विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव
काठमाडौं । राष्ट्रियस भाबाट पारित भएर प्रतिनिधिस भामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ । बुधबार समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकासँग छलफल गरी सुझाव संकलन गरेको हो । मुलुकमा विद्युतीय व्यापारको माध्यामबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो विधेयक संसद लगेको हो । मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात पवर्द्धनलगायत क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको उद्योग समिति सभापति अब्दुल खानले बताए । समितिको आजको बैठकमा सांसदहरु डोलप्रसाद अर्याल, महेन्द्रबहादुर शाही, राजु थापा, सुरेन्द्र राज आचार्य, गणेश पराजुली, अमृता अग्रहरी, हेमराई राईलगायतले सुझाव प्रस्तुत गरेका थिए । अनलाइन माध्यामबाट वस्तु तथा सेवाको खरिद गर्दा उपभोक्ता ठगी भएको, वस्तुको मूल्य र गुणस्तरको प्रत्याभूति हुन नसकेको, कारोबारलाई वस्तुपरक बनाउन नसकेको तथा कर प्रणालीमा आवद्ध गर्न नसकेकोलगायत विषयमा छलफल भएको थियो । त्यस्तै, इ–कमर्स क्षेत्रमा लागेका व्यवसायीले पनि कानुनको अभावमा विद्युतीय माध्यामद्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिनाइ भएको धारणा समितिमा राखेका छन् । विधेयकमाथि सांसदहरू मनिष झा, दामोदर पौडेल बैरागी, माधव सापकोटा, नारायणी शर्मा, दुर्गा राई, विद्या भट्टराई, लक्ष्मी तिवारी, निशा डाँगीलगायतले संशोधन प्रस्ताव हालेका छन् । त्यस्तै, सांसदहरु गगनकुमार थापा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सीता मिजारले संयुक्त रूपमा संशोधन प्रस्ताव पेस गरेका छन् । महेश कुमार बर्तौला, अच्युतप्रसाद मैनाली, नारायणप्रसाद आचार्य र चन्द्रबहादुर विश्वकर्माले पनि संयुक्त रूपमा संशोधन हालेका छन् । सांसदहरू गणेश पराजुली, असिम शाह, डा. तोसिमा कार्की, रघुजी पन्त, प्रदीप पौडेल, रमा कोइराला, मैना कार्की, कान्तिका सेजुवाल, दिपा शर्मा, सोबिता गौतम, शिशिर खनाललगायत उक्त विधेयकमाथि संशोधन प्रस्ताव हालेका छन् ।
बैंकिङ क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्छ : अर्थमन्त्री
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सिबिफिनले उठाएको थियो । प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरुले बैंकिङ लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीसमेत पलायन हुने क्रम बढेकोप्रति सिबिफिनले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ । समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका पहलकदमीहरु अवलम्बन हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ । पुँजी निर्माण एवं परिचालन, लगानी विस्तार, रोजगारी सिर्जना, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्याउँदै आएको बैंकिङ क्षेत्रको मुनाफा ऋणात्मक हुँदै जानु गम्भीर समस्या रहेको सिबिफिनको धारणा थियो । बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिँदा लाखौँ लगानीकर्ताहरुको जीवन गुजारामा मात्र असर नपुगी स्वयं सरकारको राजस्व लक्ष्यमासमेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन अर्थमन्त्री समक्ष सिबिफिनले आग्रह गरेको छ । छलफलका क्रममा अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त सुझाव ग्रहण गरी सृदृढ एवं आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यका लागि आग्रह गरे । साथै, सुषुप्त अवस्थामा रहेका मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीको समाधान र अपेक्षाको सम्बोधन गर्न सरकारले आवश्यक पहलकदमी लिने अर्थमन्त्री पौडेलले बताए । सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानी हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्याउने कुनै गतिविधि सरकारलाई क्षम्य नहुने बताए । अर्थतन्त्रको आधार स्तम्भकारुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधान सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिवद्धता उनले जनाए ।
सौर्य विमान दुर्घटनामा त्रुटि पत्ता लगाउन नागरिक उड्डयनमन्त्री पाण्डेले थाले छलफल
काठमाडौं । बुधबार बिहान ११ बजेतिर दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका उडेको सौर्य एयरलाइन्सको ९-एनए एमई विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए । उनले जहाजका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् । दुर्घटनामा परी १८ जनाको निधन भएको छ । मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाएका छन् । उनले नेपाल वायुसेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरुसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताए । आगामी दिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिक कमजोरी के थियो पत्ता लगाउन मन्त्री पाण्डेले सम्बन्धित निकायका कर्मचारीहरुसँग छलफल अगाडि बढाएका हुन् ।
विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको अवस्था खतरामुक्त
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । काठमाडौं मेडिकल कलेजका अनुसार बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो । शाक्यको मेरुदण्डको अपरेसन गरिएको छ । यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेसन गर्नुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् ।
नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न आयोगको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न ध्यानाकर्षण गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारी लगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रूपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको बताउँदै सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो । आयोगले व्यक्ति किटेर नभने पनि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाइको मुखमा उक्त विज्ञप्ति जारी गरेको छ । प्रधानविरुद्ध एक महिलालाई जागिरको प्रलोभनमा पारी यौन शोषणको आरोपमा उजुरी छ। प्रधानको बुधबारै संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको छ । राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवाद रहित उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको भन्दै ध्यानाकर्षण गराएको हो । आयोगले सर्वोच्च अदालतले समेत पदीय जिम्मेवारी अनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्ने नजीर कायम गरेको विज्ञप्तिमा जनाएको छ । ‘सामाजिक र कानुनी रूपमा विवादित व्यक्तिहरूलाई नियुक्त गर्ने कार्य कानुनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आम नागरिकको भरोसा समेत टुट्न जान्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।
बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धि सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् । सो परियोजना कार्यान्वयन सम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भईरहेका बेला मन्त्री राणाले सो अडान राखेकी हुन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गरिन् । उनले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकार भित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताइन् । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको जानकारी दिइन् । ‘एउटा, दुईटा मन्त्रालय, परराष्ट्र मन्त्री, प्राइमिनिष्टरको भन्दा पनि सबैको इन्पुट लिएर जाँदा राम्रो हुन्छ होला । यही अनुरुप अहिलेको प्रधानमन्त्रीज्यूले पनि यसलाई व्यापक छलफलमा ल्याउनका लागि उहाँको पनि भुमिका हुन्छ होला । समितिले छलफल गरेर अनि कुन कुन कुरामा जाने भन्ने विषय अहिले पनि छलफलमा छ’, उनले भनिन् । मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताइन् । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उनको भनाइ थियो ।
सेयर बजार २७ अंकले घट्यो, कारोबार १६ अर्ब नाघ्याे
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार नेप्से परिसूचक २७.३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । यस दिन ४६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको कारोबार हुँदा अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाए भने समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाए । यस दिन सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।
विमान दुर्घटनाका केही तस्बिरहरू
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।