एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि कमपनीले भोलि माघ २५ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आज माघ २४ गतेसम्म कायम सेयरधनीहरू साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ ।
नेपाल लाइफको नाफा १३ प्रतिशत बढ्यो, १ खर्ब ८३ अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ अुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ६८ करोड ९१ लख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष २४ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियम ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ५८ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.१९ रुपैयाँ बढेर १०.४२ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२८.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।
खराब कर्जा ८.८३ प्रतिशत पुगेपछि नेरुडे लघुवित्तको नाफा ६२.२५ प्रतिशत घट्यो
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६२.२५ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लघुवित्तको खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफामा असर गरेको हो । चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर २४ करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत बढेर ११ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.२५ प्रतिशत बढेर ३५ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ६१.९६ प्रतिशत घटेर ३ करोड ५४ लाख रुपैयाँ छ । लघुवित्तको वितरण योग्य नाफा भने ५ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ, जगेडा कोष ५.२४ प्रतिशत बढेर ५९ करोड ५६ लाख रुपैयाँ, निक्षेप तथा सापटि ११ प्रतिशत बढेर ९ अर्ब २४ करोड रुपैयाँ र कर्जा ८.४६ प्रतिशत बढेर १० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ घटेर ६.७८ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.८१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.३८ रुपैयाँ रहेको छ ।
भिजिट भिसा प्रकरण : ४ जनालाई थुनामा पठाउने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ । उक्त प्रकरणमा पक्राउ परेकी गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख रुपैयाँ, विनोद कार्कीसँग २ लाख रुपैयाँ तथा दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ र रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो । –––
देव नेपालीसँग १४ वटा घर, ३० ठाउँमा जग्गा (सूचीसहित)
काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग १४ वटा कर र ३० ठाउँमा जग्गा रहेको खुलेको छ । उनले आफ्नो फेसबुकबाट एउटा विज्ञप्ति जारी गर्दै आफूसँग भएको घरजग्गा सार्वजनिक थरेका हुन् । उनले उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको पनि बताएका छन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना व्यक्त गरेका हुन् । ‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका सेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहबाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं, यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनेका छन् ।
‘४६ ठाउँमा घरजग्गा छ, बचतकर्ताको पैसा तिर्न नगद छैन’
काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम तिर्नका लागि आफूसँग नगद नभएको बताएका छन् । उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको बताएका हुन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना व्यक्त गरेका हुन् । ‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका सेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहबाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं, यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनेका छन् । घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिन पनि उनले अपील गरेका छन् । उनले आफू र आफ्नो परिवारको नामा ४६ ठाउँमा जग्गा रहेको पनि बताएका छन् ।
बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्न जोड
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । उनले सबै सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता आउनु आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै, उनले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको समेत जानकारी दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यस सम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमा सम्बन्धी तथ्याङ्कको विश्लेषण आवश्यक भएको बताए । उनले नागरिकलाई गरीबीको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुनसक्ने उल्लेख गर्दै हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण, शुद्धता र एकरूपताका लागि सम्बद्ध सबै निकायहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । अध्यक्ष सिलवालले राष्ट्रिय तथ्याङ्क लगायत अन्य निकायबाट सङ्कलन हुने तथ्याङ्कलाई एकीकृत गरी आदान प्रदान गर्ने संयन्त्रको आवश्यकता औंल्याउँदै यसबाट सरकार र प्राधिकरणको नीति निर्माण, कार्ययोजना तर्जूमा र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृत रूपमा समावेश गर्ने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सम्बन्धी तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझ व्यवस्थित गर्नका लागि प्राधिकरणलाई सम्वद्ध निकायहरूको साथ र सहयोग आवश्यक रहेको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय सम्बन्धी प्रस्तुती गर्नुहुँदै राष्ट्रिय जनगणना गर्दा बीमा सम्बन्धी प्रश्नावली पनि समावेश गर्नुपर्ने र राष्ट्रिय तथ्याङ्क प्रणाली तथा राष्ट्रिय लेखा प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्क पनि समावेश हुनुपर्ने आवश्यकता औंल्याए । प्राधिकरणले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले मंगलबार उक्त कार्यक्रम आयोजना गरेको हो ।
समितिबाट पारित भयो अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ । समितिको मंगलबारको २२औं बैठकमा सभापति रामहरि खतिवडाले राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक परिमार्जनसहित समितिले सर्वसम्मतिले पारित भएको बताए । विधेयक पारित भइसकेपछि विकास नीति तथा योजना कार्यान्वयनका क्रममा आयोजना प्रमुख, ठेकेदार कम्पनी, सरकार, मन्त्री, कार्यालय प्रमुखलगायत सबै जिम्मेवार व्यक्ति र निकायमा अनुगमन गरी अनियमितता गर्नेलाई सही मार्गमा डोर्याउन सहजता गराउने बताए । सभापति खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए । सभापति खतिवडाले बुधबार सदनमा पेस गर्ने कार्यतालिका रहेकामा तर दलका शीर्ष नेताले बोल्ने कार्यक्रम रहेकाले स्थगन भएको बताए । विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व र जवाफदेहिता प्रवद्र्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्न विकास नीति, योजनाको अनुगमन तथा मूल्याङ्कनलाई तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी र प्रभावकारी बनाउने सम्बन्धमा विधेयकमा व्यवस्था गरिएको छ । रासस