जहाज दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं । सरकारले सौर्य एयरको जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा भोलि (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने जहाजहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ । बुधबार बिहान प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको विषयमा समितिले अर्को बैठकबाट मात्रै निर्णय लिने
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सिफारिसबारे अर्को बंठकबाट मात्र निर्णय गर्ने भएको छ । प्रधानको विषयम बुधबार भएको सुनुवाइपछि समितिका सदस्यबीच अर्को बैठकबाट टुंगो लगाउने सहमति भएको हो । महिलालाई जागिर लगाइदिने प्रलोभनमा यौन दुराचार गरेको भन्दै प्रधानमाथि परेको उजुरीमा परेको थियो । सुनुवाइ समितिमा अधिकांश सांसदहरूले उजुरी केन्द्रित प्रश्न प्रधानलाई राखेका थिए । अर्को बैठकमा निर्णय हुने बताइए पनि बैठक कहिले बस्ने भनेर मिति तोकिएको छैन । कानुनतः सिफारिस भएको ४५ दिनभित्र समितिबाट अनुमोदन नभएमा नियुक्तिको बाटो खुल्ने व्यवस्था छ । यही साउन १७ गते ४५ दिन पुग्छ । त्यसअघि कुनै निर्णय नभएमा प्रधानलाई आयुक्तको बाटो खुल्नेछ ।
जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम गर्न २५ जनाको टोली, शव ७२ घण्टापछि दिइने
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शव पोस्टमर्टम ७२ घन्टापछि मात्र मृतकको परिवारलाई दिइने भएको छ । जहाज दुर्घटनामा परी मृत्यु हुने १८ जनाको पोष्टमार्टम बुधबारबाटै सुरु भएको छ । छिटो गर्न शिक्षण अस्पतालले २५ जनाको टोली पोस्टमार्टम गर्न खटाएको छ । पोष्टमार्टमका लागि समय लाग्ने भएकाले ७२ घण्टाको समय दिनुपरेको जनाइएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटबाट १८ जनाकै शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ । सौर्यको ९ एन–एएमई (सिआरजे २०० ) कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो । जहाजमा जहाजका क्याप्टेन मनिषरत्न शाक्यबाहेक अरू सबैको मृत्यु भएको छ ।
बुटवल पावर गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्रदान गर्ने विभिन्न विधाहरु मध्ये पावर इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो । साउन ५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका माननिय उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ । कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६३,००० ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ । निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्व निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिन स्थित करीव ६०० मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाहरु कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेको छ ।
ज्योति विकास बैंक १७औं वर्षमा प्रवेश, २७ जना कर्मचारी सम्मानित
काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले बुधबार १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको छ । प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व सञ्चालकहरु, कर्मचारीवर्ग र ग्राहकहरूको भव्य उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए । बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गरेका हुन् । उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा-सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको छ । अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदर–पत्र प्रदान गरेका हुन् । कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने समस्त ग्राहक, सेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । उनले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि पनि अनवरत रुपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिक लगायतका तालिमहरुमा सहभागी भएको कुरालाई उजागर गरे । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा बैंकले राखेको छ ।
निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ : अर्थमन्त्री पौडेल
काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडलेले नेपालमा उत्पादित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रूपमा देखा परेका समस्याहरूलाई हटाउँदै जाने बताएका हुन् । उनले समस्याहरूलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे । निर्यात व्यवसायी महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ । त्यसैगरी महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरूलाई लगानी गर्दा बैंक व्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरूको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगहरूमा अनिवार्य लगाउनीको व्यवस्था गर्न, निर्यात/आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ ।
प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन
काठमाडौं । प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंकको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केटको बैंक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे । सो कार्यक्रमा उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केटले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे । सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे । साथै, प्रभु स्टक मार्केटका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँबानेश्वर काठमाडौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रहेको बैंकले जनाएको छ ।