त्रिविको उपकुलपतिमा तीन विवादित व्यक्तिको चर्चा, भ्रष्टाचार गरेकोदेखि थेसिस चोरेकोसम्म आरोप
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अहिले उपकुलपति छनोटको प्रक्रियामा छ । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चारवर्षे पदावधि कार्तिक १६ देखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । शिक्षा मन्त्रालयअन्तर्गतको उपकुलपति सिफारिस समितिमार्फत् छनोट प्रक्रिया अघि बढिसकेको छ । हाल निमित्त उपकुलपतिको भरमा चल्दै आएको त्रिविको नेतृत्व गर्नका लागि ४३ जनाले आवेदन दिएका थिए । तर, १४ जनाको नाम सर्टलिष्टमा परेको छ । सर्टलिष्टमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, डा. तिर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापाको नाम परेको छ । फागुन २ गतेसम्म उनीहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ । त्यसपछिको अन्तिम प्रक्रिया अन्तर्वार्ता हुनेछ । सोही आधारमा त्रिविको उपकुलपति छनोट हुने बताइए पनि तीन जनाको नाम उपकुलपति बन्ने चर्चा सुरु भइसकेको छ । तर, तीनै जना विवादित छवि भएका पात्रकारूपमा परिचित छन् । हजारौं विद्यार्थीको भविश्यसँग जोडिएको त्रिविको उपकुलपति छनोट राजनीतिक भागवण्डासँग जोडिनु विडम्बना हो । तर, पछिल्लो समय सो प्रवृति मौलाइरहेको छ । त्रिविको उपकुलपतिका लागि केहरजंग बराल, तिर्थराज खनियाँ र शिबलाल भुसालको नाम विवादित भएको कारण चर्चामा छ । राजनीतिक पुहँचका आधारमा पनि बलियो यी तीन जनाले विभिन्न ठाउँमा नेतृत्व गरेर पनि बदनामी भएका छन् । पाल्पा जन्मघर भएका केशरजंग बरालमाथि आर्थिक अनियमितता र भ्रष्टाचारको आरोप छ । उनी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् । सो विश्वविद्यालयको उपकुलपति हुँदा उनीमाथि भ्रष्टचारको आरोप लागेको थियो । वि.सं २०७१ सालमा निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको भन्दै उनी विरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो । पाल्पा घर भएका बरालमाथि प्रक्रिया नपु¥याएका कलेज तथा शैक्षिक संस्थालाई विश्वविद्यालयबाट सम्बन्धन दिई आर्थिक चलखेल गरेको आरोप लागेको छ । तर, यी आरोपमा भने उनले सफाइ पाइसकेका छन् । यस्तै, सर्टलिष्टमा परेका अर्का विवादित व्यक्ति हुन् तिर्थराज खनियाँ । त्रिविको पूर्वउपकुलपति समेत रहेका उनीमाथि पनि ‘बौद्धिक चोरी’को आरोप छ । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षा शाखामा हुँदा ‘बौद्धिक चोरी’ गरेको आरोप लागेको थियो । उनले टर्कीको फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालयका प्राध्यापक फेरिट किलिकायाको थेसिस हुबहु कपि गरेको आरोप लागेको थियो । यस्तै, २००६मा ‘नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियेसन’ (नेल्टा) द्वारा प्रकाशित जर्नलमा लेखेको लेख पनि चोरेको आरोप लागेको थियो । बौद्धिक चोरीको आरोप लागेकै समयमा उनलाई तत्कालीन प्रधानमन्त्री स्व.शुसिल कोइरालाले त्रिविको उपकुलपतीमा नियुक्त गरेका थिए । उनको उपकुलपतिको रूपमा सो कार्यकाल पनि विवादित नै बन्यो । उनले त्रिभूवन विश्वविद्यालयको जग्गा बाँडफाँड गरेको, निजी मेडिकल कलेजलाई नियम विपरित सम्बन्धन दिएको लगायतका विभिन्न आरोप उनीमाथि लागेको थियो । उनीमाथि विभिन्न आरोप लागे पनि राजनीतिक दलको संरक्षणमा रहँदै आएका छन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् । गत कात्तिक १६ गते तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको पदावधी सकिएपछि निमित्त उपकुलपतिमा नियुक्त भएका थिए शिबलाल भुसाल । अर्घाखाँची घर भएका उनी अहिले पनि सोही पद सम्हालिरहेका छन् । उनको नाम पनि उपकुलपतिको सर्टलिष्टमा परेको छ । उनी पनि विवादरहित व्यक्ति भने होइनन् । उनीमाथि सूचना लुकाएको आरोप छ । त्रिभुवन विश्वविद्यालयमै रहँदा विद्यार्थीलाई सूचना नदिएको आरोप लागेपछि भुसाललाई राष्ट्रिय सुचना आयोगले कारवाही गरेको थियो । वि.सं २०७७ सालमा विद्यार्थीलाई सूचना नदिएर लुकाएको आरोप लागेपछि भुसाललाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो । यसरी विभिन्न विषयमा विवादमा रहेका व्यक्तिको नाम सर्टलिष्टमा परेको भन्दै सर्वसाधारणले पनि विरोध गरिरहेका छन् भने संसदीय समितिमा पनि सांसदहरूले छनोट समितिलाई समेत प्रश्न गरिरहेका छन् । छनोट मापदण्ड नै गलत त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको लागि बनाएको मापदण्ड नै गलत रहेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद प्राध्यापक डा. विनय कुशियत सर्टलिष्टमा पर्ने उम्मेदवारभन्दा पनि सर्टलिस्टमा पर्ने प्रक्रिया गलत भएको बताउँछन् । ‘यो प्रक्रिया उपकुलपति छनोट गर्नेभन्दा पनि विभिन्न प्राध्यापक, सहायक प्राध्यापक छान्ने जस्तो भयो,’ उनी भन्छन्, ‘सरकारको काम खोजी गर्ने हो । तर, यहाँ खोजी नगरेर छनोट गर्न खोजियो, व्यक्ति को आउँछ भन्दा पनि यो प्रक्रिया नै गलत भयो ।’ उनी कुनै व्यक्तिलाई आक्षेप लागेको छ भने त्यसको सोधखोज हुनुपर्ने बताउँछन् । ‘कुनै पनि सार्वजनिक व्यक्ति यस्तो विवादमा मुछिन्छ र पब्लिकले नै प्रश्न गरिसकेपछि सोधखोज हुनुपर्छ,’ उनी थप्छन्, ‘कसैलाई बौद्धिक चोरीको आरोप लागेको छ, कसैलाई सूचना चोरीको आरोप छ, यदि यो सत्य हो भने त्यही अनुसारको दण्डित गर्नुपर्छ ।’ उपकलपति छनोट गर्दा उसको भिजन कस्तो छ ? उसले अरु ठाउँमा कस्तो नेतृत्व गरेको छ ? त्यो व्यक्तिबाट के-कस्तो आशा गर्न सकिन्छ ? भन्ने लगायतका अपेक्षा हुने भए पनि आरोप लागेका व्यक्तिहरूलाई सर्टलिष्टमा राखेर उपकुलपतिका लागि योग्य बनाउन खोज्नु विडम्वना भएको बताउँछन् । ‘सिंगो विश्वविद्यालयको छवि धमिलो बन्न सक्छ’ कुनैपनि आरोप लागेका व्यक्ति सार्वजनिक पदमा रहन उचित हुँदैन । वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा छनोट हुने व्यक्ति विवादित हुन नहुने धारणा राख्छन् । ‘शिक्षा जस्तो पवित्र संस्थाको कार्यकारी व्यक्तित्व चरम विवादमा परेको राम्रो हुँदैन, विवादित व्यक्तिलाई उपकुलपति बनाउन खोज्नु र सर्टलिष्टमा नै राख्नुले राम्रो सन्देश प्रवाह हुँदैन, यस्ता व्यक्तिले विश्वविद्यालयमा कसरी प्राज्ञिक वातावरण बनाउन सक्छन् ? यसमा स्वच्छ वातावरण हुनै सक्दैन,’ उनी भन्छन् । उनी प्रतिस्पर्धाबाट उत्तम व्यक्तिलाई छनोट गर्नु पर्ने बताउँछन् । राजनीतिक पहुँचका आधारमा उपकुलपति छनोट गर्दा त्यसले सिंगो विश्वविद्यालयको छवि माथि नै प्रश्न उठ्ने धारणा उनको छ । ‘छनोट समितिले सत्ताको ग्यालरीबाट आएका नामहरूलाई प्रस्ताव गरेको देखियो, यो प्रक्रिया नै स्वच्छ, स्वतन्त्र र निस्पक्ष भएन,’ उनी भन्छन्, ‘योग्य, विवादरहित र स्वच्छ छवि भएको उम्मेदवारलाई छनोट समितिले छनोट गर्नुपर्छ, यो छनोट समितिको क्षमता परीक्षण गर्ने समय पनि हो,’ उनले भने । एक पटक उपकुलपति भएर धेरै विवादमा परेकोलाई पुनः उपकुलपतिका लागि छनोट गर्दा शिक्षा क्षेत्र नै पतनको बाटोमा जाने र सिंगो विश्वविद्यालयको छवि धमिलो हुन सक्ने तर्क उनको छ । उनी भन्छन्, ‘उपकुलपति एउटा प्राज्ञिक व्यक्ति हुनुप¥यो, शिक्षा क्षेत्रमा ठूलो योगदान भएको हुनुप¥यो, जसको चरित्र, नैतिकताबारे कहीँ पनि प्रश्न र विवाद उठेको हुनु हुँदैन ।’
