काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले मधेश प्रदेशमा पटक-पटक हुने गोलीकाण्डप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग यसको कारणबारे जवाफ मागेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सुनसरीलगायत मधेशका विभिन्न क्षेत्रमा भएको पछिल्लो घटना दुःखद रहेको बताए । उनले प्रधानमन्त्रीले घटनापछि तत्काल राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने भए पनि ढिलो भए पनि सम्बोधन गरेकोमा धन्यवाद दिए ।
सिंहले मधेशमा किन बारम्बार गोली चल्ने अवस्था सिर्जना भइरहेको भन्दै प्रश्न उठाए । 'मधेशमा जहिल्यै किन गोली चल्छ ? त्यहाँ त्रासको मनोविज्ञान सिर्जना भएको छ। जानेबित्तिकै गोली चल्ने अवस्था छ,' उनले भने ।
उनले मधेशप्रति राज्यको दृष्टिकोणमाथि पनि प्रश्न उठाउँदै सरकारले सुरक्षा व्यवस्थामा मात्र जोड दिने तर शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अपेक्षित लगानी नगरेको आरोप लगाए ।
मधेशलाई पछाडि पार्ने सोचका साथ व्यवहार गरिएको भन्दै उनले विकासका आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरे ।