अत्यधिक दोहनले सङ्कटमा सिमसार
काठमाडौं । हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ । सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसको मूल नाराका साथ जनचेतना फैलाउँदै बबरमहलस्थित वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गरिने जनाएको छ । यसैगरी निकुञ्ज विभाग र वन तथा भू–संरक्षण विभागको सहकार्यमा राष्ट्रियस्तरको गोष्ठी कार्यक्रम गरी दिवस मनाउन लागेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए। त्यसैगरी, प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ । रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको उपमहानिर्देशक ढकालले बताए । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । जलवायु परिवर्तन र अत्यधिक दोहनको असर सिमसारमा विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खाक्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको बताए । सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए । सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको महानिर्देशक ढुङ्गानाले बताए । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ । रासस
सगरमाथा जलविद्युतको नाफा २२ प्रतिशत बढ्यो
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा २२ प्रतिशत बढाएर ६ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २.२६ प्रतिशत बढेर १६ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । ६ महिनामा कम्पनीको वित्तीय खर्च ८.६८ प्रतिशत बढेर ५ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले ५ करोड ३० लाख रुपैयाँ वित्तीय खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९६ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ, रिटेन अर्निङ १०८.९० प्रतिशत बढेर १२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.७७ रुपैयाँ छ भने नेटवर्थ प्रतिसेयर १११.०३ रुपैयाँ रहेको छ ।
नारायणगढ-मुग्लिन सडक ३ साता बन्द हुने
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए । सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।
यती एयरलाइन्सले भित्र्याएका दुई वटा विमानले एक साताभित्रै उडान गर्ने
फाइल फाेटाे काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका २ ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ । दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । बिहीबार थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।
ऋण घटाउँदै नाफा बढाउँदै माण्डु हाइड्रो, जगेडा कोषमा ३७ करोड रुपैयाँ
काठमाडौं । माण्डु हाइड्रोपावरको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ प्रतिशत घटेर ४१ करोड ५२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष ४०.३२ प्रतिशत बढेर ३७ करोड १९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कर्जा तथा सापटी रकम २२.७६ प्रतिशत घटेर २ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी २५.०२ रुपैयाँ रहेको छ भने नेटवर्थ प्रतिसेयर १३९.७९ रुपैयाँ रहेको छ ।
६ महिनामा १ हजार १३७ जनाको मृत्यु, यसकारण हुन्छन् सवारी दुर्घटना
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार १३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ हजार ३३५ जना घाइते भएका छन् । ३ हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका ढकालले बताए । “डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ”, उनले भने । प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौं उपत्यकामा ५ हजार ८६५, कोशी प्रदेशमा १ हजार ६३९, मधेसमा ३ हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको बताए । उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ छ ।
सौर्य ऊर्जाबाट ८ लाख युनिट विद्युत् उत्पादन, ८७ करोड खर्च
काठमाडौं । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत् उत्पादन गरेको हो । कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ । हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भएको भट्टराईले बताए । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले बताए । परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद, बिक्रीका विषयमा सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट ७.३० रुपैयाँ कायम गरिएको छ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए । उनले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्यासमेत समाधान हुने उनको भनाइ छ ।
पर्यटनमन्त्रीले गरे वायुसेवा निगमको निरीक्षण
काठमाडौं । नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिएका छन् । मन्त्री किरातीले आज नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रर्वाहबारे निरीक्षण गरेका हुन् । उनले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गरेको निगमका प्रवक्ता रमेश पौडेलले राजानकारी दिए । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिए। निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए ।