विश्वबहादुरले एउटै बगानबाट बेचे ७५ लाखको सुन्तला
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा रुपैयाँमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।’ जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । उक्त सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, ‘गत वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ । म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’ सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उनले भने, ‘अन्य वर्ष ६०/७० लाखसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो।’ ‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको छ’, उनले भने, ‘यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’ अधिकारीले भने, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।’ सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढिसकेको उनले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ । बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन् । सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’ जिल्लामा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए । उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । रासस
सिटिजन्स बैंकका पूर्वअध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित
काठमाडौं । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम बैंकर्स संघबाट सम्मानित भएका छन् । शनिबार चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरको हो । गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी समयदेखि योगदान पुर्याउँदै आएका छन् । गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति २०६७ वैशाख १७ देखि मिति २०६८ असोज २८ गतेसम्म रहेका थिए । नेपाल बैंकर्स संघबाट बैंकका पूर्वअध्यक्ष सम्मानित हुनु गर्वको विषय भएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
काठमाडौं । नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ । जलवायुले हिमालमा पारेको असरबारे यसपटक सम्मेलनका सदस्य राष्ट्रहरुको ध्यानाकर्षण भएको हो । यसबाट नेपाल र अन्य हिमालय क्षेत्रका देश जलवायु परिवर्तनका क्षेत्रमा परेको असरको क्षतिपूर्तिका थप भागिदार बन्नसक्ने भएका हुन् । सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा सम्पन्न ‘कोप–१५’ मा नेपाललगायतका हिमाली मुलुकले जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे बोल्न थालेको र नेपाललगायत देशले हिमालय क्षेत्रको बस्ती र हिमालयको भविष्यमाथि प्रश्न गर्दै जलवायु न्याय दाबी गर्दै आएका हुन् । नेपालले यहाँका हिमाल पग्लिँदै गएको फेहरिस्त हरेक सम्मेलनमा विश्वसामु प्रस्तुत गर्दै पनि आएको थियो । यसपटक भने नेपाल दुबईमा सम्पन्न कोप–२८ मा राम्रैसँग सुनियो । त्यसको पृष्ठभूमि थियो संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण । त्यसैले गत मङ्सिरमा सम्पन्न कोप–२८ का अवसरमा नेपालको चर्चा र यहाँका हिमाल केन्द्रमा रह्यो । सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले चर्चा मात्र पाएनन्, प्राथमिकता पनि पाए । महासचिव गुटेरेसले