विकासन्युज

आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।  प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज अपरान्ह कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।  धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।  त्यस अवसरमा उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए । नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको जनाउँदै अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताए । अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेकोसमेत उल्लेख गरे ।  उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको बताए । ‘गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौं । निजीक्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेका छौं,’ उनले भने । ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभीत भएको बताए ।  ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजीक्षेत्र किन सधैँ उपक्षित भएको छ,’ उनले भने ।   

धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्सले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । २५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्समा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो । क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्कासहित अन्य अनुभवी सर्भिस टोलीको उपस्थिति रहेको थियो । निःशुल्क सर्भिसिङका साथै इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारीसाधनको उचित मर्मत–सम्भार, महत्त्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए । एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  उत्कृष्ट बिक्री पछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।  

महँगा सवारीमा हिँडेर लुटपाट, गोली प्रहारपछि पर्दाफास

काठमाडौं । बिहानै ५/६ बजे र राति १२ बजेपछि काठमाडौंका सडकहरूमा देखिने तीन/चार जनाको मोटरसाइकल टोली सामान्य यात्रु थिएनन् । न उनीहरू कुनै काम विशेषले मोटरसाइलमा हुइँकिँदै थिए नत कुनै सत्कर्मका लागि त्यति बिहान र अबेर राति सडकमा निस्किँदै थिए ।  उनीहरू त थिए—लुटपाटका लागि संगठित गिरोह । मर्निङ वाकमा निस्कने नागरिकदेखि सुनका सिक्री लगाएर हिँड्ने यात्रुसम्म उनीहरूको निशानामा पर्थे । यही गिरोहलाई काठमाडौं जिल्ला प्रहरी परिसरले गएराति मुलपानीबाट गोली हानेर पक्राउ गर्यो ।  गएराति लुटपाट गर्ने समूहलाई मूलपानीबाट गोली हानेर विनय तामाङसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापाले प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएको जानकारी दिए । उनका अनुसार तीव्र गतिमा चलाएर आएको मोटरसाइकल रोक्न खोज्दा प्रहरीलाई हानेर घाइते बनाएका थिए । तामाङलाई नियन्त्रणमा लिने क्रममा उनको तिघ्रामा गोली लागेको थियो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापा । लुटेराको समूहहरू विशेष गरी मोटरसाइकलमा हिँड्ने गरेको परिसरका प्रहरी प्रमुख थापाले बताए । ‘लुटेराहरू एउटा मोटरसाइकलमा ३–३ जना गरेर हिँड्ने गरेका थिए । १२ बजेदेखि बिहान ४ बजेसम्म उनीहरू सक्रिय थिए,’ उनले भने, ‘बिहानीको समयमा मर्निङ वाकमा हिँड्नेलाई उनीहरू लक्षित गरेर लुटपाट गर्ने गरेका थिए ।’ लुटेरा समूहको नाइके विनय रहेको थापाले जानकारी दिए । गोली लागेकालाई अस्पतालमा राखेर उपचार भइरहेको उनले बताए । ‘उनीहरू दिनभर टयाक्सी चलाउने र ९ बजेपछि एक ठाउँमा भेला हुने गरेको खुलेको छ,’ थापाले घटना सुनाउँदै भने, ‘उनीहरू ट्याक्सी र निजी कारमा गएर पनि लुटपाट गर्ने गरेका थिए ।’ तामाङ जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज प्रहरी वृत्तबाट फरार थिए । उनले लुटेरा समूहको निर्माण गरेका थिए । दैनिक जसो को–को कहाँ गएर सक्रिय हुने भनेर उनैले टिम परिचालन गर्ने गरेका थिए । लुटेराहरूको पहिलो टार्गेट बाटामा हिँड्नेहरूले लगाएका सिक्री र टप लुटपाट गर्ने हुने गरेको थापाले जानकारी दिए । लुटपाट गर्ने अधिकांशको पृष्ठभूमि आपराधिक क्रियाकलाप रहेको उनले सुनाए । तामाको समूहहरू मोटरसाइकलमा लुटपाट गर्न जाँदा नम्बर प्लेटमा हिलो छयापेर जाने गरेका थिए । लुटेरामा संलग्नहरू काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका रहेका छन् । २३ वर्षीय विनय तामाङ चोरी र डाँकाको अभियोगमा मुद्दा खेपिरहेका थिए ।  २४ वर्षीय आयन माझीले लुटपाटमा चालकको रूपमा काम गर्ने गरेका थिए । उनी अन्य लुटपाट गर्नेहरूलाई ओसारपसार गर्ने कार्यमा संलग्न थिए । उनीमाथि पनि भक्तपुरमा डाँका चोरी मुद्दा चलिसकेको थियो । २३ वर्षीय मनिष रसाईली पनि लुटपाटमा मोटरसाइकलको चालक रूपमा थिए । उनले चोरेर ल्याएको सुनलाई गालेर बिक्री गर्ने गरेका थिए । २३ वर्षीय सविन माझी टयाक्सी र लुटपाट गर्दा मोटरसाइकल चालकको रूपमा थिए । २९ वर्षीय पेमा तामाङ मोटरसाइकलमा पछाडि बस्ने गरेका थिए । उनले लुटपाट गर्दा अरूको मुख थुन्ने गरेका थिए । २० वर्षीय सलोन तामाङ् र २२ वर्षीय विशाल तामाङ मोटरसाइकलमा पछाडि बसेर मुख थुनेर लुटपाट गर्न र १८ वर्षीय राजीव भण्डारी संलग्न थिए ।   २८ वर्षीय विदुर विश्वकर्मा भने लुटपाट गरेको सुन किन्ने गरेका थिए । २९ वर्षीय फुर्वा तामाङ पनि मोटरसाइकल चलाउने गर्थे । हालसम्म काठमाडौंको विभिन्न प्रहरी वृत्तमा २७ जना प्रहरीको सम्पर्कमा आएका आइसकेका छन् । बिहीबार मात्र प्रहरी परिसरमा ४ वटा उजुरी परेको परिसरका प्रहरी प्रमुख थापाले जानकारी दिए । लुटेराको समूहले बौद्ध, स्वयम्भू, गौशाला, सानो ठिमी, कोटेश्वर, कपन र बुढानीलकण्ठलगायतको स्थानमा लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सरकारले प्रहरीको रासन रकम वृद्धि गर्ने

काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने भएको छ ।  बिहीबार मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्दै गृहमन्त्री तथा प्रवक्ता ओमपक्राश अर्यालले आगामी फागुन १ गतेबाट रासनबापतको रकम वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार रासनबापतको रकम आगामी फागुन १ गतेदेखि वृद्धि हुनेछ । यसैगरी, नेपाल र जापानको कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको  उपलक्ष्यमा २०८२ माघ १८ देखि २१ सम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।

बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो संस्थामा सेवा पर्याप्त हुँदाहुँदै बिरामीलाई अन्यत्र रिफर नगर्न आग्रह गरेको छ । सेवाग्राहीलाई दिनुपर्ने सेवा उपलब्ध हुँदाहुँदै अन्यत्र रिफर गर्ने क्रम बढेकाले यसो नगर्न आग्रह गरेको हो । बोर्डले सबै सेवा प्रदायक  स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भनेको छ, ‘स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत अनावश्यक रुपमा प्रेषण गरेको पाइएकोले आफ्नो संस्थामा भइरहेको सेवालाई नजर अन्दाज गरी प्रेषण नगर्नुहुन अनुरोध छ ।’ अस्पतालले सेवा उपलब्ध गराउन नसक्ने भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची ९ बमोजिमको रिफर पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा रिफर गर्न समेत अनुरोध गरेको छ ।  बोर्डले अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो रकम सोध भर्ना नगरिने र स्वास्थ्य बीमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने जानकारी गराएको छ।

भारतको आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं । भारतीय राज्य आन्ध्र प्रदेशमा अनलाइन लत र दुर्व्यवहारका विषयमा विश्वव्यापी रूपमा चिन्ता बढ्दै जाँदा सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकामाथि प्रतिबन्ध लगाउने तगारी अधिकारीहरूले गरिरहेको जनाइएको छ ।   दक्षिणी  राज्य आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सासाजिक सञ्जाल प्रति विश्वास 'बिग्रँदै गएको' बताउदै बालबालिकाहरूले यसको अधिक प्रयोगमा समय खर्चिरहेको चेतावनी दिएका छन् । सरकारले बालबालीकाहरुलाई सामाजिक सञ्जालमा प्रतिवन्द गर्ने निर्णय उनले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै बताएका छन् । अधिकारीहरूले उमेर–उपयुक्त पहुँच लागू गर्न कानुनी उपकरणहरूमा अध्ययनको आदेश दिएको उनले जनाएका छन् ।  सरकारी तथ्याङ्क अनुसार विश्वको सबै भन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतमा लगभग एक अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन् जसमा सबै सहर र ९५ प्रतिशत गाउँहरू जोडिएका छन् । आन्ध्र प्रदेशका अधिकारीहरूले मेटा, गुगल, एक्स र सेयरच्याट लगायत प्रमुख प्लेटफर्महरूलाई 'विश्वव्यापी उत्तम अभ्यासहरू' बारे छलफल गर्न र मूल्याङ्कन गर्न सुझाएको लोकेशले बताएका छन् ।  यो कदम पश्चिमी भारतीय राज्य गोवामा यस्तै छलफल पछि आएको हो, जहाँ अधिकारीहरूले बालबालिकाका लागि प्रस्तावित सामाजिक सञ्जाल प्रतिबन्धको वैधानिकता खोजिरहेका थिए । लोकेशले महिलाको अनलाइन सुरक्षाको बारेमा पनि चिन्ता व्यक्त गर्दै धेरैले 'निरन्तर अनलाइन दुर्व्यवहारको सामना गरिरहेका' बताउदै यसलाई बेवास्ता गर्न नसकिने उनले बताएका छन् । वार्षिक आर्थिक सर्वेक्षणले बालबालिकाको स्क्रिन समय बारे राष्ट्रिय दिशानिर्देशहरू सिफारिस गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गरेको छ । उमेरमा – आधारित पहुँच सीमाहरूमा नीतिहरू विचार गर्न सकिने बताउँदै युवा प्रयोगकर्ताहरू बाध्यकारी प्रयोग र हानिकारक सामग्रीको बढी जोखिममा रहेको सर्वेक्षणले जनाएको छ ।   पछिल्लो समयमा नाबालिगहरूद्वारा सामाजिक सञ्जालको प्रयोगमा विश्वव्यापी छानविन बढेको छ । अष्ट्रेलियाले सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउको छ भने  डिसेम्बर– १६ मा  फ्रान्सेली सांसदहरूले यस हप्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरे । धेरै अन्य देशहरू साथै युरोपेली सङ्घले पनि यस्तै कदमहरूबारे विचार गरिरहेका छन् । रासस