काठमाडौं । बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो बढ्न थालेपछि काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल ग्यास वितरण व्यवस्थापनलाई सहज बनाउन सक्रिय भएको छ ।
लामो समयसम्म ग्यास नपाएको, पहुँच हुने उपभोक्ताले मात्र ग्यास पाएको तथा विद्यार्थीलगायत सर्वसाधारण ग्यासबाट वञ्चित भएको गुनासो बढेपछि महानगर प्रहरीले ग्यास डिपोमा पुगेर वितरण प्रणालीको अनुगमन र सहजीकरण सुरु गरेको हो ।
महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार बजारमा उपलब्ध ग्यास सबै उपभोक्तासम्म समान रूपमा पुग्ने वातावरण बनाउन प्रहरी बलले सहजीकरण गर्ने छ।
उनले डिपोमा ग्यास वितरणको अवस्थासँगै सिलिन्डरको म्याद, तौल, अग्नि नियन्त्रणका उपकरण (फायर एक्स्टिङ्गुइसर) को उपलब्धता, भण्डारणको अवस्था तथा ढुवानीका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डसमेत अनुगमन गरिने बताए ।
जोशीका अनुसार यस्ता सूचकका आधारमा महानगरका चारवटै क्षेत्रमा नियमित रूपमा अनुगमन र सहजीकरण गरिनेछ ।
यस अभियानअन्तर्गत मंगलबार अनामनगर क्षेत्रका ग्यास डिपोको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा साना डिपोमा ग्यास उपलब्ध रहे पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको महानगरले जनाएको छ ।
एक ग्यास विक्रेताले साना डिपोमा पनि ग्यास उपलब्ध हुँदाहुँदै उपभोक्ता सिधै ठूला डिपोमा आउने गरेकाले त्यहाँ कृत्रिम अभावजस्तो अवस्था सिर्जना हुने गरेको बताए ।

ग्यास लिन बिहान ३ बजेदेखि लाइनमा बसेका एक उपभोक्ताले केही व्यक्तिले एकभन्दा बढी सिलिन्डर लैजाने गरेको आशंका व्यक्त गर्दै निष्पक्ष वितरण आवश्यक रहेको बताए ।
यता नेपाल आयल निगमले भने विगतकै परिमाणमा ग्यास आपूर्ति भइरहेको जनाएको छ । निगमका अनुसार हाल देखिएको समस्या आपूर्तिको कमीभन्दा पनि उपभोक्ताको माग एकाएक बढेका कारण उत्पन्न भएको हो ।