कोप–२८ को उद्घाटन समारोहमा नेपालको नाम नै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिनेक्रम तीव्ररुपमा बढेको चर्चा गरेका थिए । उनले आफूले गत महिना नेपालका सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेर हिमाल पग्लिरहेको प्रत्यक्ष देखेको जानकारी त्यहाँ रहेका विश्वका नेताहरुलाई गराए । त्यसपछि सुरु भएको थियो नेपालको चर्चा । त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पर्वतीय मुुलुकका मुद्दा उजागर गर्ने गरी आफैँले अध्यक्षता गरी उच्चस्तरीय गोलमेच बैठकको आयोजना गरेका थिए । सो बैठकमा महासचिव गुटेरेस र केही हिमाली देशका नेताले पनि सम्बोधन गरेका थिए । हाम्रो वास्तविकता सुनाइ देशको कूटनीतिक दायरा विस्तार गर्न यो एउटा महत्वपूर्ण अवसर नेपाललाई प्राप्त भएको थियो । यस सन्दर्भमा सन् २००९ को कोपेनहेगन सम्मेलनको यहाँ स्मरण मननीय हुन्छ । सो सम्मेलनअघि नेपालले सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक गरेको थियो । विश्वका मिडियाले यो बैठकको समाचार संसारमा फैलाएका पनि थिए । नेपालका हिमाल जलवायु परिवर्तनका कारण पग्लिँदै छन् र यसतर्फ विश्व समुदायले सोचोस् भन्ने नै यसको सन्देश थियो । हाम्रोजस्तै कार्यशैली अपनाएर मालदिभ्सले पनि समुद्रमा मन्त्रिपरिषद् बैठक गरेको थियो । यी दुई बैठकको सन्देश थियो– हिमाल पग्लिएको पानी गएर समुद्रको सतह बढ्छ । यता हिमालमा सुक्खापनले असर गर्छ भने उता समुद्रको सतह बढेर वरपरको बस्ती डुब्छ । नेपालको यो प्रयास कोपेनहेगन सम्मेलनमा भने खासै सुनिएन । ‘कोप–१५’ को मुख्य वेबसाइटमा पनि हाम्रो बैठकको सूचना थिएन, माल्दिभ्सको मात्र थियो । सो सम्मेलनको वेबसाइट खोल्दा माल्दिभ्सको बैठकको तस्बिर र सूचना सुरुमै आउँथ्यो तर हाम्रो कालापत्थर कतै भेटिँदैनथ्यो । सम्मेलनमा सहभागी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले यसबारे नेपालको राष्ट्रसंघीय मिसनका अधिकारीलाई सोधे । सो सम्मेलनमा म पनि त्यहीँ भएकाले सुनेँ, नेपाली मिसनले चित्तबुझ्दो जवाफ दिन सकेन । यहाँ यो दृष्टान्तको आशय नेपाल सरकारका जो निकाय जहाँ जे कामका लागि छन् तिनले गर्नुपर्छ भन्ने हो । अनि यो पनि स्पष्ट छ कि प्रधानमन्त्रीले गर्ने काम त्यो थिएन, होइन । त्यसैले कोप–२८ मा पनि आज जसरी नेपाल सुनियो, जसरी हिमालका एजेण्डाले मान्यता पायो त्यसबाट लाभ लिनेमा पछि नपरौँ भन्ने हो । प्रधानमन्त्री दाहालको निमन्त्रणामा राष्ट्रसंघीय महासचिव नेपाल आएर हिमाल हेरे । यसकारण उनीबाटै हाम्रा समस्याका पक्षमा दुबईमा दलिल पेश गर्ने वातावरण बन्यो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा देशले चर्चा पाउनु नेपालको कूटनीतिक वृत्तका लागि एउटा महत्वपूर्ण उपलब्धि त हो नै, अब यसबाट लाभ लिने काममा पनि सरकारको संयन्त्र लाग्नुपर्छ, निरन्तर फलो अप गर्नुपर्छ । अर्को प्रसङ्ग, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी मुलुकको भ्रमण र यसबाट निर्मित कूटनीतिक सन्तुलन र लाभको छ । नेपालका नवनियुक्त प्रधानमन्त्रीको भारत भ्रमण एक पारम्परिक जस्तै हुँदै आएको छ । सबै भ्रमणलाई लेनदेनका रुपमा मात्र मापन गरिन्न, अनि निकटस्थ छिमेकीबीचको भ्रमण आदानप्रदानलाई लाभहानिका रुपमा मात्र हेरिनु हुँदैन र गरिँदैन पनि । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतसँगको विद्युत् व्यापारका विषयमा भएको सहमति नेपालका लागि एक उपलब्धि हो । त्यस भ्रमणका क्रममा नेपालसँग भारतले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत किन्नेगरी भएको सहमति हाम्रो ऊर्जा क्षेत्रको बजार विस्तारमा महत्वपूर्ण छ । यसबाट नेपालमा रहेको अथाह जलसम्पदाबाट उत्पादन हुने बिजुलीको बजार एक प्रकारले सुनिश्चित हुन सक्दछ । तर आगामी समयका थप अभ्यासलाई भने हामीले कूटनीतिक कौशलताका साथ जारी नै राख्नुपर्छ । हुन त बिजुलीको मात्रा थोरै होला तर अहिले हाम्रा लागि नेपालको बिजुली व्यापारको गोरेटो बाटो हो यो । आउने दिनमा हाम्रा कूटनीतिक पहलले यसैलाई राजमार्ग बनाउन सकिन्छ, सक्नुपर्छ । पहिले त भारतले नेपालको बिजुली किन्नेमा लिखित सहमति गर्नु र त्यो दुई देशको संयुक्त प्रेस वक्तव्यमा पर्नु नै महत्वपूर्ण हो । दुई देशबीचको यो सहमतिले सैद्धान्तिक रुपमा बिजुली व्यापारको मार्गप्रशस्त गरेको छ । यसका अतिरिक्त नेपाल, बङ्गलादेश, भारतबीचको त्रिपक्षीय विद्युत् आदानप्रदानको सहमति हाम्रो देशको बिजुली व्यापारको अर्को कोशेढुङ्गा हो । कम्तीमा पनि हाम्रो बिजुली बाह्य बजारमा जाने बाटो अब खुलेको छ । प्राप्त उपलब्धिमा टेकेर थप अगाडि बढ्ने बाटो हामी आफैँले पनि बनाउने हो । हामीले विश्व बजारमा पठाउने वस्तुहरुको अहिलेसम्मको अवस्था हेर्दा सबैभन्दा सहज बाटो भारतको हो । भारत हुँदै हाम्रा उत्पादनको निकासी जति खुल्छ र सुनिश्चित हुन्छ त्यसैमा हाम्रो राष्ट्रिय समृद्धि छ । त्यसैले पनि यस सहमतिलाई पछ्याएर आगामी दिनमा यसको विस्तारमा सम्बद्ध निकाय लाग्नुपर्छ । अर्कोतर्फ, चीन नेपालको छिमेकी मात्र नभई हाम्रो विकासका धेरै क्षेत्रसँग जोडिएको मुलुक हो । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा पनि दुई देशबीचको ‘क्रस बोर्डर रेलवे’ निर्माणमा सहमति भएको छ । लगानीको मोडेल टुङ्ग्याएर नेपालसम्म रेलसेवा विस्तारको बाटो तय गर्न यस पटकको सहमति अर्थपूर्ण छ भन्नुपर्छ । नेपाल–चीन रेलमार्गका बारेमा चिनियाँ प्राविधिकहरुले सम्भाव्यता अध्ययन गरिरहेकाले पनि नेपालसम्म रेल पुर्याउन चीन इच्छुक देखिन्छ भन्ने प्रस्टै भएको छ तर काममा द्रुतता ल्याउन कूटनीतिक ‘लबिङ’ लाई अझ तिब्र बनाउन हामीले नै विशेष ध्यान दिनुको विकल्प छैन । बेइजिङको समृद्धि काठमाडौँ भित्र्याउने भरपर्दो र नयाँ बाटो नेपाल–चीन अन्तरदेशीय रेलमार्ग नै हुनसक्छ नेपालका लागि । त्यसैगरी चीनसँग दुई देशमा आयात निर्यातलाई सघाउने गरी नेपालमा औद्योगिक पार्क निर्माणको अर्को महत्वपूर्ण सहमति भएको छ । यो पार्क निर्माण भएपछि यहाँ उत्पादित सामानको निर्यात हुने चीनतर्फ नै हो । यसका लागि रेलमार्ग त चाहिन्छ नै । त्यस्तै नेपालमा परम्परागत र आयुर्वेदीय चिकित्सा पद्धतिको अनुसन्धान गरी त्यसलाई प्रवद्र्धन गर्ने अर्को सम्झौता चीनसँग भएको छ । नेपालका हिमाली क्षेत्रमा औषधीय महत्वका अनेक जडिबुटी पाइन्छन् । ती जडिबुटी अहिले सस्तो मूल्यमा बाहिरिएका छन् । वास्तवमा यो प्राकृतिक सम्पदाको सदुपयोग गरेर हामीले नै औषधि निर्माण गर्ने हो भने हाम्रा लागि निकै लाभदायक हुनेछ । यसका अतिरिक्त नेपालले बिआरआई