सचिवहरूको संयुक्त बैठकमा पुस्करमाथि कारवाही केन्द्रित

काठमाडौं । नयाँ सरकार गठन भएपछि पहिलोपटक नेपाल सरकारका सचिवहरूको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित निजामती विधेयकसहित विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

मुख्यसचिवको अध्यक्षतामा हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने प्रचलन रहेपनि नयाँ सरकार गठनपछि नियमित बैठक हुन सकेको थिएन । 

‘मुख्यसचिव अर्यालले अग्रसरता नलिएपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन,’ एक सचिवले भने । 

उनका अनुसार यसअघि एकपटक बैठकको सूचना आए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

एक सचिवले बैठकमा चारवटा एजेन्डाका रूपमा जेन–जी आन्दोलनका क्रममा जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारीसाधनको लिलामी प्रक्रिया, मन्त्रालय तथा सरकारी निकायहरूको संगठन तथा व्यवस्थापन  सम्बन्धी कार्यको प्रगति, तत्काल कार्यान्वयन गर्नुपर्ने योजनाहरू र कार्यविधिसम्बन्धी विषयमा छलफल भएको जानकारी दिए ।

मुख्यतः चारवटा एजेन्डामा आज सचिव बैठक बसे पनि छलफलका क्रममा निजामती प्रशासन विरुद्ध राजनीतिक नेतृत्वले गरिरहेको अपमानपूर्ण व्यवहार र यसमा मुुख्यसचिव अर्यालको मौनताबारे पनि बैठकमा प्रश्न उठेको थियो । 

खासगरी सचिव कृष्णहरि पुस्कारमाथि भएको दुर्व्यवहारबारे सचिवहरूले मुख्यसचिवसँग छलफल गरेको ती सचिवले जानकारी दिए ।

बैठकमा संघीय निजामती सेवा विधेयकको प्रावधानमा मुख्यसचिव अर्यालले विधेयकका केही प्रावधानबारे चासो र असन्तुष्टि राखेको ती सचिवले बताए ।

सचिवहरूको चासोका विषयमा मुख्यसचिवले केही स्पष्ट पार्ने प्रयत्न गरेका थिए । उनका अनुसार निजामती प्रशासनमा देखिएका चुनौती र सुधारका विषयमा पनि बैठकमा छलफल भएकाे थियो ।

सामान्यतया सचिव बैठकमा मन्त्रालयहरूको कार्यसम्पादन समीक्षा, सरकारका प्राथमिकता निर्धारण, आगामी कार्ययोजना तथा अन्तरमन्त्रालय समन्वयका विषयमा छलफल हुने गरेको विगतको अभ्यास रहिआएको छ ।

विगतमा बैठकबाट निष्कर्षमा पुगेका विषयहरू सम्बन्धित मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्तावका रूपमा लगेर निर्णय गराउने अभ्याससमेत रहँदै आएको छ ।

Share News