निर्यात व्यवसायी महासंघको चौथो वार्षिकोत्सवमा उत्कृष्ट निर्यातकर्ता सम्मानित
काठमाडौंं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले आफनो स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्त चौथो वार्षिकोत्सव कार्यक्रम बुधबार राजधानीमा सम्पन्न भएको हो । फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता तथा अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बिशिष्ठ अतिथि थिए । कार्यक्रममा वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदुतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गदै निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए । अर्थमन्त्री डा. प्रकाश शरण महत महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ’ । मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्षले उठान गरेको सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै सरकारले चाहदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल संबोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि उनले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफटाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पारे । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गरे । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए । सो अवसरमा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले पहिला के के भयो भएन भन्नेमा भन्दा अब कसरी अगाडी बढ्ने भन्ने चर्चा गर्नु बढी सान्दर्भिक र व्यावहारिक हुने उल्लेख गदै निर्यात वृद्धिका लागि लक्ष्य तोकी काम गर्न सक्ने विभाग तथा शाखा नहुँदा यो क्षेत्र सधै उपेक्षित रहेको औंल्याए । अध्यक्ष पाण्डेले निर्यात वृद्धिका लागी सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउन माग राख्नुहुँदै यस प्रकारको सुविधाले निर्यातमा उल्लेख्य वृद्धि हुने दाबी गर्दै भने, ‘निर्यात वृद्धिको लागी बढीमा साढे ६ व्याजदरमा सहुलियत पूर्ण ऋणको व्यवस्था गर्न जरुरी छ । ऋणको लागि चाहिनेरकमको श्रोत पहिचान गर्न एवं कार्यविधि बनाई पूर्ण सदुपयोग हुने गरी कार्यान्वयनमा लाने कुरामा हामी सहयोग गर्न सदैव तयार छौ । अर्को हामीले निर्यात वृद्धिका लागी एउटा छुट्टै निर्यातलाई सहयोग पुग्ने खालको निर्यात नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउन जरुरी देखेका छौं।’ त्यस्तै, उनले सरकारले दिने नगद अनुदान रकम कम हुँदा साना उद्यमीहरुले अनुदान पाउन नसकेकोले अनुदान रकम बढाउनु पर्ने, निर्यात क्षेत्रका निम्ति छुट्टै एफडिआई नीति ल्याउनुपर्ने, नेपालमै बिक्री केन्द्र र अन्तराष्ट्रिय स्तरको मेला आयोजना गर्न घर, लिजमा जग्गा उपलब्ध तथा एक्पोर्ट भिलेजको आवश्यक रहेको, निर्यातजन्य केहि वस्तुको कच्चा पद्धार्थ आयातमा भन्सार बृद्धि भएकाले सोको पुनरावलोकन हुनुपर्ने, ऊनी, कपास र तरकारीमा लगाईएको मुल्य अभिबृद्धि कर हटाउनुपर्ने, कर छुट कायम राख्नुपर्ने माग राख्नुहुँदै बजेटले निर्यात भएपछि स्वतः निर्यातक कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्था लगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको र समग्र बजेट सकारात्मक रहने भए पनि कार्यान्वयनमा भने समस्या रहदै आएको उल्लेख गरे । अध्यक्ष पाण्डेले निजी क्षेत्रको प्रयासबाट दाँयारा बढाउदै निर्यात व्यवसायीहरुले १५५ देशसम्म नेपालका उत्पादन नियमित निकासी गर्दै आएको जनाउँदै १२८ देशसँग नेपालको व्यापार घाटा रहेको जानकारी समेत गराए । कार्यक्रम माझ नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले हुलाक मार्फत ई कमर्सलाई दुरदराजदेखी विश्वसम्म जोडन सकिने हुँदा यसको प्राविधिक पक्षको सबलीकरणमा सरकारले जोड दिएको उल्लेख गरे । साथै उनले नेपालको लोजिस्टिक सेवा कमजोर रहेकोले सोमा सुधार गर्न र विश्वबजारमा जाँदा आफनो कम्पनीको एकल उत्पादन भन्दा सामुहिक व्यवसायिक हितको निम्ती उदार बन्न पनि निर्यातकहरुलाई आग्रह गरे । सांसद गणेश पराजुलीले उत्पादनशिल क्षेत्रको ५ प्रतिशत मात्र योगदान रहेको जनाउँदै निर्यात माथि जोड नदिईदा रेमिटेन्समुखी भएकाले अर्थतन्त्र उकासिन नसकेको जिकिर गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उत्पादनशिल क्षेत्रमा आयात प्रतिस्थापन गर्ने गरि बजेट आउने हो भने विदेशी मुद्रा बढने र आयात निर्यात बीचको असन्तुलनमा कमी आउने उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातक भनेका विदेशी मुद्रा आर्जन गर्ने राष्ट्र शक्ति भएकाके यस क्षेत्रका तमाम समस्या हल गर्न सरकार गम्भिर बन्न जरुरी रहेको औंल्याए । उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्र कुमार अग्रवाल, त्यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एशोसियसन नेपालबाट विदुषी राणा, नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णुमदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल हुनुहुन्छ । सोही अवसर माझ निर्यात स्मारिका २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदर पत्र प्रदान गरियो । बार्षिकोत्सवमा उपस्थित प्रमुख अतिथि तथा सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । यसैगरी सो पूर्व फिनले आफनो बन्द सत्र कार्यक्रम सम्पन्न गरेको थियो । उक्त सत्रमा महासचिव देवानन्द सरावगीले प्रतिवेदन सार्वजनिक गर्नुहुँदै निर्यात प्रबद्र्धनसंग जोडिएका विभिन्न सवालहरुमा निरन्तर सक्रिय रुपले सम्बन्धित सरोकारवालासंगको महासंघले औपचारिक तथा अनौपचारिक छलफल र अन्तरक्रिया कार्यक्रमहरुमा सहभागीता जनाउदै आएको जानकारी दिए । उनले आफ्ना सदस्य संघहरुले उठाएका सवालहरुलाई लिएर नेपाल सरकारका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने र नीतिगत सुधार तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बिषयमा बहस तथा पैरवीका कार्यक्रमहरु गरिएको बारे प्रकाश पारेका थिए । महासचिव सरावगीद्वारा प्रस्तुत प्रतिवेदनमा निर्यातजन्य बस्तुगत संघहरु तथा निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन भएकाले नेपालबाट निर्यात हुने बस्तुको उत्पत्तीको प्रमाणपत्र जारी गर्नका लागि निर्यात व्यवसायी महासंघलाई अधिकार दिईनु पर्ने, नेपालबाट निर्यात हुने वस्तुको लागि स्वदेशमा पर्याप्त मात्रमा कच्चा पदार्थ उत्पादन हुन नसकेको कारण निर्यात रकमको ठूलो हिस्सा विदेशिएकाले त्यसबाट अर्थतन्त्र प्रभावित बन्दै आएको, लागत मुल्य पनि बढ्ने हुदाँ च्याङग्रा तथा भेडा पालन, सिल्क धागो उत्पादन, कपास खेती तथा स्थापना भईसकेका कपडा मिलहरुलाई सुचारु रुपमा चलाउन समुचित व्यवस्था गरिनुपर्ने जस्ता सवालहरु उठान गरे ।
माघ २५ देखि क्यान इन्फोटेक २०२४ हुँदै
काठमाडौं । आउँदो माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मेला गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यस अन्तर्गत सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको बताए । उनले क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुने बताए ।
प्रभु महालक्ष्मीको सेयर विवरण गलत, हुनै सक्दैन प्रभु बैंकको २१ अर्ब ९६ करोड लगानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक प्रतिवेदनमा गम्भीर त्रुटी गरेको भेटिएको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा लगानीकर्ताहरू झुक्किन सक्ने गरी त्रुटीपूर्ण विवरण प्रकाशित गरिएको हो । कम्पनीले साविक प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८/७९को वित्तीय विवरणहरूसहित एउटै वार्षिक प्रतिवेदनमा समावेश गरेर राखेको छ । तर, उक्त वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा प्रभु बैंकले मात्र २१ अर्ब ९२ करोड रुपैयाँ सेयर लगानी गरेको देखिन्छ । जवकी प्रभु महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ मात्र रहेको छ । आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनको पृष्ठ नम्बर ५४ मा साविक प्रभु लाइफमा एक प्रतिशत वा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको सूची छ । उक्त तथ्याङ्क अनुसार इन्स्योरेन्स कम्पनीमा प्रभु बैंकको सबैभन्दा धेरै १० प्रतिशत अर्थात् २१ करोड ९६ लाख कित्ता सेयर छ । अंकित मूल्य १ सय रुपैयाँका दरले बैंकको सेयर स्वामित्व २१ अर्ब ९६ करोड रुपैयाँ हुन आउँछ । जबकी सोही वार्षिक प्रतिवेदनमा कम्पनीको पुँजी २ अर्ब १९ कराेड ६० लाख रूपैयाँ रहेको उल्लेख छ । कम्पनीले प्रभु बैंकको सेयर स्वामित्व मात्रै होइन, अन्य सेयरधनीहरूको तथ्याङ्क पनि गलत राखेको हो । कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंकको १९ करोड ५१ लाख, नेपाल इन्भेष्टमेन्टको १३ करोड ३७ लाख, प्रभु ग्रुपको १० करोड ९८ लाख, प्रभु म्यानेजमेन्टको ७ करोड ६८ लाख, प्रभु क्यापिटलको ५ करोड ४९ लाख, बिरटा कुमार श्रेष्ठको ३ करोड ८४ लाख, देवी प्रकाश भट्टचनको ३ करोड ८३ लाख कित्ता सेयर स्वामित्व रहेको तथ्याङ्क छ । कम्पनीको तथ्याङ्क अनुसार १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका १५ सेयरधनीसँग १ अर्ब ६ करोड २५ लाख ३४ हजार कित्ता सेयर रहेको गलत तथ्याङ्क उल्लेख गरेको हो । जसको अंकित मूल्य १ खर्ब ६ अर्ब २५ कराेड ३४ लाख रूपैयाँ हुन्छ । कम्पनीले यसपटक मात्रै होइन, विगतमा पनि गलत तथ्याङ्क प्रयोग गरेको भेटिएको छ । साविक प्रभु लाइफको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा पनि सेयरधनीहरूको सेयर स्वामित्व करोडौंमा राखेको उल्लेख छ । कम्पनीले त्रुटी गरेको उक्त विषय गम्भीर रहेको जानकारहरू बताउँछन् । अध्ययन तथा बिना सम्पादन उक्त तथ्याङ्क उल्लेख गरिएको बुझिन्छ । नेपाल बीमा प्राधिकरणले तोकेको ढाँचामा कम्पनीहरूले वार्षिक प्रतिवेदन तयार पार्नु पर्ने हुन्छ । कम्पनीले सोही ढाँचा अनुसार प्रतिवेदन तयार पारेको भएपनि त्रुटीपूर्ण तयार पारेको हो । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनको पृष्ठ नम्बर ५४ मा १ प्रतिशतभन्दा बढी सेयरधनीहरूको सूची छ । उक्त सूची साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको हुबहु कपि पेस्ट गरेर राखेको छ । कम्पनीका लेखा तथा वित्त विभाग प्रमुख लेखनाथ गौतमले प्रिन्ट मिस्टेक भएर यस्तो भएको हुन सक्ने बताए । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले रकम हुनु पर्नेमा कित्ता भएको हुन सक्ने बताए । ‘रकम हुनु पर्ने होला, यदि सेयर भएको छ भने कहिलेकाहीँ मिस्टक भएको हुन सक्छ, प्रुफ रिडिङ गर्दा सबै ठिकै हुन्छ तर, कहिलेकाहीँ छपाउँदा मिस्टेक भएर आउन सक्छ,’ उनले भने ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतका लागि अन्तिम मनोनयन पेस
लुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदुत एवम् यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रुपमा मनोनयन दस्तावेज पेस गरेका हुन् । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेश हुनु निकै खुसीको कुरा भएको बताएका छन् । ‘संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्राध्यापकहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै नभइ सम्पदाप्रेमी सबैका लागि खुसीको कुरा हो’, विज्ञप्तिमा भनिएको छ । तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने तयारी सहित कोषका तर्फबाट आवश्यक प्रक्रिया शुरु भएकाले सबैको सकारात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले उल्लेख गरेका छन् । यूनेस्को जापानिज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो । तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायबाट आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति समेत समेत गठन गरिएको थियो । उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समावेश गरेको थियो । विश्व सम्पदा समितिको ४५औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो । अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए । सिद्धार्थ गौतमले २९ वर्ष विताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरु अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनितिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख छ । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । रासस
अरुण चौधरी पक्राउ, मुछिएका छन् विनोद चौधरी पनि
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा सीआईबीले अनुसन्धान गर्दा सिजी ग्रुप मुछिएकोले अरुण पक्राउ परेका हुन् । यस्तै, सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापालाई पनि पक्राउ गरेको छ । उनलाई सीआईबीले काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो । मुछिएका छन् विनोद चौधरी सरकारी जग्गा हिनामिना प्रकरणमा उद्योगी तथा सांसद विनोद चौधरी पनि मुझिएका छन् । सिजी ग्रुपका अध्यक्ष विनोद र सिजी होल्डिङ्सका अध्यक्ष अरुण दाजुभाई हुन् । उनीहरूको मिलेमतोमा सो जग्गा हडपेको अनुसन्धानबाट खुलेको छ । सिआईवीले दुवै दाजुभाइलाई सँगै पक्राउ गर्ने योजना बनाए पनि सुरुमा अरुण पक्राउ परेका हुन् । सीआईबी स्रोतका अनुसार विनोद चौधरी पनि अहिले सिआईवीको निगरानीमा छन् । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य र संघीय संसदकाे सदस्य पनि हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै साता मात्र भ्रष्टाचारको मुद्दामा ठूला माछा समाउन लागेको बताएका थिए । ‘अरुणसँगै विनोद चौधरीकै नाममा पनि सरकारी जग्गा भेटिएको छ, सरकारी जग्गा हिनामिना गर्ने सबैलाई अनुसन्धानको दायरामा ल्याउँछौं, सोही अनुरूप हामीले विभिन्न व्यक्तिमाथि निगरानी गर्ने क्रममा विनोद र अरुण चौधरी पनि रहेका छन्, दुवै जनाको निगरानीमा हामी थियौं, सोही अनुरुप अरुण पक्राउ परेका हुन्, अन्यको पनि खोजी कार्य भइरहेको छ,’ सीआईवी स्रोतले भन्यो । सिजी ग्रुपले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी गरिरहेको छ । निकै सस्तोमा सरकारी जग्गा सिजी ग्रुपले आफ्नो नाममा ल्याएको बुझिएको छ । के हो प्रकरण ? सरकारले सञ्चालन गरिरहेको बाँसबारी छाला तथा जुत्ता कारखाना लगातार घाटामा गएपछि कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गर्यो । त्यतिबेला सो १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेड नामको कम्पनीले खरिद गर्यो। बाँसबारी छाला तथा जुत्ता कारखानाको तत्कालीन सञ्चालक समितिको बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कूल २५ लाख रुपैयाँमा जग्गा बिक्री गर्यो । तर, कारखानाले पैसाभन्दा पनि च्याम्पियन फुटवेयर लिमिटेडको प्रतिसेयर १ हजार रुपैयाँका दरले २५ सय कित्ता सेयर पायो । अब बाँसबारीको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा आयो । त्यो च्याम्पियन फुटवेर थियो तिनै उद्योगी विनोद चौधरीको । उनले २५ लाखमा १० रोपनी जग्गा पाएका थिए । उनले राजनीतिक तथा प्रशासनिक निकायलाई प्रभावमा पारेर सो जग्गा आफ्नो हातमा पार्न सफल भएको अनुसन्धानले देखाएको छ । सुरुमा सो च्याम्पियन फुटवेर कम्पनीको सेयरधनीमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । तर, अहिले भने सो कम्पनी अरुण चौधरी र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा छ । थापा नेतृत्वको तत्कालीन सञ्चालक समिति नै चौधरी ग्रुपलाई १० रोपनी जग्गा दिन लागिपरको अनुसन्धानबाट खुलेको छ । तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।
भारतले बढायो नेपाललाई दिने सहयोग, ११ अर्ब २० करोड विनियोजन
काठमाडौं । भारत सरकालेले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेकाे बजेटमा आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) नेपालका लागि विनियोजन गरिएकाे छ । भारतले वित्त वर्ष २०२३/२४ मा नेपालका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्याएको छ ।
श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो
श्रीलङ्का । श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले बुधबार जनाएको छ । खाद्य मुद्रास्फीति डिसेम्बर २०२३ मा शून्य दशमलव तीन प्रतिशतबाट जनवरी महिनामा तीन दशमलव तीन प्रतिशतमा बढेको डिसिएसले आफ्नो पछिल्लो विज्ञप्ति सार्वजनिक गरेको हो । गैर-खाद्य समूहको मुद्रास्फीति पनि डिसेम्बरमा पाँच दशमलव आठ प्रतिशतबाट बढेर जनवरीमा सात दशमलव नौ प्रतिशत पुगेको छ । डिसिएसका अनुसार मुख्यतया आवास, पानी, बिजुली, ग्यास, शिक्षा, कपडा, मादक पेय पदार्थ, सुर्तीजन्य र लागुऔषध, मनोरञ्जन र संस्कृति, विविध वस्तु र सेवाहरू र स्वास्थ्यका कारण मुद्रास्फीति बढेको हो । सन् २०२२ सेप्टेम्बरदेखि श्रीलङ्काको मुद्रास्फीति लगातार घट्दै गएको छ । उक्त समयमा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत थियो । जनवरी महिनाको सुरुमा केन्द्रीय बैङ्कका गभर्नर नन्दलाल विरासिङ्गेले मूल्य अभिवृद्धि करमा वृद्धि र आपूर्ति पक्ष समस्याहरूका कारण तरकारीको मूल्य बढेको भन्दै जनवरीमा श्रीलङ्काको मुद्रास्फीति करिब सात प्रतिशतले बढ्नसक्ने बताउनुभएको थियो । रासस
३० अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक ३० अंकले घटेको छ । दिनभर ओरालो लागेको उक्त परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४७ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबार ४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब बढीले घटी हो । बजारमा फाइनान्स बाहेक सबै समूह राताम्मे देखिएका छन् । फाइनान्स समूह भने ३.७६ अंकले बढेको छ । घटेको बजारमा सामलिङ पावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.४२ प्रतिशतले घटेको छ । यस्तै, टप गेनरको शीर्ष स्थानमा समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ ।