विकासन्युज

कोरला नाकाले गण्डकी प्रदेशको समृद्धिमा सहयोग पुग्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले गण्डकी प्रदेशको उत्तरी सीमाना मुस्ताङबाट सञ्चालनमा आएको कोरला नाकाले गण्डकी प्रदेशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले १७ देखि २१ मङ्सिरसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालनमा ल्याएको नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ को पोखरामा उद्घाटन गर्दै  उनले स्थानीय उत्पादनलाई प्रोत्साहनसँगै प्रवर्द्धन गर्नसके अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे । नाका खुलेसँगै यहाँको उत्पादित वस्तु चीनको तिब्बतमा लगेर बिक्री गर्न सकिने भनाइ उनको छ । अध्यक्ष ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको बताउँदै नेपालकै पुँजीले पनि धेरै ठूला आयोजना सञ्चालन गर्न सकिने उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले देशमा लगानीमैत्री वातावरण सृजना गर्न सकेमात्र यहाँ उद्योग व्यवसाय फस्टाउन सक्ने बताए । आयोजक सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाई असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाई नै पर्ने बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दिगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा उनको जोड छ । अध्यक्ष कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगीरव्यवसायीको मनोबल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्नु मेलाको उद्देश्य रहेको बताए ।

सन् २०२७ को अन्त्यसम्म रूसी ग्यासको सबै आयातमा प्रतिबन्ध

काठमाडौं । युरोपेली सङ्घका सांसदहरू र सदस्य राष्ट्रहरूले बुधबार सन् २०२७ को अन्त्यसम्म रूसी ग्यासको सबै आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा हस्ताक्षर गरेका छन्। युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार राति भएको सम्झौतापछि पत्रकारसँग भने, ‘यो नयाँ युगको सुरुवात हो, रुसबाट युरोपको पूर्ण ऊर्जा स्वतन्त्रताको युग हो ।’ युक्रेनमा आक्रमण भएपछि ग्यास आपूर्ति अन्त्य गर्न सङ्घर्ष गरिरहेको इयूले निर्भरता तोड्ने उद्देश्यले युरोपेली सङ्घका सदस्य राष्ट्रका राजधानी र युरोपेली संसदबीच सम्झौता गरेको छ । इयू प्रतिबन्धलाई चाँडै तोड्न चाहेको छ । ‘युरोपले सदाको लागि रूसी ग्यासमो पाइपलाइन चाँडै बन्द गर्दैछ,’ इयू ऊर्जा आयुक्त डान जोर्गेनसेनले भने, ‘हामीले युरोपको लागि ऊर्जा सुरक्षा र स्वतन्त्रता रोजेका छौंं। अब कसैले ठगी गर्ने छैन । पुटिनले अब बजार हेरफेर गर्ने छैन। हामी युक्रेनको पक्षमा बलियो साथ दिनेछौँ ।’   क्रेमलिनले यसको प्रतिकार गर्दै यो कदमले इयूको अर्थतन्त्रमा गिरावट आउने बताएको छ । यो कदमले इयूलाई थप महँगो विकल्पहरू अपनाउन बाध्य पार्ने क्रेमलिनको दावी छ । सम्झौतामध्ये दीर्घकालीन पाइप लाइन सम्झौताहरू सबैभन्दा संवेदनशील मानिन्छ किनकि तिनीहरू दशकौंसम्म चल्न सक्छन् । सम्झौताअनुसार, दीर्घकालीन पाइप लाइन सम्झौताहरू दशकौँसम्म चल्न सक्ने भएकाले सबैभन्दा संवेदनशील मानिन्छन् । तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) को लागि, मस्कोविरूद्ध प्रतिबन्धहरू कडा पार्न आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनको आह्वान अनुरूप सन् २०२७ जनवरी १ देखि दीर्घकालीन सम्झौताहरू निषेधित हुनेछन् ।  सन् २०२६ अप्रिल २५ देखि एलएनजी र सन् २०२६ जुन १७ देखि पाइप लाइन ग्यासको आपूर्ति पहिले चरणबद्ध रूपमा प्रतिबन्धित हुनेछन् । युरोपेली परिषदको एक विज्ञप्तिमा भनिएको छ, ‘कदमको उद्देश्य रूसले युरोपेली ऊर्जा बजारमा महत्त्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको हतियारीकरण अन्त्य गर्नका लागि हो ।’ समय सीमाले अझै पनि युरोपेली संसद र सदस्य राष्ट्रहरूबाट अन्तिम स्वीकृति लिनु पर्छ । युरोपेली कम्पनीहरूले इयूको आयात प्रतिबन्धको हवाला दिँदै विद्यमान सम्झौताहरू तोड्ने कानुनी रूपमा औचित्य पुष्टि गर्न ‘प्रभावकारी कदम’ लागू गर्न सक्षम हुनेछन् । 

