काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकका नीति निर्देशन पालना नगरेको भन्दै मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सकालाई कारबाही तथा जरिवाना तिराएको हो ।
मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको, उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न सचेत गराइएको छ । साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाउन निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई सीईओले निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममा गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकमा पेश हुँदै आएको विवरण समेत यथार्थ नभएकोले सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
नारायणी डेभलपमेन्ट बैंकले २०८० साउनदेखि असोजसम्मको अवधिमा पहिलो पटक, दोश्रो पटक र तेस्रो पटकमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८४६ रुपैयाँ जरिवाना तिराएको छ । साथै, साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना तिराएको छ ।
यस्तै, प्रोगे्रसिभ फाइनान्स र गुडविल फाइनान्सले महर्जन विजनेश एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गर्दा कर्जा पूर्ण रुपले सुरक्षित हुने सुनिश्चित गर्नु पर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न सञ्चालक समिति र सीईओलाई नसिहत दिइएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकको निर्देशन विपरित आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सका सीईओलाई सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन दिएको हो ।
[pdf id=463977]