काठमाडौं । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
जहाज दुर्घटनामा परेलगत्तै पाइलट शाक्यको उद्धार गरी केएमसी अस्पतालमा पुर्याइएको थियो । अस्पतालले दिएको जानकारी अनुसार उनको निधारमा काटिएकाे छ भने टाउकोमा गहिरो चोट लागेको छ ।
अहिले पाइलट शाक्य होसमा आएको र परिवारका सदस्यसँग कुराकानी गरिरहेको अस्पताल स्राेतलेले जानकारी दिएकाे छ ।
चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको थियो ।
उक्त जहाज प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।
पाइलट शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसनसमेत हुन् । सन् २००९ मा नागरिक उड्डयन प्राधिकरणबाट को-पाइलटको लाइसेन्स पाएका उनले गुण (अहिलेको सिम्रिक) एयरलाइन्समा को-पाइलटकै रूपमा काम थाले । उनले उक्त एयरलाइन्समा सन् २०१४ सम्म काम गरेका थिए ।
त्यसपछि उनी सौर्य एयरलाइन्स गएका हुन् । सौर्य एयरलाइन्समा को-पाइलट भएको दुई वर्षपछि उनले अमेरिका गएर पाइलटको लाइसेन्स लिएका थिए । त्यसपछि सन् २०१७ देखि नै शाक्य पाइलटका रूपमा कार्यरत छन् ।
क्याप्टेन शाक्यले गएको वर्ष युवा अपरेसन डाइरेक्टरको अवार्ड पनि पाएका थिए ।