विकासन्युज

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथाङ्का । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।      तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए । दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ ।      कर्मचारीको नाम भने खुलाइएको छैन । ती कर्मचारीलाई लिखित स्पष्टीकरण लिएको उनको भनाइ छ । आचारसंहिता विपरीत गतिविधि पुनः दोहोर्याएमा कडा कारबाही गरिने सहायक निर्वाचन अधिकृत न्यौपानले बताए । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने निर्णयसमेत भएको उनले बताए । प्रतिनिधिसभा सदस्य एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।      जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।  

स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन् : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् ।      सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी हुन् । 'स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बीमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औषधि लेखिदिने र बिरामीले अनावश्यक रुपमा बीमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,' उनले भनिन् ।      स्वास्थ्य बीमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बीमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । उनले मुटु उपचारको क्षेत्रमा गङ्गालाल अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरिन् ।      अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए । विसं २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए ।    अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले जेनजी आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे । गत वर्ष मात्र गङ्गालाल अस्पतालले एक हजार ९९० विरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो ।   

आईएमई लाइफद्वारा एजेन्सी लिडरलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टिमनी लण्डरिङ डेको अवसरमा  एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा जीवन बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पालना गर्नाले कम्पनीको सुशासन सुदृढ बन्ने र ग्राहकको विश्वास थप मजबुत हुने विश्वास लिइएको छ । तालिम कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्पूर्ण अभिकर्ता साथीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्दै जिम्मेवार रूपमा काम गर्न निर्देशन दिएका छन् ।   

सेयर बजारमा १४ अर्बको कारोबार, ३ कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२० कम्पनीको ३ करोड कित्ता सेयर किचबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५२ करोड, युनाइटेड मोदीको ४६ करोड, युनियन हाइड्रोपावरको ४४ करोड र राधी विद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट, माथिल्लो लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेका छन् ।  

कास्की क्षेत्र नं १ मा १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ ।      सात तालको वाटिका शहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ । पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन् ।      यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।      यस क्षेत्रमा कुल उम्मेदवारमध्ये १६ जना पुरुष, एक जना महिला रहेका छन् भने जसमध्ये १६ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार हुन् ।      कास्की जिल्लाका तीनवटै क्षेत्रमा कुल मतदाता तीन लाख आठ हजार ५७२ रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा पर्ने मादी र रूपा गाउँपालिकामा जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना रहेर पनि त्यसको समुचित उपयोग हुन सकेको छैन भने महानगरका वडाहरूमा पनि अपेक्षित रुपमा विकास हुन सकेको पाइँदैन ।      यहाँ गाउँ पर्यटनका विशिष्ट गन्तव्यहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य रहेका छन् । कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर जस्ता ऐतिहासिक गन्तव्यले पनि यहाँको महिमा र गरिमा चुलिएको छ । पदयात्रा पर्यटनमा उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादी गाउँपालिकाको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङतिङदेखि सिक्लेससम्मका पदमार्ग पदयात्रा पर्यटनका गन्तव्य हुन् ।        यस्तै, सिक्लेस र ताङतिङलगायत स्थानबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलगायतले यहाँको पदयात्रा पर्यटनको महत्वलाई अझै उचाइमा पुर्याएको पाइन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यहाँको अर्को आकर्षण हो ।      यसैगरी सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङतिङलगायतका सडकको स्तरोन्नतिका विषय आसन्न निर्वाचनका लागि मतदाताले उम्मेदवारसँग खोज्ने चुनावी मुद्दा रहेको जानकारहरू बताउँछन् ।       यहाँका जङ्गलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । यस्तै, पोखराकै दोस्रो ठूलो बेगनासतालसहित क्षणक्षणमा रुप फेरिरहने रुपातालका साथै दीपाङ्ग, खास्टे, मैदी, न्युरेनी, गुँदे जस्ता तालको पर्यटकीय उपयोग यहाँका सम्भावना हुन् ।      ऐतिहासिक महत्वको कालिका मन्दिरसहित ठूलाकोट, हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना यस क्षेत्रमा रहेका छन् ।      शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिङ्करोड र बेगनास भोर्लेटारलगायतका सडकका स्तरोन्नति र विकासमा सर्वसाधारणले उम्मेदवारसँग  प्रतिबद्धता खोज्न सकिने देखिन्छ ।      यसै क्षेत्रबाट यसअघि २०४८ सालमा निर्वाचित भएर नेपाली कांग्रेसका तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसयता विसं २०५१ मा नेकपा (एमाले)का खगराज अधिकारी, २०५६ मा नेपाली कांग्रेसका रानाभाट दोस्रोपटक विजयी बनेका थिए ।       विसं २०६२/२०६३ को लोकतान्त्रिक आन्दोलनपछि विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) अर्थात् तत्कालीन नेकपा माओवादीका देव गुरुङ विजयी बनेका थिए । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन हुँदा माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बनेका थिए । त्यसपछि विसं २०७९ को निर्वाचनमा एमालेका मनबहादुर गुरुङ विजयी बनेका थिए ।    एकपछि अर्को निर्वाचनमा फरकफरक दलबाट विजयी हुने भएकाले यस क्षेत्रलाई परिणाम फेरिरहने क्षेत्रका रुपमा लिइन्छ ।      यस पटकको निर्वाचनमा एमालेबाट वैनबहादुर अधिकारी क्षेत्री, कांग्रेसबाट तिलकबहादुर रानाभाट, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खडकराज पौडेल (गनेश), राप्रपाबाट बाबुराम थापा, उज्यालो नेपाल पार्टीबाट मनीषा द्वालगायत १७ जनाको उम्मेदवारी रहेको छ । रासस  

नेपाल विश्वविद्यालय र आईआईएस्सीबीच समझदारीसँगै विश्वस्तरीय प्राज्ञिक साझेदारीको सुरुवात

काठमाडौं । भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी), बैंगलोर र नेपाल विश्वविद्यालयबीच बुधबार (हिजो) विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, अनुसन्धान तथा अन्य प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा। सूर्यराज आचार्यले ‘बोर्ड अफ ट्रस्टी’ मा आधारित स्वायत्त शासकीय स्वरूपलगायत नेपाल विश्वविद्यालयको समग्र संरचना तथा भावी योजनाबारे प्रस्तुति गर्दै उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्न आइआईएस्सी जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यको महत्त्वमाथि प्रकाश पारे । आइआईएस्सी बैंगलोरका निर्देशक प्रा। गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयको विकासका लागि विभिन्न प्राज्ञिक गतिविधिमा सहकार्यमार्फत सहयोग गर्ने तत्परता व्यक्त गरे । उनले नेपाल विश्वविद्यालयले स्नातक तहमा ‘लिबरल आर्ट एण्ड साइन्स’ अवधारणा अन्तर्गत सुरु गर्न लागेको ‘एकीकृत विज्ञान’ को पाठ्यक्रम संरचना आइआईएस्सी को स्नातक कार्यक्रमसँग धेरै हदसम्म मिल्दोजुल्दो रहेकाले दुवै संस्थाबीच साझेदारीको राम्रो सम्भावना रहेको भन्दै प्रा।रंगराजनले टिप्पणी गरे । आइआईएस्सी बैंगलोरको सहकार्य तथा सहयोगप्रतिको सदाशयताप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल विश्वविद्यालय संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष लालकृष्ण केसीले आइआईएस्सी जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यबाट प्राप्त हुने हरेक सम्भावनालाई नेपाल विश्वविद्यालयले विद्यार्थीको अध्ययन–अध्यापन, फ्याकल्टीको क्षमता अभिवृद्धि तथा संयुक्त अनुसन्धानका लागि सदुपयोग गर्ने बताए । आइआईएस्सी बैंगलोरको निमन्त्रणामा नेपाल विश्वविद्यालयका संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष इ. लालकृष्ण केसी, रजिस्ट्रार डा. सूर्यराज आचार्य तथा स्नातक कार्यक्रमका निर्देशक डा. करण ठगुन्ना सहभागी तीन सदस्यीय प्रतिनिधिमण्डलले आइआईएस्सीका अन्तरराष्ट्रिय विभागका प्रमुख, विभिन्न संकायका डीनहरू, विभागका प्रमुखहरू तथा अन्य प्राध्यापकहरूसँग सहकार्यका विविध पक्षबारे छलफल तथा अन्तरक्रिया गरेको थियो ।  यस क्रममा नेपाल विश्वविद्यालयको टोलीले विज्ञान शिक्षक तालिम, हावापानी परिवर्तन अध्ययन, दिगो प्रविधि विकास, विज्ञान–प्रविधि सीप विकास लगायतका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न कर्नाटकाको चल्लाकेरमा अवस्थित आइआईएस्सी को नयाँ क्याम्पसको समेत अवलोकन–भ्रमण गरेको थियो ।