घट्यो वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । नेपालकाे औद्योगिक क्षेत्रमा माघ महिनामा वैदेशिक लगानी प्रतिबद्धता घट्न पुगेको छ । उद्योग विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघ महिनामा नेपालको औद्योगिक क्षेत्रमा लगानी प्रतिबद्धता घट्न पुगेको हो । विभागका अनुसार माघ महिनामा १५ वटा विभिन्न विदेशी कम्पनीहरूले नेपालमा ३४ करोड बराबरको लगानी स्वीकृति लिएका छन्, जुन लगानी विदेशी कम्पनीहरूले साना उद्योगहरूमा मात्रै गर्नेछन् । माघ महिनाको लगानी स्वीकृति मध्ये ५३ प्रतिशत पर्यटन क्षेत्र, ३३ प्रतिशत उत्पादन क्षेत्र र २० प्रतिशत सेवा क्षेत्रमा रहेको छ । जबकी अघिल्लो पुस महिनामा भने विभिन्न २७ वटा कम्पनीहरुले १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रूपैयाँ बराबरको विदेशी लगानीको स्वीकृति लिएका थिए । पुस महिनाको लगानी स्वीकृति भने ५ वटा मझौला उद्योगमा पनि रहेको थियो । विभागका अनुसार माघ महिनामा विभिन्न ३ वटा विदेशी कम्पनीले ८४ करोड ७० लाख बराबरको शेयर खरिदको लागि स्वीकृति लिएका छन् भने २ वटा विदेशी कम्पनीहरुले प्रविधि हस्तान्तरणको स्वीकृति लिएका छन् । पुस महिनामा ७ वटा विदेशी कम्पनीहरुले २६ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको शेयर खरिद स्वीकृति लिएका थिए भने ४ वटा विदेशी कम्पनीले प्रविधि हस्तान्तरणको स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको माघ महिनाको अन्त्यसम्म २४१ वटा कम्पनीहरुले २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको नेपालमा लगानीको लागि स्वीकृति लिएका छन् । विभागको तथ्यांकअनुसार माघ महिनामा नेपालमा लगानी गरेका विभिन्न विदेशी कम्पनीहरूले ३३ करोड २२ लाख ९५ हजार ३२० रूपैयाँ बराबरको नेपाली, ८७ लाख ४९ हजार ९४२ अमेरिकी डलर र ४० लाख ४५ हजार ५८८ बराबरको भारतीय रूपैयाँ रोयल्टी बापत लगेका छन् । त्यस्तै, सेवा शुल्क वापत ४६ लाख १७ हजार २ सय रुपैयाँ बराबरकाे भारतीय रूपैयाँ विभिन्न विदेशी कम्पनीले नेपालबाट लगेका छन् ।
आन्तरिक पर्यटकको आकर्षणको केन्द बन्दै बागलुङको बेलढुङ्गा
बागलुङ । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुङ्गामा पर्यटक आगमनमा वृद्धि भएको छ । समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ । उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धवलागिरिसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् । बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला–संस्कृतिसँग रम्न सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवैतर्फबाट गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ । दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएपछि गत माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताए । माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुङ्गा आएको उनको भनाइ छ । अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको जनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको उनको भनाइ छ । आधा दशक अगाडिसम्म सुनसानजस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताए । सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनी बताउछन् । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको रु दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ । पोहोर साल देउराली डाँडाबाट बेलढुङ्गासम्म जोड्ने दुई सय ६० मिटर पदमार्गमा स्लेटढुङ्गा बिच्छ्याएको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए । ‘पहिलेको तुलनामा अहिले बेलढुङ्गाको स्वरुप नै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरूले सोचेका थिएनौँ तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या निकै बढेको छ, हामीलाई निकै उत्साहित बनाएको छ’, श्रीसले भने, ‘यहाँ अझै थप संरचना बनाउनुपर्ने छ, ती संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौँ ।’ पछिल्लो समय बिदाको दिन विभिन्न सङ्घसंस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुङ्गा पुग्न सकिन्छ । बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ । लामो समय बुटवल बसेर बिदामा जन्मघर पर्वत आउनुभएका विशाल घिमिरेले आफूहरू १२ जनाको टोली मोटरसाइकलमै बेलढुङ्गा घुम्न आएको बताए । यसभन्दा अगाडि एकपटक पारिवारिक घुमफिरमा आएको सुनाउँदै त्यस बेलाको घुमाइले धित नमरेपछि यसपटक साथीहरूसँग आएको उनको भनाइ छ । घिमिरेले बेलढुङ्गामा घण्टौँ बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाए । बेलढु्गालाई रमाइलो गर्ने स्थलका साथै योगाश्रमका रूपमा विकास गर्न सुझाए । उनले भने, ‘जल, जङ्गल, जमिन, हिमाल, पहाडलगायत अनगिन्ती दृश्य देखिने यो ठाउँ निकै उत्कृष्ट छ, यसलाई राज्यले ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्छ, मलाई यो ठाउँ प्राकृतिक उपचार केन्द्रजस्तो लाग्यो, पहिलोपटक आउँदा धेरै घुम्न पाएको थिइनँ, तर यसपटक धेरै समय बसियो, यहाँको प्रकृतिसँग रमाइयो, फेरिफेरि पनि आउने छौँ ।’ कास्की नयाँ पुलबाट घुम्न आउनुभएका वीरेन्द्र जोशीले सामाजिक सञ्जालमा भिडियो र तस्बिर देखेर घुम्न आएको सुनाए। छ जनाको टोली गलकोटको मूर्तिकलासम्म घुम्ने गरी यात्रामा निस्किएको भन्दै पहिलो दिन बागलुङको बञ्जीजम्प, दोस्रो दिन बेलढुङ्गा र तेस्रो दिन गलकोट नगरपालिका–५ टेवास्थित मूर्तिकलामा पुगेर फर्किएको बताए । बेलढुङ्गाबाट देखिने दृश्यले आफूलाई मोहित बनाएको उनको भनाइ छ । रासस
एनएमबि लघुवित्तले लाभांश नदिने
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । फागुन १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन् । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उनी नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहेका छन् । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहेका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ । दुई वर्षसम्म केन्द्रले गाडीको व्यवस्था गथ्र्यो । अहिले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आउजाउ गर्न माइक्रोबस प्रयोग गर्नु पर्छ । उनले भने, ‘पहिले कार्यालयकै गाडीमा लाने गरेको थियो । अहिले अध्यक्षले माइक्रोबसमा जानु, गाडी छैन भन्छन् । दुई वटा गाडी फेरेर जान साह्रै समस्या हुन्छ ।’ माझी मात्रै होइन, नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिले उपचारका लागि निकै सकस र तनाव झेलिरहनुपरेको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको अपाङ्ग सहायता कोषका लागि आएको रकम पदाधिकारीलाई महँगो गाडी किन्न खर्च गरिएपछि केन्द्रमा आश्रित नागरिकका लागि एम्बुलेन्स छैन । बा १६ च ६३४ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी सङ्घका अध्यक्ष र महासचिवले प्रयोग गर्दै आएका छन् । आर्थिक वर्ष २०७३र७४ मा सङ्घका पदाधिकारीका लागि स्कोर्पियो गाडी खरिद गरिएको छ । सङ्घ परिसरमै रहेको नेपाल अर्थोपेडिक अस्पतालले वार्षिक रूपमा १२ लाख रुपियाँ दिने गरे पनि झन्डै चार वर्षको एकमुष्ट लिएर र अपुग २० लाख रुपियाँ सङ्घकै कर्मचारी उपदान कोषबाट लिएर उक्त गाडी खरिद गरिएको हो । सङ्घका तत्कालीन अध्यक्ष मोहन महर्जनले भने, ‘अर्थोपेडिक अस्पतालले कोषमा जम्मा गर्ने रकम गाडी किन्न चाहिएपछि दिएर स्कोर्पियो कार किनेका हौँ । ५८ लाख रुपियाँमा त्यो गाडी किनिएको हो ।’ उनी २०७१ सालदेखि पाँच वर्ष छ महिना सङ्घको अध्यक्ष थिए। उनले सङ्घको कर्मचारी उपदान कोषबाट १० लाख रुपैयाँ निकालिएको बताए पनि त्यति बेलाको निर्णयमा २० लाख रुपैयाँ निकासा भएको कागजातमा देखिएको छ । उक्त रकम हालसम्म पनि शोधभर्ना गरिएको छैन । धेरै भएकाले आफूले बिर्सेको बताउँदै केन्द्रका तत्कालीन अध्यक्ष महर्जनले भने, ‘केन्द्रका आश्रितका लागि एम्बुलेन्स आफ्नै अस्पतालको छ । हाडजोर्नीसँग सम्बन्धित रोगको उपचार त्यहीँ हुन्छ । हामीलाई बाहिर जान गाडी चाहियो । त्यसैले किनेका थियौँ ।’ गैरनाफामूलक रूपमा प्रयोग गर्ने गरी कोष खडा गर्न र अपाङ्गता भएका र अशक्त व्यक्तिका लागि आएको अनुदानकै रकम दुरुपयोग गरी महँगो सवारीसाधन (स्कोर्पियो) खरिद गरिएको छ । उक्त गाडी सङ्घका अध्यक्ष साम्देन लामा र महासचिव शिवचन्द्र साहले प्रयोग गरिरहेका छन् । अपाङ्गता भएका व्यक्तिले बिरामी भएर अस्पताल जाँदा व्यक्तिगत खर्चमै अपाङ्गतामैत्री व्यवस्था नभएका सार्वजनिक यातायातमा जानुपर्ने बाध्यता छ । अध्यक्ष लामाले सबैलाई गाडी दिएर सम्भव नहुने जिकिर गर्दै भने, ‘मलाई केही थाहा छैन, म चढ्छु मात्रै । वास्तै गरेको छैन । व्यस्त छु, बुझेर खबर गर्छु । अध्यक्ष भएर मैले केही गरेकै छैन ।’ अध्यक्ष लामाले साह्रै अशक्त बिरामीलाई अर्थोपेडिक अस्पतालकै एम्बुलेन्समा लाने ल्याउने गरेको दाबी गरे। उनले यस्तो दाबी गरिरहँदा केन्द्रमा आश्रित दृष्टिविहीन माझीसहित धेरैलाई एम्बुलेन्सको पहुँच उपलब्ध छैन । माझीले भने, ‘निकै गाह्रो नभई एम्बुलेन्स छुन पनि पाइँदैन । हामी समस्यामा छौँ ।’ अध्यक्ष लामाले अर्थोपेडिक अस्पतालकै एम्बुलेन्समा बिरामी पठाउने गरेको दाबी गरे। उनले भने, ‘अस्पतालकै एम्बुलेन्स प्रयोग हुन्छ, हामीलाई त चाहियो नि, यत्रो काम गर्छौं ।’ आजको गोरखापत्रमा समाचार छ ।
धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै, १५० विश्वविद्यालयका उपकुलपति आउने
