सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुुसार मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए । श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे । ‘अर्थतन्त्र बिस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसैले मलाई लाग्छ । बजेटलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ । रड, डन्डी, सिमेन्ट पनि बिक्री भयो । तर बनिसकेपछि त्यसले दुध दिन छोड्यो । आवश्यकता भन्दा ठूला संरचनाहरु अनुत्पादक र गैरप्राथमिकताको क्षेत्रमा खर्च भयो । अनि धेरै बहुवर्षिय घोषणाहरु भए । त्यसकारण यस्तो बेथितिबाट हाम्रो बजेटरी सिस्टम गएको थियो, त्यसलाई अनुशासनमा ल्याउने काम शुरु भएको छ । वाह्य क्षेत्र अत्यन्त सकारात्मक छन्, हिजो श्रीलंका हुन्छ के हुन्छ भन्थे’, उनले भने । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताए । केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गरे । अहिले सहकारीको रुप नै नरहेको जिकिर गरे । अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरुले दुरुपयोग गरेको बताए । अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताए । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रुपमा जानुपर्ने जानकारी दिए । अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि सेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।
टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८० सुरु
काठमाडौं । चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८०’ सुरु गरेको छ । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीले आफुले अध्ययन गरेको विषयमा प्रदर्शनी गरेका छन् । कलेजमा विज्ञान, आइटी तथा रोबोटिक्स अध्ययन गरेका विद्यार्थीले ६० भन्दा बढी स्टलहरू राखेर आफुले बनाएका सामाग्री प्रदर्शन गरेका छन् । वर्षभरी कक्षा कोठामा अध्ययन गरेको विषयलाई प्रयोगात्मक तरिकाले प्रदर्शनी गर्दा थप सिकाई हुने विद्यार्थीहरू बताउँछन् । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीले गुणस्तरिय शिक्षा पाउने कलेजका शिक्षकहरूले विश्वास गरेका छन् । सोमबारदेखि सुरुभएको कार्यक्रम बुधबारसम्म जारी रहने छ ।
हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच
सर्लाही । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने छ । हरिवन -१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताइन् । उनले ड्रोन तथा डिजिपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको जानकारी दिइन् । हरिवन-१ का विभिन्न स्थानको अभिलेख तयार गरी नापी र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताए । उनका अनुसार नगरपालिकाभरि भूमिहीन सुकुम्बासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रबिष्ट गरिइएको छ । रासस
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । सीईओमा आवेदन दिन बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोतर वा सोसरहको उपाधि हासिल हुनुपर्नेछ । व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक तथा बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष एवं दुवै क्षेत्रमा भएमा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ । यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक-वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएक हुनुपर्नेछ । दर्खास्त दिंदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेश गर्नु पर्नेछ ।
किन निरन्तर घटिरहेको छ चीनको सेयर बजार ?
