विकासन्युज

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार चितवन र तनहुँ तर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ । काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए । यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ । सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनःएकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । राजधानी काठमाडौंबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको हो । रासस

प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा छुट अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्स (आरआर ट्राभल्स)बीच ३ वर्षका लागि आज पुस ८ गते सम्झौता भएको हो । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ट्राभल्सका तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले आरआर ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौंको उत्तरढोका-२ स्थित लाजिम्पाटमा रहेको आरआर ट्राभल्सबाट आन्तरिक माउन्टेन फ्लाइट बुकिङमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाइटमा १० प्रतिशत विशेष छुट अफर पाउने भएका छन् । कम्पनीका अनुसार यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ । जसका आधारमा आरआर ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् ।    

नेपाल बैंकका नवनियुक्त सीईओ पाण्डेयले लिए शपथ

काठमाडौं । नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले शपथ ग्रहण गरेका छन् । गत पुस ६ गते नियुक्त भएका सीईओ पाण्डेयले पुस ८ गते सञ्चालक समितिको अध्यक्षबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । यससँगै उनले पुस ८ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले घोषणा गर्याे लाभांश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साढे ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस २९ गते १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

सिरहा । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर ४५ प्रतिकिलोमा ४० किलो गहुँको बीउ ल्याई आठ कट्ठा खेतमा गरे । छ दिनमा बीउ उम्रिएर नौ दिनमा दुई पात हुनुपर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन । ‘मलखाद्य, ट्र्याक्टरको जोताइ, ज्याला सबै खेर गयो, खेत बाँझै रह्यो, मेरो त बिल्लीबाठै भयो हजुर, कसरी जहान, बालबच्चा पाल्ने ?’, यादवले भने, ‘हामी माटोमा परिश्रम गर्ने किसानमाथि यस्तो अन्याय गर्न हुन्छ र ?कस्ले दिने क्षतिपूर्ति रु हाम्रो आवाज कसले सुन्छ ?’ सोही वडाकी देवकुमारी यादवको पनि पीडा उस्तै छ । ‘भएको खेत पनि बाँझै रह्यो, धेरै फल्छ भनेर उन्नत बीउ सम्झेर ल्याएको, गहुँको बीउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बीउ बाँडेछ, एउटा गेडो पनि उम्रिएन’, उनले भनिन, ‘नगरपालिकाले हामीलाई क्षतिपूर्ति दिनुपर्छ ।’ नगरपालिकाले किसानका लागि दुई पटक गरी अनुदानमा गहुँको बीउ वितरण गरेको थियो । अघिल्लो पटकमा साल्टट्रेनिङ कार्यालय लहानबाट बीउ खरिद गरी किसानलाई वितरण गरिएको थियो । उक्त बीउमा कुनै समस्या नभएको किसानले बताएका छन् । बीउको माग बढेपछि नगरपालिकाले नै सुनसरीको देवानगञ्जस्थित कुशवाहा बीज भण्डारबाट दोस्रो पटक गहुँको बीउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । उक्त आदित्य जातको एक सय १० क्विन्टल गहुँको प्रतिकिलो रू ४५ मा किसानलाई वितरण गरिएको थियो । सो बीउ लैजाने करिब पाँच सय ५० किसानको गहुँको बीउ नउम्रेपछि खेत बाँझै भएको हो । गहुँ नउमे्रपछि किसानको ट्र्याक्टर जोताइ खर्च, डिएपी मल र पोटास छरेको खर्च, ड्याङ बनाउन लागेको मजदुर खर्च र बीउ किनेको खर्च पनि डुबेको छ । अब दोहोर्‍याएर छर्न पनि गहुँको समय ढिलो भइसकेको छ । ढिलोगरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो वायुले गहुँको बाला नै सुकाइदिने किसानको भनाइ छ । पाँच सय ५० किसानको करिब एक सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्यूनतम पनि दुई हजार दुई सय क्विन्टल नोक्सानी हुनेछ । कतिपय किसान दोहोर्‍याएर नयाँ बीउ खरिद गरी छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । ‘खेती गर्दागर्दै कपाल सेतै भयो, तर यस्तो हत्ते कहिले आइलागेको थिएन’, ५७ वर्षीय किसान रासोभित यादवले भने, ‘सँगै छरेको जहुँ उम्रियो तर, गहुँ उम्रिएन, फेरि गाउँमै रु ६० किलोका दरले अर्को बीउ किनी दोहोरो खर्च लगाएर छरेको छु, तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ ।’ साल्टट्रेडिङको बीउ राम्रो भए तापनि पछिल्लो पटक सुनसरीबाट ल्याइएको बीउमा सिकायत देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवान बताउँछन् । ‘साल्टट्रेडिङको बीउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ, गहुँको बीउ माग्ने किसानको चाप बढेपछि पुनः रु ११ लाख बराबरको एक सय १० क्विन्टल गहुँको बीउ मगाइयो, तर पछिल्लो पटक आएको बीउमा धेरै सिकायत आयो, दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्, गहुँको बीउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्, हामीले के गर्नु के नगर्नु रु, अप्ठ्यारोमा परेका छौँ’, पासवानले भने । नगर प्रमुख शिवशङ्कर महतो भने बाहिर हल्ला गरिएजस्तो अवस्था नरहेको बताउँछन् ।  गहुँको बीउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उनले आग्रह गरे । उनले भने, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बीउ खरिद गरिएको हो, दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला ।’ खेत बाँझै हुने किसानको क्षतिपूर्ति सम्बन्धमा नगरप्रमुख महतोले क्षतिपूर्ति दिनै परे बीउको पैसा मिनाहा गरिदिने बताए। उनले आफू काम विशेषले काठमाडौँमा भएको र केही दिनमा फर्केपछि यस सम्बन्धमा थप अध्ययन गर्ने जानकारी दिए । किसानबाटै कर उठाउने जनताको नजिकको सरकारले किसानलाई राहत दिनुको सट्टा यसरी आहत दिनु दुःखद् भएको राष्ट्रिय कृषि समूह महासङ्घ मधेस प्रदेशका निवर्तमान अध्यक्ष मुक्ति यादवको भनाइ छ । पालिकाको बीउ खरिद प्रक्रियालगायतमा सरोकारवालाको ध्यान पुग्नुपर्ने र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन सबैले खबरदारी गर्नु आवश्यक रहेको यादवको भनाइ छ । रासस