परियोजनाको कार्यान्वयनका लागि गरेको सहमतिको कुरा दुई देशबीचको संयुक्त वक्तव्यमा नै उल्लेख गरिएको छ । दाहाल नै दोस्रो पटक प्रधानमन्त्री भएका बेला सन् २०१७ मा सो परियोजनामा नेपालले हस्ताक्षर गरेको थियो । यसलाई आगामी दिनमा अघि बढाइने सहमति प्रधानमन्त्री दाहालको चीन भ्रमणका समयमा भएको छ । विशाल जनसङ्ख्या र उदीयमान अर्थतन्त्र भएका उत्तर र दक्षिण छिमेकीका बीचमा रहेर नेपालले अपनाउने कूटनीतिक सन्तुलनबाट नै हामीले लाभ लिन सक्छौँ । त्यसैले सरकारको भारतसँग बिजुली व्यापारको सम्झौता र यता चिनियाँ बिआरआई परियोजनाको कार्यान्वयनको प्रतिबद्धतालाई नेपालको कूटनीतिक सन्तुलनका रुपमा अथ्र्याउन सकिन्छ । कूटनीतिक कौशलता प्रदर्शन गर्नुपर्ने अवस्था र घटना नेपालसामु दिनदिनै देखिँदैछन् । केहीअघि इजरायलमा हमासको आक्रमणमा केही नेपाली विद्यार्थीको ज्यान गएको छ भने एकजना अझै उनीहरुकै नियन्त्रणमा छन् । यता रुस–युक्रेन युद्धका कारण दुवै देशले विदेशी नागरिकलाई सेनामा भर्ती गरिरहँदा केही नेपाली युवा पनि त्यहाँका सेना बन्न पुगेका छन् । यसमा परेर हालसम्म सात जना नेपाली युवाको ज्यान गएको कुरा सरकारले नै पुष्टि गरिसकेको छ । हाम्रा रोजगारीका बाध्यताले लुकिछिपी नेपालीहरु यस्ता काममा संलग्न भएका भए पनि समस्यामा परेपछि आफ्ना नागरिक बचाउनु र उद्धार गर्नु सरकारको कर्तव्य हुन आउँछ । यसका लागि नेपालको कूटनीतिक सक्रियता थप आवश्यक छ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिरहेका छन् । यसका लागि उनी कतार पुगेर त्यहाँका प्रधानमन्त्रीसँग अनुरोध गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायसँग अपिल पनि गरेका छन् । त्यस्तै सरकारले युक्रेन र रुसलाई नेपाली युवालाई सेनामा भर्ती नगर्न पत्राचार पनि गरेको छ । सरकारले यो एक वर्षमा अर्थपूर्ण र आवश्यक मात्रामा ‘डिप्लोम्याटिक इङ्गेजमेन्ट’ गर्न सकेको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुँदा होस् या इटालीमा आयोजित विश्व खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा या अति कम विकसित मुलुकको अध्यक्षका रुपमा सम्बोधन गर्दा प्रधानमन्त्री दाहालले नेपालको अवस्था, जलवायु परिवर्तनले हामीलाई पारेको प्रभाव एवं नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई सक्दो चाँडो निष्कर्षमा पुर्याउने कामका लागि गरेका सम्बोधनमार्फत् नेपालको कूटनीतिक दायरा फराकिलो पार्न सघाएको छ । त्यस्तै पछिल्लो महिना परराष्ट्रन्त्री साउदले गरेको अमेरिका भ्रमण र त्यहाँका समकक्षीसँग राखेका विषयवस्तुले पनि एमसिसी परियोजनालाई अघि बढाएको नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाएको महसुुस गरिएको छ । यी ‘डिप्लोम्याटिक इङ्गेजमेन्ट’ बाट नेपालले लाभ लिन मुलुकको राज्यसंयन्त्र नै लाग्नुपर्छ । यसको प्रतिक्षा होइन कि प्राप्ति चाहिँ नेपालको कूटनीतिक लाभ हो भन्ने तथ्य राज्यले बुझ्नुपर्छ । रासस
सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना
चितवन । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै १० करोड रुपैयाँ आम्दानी लिने भएका हुन् । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट ७५ देखि ९० रुपैयाँ सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ । त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको उनले बताए। गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उनले जानकारी दिए। उनले भने, ‘उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन् ।’ गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उनले बताए । उनका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताए । जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ। रासस
हिमालयन बैंकका लगानीकर्तालाई डुबाउँदै नेप्सेका कर्मचारी
काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंकले सर्वसाधारण सेयरधनीहरूको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ छ । जसमध्ये संस्थापक सेयरधनीहरूको ७३ प्रतिशत सेयर स्वामित्व छ भने सर्वसाधारण समूहको २७ प्रतिशत सेयर स्वामित्व रहेको छ । तर, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को बमोजिम सर्वसाधारण समूहको सेयर स्वामित्व कम्तिमा ३० प्रतिशत हुनै पर्ने छ । बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्न एफपीओ निष्काशन गर्ने बैंकले जनाएको छ । बैंकले सर्वसाधारण समूहको ३० प्रतिशत हिस्सा पुर्याउन कम्तिमा पनि ३ प्रतिशत एफपीओ जारी गर्नु पर्नेछ । जसको आधारमा बैंकले न्यूनतम ३ प्रतिशत एफपीओ बिक्री गर्दा करिब ६५ लाख कित्ता सेयर सर्वसाधारणलाई दिनुपर्ने हुन्छ । ‘हिमालयन बैंकमा सर्वसाधारण समूहको ३० प्रतिशत स्वामित्व पुगेको छैन, अहिले २७ प्रतिशत मात्रै छ, अब ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन प्रक्रिया अघि बढाएका हौं,’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उज्वलराज भण्डारीले भने, ‘वार्षिक साधारणसभाले पारित गर्नुपर्ने भएकाले सो एजेण्डा राखिएको हो ।’ उनका अनुसार साविक सिभिल बैंक गाभ्नु अघि हिमालयन बैंकमा सर्वसाधारण सेयरधनीहरूको स्वामित्व १५ प्रतिशत मात्रै थियो । साविक सिभिल बैंकलाई गाभेपछि उक्त स्वामित्व बढेर २७ प्रतिशत पुगेको हो । डीसीईओ राजभण्डारीका अनुसार साधारणसभाले कति प्रतिशत एफपीओ जारी गर्ने भनेर सेयर संख्या निर्धारण गर्ने र अंकित मूल्यमा कति रुपैयाँ प्रिमियम थप गर्ने भनेर निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । यदि बैंकले प्रिमियम मूल्यमा सेयर जारी नगर्ने हो भने अन्य सेयरहोल्डरहरूलाई घाटा हुने उनको भनाइ छ । नेप्सेका कर्मचारीले डुबाउँदै लगानीकर्ता बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भनेर सूचना सार्वजनिक भएपछि लगानीकर्ताहरूले पुँजीबजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गएर सेयर बैंकको सेयर स्वामित्व हेर्न थाले । जहाँ संस्थापक समूहको ८५ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको १५ प्रतिशत स्वामित्व रहेको तथ्यांक देख्न सकिन्छ, जसले लाखौं सेयरधनीहरुलाई सरासर झुक्याउन खोजेको देखिन्छ । किनभने सो तथ्याङ्कले बैंकले सर्वसाधारणमा १५ प्रतिशतसम्म एफपीओ निष्काशन गर्न लागेको बुझाउँछ । यसरी नेप्सेले समय समयमा आफ्नो आधिकारिक साइटमा सूचीकृत कम्पनीहरूको सही तथ्याङ्क नराख्दा वा अपडेट नगरिदिँदा नेप्सेको तथ्यांकलाई आधिकारिक मानेर लगानी गर्ने लाखौं लगानीकर्ताहरूको लगानी डुब्ने