महिलामन्त्री चौधरीको दुहबी र काठमाडौंमा घर, फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक
काठमाडौं । महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री भगबती चौधरीसँग सुनसरीको दुहबी र काठमाडौंमा गरी २ वटा घर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार काठमाडौंको घर २ करोड ६७ लाख रुपैयाँमा खरिद गरिएको हो । साथै, मन्त्री चौधरीसँग सुनसरी र दाङ्गका विभिन्न ६ ठाउँमा जग्गा रहेको छ भने २५ केजी चाँदी र ७५ तोला सुन रहेको छ । मन्त्री चौधरीको विभिन्न बैंकमा १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरी फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक सेयरधनी हुन् । उक्त लघुवित्तमा चौधरीको २ लाख ४२ हजार १०५ कित्ता सेयर छ भने अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ । उनले नेपाल बैंकबाट ६० लाख रुपैयाँ, इन्भेष्टमेन्ट बैंकबाट ५० लाख र अन्यबाट १ करोड रुपैयाँ ऋण लिएको छ । साथै उक्त ऋण विभिन्न समयमा चुक्ता गरिसकेको बताइएको छ । ४ लाख ६५ हजारको मोटरसाइकल रहेको छ ।
पर्यटनमन्त्री तामाङको सम्पत्ति : २० लाख नगद, ६ तोला सुन र १२ रोपनी जग्गा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री तामाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ । उनले तलब भत्ताबापत चल सम्पत्तिमा १३ लाख नगद पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट किनेको विवरणमा खुलाइएको छ । त्यसैगरी उनको जन्मस्थान नुवाकोट पञ्चकन्या गाउँपालिका-३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सम्पत्ति विवरणमा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ । एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको सेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् ।
श्रममन्त्री डीपी अर्यालसँग १० तोला हिरा, १.२५ करोडको गाडी, बैंकमा लगानी
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनीसँग १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । मन्त्री अर्यालले उल्लेख गरे अनुसार सुनचाँदी र हिराको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको रहेको छ । मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा ३ करोडको घर रहेको छ । यस्तै, मन्त्री अर्याल र श्रीमती अम्बिका केसीको नाममा १२ स्थानमा जग्गा रहेको छ । अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सबै जग्गा ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ । श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । मन्त्री अर्यालसँग विभिन्न ६ वटा संस्थाको सेयर रहेको छ । साविक मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा) मा १० हजार कित्ता, विग इन्भेस्टमेन्टमा ३५ हजार कित्ता, पिपुल इन्भेस्टमेन्टमा ९ हजार कित्ता, जनसागर सहकारीमा १० हजार कित्ता, सुवर्णभूमि सहकारीमा १ हजार कित्ता र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्ता सेयर स्वामित्व रहेको छ । जनसागर सहकारीबाट २ करोड रुपैयाँ, रेशम केसी र सुशिल प्रधानाङ्गबाट ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख छ । अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।
सुमनासँग ६ करोड बचत, ११ तोला सुन र एक सेट हिरा, घरजग्गादेखि गाडीसम्म
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार शिक्षामन्त्री श्रेष्ठको ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिराको गहना र १ सेट हिरा रहेको छ । यस्तै, मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा विभिन्न बैंकमा ६ करोड रुपैयाँ नगद बचत रहेको पनि सार्वजनिक गरकी छन् । एनआईसी एसिया बैंकको चाबहिल शाखामा १ लाख १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ सम्पत्ति रहेको विवरणमा उल्लेख छ । उनका पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको उनले उल्लेख गरेकी छिन् । यस्तै काभ्रेमा ८ वर्ग क्षेत्रफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा पनि श्रेष्ठको नाममा रहेको विवरणमा खुलाइएको छ । शिक्षामन्त्री श्रेष्ठलाई उनका बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको पनि उल्लेख गरेकी छिन् ।
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरे । गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो । सम्झौताअनुसार फिनल्याण्डले नेपाललाई १३ मिलियन यूरो अर्थात एक अर्ब ८७ करोड अनुदान दिने छ । यो अनुदान रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन् । युरोपेली सङ्घ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । गत वर्षको साउन ६ मा भएको उक्त नेपालका तर्फबाट अर्थ मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र सङ्घका तर्फबाट मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक पेटेरियस युस्तुब्सले हस्ताक्षर गरेका थिए । नेपाल र फिनल्याण्ड तथा पुरोपेली सङ्घबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको जानकारी दिइएको छ । आयोजनाको कार्यान्वयन आगामी आर्थिक वर्ष २०८१/८२ मा हुनेछ । कार्यक्रममा सहसचिव नेपालले जलवायु परिवर्तनमा स्थानीय अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनमार्फत जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य आयोजनाले राखेको बताए । कार्यक्रमले प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा स्थानीय जनताको जीविकोपार्जनमा योगदान गर्ने विश्वास व्यक्त गरे । राजदूत हेक्काले सम्झौता संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) का क्रममा फिनल्याण्ड र युरोपेली सङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनको एक हिस्सा भएको बताए । संयुक्त अरब इमिरेट्को दुबईमा गत कात्तिकमा सम्पन्न कोप–२८ मा कार्बन उत्सर्जनमा नगन्य भूमिका भएका तर जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा रहेका नेपालजस्ता विकासोन्मुख मुलुकलाई विकसित मुलुकले जलवायु अनुकूलन कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सम्मेलनले विश्वव्यापी तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने निष्कर्ष निकालेको थियो । राजदूत हेक्काले नेपाली समुदायले जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गरिरहेको भन्दै त्यसबाट बच्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । ‘हामी जलवायु परिवर्तनका असर कम गर्न तथा जलवायुका क्षेत्रमा निर्धारण गरिएका विश्वव्यापी लक्ष्य प्राप्तिका लागि आफ्नो प्रतिबद्धता निर्वाह गर्न तत्पर छौँ’, उनले भने, ‘यस्ता परियोजनामार्फत जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित व्यक्तिको जीवनमा परिवर्तन ल्याउन सक्छौँ भन्ने हाम्रो विश्वास हो ।’ उनले सम्झौताले जलवायु परिवर्तनको जोखिममा रहेका क्षेत्रका मानिसको दैनिक जीवनमा सुधार ल्याउने लक्ष्य राखेको बताए । कार्यक्रमले स्थानीय बासिन्दालाई वातावरणीय परिवर्तनसँग अनुकूलन गर्न, उनीहरूको जीविकोपार्जन सुरक्षित गर्न र जीवनको अवस्था सुधार गर्नका लागि दिगो प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान गर्ने विश्वास राखिएको छ । परियोजनाले खाद्य, आय वृद्धि गर्न जलवायु उत्थानशील कृषि कार्यक्रम, प्राकृतिक स्रोतको दिगो प्रयोगमा जोड दिनेछ । परियोजना सञ्चालन गर्दा बढीभन्दा बढी महिला समुदायलाई लाभान्वित गर्ने लक्ष्य राखिएको छ । परियोजनाले प्रदेश र स्थानीय तहमा लैङ्गिक समानता र समावेशी शासन स्थापना गर्ने तथा सङ्घीय संरचना सुदृढ गर्न सहयोग गर्ने पनि लक्ष्य राखेको छ । फिनल्याण्डले यसअघि सुदूरपश्चिम र कर्णालीमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सञ्चालन गरेको थियो ।
खेलकुद मन्त्री श्रेष्ठसँग १ करोडको सेयर, ९० लाख बचत र १५ तोला सुन
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सयर रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर, र १५ तोला सुन सम्पत्ति देखिएको छ । उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको उल्लेख गरेका छन् । उनले सो रकम स्वआर्जन भएको घोषणा गरेका छन् । नेपाल स्टक एक्सजेञ्जमा विभिन्न कम्पनीको १ करोड बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २० लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन् ।
सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग ३१ तोला सुन, ४३ लाख रुपैयाँ ऋण
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ । काठमाडौंको किर्तीपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वि नगरपालिका ७ मा गरी ३ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा छ । मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको जोशीले बताएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ । उक्त ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ ।