टिभिएसको सवारी किन्दा दुई वर्षसम्म कर तिर्न नपर्ने
काठमाडौं । नेपालका लागि टिभिएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘२ वर्ष ट्याक्स फ्री टिभिएसमा खुशी नै खुशी’ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई सहज र किफायती सवारी स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा २ वर्षसम्मको सवारी कर सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । योजनासँगै ग्राहकले न्यूनतम प्रक्रिया मार्फत फाइनान्स सुविधा, २ हजार ८९९ रूपैयाँबाट सुरु हुने ईएमआई, पुरानो सवारी साटेर नयाँ टिभिएस खरिद गर्ने एक्सचेन्ज सुविधा समेत प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस अफरले सवारी खरिद प्रक्रिया अझ सहज, किफायती र आकर्षक बनाउने विश्वास लिइएको छ । ग्राहकलाई नजिकको आधिकारिक टिभिएस शोरुममा गई योजनाबारे विस्तृत जानकारी लिन आग्रह गरिएको छ । नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र वितरकका रूपमा रहेको जगदम्बा मोटर्सले देशभर सञ्जाल विस्तार गर्दै अटोमोबाइल क्षेत्रमा योगदान दिँदै आएको जनाएको छ ।
सचिवहरूको संयुक्त बैठकमा पुस्करमाथि कारवाही केन्द्रित
काठमाडौं । नयाँ सरकार गठन भएपछि पहिलोपटक नेपाल सरकारका सचिवहरूको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित निजामती विधेयकसहित विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ । मुख्यसचिवको अध्यक्षतामा हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने प्रचलन रहेपनि नयाँ सरकार गठनपछि नियमित बैठक हुन सकेको थिएन । ‘मुख्यसचिव अर्यालले अग्रसरता नलिएपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन,’ एक सचिवले भने । उनका अनुसार यसअघि एकपटक बैठकको सूचना आए पनि अन्तिम समयमा स्थगित भएको थियो । एक सचिवले बैठकमा चारवटा एजेन्डाका रूपमा जेन–जी आन्दोलनका क्रममा जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारीसाधनको लिलामी प्रक्रिया, मन्त्रालय तथा सरकारी निकायहरूको संगठन तथा व्यवस्थापन सम्बन्धी कार्यको प्रगति, तत्काल कार्यान्वयन गर्नुपर्ने योजनाहरू र कार्यविधिसम्बन्धी विषयमा छलफल भएको जानकारी दिए । मुख्यतः चारवटा एजेन्डामा आज सचिव बैठक बसे पनि छलफलका क्रममा निजामती प्रशासन विरुद्ध राजनीतिक नेतृत्वले गरिरहेको अपमानपूर्ण व्यवहार र यसमा मुुख्यसचिव अर्यालको मौनताबारे पनि बैठकमा प्रश्न उठेको थियो । खासगरी सचिव कृष्णहरि पुस्कारमाथि भएको दुर्व्यवहारबारे सचिवहरूले मुख्यसचिवसँग छलफल गरेको ती सचिवले जानकारी दिए । बैठकमा संघीय निजामती सेवा विधेयकको प्रावधानमा मुख्यसचिव अर्यालले विधेयकका केही प्रावधानबारे चासो र असन्तुष्टि राखेको ती सचिवले बताए । सचिवहरूको चासोका विषयमा मुख्यसचिवले केही स्पष्ट पार्ने प्रयत्न गरेका थिए । उनका अनुसार निजामती प्रशासनमा देखिएका चुनौती र सुधारका विषयमा पनि बैठकमा छलफल भएकाे थियो । सामान्यतया सचिव बैठकमा मन्त्रालयहरूको कार्यसम्पादन समीक्षा, सरकारका प्राथमिकता निर्धारण, आगामी कार्ययोजना तथा अन्तरमन्त्रालय समन्वयका विषयमा छलफल हुने गरेको विगतको अभ्यास रहिआएको छ । विगतमा बैठकबाट निष्कर्षमा पुगेका विषयहरू सम्बन्धित मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्तावका रूपमा लगेर निर्णय गराउने अभ्याससमेत रहँदै आएको छ ।
६४ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनात्मक संरचना निर्माण अभियानअन्तर्गत देशभरका अधिकांश तहमा अधिवेशन सम्पन्न गरेको जनाएको छ । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले हालसम्म ४ हजार ३६३ वडामा, ६०९ पालिकामा तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । रास्वपाका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ । त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भएर विभिन्न कारणले स्थगित भएका जिल्लामा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन् । पार्टीले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । मधेश प्रदेशको अधिवेशन स्थगित रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रक्रिया जारी रहेको जानकारी दिइएको छ । रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टी नेतृत्वका अनुसार महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गरिनेछ। महामन्त्री बुर्लाकोटीले संगठन विस्तार अभियान अपेक्षाअनुसार अघि बढिरहेको उल्लेख गर्दै बाँकी जिल्लाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरिने बताए।
सरकारी नियन्त्रणमा रहेका बीवाईडीका सबै गाडी फुकुवा
काठमाडौं । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ । कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो । कोरलानाकाबाट ती सबै विद्युतीय सवारीसाधनलाई साइमेक्स ईंकले खरिद गरी नेपाल भित्र्याएको थियो । ती सवारीसाधनको कैफियत रहे/नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो । सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ २१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरुआत गरेको थियो । उक्त समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मा १७ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो । यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती साधनलाई आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको उनले बताए । कैफियतको आशङ्कामा कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन दुई सातासम्म सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको थियो । कैफियत फेला नपरेपछि जोमसोम र कोरलानाकामा नियन्त्रणमा ती सवारी साधनलाई फुकुवा भएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ विद्युतीय सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको जनाइएको छ । जोमसोम बसपार्कमा अहिले २६६ विद्युतीय सवारीसाधनमध्ये ४३ मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ । यसैगरी कोरलानाकामा राखिएका विद्युतीय सवारीमध्ये भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ लैजाने र भन्सार जाँचपास नभएका विद्युतीय सवारीसाधनको पनि आवश्यक भन्सार प्रक्रिया पुरा गरी गन्तव्यतर्फ लैजान समस्या नभएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मले जनाएको छ । रासस
नेको नेपालको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद पाण्डे निर्वाचित
काठमाडौं । मनमोहन मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने उद्देश्यसहित स्थापित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) को अध्यक्षमा पुनः राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । राजधानीमा सोमबार सम्पन्न संस्थाको २०औँ वार्षिक साधारणसभापछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पाण्डेले आफ्ना दुई प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि नेतृत्व सुरक्षित गरेका हुन् । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा नेता समेत रहेका पाण्डेले संस्थाको आगामी नेतृत्व सम्हाल्ने भएका छन् । निर्वाचन परिणामअनुसार उपाध्यक्षमा डा. झलक गौतम र हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् । त्यस्तै सचिवमा टेकबहादुर बम, सहसचिवमा (निर्वाचन परिणामअनुसार) र कोषाध्यक्षमा चुनादेवी केसी खड्का निर्वाचित भएकी छन् । निर्वाचित सदस्यहरूमा ईश्वरी खनाल, लक्ष्मी राई, शोभा सापकोटा, डा. रविन्द्र रेग्मी र बोधकुमार अधिकारी रहेका छन् । यसपटकको निर्वाचनमा अध्यक्षका प्रत्याशीका रूपमा राजेन्द्रप्रसाद पाण्डे, ई. गम्भीरलाल श्रेष्ठ र शिवप्रसाद सिम्खडाको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचन परिणामअनुसार अधिकांश पदाधिकारी तथा सदस्यहरू पाण्डे र श्रेष्ठ समूहबाट उम्मेदवार बनेकाहरू निर्वाचित भएका छन् ।
सेफ सन्तोष शाह छुटे, पीडितले पाए रकम
काठमाडौं । सेफ सन्तोष शाह ठगी कसुरमा पक्राउ परेपछि रिहा भएका छन् । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका शाह सोमबार बेलुका छुटेका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप घिमिरेका अनुसार पीडित पक्षसँग लेनदेन मिलेर चेक बमोजिमको रकम प्राप्त भइसकेपछि शाहलाई रिहा गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको थियो । प्रहरीले यसै प्रकरणमा सोही रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । गैरीधारास्थित रेष्टुरेन्टसँग सम्बन्धित विवादमा सकुन्तला अधिकारी थापाले मुद्दा दर्ता गराएकी थिइन् । सन्तोष शाह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चर्चित सेफ हुन् । उनी सन् २०२१ मा बीबीसी मास्टरसेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका थिए ।
हप्ताको दुई दिन बिदाको प्रभाव : पर्यटकीय गन्तव्यमा थप चलायमान
चितवन । शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै जङ्गल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच भरिएका छन् । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने नेपालको चितवन पनि तिनै पर्यटकीय महत्व बोकेको गन्तव्यमध्येमा एक हो । विशेष गरी जल पर्यटन, वन्यजन्तुु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ । वरिष्ठ पर्यटन व्यवसायी एवं युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला समयमा चिवनमा आन्तरिक पर्यटककको आगमन पनि बढ्दो अवस्थामा रहेको जानकारी दिनुुभयो । सरकारले शनिबार र आइतबार दिएको दुुई दिने बिदाको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको उनले बताए । 'विशेष गरी यो याम चितवनमा गर्मी हुने भएकाले पर्यटकको यामका रुपमा लिइँदैन', उनले भने 'दुुई दिने बिदाको समय घुमफिर गरी उपयोग गर्नका लागि गर्मीको कुनै प्रवाह नगरी पर्यटक आउने गरेका छन् ।' पछिल्ला समयमा बिदालाई अधिकांशले घुमफिरमा उपयोग गर्न थालेको उल्लेख गर्दै उनले यसअघि लगातार चार दिनसम्म बिदा पर्दा एउटै समूहका व्यक्तिहरू चितवनको सौराहादेखि लुम्बिनी हुँदै पोखरासम्म्म भ्रमण गरेको आफूले प्रत्यक्ष देखे भोगेको जानकारी गराए । पर्यटकको सुविधालाई लक्षित गरी सहकारीले हाल ३० वटा हात्ती सफारीका लागि प्रयोग गरिरहेको उनले जानकारी दिए । पर्यटकले यहाँ आएर बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म, दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्मका साथै बेलुका ४ः३० बजेदेखि ६ः०० बजेसम्म हात्ती सफारी गर्न पाउँछन् । करिब १ः३० घण्टा समयावधि हात्ती सयर गरेबापत आन्तरिक पर्यटकले रु एक हजार ६५० बुझाउने पर्यटन व्यवसायी अमित गुरुङले जानकारी दिए । स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक चितवन आएर हात्ती सफारीमा रमाउने गरेको उनले बताए । अर्का पर्यटन व्यवसायी आशिष रेग्मीका अनुुसार हात्ती सयर चितवनको महत्वपूर्ण पर्यटकीय आकर्षण बने पनि कोभिड–१९ यता हात्तीको किनबेच भएको छैन । यसअघि रहेका हात्तीबाट नै हात्ती सयर गराउँदै आइएको छ । एउटा हात्तीलाई पाल्नका लागि दुई जना कर्मचारीसहित महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए। उनका अनुसार सामान्यतः एउटा हात्तीलाई दिनमा करिब २५ किलो धान, दुई किलो चना, ढिके नुन, सक्खर आदि आवश्यक पर्दछ । पछिल्ला वर्षमा चितवनको सौराहा वन्यजन्तु अवलोकनका साथै जलविहारसमेतका कारण प्रसिद्ध रहेको उनले बताए । पर्यटकलाई लक्षित गरी बनाइएका होटल, लज, रिसोर्ट र रेष्टुराँका कारण यहाँ आउने जो कोही पर्यटकलाई खान बस्नको असुविधा नरहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका साथै चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षण युक्त स्थान बनेको छ । हात्ती तथा जीपमा सयर गरी जङ्गल सफारी, वन्यजन्तु अवलोकन, चरा अवलोकन, राप्ती नदीमा डुङ्गा सयर गर्दै चराचुरुङ्गी, गोही आदिको अवलोकन, सूर्यास्त अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यस्तै स्थानीय थारु संस्कार र संस्कृतिको अवलोकन पनि यहाँका प्रमुख आकर्षणका रुपमा रहेका छन् । बालकदेखि वृद्धसम्म सबैजसो उमेर समूहका व्यक्तिहरूले यहाँ आएर हात्ती सफारी गरी बँदेल, बाघ, गैँडा, गोही, बाँदर आदि वन्यजन्तुुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्ने गर्दछन् । सफारीका क्रममा देखिने हरियालीका साथै घाँसे मैदानहरूले पनि यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँको राप्ती नदीमा डुङ्गामार्फत जलविहारका क्रममा नदी किनारामा घाम तापेर बसेका देखिने गोही, ठाउँठाउँमा देखिने गैँडालगायतका वन्यजन्तुु, चराचुरुङ्गी आदिले जो कोहीलाई लोभ्याउने गरेको छ । पर्यटकको बढ्दो आगमनसँगै यस क्षेत्रका होटेल तथा रेष्टुराँहरू राम्रैसँग चलिरहेको टिफिन होम एण्ड रेष्टुराँका सञ्चालक स्वस्तीका भट्टले जानकारी दिए । पछिल्ला वर्षमा सबैजसो याममा यस क्षेत्रमा पर्यटकको आगमन बढिरहेको उनले भने, 'पछिल्ला समयमा यो वा त्यो जुनसुकै महिनामा पर्यटक चितवन आउने गरेका छन् ।' हप्ताको दुई दिन बिदाले आन्तरिक पर्यटनमा सकारात्मक परिवर्तन देखिएको व्यवसायीको अनुभव छ । रासस
स्वास्थ्य बीमा दाबी भुक्तानी तीव्र, २०२ अस्पताललाई थप ९१ करोड निकासा
काठमाडौं । स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत जेठ १३ गते स्वास्थ्य बीमा दाबी बापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार, सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।