विकासन्युज

राष्ट्र बैंकले १७ जना कर्मचारीलाई दियो दीर्घ सेवा पदक, क-कसले पाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । राष्ट्र बैंकले सोमबार ७१औं वार्षिकोत्सब कार्यक्रमको आयोजना गर्दै २० वर्ष सेवा अवधि पूरा गरेका १७ जना कर्मचारीलाई सो पदक प्रदान गरेको हो ।  राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पन्डितसँगै कार्यककरी निर्देशकहरु सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल  र अनुज दहाललाई दीर्घ सेवा पदक प्रदान गरेको हो ।  निर्देशकहरुमा सुदिप फुयाल, निभा, ईश्वरी प्रसाद भट्टराई, रमेश आचार्य, डा. राजन कृष्ण पन्त, इन्द्रा चम्लागाईं, माधव दंगाल, सत्येन्द्रराज सुवेदी, आर्या जोशी, बासुदेब भट्टराई, अशोक घिमिरे, शरण कुमार अधिकारी र गिरिजाप्रसाद कोइरालाले दीर्घ सेवा पदक प्राप्त गरेका छन् ।

राष्ट्र बैंकद्वारा युवराज खतिवडा सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा सम्मानित भएका छन् । सोमबार राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् । खतिवडा नेपाल राष्ट्र बैंकको १५औं गभर्नर हुन् । उनको कार्यकाल सन् २०१० देखि  २०१५ सम्म रह्यो । उनी पूर्वअर्थमन्त्री समेत हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् ।  राष्ट्र बैंकको प्रत्येक वार्षिकोत्सव कार्यक्रममा पूर्व गभर्नरलाई सम्मानित गर्ने अभ्यास छ ।   

राष्ट्र बैंकको वार्षिकोत्सवमा कर्मचारीको विरोध र धर्ना

काठमाडौं । नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवका अवसरमा बैंकभित्र औपचारिक उत्सव चलिरहँदा बाहिर भने कर्मचारीहरूले चर्को विरोध प्रदर्शन र धर्ना दिएका छन्।  नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको नेतृत्वमा उत्रिएका कर्मचारीहरूले बैंकको उच्च व्यवस्थापनले गैरजिम्मेवार व्यवहार देखाएको भन्दै वार्षिकोत्सव कार्यक्रमलाई पूर्ण रूपमा बहिष्कार गरेका हुन् ।  विशेष गरी आर्थिक वर्ष २०८२/८३ को कार्य सम्पादनमा आधारित बढुवा प्रक्रियामा व्यवस्थापनले अनावश्यक ढिलासुस्ती गरेको र पारदर्शी ढंगले काम नगरेको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् । धर्नामा सहभागी कर्मचारीहरूले ‘बढुवा होस् जालझेल नहोस्’ ‘हाम्रो श्रमको सम्मान गर, बढुवामा अपमान नगर’ ‘भित्री सेटिङ बन्द गर र पारदर्शी बढुवा लागू गर’ जस्ता चर्का नाराहरू लेखिएका पम्प्लेटहरू प्रदर्शन गर्दै बैंकको मूल ढोकामा धर्ना दिएका थिए ।  आफ्नो वृत्तिविकास र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने माग राख्दै आन्दोलित भएका कर्मचारीहरूले व्यवस्थापनले जालझेलपूर्ण तरिकाले बढुवा प्रक्रिया रोकेको आरोप लगाएका छन् ।

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रस्ताव गरेको थियो ।  सोही प्रस्ताव आज बस्ने संसदीय दलको बैठकमा पेश गरी अनुमोदन गर्ने सोलुखुम्वुका सांसद प्रकाशसिंह बस्नेतले जानकारी दिए । बैठकमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।   हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन् ।

संघीय निजामती सेवा विधेयक सुधार्न राय र सुझाव संकलन गर्दै मन्त्रालय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी र आम नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विधेयकलाई थप प्रभावकारी, व्यावहारिक र सर्वस्वीकार्य बनाउन सुझाव संकलन सुरु गरेको जनाएको छ । मन्त्रालयका अनुसार संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदा २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको थियो । उक्त मस्यौदाप्रति हालसम्म तीन हजारभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त सुझावहरूसँगै विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया समेत संकलन गरी विश्लेषण गरिरहेको जनाएको छ । विधेयकलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थित रूपमा अध्ययन तथा विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको छ । उक्त कार्यसमूहले प्रारम्भिक मस्यौदामा उठेका विषयहरूको अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा आवश्यक सुधारसहित अन्तिम रूप दिन सहयोग गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले यसअघि उपलब्ध गराइएको सुझाव लिंकबाहेक थप सुझाव, राय तथा पृष्ठपोषण [email protected] इमेलमार्फत तथा ह्वाट्सएप नम्बरहरूमा समेत पठाउन सकिने जनाएको छ । यस विषयमा सम्बन्धित सबैलाई सक्रिय सहभागिताका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।   

सुकुम्बासी बस्ती हटाउन सेना परिचालन भएको हो ?

काठमाडौं । नेपाली सेनाले सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग नभएको स्पष्ट पारेको छ । नियमित अभ्यासमा देखिँदा त्यसलाई सुकुम्बासी बस्ती हटाउन सेनाको प्रयोग भएको बुझ्नु राम्रो नभएको सेनाको प्रष्टीकरण छ । सरकारले शनिबार थापाथलीको सुकुम्बासी बस्ती हटाएको थियो । सोही दिन नेपाली सेनाको उपस्थिति भएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो । तर, नेपाली सेनाले थापाथली क्षेत्रमा आफ्नो नियमित अभ्यास भइरहेकोले त्यहाँ देखिनुलाई प्रयोग भएको रूपमा नबुझ्न आग्रह गरेको छ ।  नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाको नियमित अभ्यासमा सेनाको टोली बाहिर निस्केको थियो । ‘नेपाली सेना सुकुम्बासी क्षेत्रमा देखा पर्नु संयोग थियो, बाहिर चर्चामा आए जस्तो नेपाली सेना सुकुम्बासी बस्ती हटाउन गएको होइन,’ उनले भने ।  भक्तपुरको मनोहरा सुकुम्बासी क्षेत्रमा भने नेपाली सेना पुगेको उनले जानकारी दिए । ‘भक्तपुर जिल्ला सुरक्षा  समितिको बैठकमा सदस्यको हैसियत सहभागी भएका थियाैं, बैठकपछि त्यस क्षेत्रको निरीक्षण तथा अनुगमनमा सहभागी भइएको हो,’ उनले भने ।  सरकारले गत शनिबार र आइतबार काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहराका खोला तथा नदी किनाराका सुकुम्बासी बस्ती उठाएको थियो । नेपाल प्रहरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयले खोला किनाराको बस्तीलाई व्यवस्थापन गरेको छ । थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरेको छ । सरकारले काठमाडौंको नदी किनारका पाँच वटा बस्ती खाली गराएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका थिए । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याएर विवरण संकलन गरेर काठमाडौंका विभिन्न होटलहरूमा राखिएको छ । होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रक्रिया भइरहेको छ ।

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : कांग्रेस महामन्त्री पौडेल

पाटन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।       नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए । 'सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्' उनले भने ।      महामन्त्री पौडेलले सुकुमबासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमबासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ । ११ः०० बजे बोलाइएको बैठक दिउँसो १ः०० बजेदेखि सुरु भएको हो ।