भाइबरमार्फत बससेवाको टिकट काट्दा १०० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं। राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकटिङ सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ । कम्पनीका अनुसार अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ। योसँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबरमार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् ।  बससेवा र भाइबरकोबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो । अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ। हामी नेपालको सार्बजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनिय बनाउन सफल हुनेछौँ ।’ यो अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ ।’ राकुटेन भाइबर विश्श्वको अग्रणी संचार संस्था हो, जसले विश्वका आम मानिसलाई जोड्ने काम गर्दछ । बससेवा नेपालको एक मात्र बस टिकटिङ संस्था हो । जसबाट नेपालका कुनैपनि गन्तब्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ ।

मीन घलेको टीमले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । पटक पटक गरी सो समूहले १३४८ किलो सुन तस्करी गरेको अध्ययन समितिले निष्कर्ष निकालेको हो । ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ’,छानबिन समितिले भनेको छ । घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष समितिले निकालेको छ। समितिको अनुसन्धानले घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक-पटक दुवईबाट सुन लिई आउने गरेको देखाएको छ । तस्करी गरेर ल्याएको सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ कार्यालय सहयोगी लेकबहादुर तामाङ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिले निष्कर्ष निकालेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आउने क्रममा गोरखा, बारपाकका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । सोही विषयलाई लिएर मंसिर २२ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धानपश्चात आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ [pdf id=454241]

विश्वबहादुरले एउटै बगानबाट बेचे ७५ लाखको सुन्तला

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा रुपैयाँमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।’ जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । उक्त सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, ‘गत वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ । म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’ सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उनले भने, ‘अन्य वर्ष ६०/७० लाखसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो।’ ‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको छ’, उनले भने, ‘यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’ अधिकारीले भने, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।’ सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढिसकेको उनले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ । बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन् । सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’ जिल्लामा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए । उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । रासस