मूल्यवृद्धिसँगै चाँदी किन्नेको भीड (फोटो–फिचर)

काठमाडौं । मूल्यवृद्धिसँगै चाँदी किन्ने ग्राहकहरूको भीड लागेको छ । राजधानीको ज्ञानेश्वरस्थित अजया ज्वेल्सबाट मात्र दैनिक  करिब ३ सय किलो चाँदी बिक्री हुँदै आएको बताइएको छ । जहाँ ग्राहकहरू चाँदी किन्न  लाइनमा उभिएको देखिएको छ ।   सुनको मूल्य लगातार बढ्दै गएपछि लगानीकर्ताहरूले चाँदीलाई सुरक्षित विकल्पका रूपमा हेर्न थालेका छन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रति तोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १२० प्रतिऔंस डलर नाघेको छ । सन् २०२६ मा चाँदीको मूल्य लगभग २०० प्रतिशत बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०२५ मा चाँदीको मूल्य १४४ प्रतिशतले बढेको थियो । २०२६ मा चाँदी थप बढ्ने विशेषज्ञहरू बताउँछन् । इकोनोमिक्स टाइम्सले २०२६ का लागि सुन र चाँदीको मूल्य अनुमानबारे १० जना कमोडिटी बजार विज्ञहरूसँग प्रश्न गर्दा उनीहरूले मूल्य अझै माथि जाने बताएका थिए। उनीहरूमध्ये ८ जना चाँदीले सुनभन्दा राम्रो प्रदर्शन गर्ने बताएका थिए ।  सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको हो । विश्वव्यापी आर्थिक अस्थिरता र भू‑राजनीतिक तनाव, औद्योगिक मागको वृद्धि, आपूर्तिमा सीमिततालगायतका कारणले सुन र चाँदीको मूल्य बढेको हो । चाँदी सोलार प्यानल, विद्युतीय सवारी साधन र एआईजस्ता तीव्र रूपमा बढिरहेका उद्योगहरूमा प्रयोग हुन्छ ।

स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतना फैलाउँदै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यस पहलको उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्नु, आम भ्रम हटाउनु, समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे कर्मचारीहरूलाई सचेत बनाउनु रहेको बैंकले जनाएको छ। कार्यक्रम मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव, भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो, जसले यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ । कार्यक्रम अन्तर्गत माघ १३ गते सबै महिला कर्मचारीका लागि 'स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू' विषयक वेबिनार आयोजना गरिएको थियो । वरिष्ठ निर्देशक स्तन क्यान्सर, डा. कञ्चन कौरले वेबिनार सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले वेबिनार अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकको भनाइ छ । त्यसैगरी, माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि 'प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ' विषयक सत्र सञ्चालन गरिएको थियो । वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो । यसमा कुल ५०९ जना कर्मचारीहरूले सहभागिता जनाएका थिए । दुवै वेबिनारले कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना बढाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक र अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा पनि यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, बैंकका कार्डवाहक ग्राहक महानुभावहरूले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसअघि पनि 'फोनपे क्रेडिट कार्ड' सञ्चालन, नवयुवा लक्षित 'सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट', 'सिटिजन्स डिजी बैंक सेवा' एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी.आर.एन् नम्बर सुविधा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवाहरू सुरु गरिसकेको छ। हाल बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ्ग ईकाइमार्फत १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।