खतरा प्रबल छ । नेप्से स्रोतका अनुसार ग्याप रहेको तथ्याङ्क अपडेट गर्ने काम स्वयम् कम्पनीको हो । ग्याप रहेका तथ्याङ्क अपडेट गराउन नेप्सेले सूचीकृत कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको नेप्से स्रोतको भनाइ छ । तर, नेप्सेले सही तथ्याङ्क अपडेट गराउन कम्पनीलाई निर्देशन दिन नसकेको उनको भनाइ छ । ‘सबै कम्पनीहरूको तथ्याङ्क पूर्ण रुपमा अपडेट छैन, ग्याप भएको तथ्याङ्क अपडेट गराउनुहोस् भनेर नेप्सेले कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको छ,’ उनले भने ‘तर, कम्पनीहरुले नगराएका हुन्, अब अपडेट गराउन फलोअप गर्छौं, दुईचार दिनमा सूचना जारी गर्छाैं ।’ स्रोतका अनुसार सूचीकृत कम्पनीहरूको तथ्याङ्क अपडेट गराउन नेप्सेले मनिटरिङ गर्न नसकेको स्वीकार गरे ।
एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ७ गते शनिबार कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको र महिला दिदि बहिनीहरुमा र विद्यार्थी भाई बहिनी हरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले सस्थाले सुदुर पश्चिम प्रदेश कलुवापुर उप प्रदेश अन्तर्गत श्री रौलेश्व मा.वि. चवन्निबजार का ६८ बढि विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुर अन्तर्गत का १८६ महिला दिदि बहिनीहरुमा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । विशेष गरेर कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।
सभामा जान इन्फिनिटी लघुवित्तले तोक्यो बुक क्लोजको मिति ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था आगामी पुस २८ गते वार्षिक साधारण सभामा जाँदै छ । उक्त सभा सो दिन बिहान १० बजे नवलपरासीको गैंडाकोटमा बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस २० गते एकदिन बुक क्लोज गर्दै छ । यसपटक कम्पनी सञ्चालक समितिले सभामा नगद र बोनस कुनैपनि प्रकारको लाभांश प्रस्ताव गरेको छैन । हाल संस्थाको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ छ ।
गुरुकुल शिक्षामा बढ्दो आकर्षण, धामले व्यहोर्छ सबै खर्च
झापा । पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन् । झापाको अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक (विद्यार्थी) अध्ययन गर्दै आएका छन् । गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘पिताजी मेघालयको कोइलाखादमा काम गर्न जानुभएको छ’, गुरुकुलको कक्षा ४ मा पढिरहेका मिश्र भन्छन्, ‘माताजी हाजिरा गरेर कमाउनुहुन्छ । आफ्नो खेतबारी केही छैन । नेपालको अर्जुनधारा धाममा राम्रो संस्कृत पढाइ हुन्छ भन्ने सुनेर घर सल्लाहमै यहाँ आएको हुँ ।’ उनले आसामको रङ्गियाबाटै एसईई समकक्षताको औपचारिक शिक्षा पूरा गरिसकेर संस्कृत पढ्ने तीब्र चाहनाका कारण नेपाल आएको बताए । भविष्यमा बनारस वा वृन्दाबन गएर आचार्य तहको पढाइ पूरा गरेर धर्म, संस्कृति र समाजको सेवा गर्ने उनले आफ्नो लक्ष्य सुनाए । विगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र वृन्दावन जाने प्रचलन थियो । धरानको पिण्डेश्वरलगायतका केही नेपाली संस्कृत विद्यालयले मात्र संस्कृत पढ्न चाहनेको लहर धान्दैनथ्यो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराण लगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेका छन् । २०४० तिर आचार्य पुष्पलाल निरौलाले अर्जुनधारा धाममा गुरुकुलको स्थापना गरेका थिए । निरौलाले प्राचार्यका रुपमा आजीवन सेवा गरेका यस गुरुकुल संस्कृत पढ्न चाहनेका लागि झापाकै उत्कृष्ट गन्तव्यका रुपमा परिचित रहेको अर्जुनधारा जलेश्वर धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउँछन् । सरकारले कक्षा ५ सम्म अनुमति दिएको यो गुरुकुलमा अध्ययनका लागि वर्षेनी सयौं इच्छुकहरु टाढादेखि आउने गर्छन् । तर, सीमित स्रोत र साधन भएकाले ४५ जनालाई मात्र पठनपाठन गराउन सकिएको जोशीले बताए । पढ्छौँ भन्दै आउने अरुलाई जिल्लाको अन्यत्र गुरुकुलमा सम्पर्क गराएर पठाउने गरिएको उनले जानकारी दिए । ‘केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरुको संख्या बढिरहेको छ,’ उनी भन्छन्, ‘हामीसँग भएजति भवन, कक्षाकोठा र सुविधाले पढ्न इच्छुक सबै नयाँ विद्यार्थीलाई धान्न सक्दैन । जिल्लामा रहेका अरु गुरुकुलमा पठाउन बाध्य छौं ।’ झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट मात्र नभएर ताप्लेजुङ, जनकपुर र वीरगञ्जदेखि बटुकहरु अध्ययनका लागि अर्जुनधारा आएका छन् । खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले विपन्न समुदायका अभिभावकहरुको रोजाइ गुरुकुल हुने गरेको छ । संस्कृत भाषा र हिन्दू धर्मप्रति बढ्दो आकर्षणले समेत विद्यार्थीहरु गुरुकुल पुग्ने गरेको पाइएको छ । कक्षा ४ मा अध्ययन गरिरहेका १४ वर्षीय सक्रिश निरौलाको घर मोरङको बेलबारी हो । उनका बुवा वैदेशिक रोजगारीमा गएका छन् । सानैदेखि धर्म, संस्कार र संस्कृत भाषाप्रति रुचि राखेको देखेर सक्रिशलाई आमाबुबाले नै अर्जुनधारा संस्कृत बेद विद्यापीठमा भर्ना गरिदिएका हुन् । उनी अहिले यस गुरुकुलका मेधावी बटुकमा गनिन्छन् । ‘सानैदेखि संस्कृत भाषाका मन्त्रहरु उच्चारण गर्न चाख लाग्थ्यो,’ बटुक सक्रिश निरौलाले भने । भविष्यमा आचार्य (संस्कृत भाषामा स्नातकोत्तर तह) उत्तीर्ण भएर गुरुकुलको प्राचार्य बन्ने उनको सपना छ । व्यासासनमा बसेर पुराण सुनाउने पनि उनको रहर छ । जगद्गुरुले पढेको गुरुकुल अर्जुनधारा संस्कृत वेद विद्यापीठ नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन गरेको गुरुकुल हो । उनले संस्कृतको प्रारम्भिक शिक्षा यही गुरुकुलमा बसेर लिएको धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउँछन् । झापाको हडिया बुधवारेमा २०३३ सालमा जन्मिएका देवाचार्य आठ वर्षको उमेरमा अर्जुनधारा गुरुकुलमा अध्ययनका लागि आउनु भएको र तीन वर्षपछि वृन्दाबन गएको जोशीले जानकारी दिए । देवाचार्य हाल सुनसरीको प्राचीन हरिद्वारको रुपमा कहलिएको चतराधाममा स्थायी रुपमा बस्छन् । यस गुरुकुलबाट दीक्षित भएकाहरु थुप्रै संख्यामा विद्यावारिधि उपाधिप्राप्त र महत्त्वपूर्ण ओहोदामा पुगिसकेका छन् । यही गुरुकुलबाट दीक्षित आचार्य कुबेर निरौला हाल अर्जुनधारा जलेश्वर धामको व्यासाचार्य छन् । हालै बालाचतुर्दशी पर्वको विशेष अनुष्ठानमा भारतको हरिद्वारबाट आएको पतञ्जलि योगका प्रख्यात गुरु आचार्य बालकृष्णले समेत अर्जुनधारा गुरुकुलको अवलोकन गरेका थिए । गुरुकुल सञ्चालनको सम्पूर्ण खर्च अर्जुनधारा जलेश्वर धाम समितिले व्यहोर्दै आएको छ । धामका स्वर्गीय