नेपाल-न्युजिल्याण्डबीच द्विपक्षीय बैठक, विभिन्न क्षेत्रमा सहयोग बढ्ने
काठमाडौं । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग बुधबार वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल गरेका हुन् । बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । बुधबार मन्त्री साउदको सम्मानमा मन्त्री पिटर्सले दिवाभोजको आयोजना गरे । त्यसअघि मन्त्री साउदले न्युजिल्याण्डको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर सत्रको अवलोकन गरेका थिए । संसद्मा नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिलाई सभामुख गेरी ब्राउन्लीले स्वीकार गरेका थिए । न्युजिल्याण्डस्थित नेपालका अवैतनिक दूत तथा वेलिङ्टनमा रहेका नेपालीको आयोजनामा भएको छलफलमा मन्त्री साउद तथा उनको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यसअवसरमा न्युजिल्याण्डमा रहेका नेपालीलाई राहदानी, कन्सुलर सेवालगायत सेवा प्रवाह गर्ने, न्युजिल्याण्डमा नेपालीले सिकेका सीप, ज्ञान र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्नेसम्बन्धमा छलफल भएको उक्त दूतावासले जनाएको छ । त्यसअघि नेपाल-न्युजिल्याण्ड परराष्ट्र मन्त्रालय परामर्श बैठक भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल र त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभागीय निर्देशक जोन्ना केम्केर्सले न्युजिल्याण्डको नेतृत्व गरेका थिए । बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार आदानप्रदान हुनका साथै दुई देशबीच आर्थिक-सांस्कृतिक साझेदारीका माध्यमबाट आपसी सहयोगलाई अझ सघन तुल्याउने सम्बन्धमा छलफल भएको थियो । परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही फागुन ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
कुमारी सबल योजनामा आवेदन दिने समय लम्बियो
काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । माघ २८ गतेदेखि बिक्री खुला गरेको कुमारी सबल योजनामा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
घोराही सिमेन्टको आम्दानी बढ्यो, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ बढी
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बिक्री आम्दानी सामान्यले बढाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत साउनदेखि पुससम्ममा १.४० प्रतिशतले बिक्री आम्दानी बढाएको हो । कम्पनीले गत पुससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ बराबरको यस्तो आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा भने ऋणात्मक छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २२५.१८ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १८.३२ रुपैयाँ ऋणात्मक छ । कम्पनीको चुक्ता पुँजी ४३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार पनि ४२.३८ प्रतिशतले बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
सिंगटी हाइड्रोको हकप्रद सेयर आजदेखि बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज फागुन २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता सेयर अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीको हप्रद सेयरमा लगानीकर्ताहरूले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
तीन अर्बको लागतमा पाथीभरामा केबलकार निर्माण थालिने
फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको सङ्घर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो । समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए । केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको सङ्घर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ । यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन् । पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ । सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो । सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए । उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकरी दिए । पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन् । अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन् । केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन् । पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ । प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन् । यहाँ हाल वर्षमा करिब चार लाख धार्मिक पर्यटक एवं भक्तजन आउने गरेका छन् । यदि केबलकार तथा आवश्यक अन्य पर्यटकीय पूर्वाधार निर्माण हुनसकेमा वर्षमा कम्तीमा पनि १५ लाख भक्तजन यहाँ आउने अनुमान गरिएको छ । त्यसैले यहाँका नागरिक जतिसक्दो चाँडै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा छन् । अहिले पाथीभरा मन्दिरसम्म पुग्नका लागि काफ्लेपाटीसम्म सडक पुगेको छ । सुकेटारसम्म कालोपत्र गरेको सडकको पहुँच पुगेको छ भने सुेकेटारबाट काफ्लेपाटीसम्म ११ कोलोमिटर कच्ची सडक हुँदै पुग्न सकिन्छ । काफ्लेपाटीबाट पदमार्ग हुँदै पाँच किलोमिटर उकालो चढेपछि तीन हजार सात सय ९५ मिटरमा अवस्थित पाथीभराको मन्दिरमा पुग्न सकिन्छ । उचाइमा अवस्थित यस मन्दिरमा पुग्न उकालो बाटो भएकाले ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी तथा शारीरिक असक्त एवं फरक क्षमता भएकाहरूका लागि निकै कठिन हुने गरेको छ । त्यसैले स्थानीयजस्तै यहाँ आउने दर्शनार्थीले पनि केबलकार निर्माणको माग गर्ने गरेका छन् । निर्माण कम्पनीले मन्दिर आसपास कुनै संरचनामा फेरबदल नहुने र केबलकारको स्टेशन मन्दिरबाट करिब एक किलोमिटर तल रहने भएकाले अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै दर्शनार्थी जान सकिने गरी केबलकार निर्माण हुने स्पष्ट गरेको छ । रु तीन अर्बभन्दा बढीको लागतमा यहाँ केबलकार निर्माण हुन लागेको र यसपछि यहाँ आउने ठूलो सङ्ख्याका पर्यटकलाई लक्ष्य गरी पर्यटकीय पूर्वाधारसमेत बन्ने भएकाले स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने गरी उनीहरूको सहमति र सहयकार्यमा नै यो बृहत् आयोजनालाई अघि बढाउनुपर्ने पक्षमा यहाँका स्थानीय तहका जनप्रतिनिधि रहेका छन् । रासस
घट्दो बजारमा सेयर कर्जा बढाउँदै नबिल, यी सात बैंक प्रतिस्पर्धामा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वाणिज्य बैंकहरूले ६५ अर्ब ८६ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनामा बैंकहरूले सेयरधितो कर्जा बढाएका हुन् । सबैभन्दा बढी नबिल बैंकले सेयरधितो कर्जा लगानी गरेको छ । यस बैंकले पुस महिनासम्म ११ अर्ब ५६ करोड २० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब ४३ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको तथ्यांकमा उल्लेख छ । आधा दर्जन वाणिज्य बैंक भने सेयरधितो कर्जामा प्रतिस्पर्धामा देखिएका छन् । एनआईसी एशियाले ४ अर्ब ५८ करोड, नेपाल बैंकले ४ अर्ब ५४ करोड, सिद्धार्थले ४ अर्ब ४८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३६ करोड, सिटिजन्स इन्टरनेशनलले ४ अर्ब २८ करोड र प्राइम कमर्सियलले ४ अर्ब २७ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको हो । यस्तै, कुमारीले ३ अर्ब ९७ करोड, प्रभुले ३ अर्ब ४४ करोड, लक्ष्मी सनराइजले ३ अर्ब २६ करोड, हिमालयनले २ अर्ब ४६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब २२ करोड, एभरेष्टले १ अर्ब ७१ करोड र सानिमाले १ अर्ब ४० करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । यस्तै, कृषि विकास बैंकले १ अर्ब २३ करोड, एनएमबीले ९८ करोड, माछापुच्छ्रेले ४८ करोड र नेपाल एसबिआई बैंकले १४ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयरधितो कर्जामा केही कडाइ गरेको थियो । त्यसपछिको समीक्षामार्फत् केही खुकुलो बनाएर अधिकतम् २० करोड रुपैयाँको सीमा तोकेको छ । यो समिा तोकेपछि बैंकहरूले पनि सेयरधितो कर्जा बढाइरहेका छन् । लामो समय तरलता अभाव खेपिरहेका बैंकहरूलाई अहिले तरलताको समस्या पनि छैन ।
आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी
काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकर गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनबीच साझेदारी भएको छ । यो साझेदारीसँगै दुई कम्पनीले आइएमएस सबको फोन एक्सचेन्जको सुरुवात भएको घोषणा गरेका छन् । अब प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको जुनसुकै ब्रान्डको मोबाइल फोन साटेर सामसङ स्मार्टफोनको विकल्प रोज्न सक्नेछन् । प्रयोगकर्तालाई यो सुविधा दिनका लागि छुट्टै वेबसाइटको सुविधा दिइनेछ । त्यसमार्फत ग्राहकहरुले आफूले प्रयोग गरिरहेको मोबाइलको विवरण भरेर एक मिनेटमै उक्त फोनको मूल्य प्राप्त गरेर नयाँ सामसङ फोनमा अपग्रेड गर्न सक्नेछन् । यो एक्सचेन्ज सुविधा लिन ग्राहकले आफुले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणको लागि यो सुविधा हाल सामसङको आधिकारिक आइएमएस स्मार्ट आउटलेटहरु र काठमाडौंका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ । सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै यो साझेदारीले मोवाइल प्रयोगकर्ताहरुलाई मोवाइल एक्सचेन्ज सहज र छिटो बनाउदै उचित मूल्य प्रदान गर्ने लक्ष्य राखेको बताए । ‘एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरि पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,’ उनले बताए । आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए । यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको बताए । सबको फोनको प्रविधिसँग आइएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मुल्य प्रदान गरि सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आइएमएसको योजना रहेको छ ।
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन १२ सय रुपैयाँले घटेको हाे । साथै, छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य घटेर तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।