काठमाडौं । चीनको सेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताको निद्रा हराएको छ । तीन वर्षमा चीनको सेयर बजार पुँजीकरण ७ ट्रिलियन डलरकाे गिरावट आएको हो । यो गिरावटपछि चीनको बजार नियामक पनि सक्रियरूपमा काम गर्न लागेको छ । बजारको मनोबल बलियो बनाउन चिनियाँ बजार नियामकले बजार हेरफेर, गलत सर्ट सेलिंग र वित्तीय अपराध रोक्न नियम परिवर्तन गर्ने गर्ने बताइसकेको छ । चीनको सेयर बजारको नियामकले सेयरधितो सम्बन्धी नीति पनि परिवर्तन गरिने जनाएको छ । फेब्रुअरी २०२१ मा नयाँ उचाइमा पुगेपछि चीनको सेयर बजार लगातार घटिरहेको छ। सन् २०२४ को सुरुवातमै बजार नाजुक अवस्थाबाट गुज्रिरहेकाे छ । सबैभन्दा बढी गिरावट मिडक्याप र स्मलक्यापमा देखिएको छ । घरजग्गामा मन्दी चीनको घरजग्गा क्षेत्रको देखिएको संकट र देशको अर्थतन्त्रमा देखिएको सुस्सताले त्यहाँको सेयर बजारमा पनि असर गरिरहेको छ । अमेरिकासँगको चिसिदाने सम्बन्ध पनि सेयर बजार घट्नुको कारण रहेको जानकारहरूको भनाइ छ । यस्तो अवस्थामा सेयर बजारबाट घाटा बेहोरेका लगानीकर्ताले अमेरिकी दूतावासको ब्लग एकाउन्ट र अन्य सामाजिक सञ्जालमार्फत निराशा र असन्तुष्टि व्यक्त गरिरहेका छन् । सेयर बजारमा आएको यो गिरावटबाट चिन्तित चीनले अर्थतन्त्रमा विश्वास जगाउन र सेयर बजारमा लामो मन्दी आउन नदिन निरन्तर प्रयास गरिरहेको बताएको छ । तर, चीनको अर्थतन्त्रमा यति धेरै छिद्रहरू छन् कि ती भर्ने सबै प्रयासहरू अपर्याप्त साबित भइरहेका छन् । आर्थिक वृद्धिको कमजोर अनुमानले सेयर बजारमा प्रभाव अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान अनुसार चीनको वृद्धिदर सन् २०२३ मा ५.२ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा सीमित हुनेछ । यदि यो अनुमान सही साबित भयो भने यो विगत १० वर्षमा चीनको अर्थतन्त्रको सबैभन्दा खराब हुनेछ। २०२८ सम्म यो ३.५ प्रतिशतमा झर्न सक्ने अनुमान गरिएकाे छ। यही डरले चीनको सेयर बजारमा गिरावट आएको बुझाइ विश्लेषकहरूको छ । यो साता चीनको सेयर बजार शाङ्घाई कम्पोजिट सूचकांकमा ६.२ प्रतिशतले गिरावट आएको छ, जुन अक्टोबर २०१८ पछिको सबैभन्दा ठूलो गिरावट हो । यो वर्षको सुरुदेखि नै यो परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको छ । जहाँ शेन्जेन कम्पोनेन्ट इन्डेक्स ८.१ प्रतिशतले घटेको छ र यो ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो । र, यो वर्षको सुरुदेखि अहिलेसम्म यो सूचकांक १५ प्रतिशतभन्दा बढीले घटेको छ । सबैभन्दा खराब हप्ता यो साता चीनको अर्थतन्त्रका लागि निकै खराब भएको छ । हप्ताको सुरुवात विश्व र चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी एभरग्रान्डको आसन्न बिक्रीबाट भएको थियो । हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको थियो । यो संसारको सबैभन्दा ठूलो ऋणमा डुबेको घर जग्गा विकासकर्ता हो। हङकङको अदालतले एभरग्रान्डलाई उसको ३०० अर्ब डलरको ऋण तिर्न बेच्न आदेश दिएको छ । चीनको दोस्रो ठूलो कम्पनी कन्ट्री गार्डेन डिफल्टर बनेको छ । यससँगै चीनको सम्पत्ति बजारमा संकट गहिरिएको छ । यस घरजग्गा संकटले विकासकर्तालाई ऋण दिने बैंकहरू पनि समस्यामा पर्न सक्ने डर बढ्दै गएको छ । यस्तो अवस्थामा चीनको अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगटेको चीनको घर जग्गा क्षेत्रको संकटले त्यहाँका नीति निर्माताहरूलाई असर गरेको छ । पहिले नै संकटग्रस्त घरजग्गा क्षेत्रलाई चीनको कमजोर अर्थतन्त्रको लागि दोष दिइन्छ । यस्तो अवस्थामा चीन सरकारका लागि घरजग्गा क्षेत्र बचाउनु निकै महत्वपूर्ण छ । चीनको रियल इस्टेट क्षेत्रको अवस्था यति दयनीय बनेको छ कि यहाँ लाखौं फ्ल्याटहरू खाली छन् । यी फ्ल्याटहरूमा बस्न कोही पनि तयार छैनन् । यस्तो अवस्थामा कम्पनीहरूले घर बेच्न अनौठो अफर दिन थालेका छन् । चीनमा ग्राहकको पर्खाइमा