आज अन्तर्राष्ट्रिय बैंक दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाब विरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्र सङ्घको आव्हानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य  कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । एकपक्षीय दबाब विरुद्धको अन्तर्राष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्र सङ्घीय महासभाले यसै वर्षको जुनमा यो  दिवस विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको चार्टर अनुसार नभएको एकपक्षीय दबावका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो । यो दिवसले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादका आवश्यकतालाई जोड दिएको छ ।

पितृको मान र प्रकृतिको सम्मान गर्दै आज किराँत समुदायले उँधौली पर्व मनाउँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।​​​​​​​ किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किराँत संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउँछन् । किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।​​​​​​​ भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ । पूजापछि आ-आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।​​​​​​​ उँभौलीमा खेतिपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास समेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

यसपटक हिउँदमा वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम भने बढी

काठमाडौं । मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने भएको छ ।  यस्तै, अधिकतम तापक्रम र न्यूनतम् तापक्रम पनि सरदर भन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको आकलन अनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर-पश्चिम भूभागमा सरदर भन्दा कम, सरदर र सरदर भन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बागमतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए ।  यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बागमतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम आकलन यसैगरी अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदर भन्दा बढी हुने आकलन छ । विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बागमतीका दक्षिण भूभाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण-पश्चिम भूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशका भूभागमा सरदर भन्दा कम, सरदर र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ । न्यूनतम् तापक्रम आकलन यस्तै, न्यूनतम् तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बागमती प्रदेशका उत्तर-पूर्व र दक्षिण पश्चिम भूभाग, मधेस प्रदेशका अधिकांश भूभाग र कोशी प्रदेशका दक्षिण र उत्तर-पश्चिम भूभागमा न्यूनतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।  यस्तै, देशका बाँकी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ ।

एनपीएलमा आज दुई खेल हुँदै, चितवन र पोखरालाई जित्नै पर्ने दबाब

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज २ खेल हुँदैछन् ।  पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।  ५ खेलबाट ४ अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने ६ खेलबाट ८ अङ्क जोडेको छ ।  प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । ५ खेलबाट ४ अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ । 

सिटिजन्स बैंकले दोस्रोपटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले एक कार्यक्रमकाबीच ‘बैंक अफ द इयर २०२५’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेको हो । सिटिजन्स बैंकले लगातार दोस्रो पटक बैंक अफ द इयर अवार्ड पाएको हो । यसअघि सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड पनि सिटिजन्स बैंकले नै पाएको थियो । बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । अवार्ड वितरण कार्यक्रममा करिब १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, सीईओ लगायत ४ सय जना भन्दा बढीको उपस्थिति थियो । बैंकका अध्यक्ष पाण्डेले लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए । साथै आगामी दिनमा अझै जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्री आधुनिक बैंकिङ सेवा सुविधा दिने उनको भनाइ छ ।  बैंकका सीईओ पोखरेलले सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मिहिनेतबाट अवार्ड प्राप्त गर्न सफल भएको बताए । भविष्यमा थप उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङ सेवा सुविधामा थप जोड दिने उनको भनाइ छ ।  नेपालमा सन् २००२ देखि लगातार बैंकहरूले उक्त अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका ९ वटा बैंकले  मात्र यो अवार्ड प्राप्त गरेका छन् ।  द फाइनान्सियल टाइम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरूलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ । सोही अनुरूप वर्ष २०२५ को अवार्ड सिटिजन्सले प्राप्त गर्न सफल भएको हो । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नव युवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डीजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।  फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १६९ वटा एटीएम, ३ वटा विस्तारित काउण्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइबाट १९ लाख ५६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

काँकरभिट्टाबाट मात्रै ६ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व २.९० प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् २.०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । चालु आवको ४ महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख रुपैयाँ मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रुपैयाँ मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख रुपैयाँ पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख रुपैयाँ पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।