विकासन्युज

एक गर्भवती र एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार

  काठमाडौं । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो । दुवैजनालाई काठमाडौं लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ । गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए । त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

२० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको खराब कर्जा १० प्रतिशत पुग्यो

काठमाडौं । २० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा झण्डै १० प्रतिशत पुगेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तको एनपीएल ३४.६० प्रतिशत बढेर ९.९२ प्रतिशत पुगेको हो । गत वर्षको पुसमा ७.३७ प्रतिशत एनपीएल थियो । यस अवधिमा लघुवित्तको कस्ट अफ फण्ड ९.०४ प्रतिशत, आधार दर १३.४८ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेडदर ५.९१ प्रतिशत रहेको छ । पुस मसान्तसम्मका लघुवित्तको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत घटेर ११ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ६ महिनामा लघुवित्तले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा, ४ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष १८ करोड २५ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तले गत भदौ ३० गते सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, ३ महिनापछि उक्त लाभांशको एजेण्डा बिनै वार्षिक साधारण सभा सम्पन्न आह्वान गरी सम्पन्न गरिसकेको छ । यस विषयमा नियामक निकाय मुकदर्शक बनेका छन् । युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब युनिक नेपाल लघुवित्तविरुद्ध अदालत जाने लगानीकर्ताको चेतावनी, अध्यक्ष हमाल भन्छन् : कारबाही गर्छौं

कुमारी क्यापिटलले माघ २८ गतेदेखि १ अर्बको कुमारी सबल योजना बिक्री गर्दै

काठमाडौं । कुमारी क्यापिटलले माघ २८ गतेदेखि कुमारी सबल योजना नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

थाई भाट चोरीको अभियोगमा दैलेखका सुनार विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई बिहीबार दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ । याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभि अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले उक्त थाई भाट चोरी गरेको खुलेको हो । निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ । सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

‘गिरफ्तार गरेपछि समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायी थप निरुत्साहित भए’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको बताएको छ । व्यवसायी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीमाथिको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण गर्दै महासंघले सो बताएको हो । सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दा गर्दै पनि सरकारको यस्तो प्रवत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको महासंघको धारणा छ । यससँगै महासंघले सत्यतथ्य पत्ता लगाएर मात्रै कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ । साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

रमेश भट्टराईले ७ महिना काम गरेर २० महिनाको तलब बुझे

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश भट्टराईले ७ महिना काम गरेर २० महिनाको तलब बुझेका छन् । उनले कम्पनी मर्जरपछि सात महिना काम गरेर २० महिनाको तलब बुझ्दै कम्पनीबाटै बाहिरिएका हुन् । गत असारमा साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेकाे थियाे । मर्जरपश्चात् साविक महालक्ष्मी लाइफका सीईओ भट्टराईले मर्जरपछि पनि सीईओको जिम्मेवारी पाएका थिए। तर, ७ महिना पुरा नहुँदै कम्पनीबाट बाहिरिएका उनले २० महिनाको तलब सुविधा बुझेका हुन् । कम्पनी स्रोतका अनुसार भट्टराईले १३ महिनाको तलब र सवारी साधन लिएर बाहिरिएका हुन् । भट्टराईले आगामी फागुन १ गतेदेखि अवकाश पाउने भनिएतापनि स्वेच्छिक अवकास सुविधा (भीआरएस) लिएर बाहिरिएका हुन् । ‘उहाँले काम गर्नु भएको समयको तलब र अवकाशपछि १३ महिनाको तलब लिएर उहाँ कम्पनीबाट बाहिरिसक्नु भएकाे छ,’कम्पनी  स्रोतले विकासन्युजसँग भन्यो, ‘मर्जरपछि नयाँ गाडी किन्नु भएको थिएन, साविक महालक्ष्मी लाइफ हुँदा किनेको गाडी लिएर जानु भयो, ५ वर्ष चलिसकेको गाडी अरु कसैले नचढ्ने भनेपछि उहाँले नै लिनु भयो ।’ भट्टराईले मासिक ७ लाख रुपैयाँ तलब बुझ्थे । ७ लाखका दरले २० महिनामा उनले १ करोड ४० लाख रुपैयाँ लिएको कम्पनी स्रोतको भनाइ छ । साथै, कम्पनीले अन्य कर्मचारीहरूका लागि माघ २५ गतेसम्म भीआरएस सुविधा खुला गरेको छ । कम्पनीले खुला गरेको भीआरएस सुविधामा आवेदन दिने संख्या बढिरहेको छ । भीआरएस सुविधाका लागि निवेदन दिने समय अझै ७ दिन बाँकी छ। निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंका अनुसार कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएस सुविधा खुला गरिएको हो । ‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो, दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए, धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ, त्यसैले भीआरएस सुविधा खुला गरिएकाे हो,’ उनले भने ।

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी एक्सटरको बुकिङ माघ १८ गतेदेखि खुल्ला भएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो प्रदर्शन गरिएको उक्त गाडिको बिहीबारदेखि बुकिङ खुला भएको हो । हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो । एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ । यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । १.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरब्याग दिएको छ । हील एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ । ६ कलर अप्सनमा आउने एक्स्टर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जसको मूल्य क्रमश ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ ंचार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

पूर्वसूचना नदिई व्यवसायीलाई पक्राउ गर्नु हुँदैन : अध्यक्ष अग्रवाल

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले पूर्वसूचना नदिई व्यवसायीलाई पक्राउ गर्न नहुने बताएका छन् । बिहीबार सीएनआईले पत्रकार सम्मेलन गर्दै पूर्वसूचना नदिई व्यवसायीलाई पक्राउ गर्न नुहने बताएका हुन् । बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सीएनआईले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो धारणा राखेको हो । ‘सिधा गएर पक्राउ गर्नुमा हाम्रो बिमति छ, अरुणलाई पूर्व सूचना नदिई पक्राउ गरियो, प्रतिष्ठित व्यवसायीलाई पक्राउ गर्नुमा हाम्रो आपत्ति हो,’ अग्रवालले भने । देशमा लगानी सम्मेलनको तयारी हुँदै गर्दा यसले नकारात्मक असर पर्ने बताए । उनलाई तुरुन्त छोड्न पनि सीएनआईको आग्रह छ ।