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ । केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय विश्वविद्यालय सङ्घको आयोजना एवं काठमाडौं विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ । सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति थापाले बताताए । सम्मेलनमा दुई सय २७ सहभागीले सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा अधिकांश सहभागी भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन् । सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । केयूको प्रवक्ता एक्कुमाया पुनले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिबारे छलफल, देश-देशका विद्यार्थीबीच अनुसन्धानका अनुभव तथा पाठ्यक्रम विकाससहितका विषयमा समेत बृहत् छलफल हुने बताइन् । यस्तै सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका विषयमा विज्ञ–विशेषज्ञबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानक, विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारे कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । साथै सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली सङ्गीत चिनाउन केयू स्कुल अफ आर्टस्का साथै कुटुम्ब ब्याण्ड तथा नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिबारे नेपाली लोकबाजा प्रस्तुति रहेको जनाइएको छ । केयूले यसअघि पुस दोस्रो साता एकेडेमिया इण्डष्ट्री को–ओपरेशनले ‘एकेडेमिया इण्डष्ट्री मिट–२०२३’ को आयोजना गरेको थियो । नेपालमा पहिलोपटक आयोजना गरेका उक्त मिटमा सरकार, उद्योग र प्राज्ञिक संस्थालाई एकै छातामुनि आबद्ध गराई देश विकासमा सहकार्य गर्ने उद्देश्यले तीन क्षेत्रका बौद्धिक व्यक्तित्वलाई मिटमा सहभागी गराएको थियो । उक्त कार्यक्रममा देशको शिक्षा, उद्योग र नीति–निर्माणमा रहेका विद्यमान समस्याको पहिचान गरी समाधान, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा राज्यको नीतिलाई रोजगारमुखी र औद्योगिकमैत्री बनाउने विषयमा बृहत् छलफल तथा अन्तर्क्रिया भएको थियो । उपकुलपति थापाका अनुसार उक्त सम्मेलनमा पछिल्लो समय नेपालको उच्च शिक्षामा देखापरेको समस्या, चुनौती तथा विद्यार्थीको बाहिरिँदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि नयाँ विकल्पबारे महत्त्वपूर्ण छलफल भएको थियो । उनका अनुसार यस्तो सम्मेलनलाई आवश्कयतानुसार निरन्तरता दिइने योजना बनाइएको छ । रासस
महिला राइडरलाई रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण
काठमाडौं । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन गरेको हो । यस प्रशिक्षण कार्यक्रममा २१ जनाको सहभागी रहेका थिए । कार्यक्रममा ललितपुर प्रहरी प्रमुख सीताराम हाछेथु र रोयल इन्फिल्ड टोलीले सडक सुरक्षासम्बन्धी जानकारी दिएको थियो ।
महालक्ष्मी विकास बैंकले १०.९९ प्रतिशतमा कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले सस्तो व्याजदरमा ऋण योजना ल्याएको छ । बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायीक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) माआकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको हो । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ । तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैंकले जनाएको छ । साथै आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिनेछ । उक्त योजना अनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधि सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ । त्यसै गरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।