व्यासाचार्य पुष्पलाल निरौलाले ४० वर्षअघि गुरुकुल सुरु गर्दा मुठ्ठीदान नै सञ्चालनको मुख्य स्रोत थियो । बटुकहरुलाई लिएर प्राचार्य निरौला आफैँ धाम वरिपरिका गाउँमा मुठ्ठीदान सङ्कलन गर्न हिँड्थे । मुठ्ठीदानबाट चामल सङ्कलन हुन्थ्यो भने केही दाताहरुले नगद पनि सहयोग गर्थे । दयनीय अवस्थाबाट सुरु गरिएको यस गुरुकुलमा हाल सुविधाहरु मनग्ये थपिएका छन् । धाम समितिले वर्षेनी १५ लाखसम्म बजेट दिएका कारण गुरुकुल सञ्चालन सहज हुने गरेको गुरुकुलका प्राचार्य हेमन्त भण्डारी बताउँछन् । अहिले गुरुकुलका लागि तीन तलाको भब्य पक्की भवन धामले निर्माण गरिदिएको छ । पाँच जना शिक्षक कार्यरत छन् । संस्कृत, कर्मकाण्ड, रुद्री, चण्डी, बेदबाहेक नेपाली, अङ्ग्रेजी, गणितलगायतका विषयका पाठ्यपुस्तकहरु पनि पठनपाठन हुने गरेको छ । कम्प्युटर पढाउने योजना समयानुकुल शिक्षा प्रदान गर्ने उद्देश्यले धाम सञ्चालन समितिले गुरुकुललाई थप सुविधासम्पन्न भवनमा सार्ने र कम्प्युटर शिक्षासमेत प्रदान गर्ने योजना अघि सारेको छ । धाम समितिका कोषाध्यक्ष जोशीका अनुसार पुस्तकालय स्थापना अन्तिम चरणमा पुगेको छ । सोही पुस्तकालयमा एक दर्जन कम्प्युटर राखेर सिकाउने धामको तयारी छ । धामको गुरुयोजनामा गुरुकुललाई सुविधासम्पन्न बनाउने उल्लेख रहेको र दाताहरुको सहयोगमा उक्त लक्ष्य पूरा गरिने उनले बताए । परम्परागतरुपमा सञ्चालन भइरहेका गुरुकुलहरुलाई आधुनिक शिक्षाको स्वरुपमा ढाल्नुपर्ने र राज्यबाट सहयोग पुर्याइनुपर्ने आवाज उठ्न थालेको छ । तर, गुरुकुलका शिक्षकहरु भने आधुनिक शिक्षामा लैजाने नाममा गुरुकुलीय शिक्षा पद्धति मास्न नहुने बताउँछन् । सरकारले धार्मिक विद्यालयका रुपमा मान्यता प्रदान गर्दै गुरुकुलमा कक्षा ४ तहको औपचारिक अध्ययनको अनुमति प्रदान गर्दै आएको छ । यस गुरुकुलमा सरकारले एकमुष्ठ रु दुई लाख शैक्षिक अनुदान उपलब्ध गराउँदै आएको छ । यस्तो अनुदान झापाका संस्कृत, गुम्बा र मदरसा विद्यालयहरुले पनि पाउँदै आएका छन् । महर्षि फाउण्डेसनको भरथेग झापामा २२ वटा गुरुकुल सञ्चालनमा छन् । ती सबै मठमन्दिरमा सङ्कलन हुने दान दक्षिणामा निर्भर हुँदै आएका छन् । आफ्नै स्रोत र साधन भएका गुरुकुल नगण्य छन् । गुरुकुल विद्यालयका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन दर्बिलो दाता बनेको छ । देशभरबाट छानिएका गुरुकुलहरुले फाउण्डेसनबाट आर्थिक सहयोग पाउँदै आएका छन् । “हरेक गुरुकुलमा कम्तीमा दुई जना शिक्षक कार्यरत हुनुहुन्छ,” मेचीनगर–१५ ज्यामिगरगढीस्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनाल भन्छन्, “एउटा शिक्षकको सम्पूर्ण पारिश्रमिक फाउण्डेसनले व्यहोर्दै आएको छ ।” फाउण्डेसनले दैनिकरुपमा रुद्राभिषेक गराउँदै आएको छ । रुद्राभिषेक गराउन फाउण्डेसनले ध्यान गुरु नियुक्त गरेर मासिक पारिश्रमिक दिने गरेको अर्जुनधारा संस्कृत बेद विद्यापीठका ध्यान गुरु चिरञ्जीवी ढुङ्गानाले बताए । फाउण्डेसनकै सहयोगका कारण गुरुकुलका विद्यार्थीले नियमितरुपमा दैनिक २० मिनट भावातीत विधिको ध्यान र योग सिकिरहेको उनले जानकारी दिए । गुरुकुलमा विद्यार्थीले हरेक बिहान ४ः३० बजे उठ्ने र राति ९ बजे गीता पाठ अनिवार्यरुपमा गर्नुपर्दछ । सन्ध्या पूजामा ५ बजे पुगिसक्नु पर्दछ । रासस