रहेका रियल स्टेट कम्पनीले घरको मूल्य घटाउन थालेका छन् । बजारमा माग कम र आपूर्ति बढी भएकाले घरको भाउ घटेको हो । चीनका चार ठूला सहरमा घरको मूल्य १४ प्रतिशतले घटेको छ । नयाँ घरको बिक्री पनि ६ प्रतिशतले घटेको छ । २०२०–२३ को बीचमा घरजग्गा विकासकर्ताहरूको डिफल्ट १२५ अर्ब डलर नाघेको छ। चीनमा ५० भन्दा बढी विकासकर्ताहरू पतनको कगारमा छन् । जग्गा बिक्रीबाट आम्दानी गर्ने चीनमा स्थानीय सरकारको ऋण ८०० अर्ब डलर नाघेको छ । चीनका ७० सहरमा हरेक महिना घरको मूल्य घटिरहेको छ । चीनको विकासदरलाई लिएर पनि प्रश्न उठिरहेको छ । चीनको हरेक क्षेत्रमा यति खराब अवस्था छ भने ५.२ प्रतिशतको दरले विकास कसरी हुन्छ ? भनेर प्रश्न पनि उठिरहेको छ । विगत ४० वर्षमा चीनको वृद्धि लगानी, आन्तरिक उपभोग र निर्यातका कारण भएको हो। तर, कोभिड–१९ पछि यी तीनै ठाउँमा चीनको स्थिति कमजोर भएको छ । घरजग्गा क्षेत्रलगायत चीनका धेरै ठाउँमा जुन प्रकारको अवस्था आएको छ, त्यसले ५.२ प्रतिशतको दरले वृद्धि हुने देखिएको छैन । बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा चीनका करिब ३० करोड जनता ऋणी हुने सम्भावना छ । घरजग्गा क्षेत्र संकटबाट बाहिर आउन १० वर्ष लाग्ने भएकाले भविष्यमा स्थितिमा सुधार आउने आशा छैन । ‘वुल्फ वारियर डिप्लोमेसी’का कारण चीनलाई विकसित मुलुकसँग व्यापार गर्न गाह्रो भइरहेको कारण निर्यातमा कमी आएको हो । एजेन्सी
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त
काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २४ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो । महालक्ष्मीमा गाभिनुअघि यती डेभलपमेन्ट बैंकमा पनि लम्साल सीईओ थिए । उनले कुमारी बैंकमा हेडका रुपमा पनि काम गरिकेका छन् । लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।
सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरेका व्यक्तिलाई राष्ट्रिय सम्मान गर्ने
कृत्रिम वौद्धिकता प्रविधिबाट निर्मित सांकेतिक तस्बिर काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरेकालाई राष्ट्रिय सम्मान सहित पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरेर राष्ट्रिय उत्पादन र रोजगारमा योगदान दिएकालाई राष्ट्रिय सम्मान सहित पुरस्कृत गर्ने जनाएको हो । ‘वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कारको व्ययवस्था गरिएको मन्त्रालयले जनाएको छ । सम्मान तथा पुरस्कारको लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार फारम भरेर २१ दिनभित्र मन्त्रालयमा आवेदन गर्नुपर्ने बताइएको छ । विदेशमा गएर कम्तिमा एक वर्ष काम गरेर फर्किएको, वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै व्यवसाय सञ्चालन गरेको कम्तिमा एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र मन्त्रालयको तर्फबाट कुनैपनि पुरस्कार प्राप्त नगरेको व्यक्तिले पुरस्कार र सम्मानको लागि आवदेन गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । आवेदकले नागरिकताको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा सहितका विषयवस्तु पेश गर्नुपर्ने छ । कार्यविधिअनुसार उत्कृष्ट उद्यमीमा छनोट हुन सक्ने एक जना व्यक्तिले एक लाख पचास हजार नगद र प्रमाणपत्र सहित उत्कृष्ट उद्यमी राष्ट्रि पुरस्कार प्राप्त गर्नेछन् भन्ने अन्य सात जना उत्कृष्टमा छनोट हुनेले ७५ हजार नगद सहित प्रमाणपत्र र राष्ट्रिय सम्मान प्राप्त गर्नेछन् । पछिल्लो समयमा देश श्रम तथा रोजगार र स्थायी रुपमा देश छाडेर जाने नेपालीको संख्या बढ्दै गइरहेको सन्दर्भमा सरकारले स्वदेश फर्किर उद्यम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमले सकारात्मक सन्देश जाने अनुमान गरिएको छ ।