सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै धैर्य रहन अनुरोध गरेका हुन् । ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ, नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु, अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ, यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’ उनले लेखेका छन् । सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका थिए । बुधबार बिहान सौर्य एयरलाइन्सको उक्त जहाज प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।
उपसभामुख रानामाथि छानबिन गर्न सांसदहरूको माग
काठमाडौं । सांसदहरूले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानबिन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरूले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् । सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् । उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शीर निहुरिएको बताइन् । छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने जानकारी दिए । ‘कस्तो लज्जास्पद विषय । यो विषयमा वास्तवमा हामी सांसदहरुले शीर निहुराउनुपर्ने छ । देशको सम्मानित पदमा बस्नुभएको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन । तर यसको छानबिन हुनुपर्छ कि पर्दैन ? गर्नुभएको छैन भनेपनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ’, उनले भनिन् । बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले)का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानवीन गर्नुपर्ने बताए । उनले दोषि देखिएमा कानूनी कारबाही गर्नुपर्ने जानकारी दिए । उनले भने – ‘यो विषय सिंगो संसदसँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो । र यसलाई आवश्यक कारबाही अगाडी बढाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’ नेकपा(एमाले)को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए । उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडी बढाउनुपर्ने बताए । समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिए । ‘उपसभामुखको विषयमा हामीकहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने ? यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस् । कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौ भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ’, उनले भने । उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानबिनको निर्णय गर्नुपर्ने उनको भनाई छ ।
उपसभामुख रानालाई हटाउन माग गर्दै समितिमा उजुरी दर्ता
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुख रानालाई माग गर्दै निवेदन दर्ता गरेका हुन् । उपसभामुख रानाले संसद सचिवालय र आफ्नो पदको दुरुपयोग गरी पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको दाबी उजुरीमा छ । उपसभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन बास्कोटाको माग छ । ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औं सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँच जनाका लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्र यतिबेला शंकाको घेरामा परेको छ । २६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिको तथ्य बाहिरिएको थियो ।
कलेजो प्रत्यारोपण : पुरुष लिन्छन्, महिला दिन्छन्
भक्तपुर । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो । नागालाई उनका दिदी सानुमाया लागेजुले कलेजो दान गरेका थिए । आर्थिक वर्ष २०८०/८१ मा मात्रै शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । हालसम्म सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल रहेका केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘केन्द्रमा बिरामीको बिग्रेको कलेजो पूरै हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पूरै कलेजो प्रत्यारोपण गर्ने गरिएको छ’, उनले भने, ‘तीन वर्षको बालकदेखि ६८ वर्षका ज्येष्ठ नागरिकसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौँ ।’ विसं २०७३ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा मुलुकमा पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा श्रेष्ठको नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । पछिल्लो समय एकजना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रको प्रत्यारोपण टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको श्रेष्ठले जानकारी दिए । बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नहुँदासम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु सकारात्मक हुने डा श्रेष्ठको भनाइ छ । केन्द्रले हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाउँदै उहाँले लिने पुरुष र दिने महिला धेरै रहेको बताए । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले भने, ‘प्रत्यारोपण सुरु भएदेखि हालसम्म २४ जना ग्रहणकर्ता पुरुष र दुई जना महिला छन् । प्रत्यारोपण गरेका २६ जनामध्ये १८ पुरुषलाई महिला दाताले कलेजो दान गर्नुभएको छ । आठ दाता मात्रै पुरुष हुनुहुन्छ । यो तथ्यांकलाई हेर्दा पुरुषले लिएको र महिलाले दिएको अवस्था छ ।’ विदेशमा ५०औँ लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले न्युनतम १५ रुपैयाँ देखि बढीमा २० रुपैयाँ लाखसम्ममा गर्दै आएको श्रेष्ठले जानकारी दिए । “प्रत्यारोपणका लागि ६५ वर्षभन्दा बढी उमेरका मानिसले समेत आफू भन्दा सानालाई स्वस्थ्य कलेजो दान गर्न सक्ने र साना बालबालिकाले पनि वयष्कलाई तथा वयष्यले बालबालिकालाई सजिलै कलेजो दान गर्न सक्नन्”, उनले भने । कलेजो दान दिनेले तीन चरणको जाँच पास गर्नुपर्ने हुन्छ । जसमा कुनै सङ्क्रमण भए÷नभएको, स्वास्थ्यमा कुनै जटिल समस्या भए/नभएको र मधुमेह वा अन्य कुनै समस्याका कारण कलेजोमा बोसो जमे÷नजमेको भन्नेबारेमा ध्यान दिनु जरुरी रहेको डा श्रेष्ठले बताए । उनका अनुसार कलेजोमा धेरै बोसो जमेको छैन भने त्यसको केही भाग बिरामीको कलेजोलाई फालेर त्यसको ठाउँमा स्वस्थ्य मानिसको कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यसरी कलेजो दान गर्दा खासै जटिलता उत्पन्न हुदैन । कलेजोमा ६० प्रतिशत भन्दा बोसो जमेको बाहेक अन्यले सजिलै दान दिन सक्नेछन् । कलेजो आफैँ विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि बिरामीको शरीरमा विकसित हुँदै जाने भन्दै करिब छ महिनामा झण्डै ९० प्रतिशत विकास हुने उनले जानकारी दिए । कलेजो प्रत्यारोपण गरिएका बिरामीले पुनः पहिलाको जस्तै जीवन जीउनसक्ने उनले बताए । नेपालमा झण्डै ६० प्रतिशतको कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बिग्रने गरेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । विश्वमा धनी देशमा हेपाटाइटिस सी तथा मधुमेहका कारण कलेजोमा बोसो जमेर बिग्रने गरेको पाइएको उनको भनाइ छ । नेपालमा हरेक वर्ष करिब एक हजारको कलेजो बिग्रने गरेको छ भने भारतमा गएर कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या पनि पछिल्लो समय बढ्दै गएको केन्द्रले जनाएको छ । रासस
सौर्य एयरको बीमा प्रभुमा, ३० करोडसम्म दाबी आउन सक्ने, विदेशबाट आउँदै सर्भेयर
काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्रचार्यका अनुसार सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ । विमान दुर्घटनाको सबै विवरण आउन बाँकी रहेकाले दाबी भुक्तानी कति आउँछ भन्ने विषय यकिन हुन बाँकी छ । तर, प्रारम्भिक अनुमानका आधारमा ३० करोड रुपैयाँसम्म बीमा दाबी भुक्तानीको फाइल आउन सक्ने सीईओ बज्राचार्यको भनाइ छ । यस बीमा पोलिसीको विदेशी कम्पनीमा पुनर्बीमा गरिएको हुँदा प्रभु इन्स्योरेन्सलाई धेरै भुक्तानी दायित्व नपर्ने उनले बताए । ‘ठ्याक्कै तथ्याङ्क अहिले नै भन्न सकिँदैन, किनभने दुर्घटनामा भएको क्षतिको सबै विवरण आउन बाँकी छ । तर, करिब ३० करोड रुपैयाँसम्म दाबी गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘यो सबै भुक्तानीको दायित्व प्रभु इन्स्योरेन्सलाई भार पर्दैन, प्रभुको भुक्तानी दायित्व ०.३ प्रतिशत मात्रै पर्न सक्छ ।’ विमानको दुर्घटनाको जानकारी पाएका र दाबी भुक्तानीका लागि कम्पनीले प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले बताए । सातै विमान दुर्घटनामा भएको क्षतिको विवरण संकलनका लागि विदेशबाट सर्भेयर बोलाउने उनको भनाइ छ । जहाज दुर्घटना र यात्रुहरूको बीमा कभर सोही बीमा पोलिसीमा हुने उनले बताए । ‘मृतक व्यक्तिले कति रकम पाउँछन् भनेर सबै विवरण कम्पनीले बीमा पोलिसी चेकजाँच गरिरहेको छ, कम्पनीले बीमा गरेवापत तीन/चार करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गर्छ, यसमा अन्य तीन/चार वटा विमानको पनि बीमा गरिएको हुन्छ,’ उनले भने । बुधबार सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी दिएको छ ।
पाइलट शाक्यको होस आयो, गत वर्ष पाएका थिए युवा अपरेसन डाइरेक्टरको अवार्ड
काठमाडौं । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाज दुर्घटनामा परेलगत्तै पाइलट शाक्यको उद्धार गरी केएमसी अस्पतालमा पुर्याइएको थियो । अस्पतालले दिएको जानकारी अनुसार उनको निधारमा काटिएकाे छ भने टाउकोमा गहिरो चोट लागेको छ । अहिले पाइलट शाक्य होसमा आएको र परिवारका सदस्यसँग कुराकानी गरिरहेको अस्पताल स्राेतलेले जानकारी दिएकाे छ । चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त जहाज प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । पाइलट शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसनसमेत हुन् । सन् २००९ मा नागरिक उड्डयन प्राधिकरणबाट को-पाइलटको लाइसेन्स पाएका उनले गुण (अहिलेको सिम्रिक) एयरलाइन्समा को-पाइलटकै रूपमा काम थाले । उनले उक्त एयरलाइन्समा सन् २०१४ सम्म काम गरेका थिए । त्यसपछि उनी सौर्य एयरलाइन्स गएका हुन् । सौर्य एयरलाइन्समा को-पाइलट भएको दुई वर्षपछि उनले अमेरिका गएर पाइलटको लाइसेन्स लिएका थिए । त्यसपछि सन् २०१७ देखि नै शाक्य पाइलटका रूपमा कार्यरत छन् । क्याप्टेन शाक्यले गएको वर्ष युवा अपरेसन डाइरेक्टरको अवार्ड पनि पाएका थिए ।
सौर्य एयरको ‘टप म्यानेज्मेन्ट’ नै दुर्घटनामा, अस्पतालको बेडबाट पाइलटले भने- ‘घरमा फोन लगाइदिनुस्’
काठमाडौं । सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा बुधबार सौर्य एयरको सीआरजे ७ जहाज काठमाडौंबाट ११ बजेर ११ मिनेटमा उड्ने वित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको उल्लेख गरेको छ । घाइते भएका पाइलटलाई केएमसी अस्पतालमा लगिएको छ । उनको टाउकोमा ठूलो चोट लागेको बुझिएको छ । उनले अस्पतालका स्वास्थ्कर्मीहरुसँग घरमा फोन लगाइदिन आग्रह गरेको पनि बुझिएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सौर्य एयरलाइन्सकै उच्च व्यवस्थापनका कर्मचारीहरु रहेका छन् । सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनमा रहेका क्याप्टेन मनिसरत्न शाक्य चिफ अपरेटिङ अफिसरका रुपमा पनि काम गर्थे । यस्तै, दुर्घटनामा मृत्यु हुनेमा उच्च व्यवस्थापन तथा चिफ क्यूए दिलिप बर्मा, सुरक्षा प्रमुख सागर कुमार आचार्य, मेन्टेनेन्स म्यानेजर यज्ञप्रसाद पौड्याल र सीएएमओ म्यानेजर आश्विन कुमार निरौला रहेका छन् । दुर्घटनामा पर्ने सबै सौर्य एयरकै कर्मचारी हुन् । अधिकांश कर्मचारी टप मेनेज्मेन्टकै रहेको बुझिएको छ । यी हुन् दुर्घटनामा परेका सौर्य एयरका कर्मचारी
जहाज दुर्घटनाबाट यात्रुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित
काठमाडौं । संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभूवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरुको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरुको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेहरुको सु–स्वास्थ्यको कामना समेत गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने – ‘आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ । पाइलट लगायत उक्त घटनामा घाइते हुनेहरुको शिघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ ।’ बैठकमा बोल्दै सांसदहरुले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरुको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।