विकासन्युज

नेपाल–दाहाल धनगढी नपुग्दै नेकपा समाजवादी एकताबाट बाहिरियो

काठमाडौं । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिवसहितको बहुमत कमिटीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता प्रक्रियामा नजाने निर्णय गरेको छ। कैलाली जिल्ला अध्यक्ष विमल जोशीका अनुसार १२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ सदस्य उपस्थित बैठकले उक्त निर्णय गरेको हो । जिल्ला कमिटीको निर्णयमा जिल्ला सचिव दीर्घ जोशी पनि सहमत रहेको जोशीले बताए । अध्यक्ष जोशीका अनुसार तत्कालै अन्य कुनै पार्टीमा जाने निर्णय नगरिएको भए पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने निर्णय गरिसकिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित निर्णय गरेपनि आफूहरू कता जाने भन्नेबारे चाँडै नै सार्वजनिक गर्ने तयारीमा जोशीको टिम रहेको बताइएको छ । यसैबीच, शुक्रबार पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुवै जनाले धनगढीको सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो सभाको तयारी डा. भीम रावलको नेतृत्वमा भइरहेको बताइएको छ । दाहाल नेपालले सम्वोधन गर्ने एकता सन्देश सभाको पूर्वसन्ध्यामा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीले गरेको निर्णयले सुदूरपश्चिममा उक्त पार्टीको प्रभाव कम हुने आँकलन गरिएको छ ।

उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियो : अध्यक्ष मल्होत्रा

काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताएका छन् । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताएका हुन् ।  उनले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताए । अध्यक्ष मल्होत्राले जेनजी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताए । अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।   अध्यक्ष मल्होत्राले भने–‘सबभन्दा यो देशको  दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सकेन । हुँदाहुँदा हामीलाई नेता, कर्मचारी, पत्रकार, जनताले पनि त्यही भन्न थाले । हामी विना हाम्रो देशको विकास, समृद्ध गर्न असम्भव छ । व्यापारी उद्योगपति भएन र काम गरेन भने देशको अर्थतन्त्र कहाँ जान्छ ?’

राजनीतिक दल खोल्ने प्रतिस्पर्धा जस्तै कम्पनी खोल्ने लहर चलाउनुपर्छ : हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा उद्योग र कम्पनी सञ्चालनका लागि सहजरूपमा वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय युवा परिषदद्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले हाल देशमा राजनीतिक दल खोल्ने जति सहज वातावरण उद्योग,व्यवसाय स्थापना र विस्तारमा नहुँदा समग्र आर्थिक वृद्धि अवरुद्ध भइरहेको बताए ।  ढकालका अनुसार जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तर त्यही जोशजाँगर उद्योग र उद्यमशीलता विकासतर्फ छैन ।  उनले भने, ‘दिनदिनै नयाँ दल खुलिरहेका छन् । यदि कम्पनी र उद्योग पनि त्यत्तिकै गतिमा खुल्न थाले देश समृद्धि तिर उड्न थाल्थ्यो । केवल नयाँ राजनीतिक दलहरूको बाढी आएर देश समृद्ध हुँदैन । त्यसका लागि उद्यमशीलता, उद्योग विस्तार र आर्थिक सुधारलाई राजनीतिक एजेन्डाको पहिलो प्राथमिकता बनाउनैपर्छ ।’ आगामी निर्वाचनका घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तार सहज बनाउने स्पष्ट तथा कार्यान्वयनयोग्य नीति अनिवार्य रूपमा समावेश गर्न ढकालले राजनीतिक दलहरूलाई आग्रहसमेत गरे ।  

हङकङको आवासीय कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु, सयौं बेपत्ता

काठमाडौं । हङकङको एक आवासीय कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ भने करिब ३०० जना बेपत्ता भएका छन् । मर्मतसम्भारको काममा प्रयोग गरिएको असुरक्षित बाँसको स्काफोल्डिङ र फोम पदार्थका कारण झनै फैलिएको हुनसक्ने प्रहरीको भनाइ छ । बुधबार दिउँसो लागेको आगोको अत्यधिक तापक्रम र बाक्लो धुवाँका कारण वाङ फुक कोर्ट आवासीय परिसरको माथिल्ला तल्लामा फसेका मानिससम्म पुग्न दमकलकर्मीहरू रातभर संघर्षरत थिए । उत्तरी ताई पो जिल्लामा रहेको यो बाक्लो बसोबास भएको परिसरमा ८ वटा ब्लकमा २ हजार फ्ल्याट छन्, जहाँ ४ हजार ६०० भन्दा बढी मानिस बस्छन् । हङकङमा किफायती आवासको पुरानो समस्या चलिरहेको अवस्थामा यो गम्भीर दुर्घटना भएको हो । बिहीबार बिहानसम्म अधिकारीहरूले ४ वटा ब्लकमा आगो नियन्त्रणमा आएको बताएका छन् भने बाँकी ३ वटामा काम जारी छ । घटनास्थलका भिडियोहरूमा ३२ तले दुईवटा टावरमा बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको ठाउँबाट अझै आगोका ज्वाला निस्किरहेको देखिन्थ्यो र बाक्लो धुवाँ आकाशमा उडिरहेको थियो । प्रहरीको भनाइ अनुसार सुरक्षामापदण्ड नपुगेका प्लास्टिक र मेस सिटले भवन ढाकिएको थियो । साथै मर्मत कार्य गरिरहेको निर्माण कम्पनीले एउटा ब्लकका केही झ्यालहरू फोम पदार्थले बन्द गरेको पाइयो । ‘हामीसँग यो दुर्घटना निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूको गम्भीर लापरबाहीका कारण भएको भन्ने ठोस कारण छ, जसले आगो नियन्त्रण बाहिर फैलियो र विशाल जनहानि भयो,’ हङकङ प्रहरीकी सुपरिन्टेन्डेन्ट आइलीन चुंगले भनिन् । निर्माण कम्पनीका दुई निर्देशक र एक इन्जिनियरिङ सल्लाहकारलाई आगलागीसम्बन्धी ‘हत्या जस्तै अपराध’ को आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँसको स्काफोल्डिङ र हरियो कन्स्ट्रक्सन मेस परम्परागत चिनियाँ निर्माणमा प्रचलित भए पनि सुरक्षा कारण हङकङमा यसलाई यो वर्ष मार्चदेखि क्रमशः हटाइँदै आएको छ । प्रहरीका अनुसार मृतकमध्ये एक दमकलकर्मी पनि छन् । ४५ जना अस्पतालमा गम्भीर अवस्थामा छन् । हङकङका प्रमुख कार्यकारी जोन लीले भने, ‘पहिलो प्राथमिकता आगो निभाउने र फसेका बासिन्दालाई बचाउने हो । दोस्रो– घाइतेको उपचार । तेस्रो– प्रभावित परिवारलाई सहयोग । त्यसपछि पूर्ण छानबिन सुरु हुनेछ।’ करिब २७९ जना बेपत्ता छन् र ९०० जना आठवटा अस्थायी आश्रयमा बसेका छन् । यो मृत्यु संख्या १९४८ पछि हङकङमा आगलागीबाट भएको सबैभन्दा ठूलो जनहानि हो, जब एक गोदाममा आगलागी हुँदा १७६ जनाको मृत्यु भएको थियो । यो आगलागीलाई २०१७ मा लन्डनको ग्रेनफेल टावरको आगलागीसँग तुलना गरिएको छ, जहाँ ७२ जनाको मृत्यु भएको थियो । त्यो दुर्घटना भवनमा ज्वलनशील बाहिरी प्यानल प्रयोग गरिएको कारण भएको ठहर गरिएको थियो । ग्रेनफेल युनाइटेड समूहले लेखेको छ— ‘हङकङका पीडित सबैप्रति हाम्रो हार्दिक संवेदना । तपाईंहरू एक्लो हुनुहुन्न ।’ धेरै बासिन्दाहरूले सोशल मिडियामा लापरबाही र लागत कटौतीका कारण आगो लागेको दाबी गरेका छन् । एक भिडियोमा मर्मत कार्य गर्दै रहेका मजदूरहरू स्काफोल्डिङमाथि चुरोट सेवन गरिरहेको देखिन्थ्यो । चीनका राष्ट्रपति सी जिनपिङले मुख्यभूमिबाट ‘पूर्ण प्रयास गरेर आगो निभाउन र मानवीय क्षति कम गर्न’ निर्देशन दिएको चिनियाँ राज्य प्रसारक सिसिटिभीले जनाएको छ । हङकङको यातायात विभागले बिहीबार बिहान क्षेत्रका केही सडक बन्द हुने र ३९ वटा बस रुटहरू परिवर्तन गरिएको बतायो । कम्तीमा ६ विद्यालय बिहीबारका लागि बन्द गरिएको छ । बुधबार आगो लागिरहेका ब्लकहरूबाट स्काफोल्डिङका फ्रेम तल खसिरहेका देखिन्थे, र सयौं दमकल र एम्बुलेन्सहरू परिसर बाहिर लाइन लागेका थिए । हङकङ सरकारले २०१९–२०२४ बीच बाँस स्काफोल्डिङसँग सम्बन्धित २२ जनाको मृत्यु भएको कारण मार्चदेखि क्रमिक रूपमा बाँस स्काफोल्डिङ हटाउने घोषणा गरेको थियो । भविष्यमा ५० प्रतिशत सार्वजनिक निर्माणकाममा धातुको फ्रेम अनिवार्य गरिएको छ । यद्यपि बाँस स्काफोल्डिङ हटाउने निर्णय आगलागी जोखिमका कारण नभए पनि यस वर्ष कम्तीमा ३ वटा आगलागी बाँस स्काफोल्डिङसम्बन्धी भएको, औद्योगिक दुर्घटना पीडित अधिकार समूहले जनाएको छ । हङकङको अत्यधिक मूल्यवान आवास प्रणाली धेरै वर्षदेखि सामाजिक असन्तुष्टिको मुख्य कारण बनेको छ । यो दुर्घटनाले आगामी डिसेम्बरमा हुने विधान परिषद् चुनावअघि जनआक्रोश झनै बढाउन सक्छ । वाङ फुक कोर्ट हङकङका धेरै उच्चतले सरकारी आवासहरूमध्ये एक हो । ताई पो ३ लाख मानिस बसोबास गर्ने घना क्षेत्र हो । १९८३ देखि आबाद यो परिसर सरकारी अनुदानमा चलने घरस्वामित्व योजनाअन्तर्गत पर्ने बताइन्छ । अनलाइन विवरणअनुसार कम्प्लेक्समा ३३० करोड हङकङ डलर (४२.४३ मिलियन डलर) को लागतमा एक वर्षदेखि मर्मत भइरहेको थियो, जहाँ प्रत्येक युनिटले १.६ देखि १.८ लाख हङकङ डलर तिरेका छन् । (सीएनबीसीबाट अनूदित तथा सम्पादित)

कालिञ्चोक दर्शनले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैठकले कम्पनीको ६० करोड रुपैयाँ चुक्ता पूँजीमा आधारित रही ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर चुक्ताका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी ११औं वार्षिक साधारण सभामा पेश गरिनेछ । साधारणसभाले अनुमोदन गरेपछि सम्बन्धित सेयरधनीहरूलाई सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मंसिर १० गते बसेको बैंकको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ ।  

काममा कमजोरी भेटिएपछि १४ निर्माण व्यवसायीलाई कालोसूची राख्ने तयारी

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । काम असन्तोषजनक भएको भन्दै कालोसूचीमा राख्ने सिफारिस गरिएका कम्पनीहरुलाई अन्तिम मौका स्वरूप पुनः स्पष्टीकरण सोधिएको हो । यसअघि कार्यालयले ३० दिने म्याद दिएर स्पष्टीकरण मागेको थियो । तर सो अवधिभित्र कुनै प्रतिक्रिया नआएपछि दोहोर्याएर स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । स्पष्टीकरण मागाइएका कम्पनीहरूमा विक्रम घले मुख्य व्यक्ति रहेको लबकुश कन्स्ट्रक्सन प्रालि (नुवाकोट), नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि (नुवाकोट), मुकुन्द अधिकारीसहितको दीपश्री इन्जिनियरिङ प्रालि (काठमाडौं), विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामनारयुनिभर्सल जेभी (नुवाकोट) र सुमन न्यौपाने मुख्य व्यक्ति रहेको चन्द्रसूर्य निर्माण सेवा प्रालि (काठमाडौं) परेका छन् । त्यस्तै, फिरोज मोहम्मद मनिहार मुख्य व्यक्ति रहेको आर्कटिक कन्स्ट्रक्सन (कपिलवस्तु), प्रेमबहादुर सापकोटा मुख्य व्यक्ति रहेको पम्फा निर्माण सेवा (बारा), तिलकबहादुर थापामगर मुख्य व्यक्ति रहेको एमरएस च्याङ्ग्रासी निर्माण सेवा (काठमाडौं), फुलचन श्रेष्ठसहितको एमरएस पूजा कन्स्ट्रक्सन (धादिङ) र ध्रुवप्रसाद सापकोटा मुख्य व्यक्ति रहेको एमरएस डीपी कँडेल निर्माण सेवा (काठमाडौं) पनि स्पष्टीकरण सोधिएका सूचीमा छन् । स्पष्टीकरण मागिएका अन्य कम्पनीहरूमा उमेश लामा मुख्य व्यक्ति भएको पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि (काठमाडौं), पुजन रावत मुख्य व्यक्ति रहेको एमरएस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि (चितवन), आङ ओम्बु शेर्पा मुख्य व्यक्ति रहेको पीएनडी शेर्पा कन्स्ट्रक्सन (काठमाडौं) र मनोज कुमार यादव मुख्य व्यक्ति रहेको क्वालिटी सोलुसन कम्पनी प्रालि (ललितपुर) छन् । कार्यालयका अनुसार तोकिएको समयभित्र स्पष्टीकरण नआएमा सम्बन्धित कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र  बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र  बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०० पैसा र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा कायम भएको छ । केन्द्रीय  बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र  बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुयैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र  बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य  बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय  बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।