएर बोल्दा हामीप्रति उसको धारणा सकारात्मक हुन जान्छ । अझ यो कुरा बिरामीको हकमा बढी लागू हुन्छ । एउटा बिरामीलाई नर्स अथवा डाक्टरले गर्ने व्यवहारले धेरै फरक पार्छ । हरेकसँग पृथक क्षमता हुन्छ । त्यो क्षमता डाक्टरले पनि देखाउनु पर्ने उनको भनाइ छ । ‘म मेरो बिरामीलाई जाँच्दा मनबाट जाँच्छु, मेरो जीवनभरको मिहिनेत बिरामीका लागि हो, बिरामी बिनाको म केही पनि हैन,’ उनी भन्छन्, ‘एउटा डाक्टरले बिरामीलाई व्यापारका रुपमा मात्र हेर्नु हुँदैन, यसरी हेर्दा त्यहाँ समस्या हुन्छ ।’ डा. पाण्डेलाई बिरामीसँग भेटेर कुराकानी गर्दा धेरै खुसी लाग्छ । ‘उहाँहरूको दुःखलाई हटाएर सफल बनाउन सक्यो भने एक साता मलाई ‘रिल्याक्स फिल’ हुन्छ, यसले मलाई थप काम गर्ने हौसला दिन्छ, यही हौसलाको कारण पनि अहिलेसम्म काम गर्न सकेको छु,’ उनले भने । उनी डाक्टरको केन्द्रबिन्दु बिरामी भएको धारणा राख्छन् । ‘बिरामीले सिकाएर डाक्टरलाई डाक्टर बनाएको हो, उनीहरू बिना डाक्टर हुन गाह्रो छ, उनीहरूले आफ्नो शरीरमा अप्रेसन गर्न दिएर डाक्टरको सीप र क्षमता बढेको हो, बिरामीहरूले औषधी खाइदिएर डाक्टरले साइड इफेक्टहरू पत्ता लगाएको हो,’ उनी भन्छन्, ‘उनीहरूले दुई पैसा तिरेर आज डाक्टरले राम्रो लुगा लगाउन पाएको हो ।’ साढे दुई दशक काम गरेपछि आफ्नै अस्पताल डाक्टर चक्रराज पाण्डेको घर सिन्धुपाल्चोकको जरायटार हो । उनी ६ वर्ष गाउँमै बसे । त्यसपछि उनलाई काकाले पढाउन काठमाडौं ल्याए । उनी कीर्तिपुरमा रहेको लेबोरेटरीमा पढे । पढाइ राम्रै थियो । पढाइ राम्रो भएकै कारण उनी छात्रवृतिमा पढ्न पाए । त्यही स्कुलबाट उनले २०३६ सालमा एसएलसी पास गरे । एसएलसीमा राम्रो अंक ल्याएर उनी बोर्ड छैटौं भए । त्यसपछि उनी अमृत साइन्स कलेजमा भर्ना भए । त्यहाँ पनि उत्कृष्ट अंक ल्याएर प्लसटु पास गरे । त्यो बेला पनि उनी छात्रवृतिमै पढे । त्यसपछि नेपाल सरकारको स्कलरसीपमा उनी टर्की गए । त्यहाँ उनले मेडिकल स्कुल गरे । ७ वर्ष मेडिकल स्कुल पाँच वर्ष हाडजोर्नीको विशेषज्ञता हासिले गरे । त्यसपछि उनले हाडजोर्नीमा अर्थोपेडिक्स ट्रमाटोलोजीमा विशेषज्ञता गरे । टर्कीमा पढिसकेपछि सन् १९९७ पछि उनी नेपाल फर्के । उनी नेपाल फर्किसकेपछि काठमाडौँ नर्सिङ अस्पतालमा काम गरे । त्यसपछि बिएण्ड बी अस्पतालमा काम गरे । ११ वर्ष मेडिकियर अस्पतालमा काम गरे । त्यसपछि उनलाई लाग्यो नेपालमा मल्टिपल डिपार्टमेन्टको जरूरी छ । बिरामीलाई तत्काल रेस्क्यू गर्न सक्ने संस्था आवश्यक परेको देखेपछि उनले ग्राण्डी अस्पतालको सुरूवात गरेको बताउँछन् । दुई वर्ष अगाडिमात्र पाण्डे ग्राण्डी अस्पतालबाट निस्केका हुन् । त्यसपछि उनले नर्भिक अस्पतालमा काम गरे । नर्भिकपछि उनी फ्रन्टलाईन अस्पतालमा गए । तर, अहिले उनी आफ्नै अस्पताल अनामीवा सञ्चालन गरिरहेका छन् । ‘धेरै ठाउँको अनुभव लिइयो, जहाँ भएपनि नेपाललाई स्वास्थ्य क्षेत्रमा राम्रो गर्नुपर्छ भन्ने नै लाग्यो, करिब तीन दशक यही क्षेत्रमा बिताएँ, अब आफ्नै अस्पतालबाट सकेको सेवा दिन्छु,’ उनले भने । सकुञ्जेल काम गर्छु डाक्टर पाण्डेको इच्छा सकुञ्जेल यही क्षेत्रमा काम गर्नेछ । उनलाई जुन दिन सबैभन्दा अप्ठ्यारो अप्रेसन सफल भयो, जुनदिन बिरामीलाई भेटेर सल्लाह दिन पायो, त्यही दिन धेरै खुसी मिल्ने बताउँछन् । यस्ता किसिमका खुसीले आफुलाई ६० वर्षमा पनि तन्नेरी देखाएको उनी मुसुक्क मुस्कुराएर बताउँछन् । ‘म मान्छे बुढो देखिन्छु होला । तर, मेरो जोश जाँगर र काम गर्ने रूचि आज पनि त्यही २८ वर्षअघिको जस्तो छ, उनी थप्छन्, ‘अब बाँकी जीवनलाई कसरी गुणस्तरीयमा कन्भर्ट गर्ने, कसरी मानिसलाई प्रभावित बनाउन सक्छु भन्नेतर्फ नै रहन्छ ।’ उमेर ६० भयो भन्दैमा पाण्डे आँतिएका छैनन् । उमेर बढेसँगै अनुभवी भएको र थप मिहिनेत गर्नु पर्ने जोश आएको उनी बताउँछन् । ‘कतिपयले डाक्टर कति काम गरेको, आराम गर्नु पर्दैन भनेर प्रश्न गर्छन्, के गर्नु मेरो जीन नै यस्तै छ त्यत्तिकै बस्न मान्दैन भनेर जवाफ फर्काउन्छु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।
कृषि पेसामा रमाएका खड्का दम्पती, मनग्य आम्दानी
त्रिवेणी । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन् । बाउन्न वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध छन् । अहिले पनि उनको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दाकम छैन् । खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन् । सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताए । ‘बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ । जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११/१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्छै/नन् हेरेर जान्छु । अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ’, उनले भने । चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफुल खेती हुने गरेको छ । उनको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन् । बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफुलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उनले बताए । ‘विगत १५ वर्षदेखि कृषि पेसामा आवद्ध छौँ । पहिले सानो छँदा बाबाले थोरै जग्गामा सुन्तला लगाउनु भएको थियो । बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो’, चन्द्रबहादुरले भने, ‘मेरो काममा श्रीमतीले सधैँ साथ छ । काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गछिन् ।’ खड्का दम्पतीको सात जनाको परिवारमा दुई छोरीको विवाह भइसकेको छ । एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्ला बाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन् । कृषि पेसामा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाइ थियो । ‘कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ । म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु । म दुवै छोरालाई विदेश पठाउँदैन् । स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ । उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आवद्ध गराउने हो’, उनले भने । खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनु भन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाए । मनै लोभ्याउने सुन्तला बगैँचा विसं २०६२ देखि व्यावसायिक सुन्तला खेती गर्नुभएका खड्काको बारीमा अहिले तीन हजार छ सय सुन्तलाका बोट छन् । जसमध्ये करिब पाँच सय बोटले फल दिन सुरु गरिसकेका छन् । अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन सुरु गर्ने चन्द्रबहादुरले बताए । गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उनको भनाइ थियो । गतवर्ष सुन्तला बिक्रीबाट रू तीन लाख ७५ हजार कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोब्बर आम्दानी हुने आशा गरिएको बताए । बारीबाटै रू ४५ देखि ५० सम्म प्रतिकिलो बिक्री हुने गरेको उनले बताए । उनका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यानलगायत स्थानबाट व्यापारी आउने गरेका छन् । चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरेका छन् । गत वर्ष अलैँची चार क्विन्टल भन्दा बढी अर्थात चार सय सात किलो बिक्री गरेर रू पाँच लाख आम्दानी गरेको सुनाए । अलैँची पनि गाउँबाटै प्रतिकिलो रू एक हजार तीन सयमा बिक्री हुने गरेको उनको भनाइ थियो । हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट रू १७ लाख, खसीबोका बिक्रीबाट वार्षिक रू तीन लाख ५० हजार आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिए । उनका अनुसार वार्षिक रू ३५ देखि ४० लाखसम्म आम्दानी हुने गरेको छ । चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गरेका छन् । बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उनले बताए । आफूले व्यावसायिक रुपमा कृषि पेसा गरे पनि वास्तविक कृृषि पेसामा आवद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उनले दुखेसो पोखे । अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र सम्मेटने गरिएको चन्द्रबहादुरको गुनासो थियो । धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उनले जानकारी दिए । एकजनालाई रोजगारी परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिक रुपमा रोजगारी दिएका छन् । मासिक रू १२ हजारका दरले एक जना कामदारले काम गरिरहेका उनले बताए । कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उनको भनाइ थियो । ‘वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक हप्तासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्’, चन्द्रबहादुरले भने । अलैँची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उनले बताए । ग्रामीण सडक व्यवस्थित नहुँदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पु¥याउन समस्या हुने गरेको उनको भनाइ थियो । सोही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताए । गत वर्ष २५ क्विन्टल सुन्तला र दुई सय ४० किलो अलैँची बिक्री गरेर रू पाँच लाख आम्दानी गरेको उनले बताए । वडामा छैन तथ्याङ्क किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्याङ्क राखेको छैन् । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्याङ्क नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो । वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठाले बताए। ‘किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफैँ बिक्री गर्ने गरेका छन् । कति उत्पादन हुन्छ रु कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्’, उनले भने । उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वयलगायत काममा वडाले सहयोग नगरेको उनको भनाइ थियो । एउटै वडाबाट एक करोड २० लाखको सुन्तला बिक्री त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नं वडाका किसानले मात्रै गतवर्ष रू एक करोड २० लाखको सुन्तला बिक्री गरेका जनाएको छ । शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन् । प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गर्ने गरेका छन् । पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिए । उनका अनुसार वडामा चार सय रोपनी अर्थात २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गतवर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो । गाउँबाटै प्रतिकिलो रू ५० का दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए । रासस
सुन्तलाको मूल्य निर्धारण, प्रतिकिलो न्यूनतम ८० रुपैयाँ कायम
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ। यसअघि यहाँ गत मङ्सिरमा सुन्तला नपाक्दै बिक्री गर्न थालिएको थियो । ‘किसानले ब्यापारीले जति भन्यो त्यति मूल्यमै सुन्तला बेच्ने गरेका थिए,’ उनले भने । म्याग्दीका अन्य ठाउँका किसानले भने ब्यापारीले भनेको मूल्यमै सुन्तला बिक्री गर्ने गरेका छन् । बास्कुनामा जिल्लामै पहिलो पटक सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको हो । गत वर्ष यहाँ सुन्तला प्रतिकिलो रु ६५ देखि रु ७५ मा बिक्री भएको थियो । व्यापारीले सुन्तला नटिप्दै अगाडी नै पैसा दिएर खरिद गरिसकेका किसान भीम थापाले बताए । यहाँको सुन्तला पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लग्ने गरिएको उनले जानकारी दिए । आगामी सातादेखि सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ। बास्कुना, सुर्केमेला र थामडाँडाका चालीस परिवारले आठ हेक्टर जग्गामा सुन्तलाखेती गरेका छन् । पछिल्लो एक वर्षमा एक हजार नयाँ बिरुवा थपिएका छन् । गत वर्ष तीन वटा गाउँबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको खत्रीले बताए । परम्परागत खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेतीबाट जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका बासिन्दाले धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला रोप्न थालेका छन् । वार्षिक दश मुरी धान फल्ने खेतमा चार सय सुन्तलाका बिरुवा रोपेको बास्कुनाकी तिलकुमारी हुमेनले बताइन् । गत वर्ष रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । ‘छोरा विदेशिए, छोरीको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाँडेर सुन बेचेर सुन्तलाका बिरुवा रोपेँ’, उनले भनिन् । बास्कुना गाउँभरि सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलीलगायतका सामग्री सहयोग गरेको केन्द्रले जनाएको छ। प्रदेश सरकारमार्फत दुई वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण गरिएको छ । बेनी–थामडाँडा–बरंजा सडक स्तरोन्नति नहुँदा भने सुन्तला बिक्री गर्न बजार लैजान समस्या भएको स्थानीय भीम गुरुङले गुनासो गरे । रासस