इरानलाई ट्रम्पको चेतावनी – ‘यो अन्तिम मौका हो’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पछिल्लो चरणको वार्ता पाँच महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने ‘अन्तिम मौका’ भएको चेतावनी दिएका छन् । ट्रम्पले सोमबार अबेर ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै वार्ता ‘अहिले भइरहेको’ बताएका थिए । उनका अनुसार इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतारलगायतका देशको आग्रहमा वार्ता अघि बढिरहेको हो । तर, तेहरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भन्ने कुरा अस्वीकार गर्दै आएको छ । भविष्यमा पनि त्यस्तो वार्ता गर्ने कुनै योजना नरहेको इरानको भनाइ छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मंगलबार सरकारी सञ्चारमाध्यममार्फत इरानले आफ्नो सीमाको रक्षा जारी राख्ने बताएका छन् । यद्यपि उनले द्वन्द्वलाई थप विस्तार गर्ने इरानको चाहना नरहेको स्पष्ट पारेका छन् । ट्रम्पले भने, ‘उनीहरूका लागि राम्रो सम्झौतामा हस्ताक्षर गर्ने यो अन्तिम मौका हो ।’ यसअघि सोमबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानी नेताहरूलाई ‘अविश्वसनीय रूपमा दोहोरो चरित्र भएका’ भन्दै आलोचना गरेका थिए । उनले इरानले शान्ति वार्ता भइरहेको कुरा अस्वीकार गरे पनि त्यहाँ वार्ता चलिरहेको दाबी गरेका थिए । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने अमेरिकासँग प्रत्यक्ष वार्ता हुने सम्भावनालाई पुनः अस्वीकार गरेका छन् । बघाईले सोमबार पत्रकार सम्मेलनमा अमेरिकासँग वार्ताका लागि तत्काल कुनै योजना नरहेको बताएका थिए । उनका अनुसार तेहरानले अहिले हर्मुज जलडमरूमध्यका विषयमा ओमानसँग मात्रै वार्ता गरिरहेको छ । यसअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको ‘ठूलो सैन्य हमला’ स्थगित गर्ने निर्णय गरेका थिए । वार्ता सुरु हुने भन्दै उनले हमला रोक्ने निर्णय गरेका हुन् । ट्रम्पको निर्णयपछि विश्व बजारमा सकारात्मक प्रभाव परेको थियो र तेलको मूल्यमा उल्लेख्य गिरावट आएको थियो । तर, ऊर्जा बजारलाई प्रभावित पारिरहेको द्वन्द्वको कूटनीतिक समाधान तत्काल हुनेमा व्यापारीहरूको विश्वास घटेपछि मंगलबार बिहान तेलको मूल्यमा केही सुधार देखिएको छ । अमेरिकी समयअनुसार मंगलबार बिहान १ः३५ बजे वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य १.२९ प्रतिशत बढेर प्रतिब्यारेल ८१.३८ डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य पनि १.७३ प्रतिशत बढेर प्रतिब्यारेल ८५.२३ डलर पुगेको थियो । अमेरिकी सेन्ट्रल कमान्डले सोमबार होर्मुज जलडमरूमध्यको जारी नाकाबन्दीअन्तर्गत ४४ वटा व्यावसायिक पानीजहाजको मार्ग परिवर्तन गराएको जनाएको छ । तीमध्ये दुईवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा प्रवेश गरी जाँच गरिएको पनि कमान्डले जनाएको छ । यसैबीच, इराकको मिलिसिया समर्थक सञ्चारमाध्यम ‘नाया’ले सोमबार अबेर राति कुवेतमा विस्फोट भएको खबर सार्वजनिक गरेको छ । उक्त विस्फोटको आवाज इराकको बसरा प्रान्तसम्म सुनिएको दाबी गरिएको छ ।
एलपी ग्यास अभावले उद्योग संकटमा, सरकारसँग सहज आपूर्तिको माग
काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योग सञ्चालनका लागि आवश्यक एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । संघले मंगलबार एक अपिल जारी गर्दै पछिल्लो समय एलपी ग्यासको आपूर्तिमा देखिएको समस्याले उद्योग सञ्चालन प्रभावित भएको जनाएको हो । संघका अनुसार उद्योगमा कच्चा पदार्थको अभाव हुँदा उत्पादन प्रभावित भएको छ भने यसको प्रत्यक्ष असर बजारमा ग्यास आपूर्तिमा पर्न थालेको छ । समयमै आवश्यक परिमाणमा एलपी ग्यास उपलब्ध गराउन नसकिए उद्योगहरू थप संकटमा पर्ने अवस्था सिर्जना हुने संघको भनाइ छ । संघले सम्बन्धित सरकारी निकाय, नेपाल आयल निगम तथा सरोकारवाला निकायलाई ग्यास आयात, ढुवानी र वितरण प्रक्रियालाई सहज बनाउँदै उद्योगलाई नियमित आपूर्ति हुने वातावरण बनाउन आग्रह गरेको छ । अपिलमा उद्योग सञ्चालन निरन्तर राख्न आवश्यक सहजीकरण गर्न तथा बजारमा उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने व्यवस्था मिलाउन सरकारलाई विशेष ध्यान दिन पनि आग्रह गरिएको छ । संघले आपूर्ति व्यवस्थापनमा देखिएको समस्या शीघ्र समाधान भए बजारमा देखिएको ग्यास अभावको अवस्था अन्त्य हुने विश्वाससमेत व्यक्त गरेको छ ।
नेप्सेमा ‘सिद्धार्थ इक्विटी फण्ड २’ सूचीकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ को सामूहिक लगानी कोष एकाइ सूचीकृत भएको छ । नेप्से र सिद्धार्थ क्यापिटलबिच साउन १९ गते प्रति एकाइ १० रुपैयाँ अङ्कित मूल्यका १२ करोड ५० लाख एकाइ नेप्सेमा सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । सूचीकरणसँगै यो फण्डको दोस्रो बजार कारोबार भोलि अर्थात् साउन २० गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि सिद्धार्थ क्यापिटलमार्फत १२ करोड ५० लाख एकाइ निष्कासन गरेको थियो । धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम नेप्सेको साउन १५ गतेको निर्णयानुसार उक्त सेयर सूचीकृत गरिएको हो ।
सवा अर्ब ऋण लिएर ईभी व्यापार, को-को छन् लगानीकर्ता ?
काठमाडौं । नेपालको अटोमोबाइल व्यापारमा स्थापित व्यावसायिक घराना ओम्नी समूहले व्यावसायिक विद्युतीय सवारी साधन (कमर्सियल ईभी) मा पनि आफ्नो उपस्थिति देखाएको छ । यो समूहले ’ओम्नी मोबिलिटी प्राइभेट लिमिटेड’ मार्फत १ अर्ब २० करोड (सवा अर्ब) रुपैयाँ ऋण लिएर ईभी व्यापार सुरु गरेको हो । पछिल्लो समय नेपालमा यात्रुवाहक मात्र नभई व्यापारिक प्रयोजनका विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढेपछि ओम्नी समूहले यस क्षेत्रमा रणनीतिक लगानी बढाएको हो । कम्पनीले सवारी साधन आयात तथा व्यावसायिक सञ्चालनका लागि बैंकबाट ऋण लिएर व्यापार सुरु गरेको हो । सन् २०२६ को जनवरीदेखि औपचारिक सञ्चालनमा आएको ओम्नी मोबिलिटीमा स्थापित व्यवसायी तथा ओम्नी समूह र सशीला मोटर्सको संयुक्त लगानी रहेको छ । कम्पनीमा उदेयन काब्राको सबैभन्दा बढी ४८ प्रतिशत शेयर स्वामित्व रहेको छ भने अटोमोबाइल क्षेत्रमा अगाडिदेखि नै सक्रिय सशीला मोटर्स प्राइभेट लिमिटेडको ४० प्रतिशत शेयर रहेको छ । बाँकी १२ प्रतिशत शेयर स्वामित्व भने कम्पनीका अध्यक्ष सन्दीप कुमार मोहताको रहेको छ । ओम्नी मोबिलिटीले मुख्य गरी चिनियाँ प्रख्यात ब्रान्डका व्यावसायिक विद्युतीय सवारी साधनहरूको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरकका रूपमा काम गरिरहेको छ । कम्पनीसँग हाल चेरी वान्डा चेभो र किटन जस्ता ब्रान्डका विद्युतीय बस, माइक्रोबस, पिकअप र भ्यानहरू बिक्री वितरण गर्ने आधिकारिक अधिकार छ । यीमध्ये केही ब्रान्डहरू पहिले सशीला मोटर्समार्फत नेपाली बजारमा भित्रिइसकेकाले ओम्नीलाई सुरुवाती चरणमै बजार विस्तार गर्न सहज भएको छ । सुरुवाती चरणमै राम्रो बुकिङ पाएको कम्पनीले आगामी आर्थिक वर्षमा करिब १ अर्ब ८१ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गर्ने र ९ प्रतिशत सञ्चालन नाफा मार्जिन हासिल गर्ने लक्ष्य राखेको छ । ओम्नी समूहको अटोमोबाइल क्षेत्रको लामो अनुभव, स्थापित बजार सम्बन्ध र सशीला मोटर्सको ब्राण्ड पहिचान कम्पनीका सबल पक्ष भए तापनि यस क्षेत्रमा प्रतिस्पर्धा र जोखिम पनि उत्तिकै छ । हाल नेपाली बजारमा केवाईसी, किङलोङ र फोटोन जस्ता ब्रान्डहरूसँग कडा प्रतिस्पर्धा रहेको छ । यसका साथै, सरकारको कर नीतिमा आउने उतारचढाव र आर्थिक चक्रियताले पनि नयाँ ईभी व्यवसायको नाफा र वित्तीय स्थितिमा असर पार्न सक्ने विश्लेषण रेटिङ एजेन्सीको छ ।
सपोर्ट लघुवित्तका सञ्चालक सुमित अधिकारीले दिए राजीनामा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको २६६ औँ बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको हो । सञ्चालक अधिकारीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समिति समक्ष राजीनामा पेस गरेका थिए । उनको राजीनामा साउन १८ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
कांग्रेसले विपद उद्धारमा देशभर हजार दक्ष युवा खटाउने
काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धारका लागि रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीनदिने पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापन समारोहमा एसआरटी टोली गठनको घोषणा गरिएको हो । प्रशिक्षणमा देशभरबाट सहभागी ४० जना युवालाई विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको हो । समापन कार्यक्रममा बोल्दै प्रतिष्ठान प्रमुख तथा उपसभापति विश्वप्रकाश शर्माले विपदमा परेका नागरिकको जीवन बचाउने अभियानमा सेवाभावका साथ लाग्न युवाहरूलाई सुझाए । ‘बाढी–पहिरो लगायतका प्राकृतिक विपद्का समाचार सुन्ने र हेर्ने अवस्थाबाट अघि बढेर पीडितको उद्धार र पुनःस्थापनामा प्रत्यक्ष योगदान दिनेगरी कांग्रेसले देशभर यस्ता एक हजार दक्ष विपद् स्वयंसेवक उत्पादन गर्ने लक्ष्य राखेको छ,’ उपसभापति शर्माले भने । प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध ११ जना विपद् विज्ञले सहजीकरण गरेका थिए । जहाँ विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार र प्रतिकार्यसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाले जानकारी दिए ।
समान पारिश्रमिकको माग गर्दै इन्टर्न चिकित्सकको आमरण अनसन सुरु
काठमाडौं । एमबीबीएस इन्टर्न चिकित्सकका माग पुरा नभएको भन्दै डिल्ली हरिजनले माइतीघर मण्डलामा अनसन थालेका छन् । माग पुरा गर्न विभिन्न निकायमा धाउँदासमेत सम्बन्धित निकायले सुनुवाइ नगरेपछि डिल्ली हरिजनले अनसन सुरु गरेका हुन् । इन्टर्न चिकित्सकले विगत चार महिनादेखि शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, लगायत अन्य सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै माग पुरा गर्न भनेको थियो । शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन तयार गरिसकेको भए पनि त्यसअनुसार आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाइएको छैन । ‘आफूहरूले अतिरिक्त सुविधा नभई समान कामको समान पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग मात्र राखेको चिकित्सकले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।’ सरकारले समयमै निर्णय नगर्दा हजारौं मेडिकल विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्य अन्योलमा परेको इन्टर्न चिकित्सकको भनाइ छ । ‘हामीले आन्दोलनभन्दा अघि संवाद रोज्यौं, टकराबभन्दा अघि समाधान खोज्यौं र विरोधभन्दा अघि विश्वास गर्‍यौ‌ं, वक्तव्यमा भनिएको छ, ‘राज्य संयन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण आफू आमरण अनसनमा बस्न बाध्य भएका हौं ।
सुदूरपश्चिम रास्वपाका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँगको छलफल जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (आज) बिहान ११ बजेबाट छलफल सुरु भएको हो । सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनालले प्रधानमन्त्रीसँग छलफल गरिरहेका हुन्। समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।