विकासन्युज

आज ​​​​​​​सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै, विद्या बुद्धि बढ्ने विश्वास

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।  आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।  सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ ।  उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । वसन्त श्रवण  यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०:२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए ।  वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रिय सभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

१ बजेसम्म उम्मेदवारी फिर्ता, आजै निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । आयोगका अनुसार अपरान्ह ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको थियो । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो । देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित हुनेछन् ।

काठमाडौंमा खुर्सानीको धुलो बोकेर सुनका गहना लुट्ने २ जना पक्राउ

काठमाडौं । नगद ४९ हजार रुपैयाँसहित सुनका गहनाहरू चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  मंगलबार करिब १० बजे  काठमाडौं महानगरपालिका - सेतोपुल नजिक प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार संखुवासभा, खाँदबारी नगरपालिका ९ का मैतिदेवी बस्ने ३७ वर्षीय केभव देवान र पाँचथर, फाल्गुनन्द गाउँपालिका ६ का  रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।  चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातुको तिलहरी २ थान र चन्द्रमा थान, नगद उनन्चास हजार तीन सय, सिरिन्ज ११ थान, एम्पुल २ थान र खुर्सानीको धुलो १ प्याकेटसहित उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ ।  उनले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले तीनवटा उम्मेदवारविरुद्ध परेको उजुरी खारेज भइसकेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार  बनेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी खारेज भएका हुन् । त्यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी पनि खारेज भएको छ ।  रास्वपाका लालविक्रम थापाविरुद्ध परेको उजुरीउपर छलफल भइरहेको आयोगले जनाएको छ ।

बैंकको कालोसूचीमा रहेको भन्दै काठमाडौंमा तीन जनाको उम्मेदवारी रद्द, को-को परे ?

काठमाडौं । काठमाडौं निर्वाचित क्षेत्र नम्बर १० का १ जना  र ३ बाट २ जनाको उम्मेदवारी रद्द भएको छ । क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिएकी सुमित्रा बस्नेतको मनोनयन रद्द भएको हो । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले मितेरी पार्टीकी उम्मेदवार बस्नेतको मनोनयन रद्द भएको जानकारी दिए । कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उम्मेदवारी रद्द गरिएको उनले विकासन्युजलाई बताए । ‘कालोसूचीमा परेका व्यक्तिले मनोनयन दिएकाले रद्द भएको हो,’  उनले भने । त्यसैगरी,  काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका अमर तामाङ र अवीन म्याङ्बोको मनोनयन पनि रद्द   भएको छ । अवीन जनमत पार्टीका उम्मेदवार हुन् । तामाङ र म्याङ्बोको पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका कारण उम्मेदवारी रद्द भएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरूले प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनले राजीनामा दिएका हुन् । उनका अनुसार नयाँ नेतृत्व चयन भएसँगै संगठनात्मक पुनर्संरचनाको प्रक्रियाअन्तर्गत पौडेलले मुख्य सचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् । उनले आफ्नो कार्यकालमा पार्टी संगठन मजबुत बनाउन भूमिका खेलेको नेताहरूले बताएका छन् ।  पौडेलले आफूले राजीनामा दिएको स्वीकार गर्दै अब आफू निर्वाचनमा पार्टीलाई जिताउन होमिने बताए । उनले भने, ‘काठमाडौं ७ का पार्टी उम्मेदवारलाई जिताउन लाग्नेछु ।’ विशेष महाधिवेशनमार्फत गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यालयदेखि विभागीय संरचनासम्म परिवर्तनको क्रम सुरु भएको छ ।  यही क्रममा मुख्यसचिव पौडेलको राजीनामा आएको हो । पौडेलले भने निर्वाचनमा खटिन राजीनामा दिएको दाबी गरेका छन् ।

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराए । यसअघिका सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं ।  नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।  गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक पुनः अवधि थप गरिएको हो । आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदै छ । बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने र नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय भएको पनि उनले जानकारी दिए । बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ ।