काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् ।
मंगलबार सम्पत्ति विवरणमा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।
एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको सेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।
श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् ।