विकासन्युज

विद्यार्थी विदेशिएपछि क्याम्पस नै बन्द हुने स्थितिमा

ढोरपाटन । झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन् । हरेक वर्ष विद्यार्थी संख्या घटेपछि क्याम्पसको अस्तित्व नै संकटमै पर्ने जोखिम बढेको छ । बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विसं २०७० सम्म विद्यार्थीको चाप थियो । दैनिक डेढ सयको हाराहारीमा क्याम्पस आएर पढ्ने विद्यार्थी हुन्थे तर अहिले भर्ना हुने ५० जना पनि छैनन् । बागलुङ बजार नजिकै रहेको पैयुँपाटा गाउँमा विसं २०४७ मा क्याम्पस स्थापना हुँदा गाउँका विद्यार्थीले सहज रूपमा उच्च शिक्षा हासिल गर्न पाएका थिए । पछि गाउँलेको बजार मोह र विद्यार्थीको बढ्दो विदेश पलायनका कारण क्याम्पस रित्तो बन्दै गएको हो । दिनप्रति दिन विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पस नै बन्द हुने जोखिम बढेको छ । क्याम्पसमा विद्यार्थीलाई निःशुल्क पढाउने वातावरण बनाए पनि संख्या बढ्न सकेको छैन । अहिले क्याम्पसमा गाउँका छोरी बुहारी मात्रैले परीक्षा दिने गरेका छन् । पुरुष विद्यार्थी निकै न्यून छन् । क्याम्पस अनुदान आयोगबाट आउने सहयोग र अक्षकोषबाट सञ्चालन भएको बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले बताए। हाल क्याम्पसमा एक पूर्णकालीन, नौ आंशिक प्राध्यापक र कर्मचारी कार्यरत रहेको उनको भनाइ छ । अनुदान आयोगबाट वार्षिक ११ लाख ९० हजार रुपैयाँ आउने र क्याम्पसको १ करोड ४५ लाख अक्षकोष रहेको हुँदा त्यसबाट क्याम्पस सञ्चालन गरिरहेको पन्त बताउँछन् । क्याम्पसमा दैनिक पढ्ने विद्यार्थी नहुने उनको भनाइ छ । क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको पढाइ हुने उनी बताउँछन् । ‘दश वर्षअगाडि सम्म विद्यार्थीको सङ्ख्या राम्रै थियो, त्यसपछि हरेक वर्ष घट्दै गएको छ, बागलुङ बजार पनि नजिकै रहेको हुँदा कोही बजार जान्छन्, कोही पोखरा, काठमाडौँ गएर पढ्छन्, गाउँमा विद्यार्थीको सङ्ख्या निकै कम भएको हुँदा क्याम्पस पनि न्यून बन्दै गएको हो,’ क्याम्पस प्रमुख पन्तले भने, ‘केही वर्ष अगाडिसम्म विदेश जाने चलन कम थियो, अहिले १२ पास गर्न नपाउँदै विद्यार्थी सबै विदेशको तयारीमा लाग्छन्, त्यसले गर्दा गाउँका क्याम्पसमा विद्यार्थी निकै कम भए ।’ बागलुङ–१३ का अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले २०४७ सालमा गाउँका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा दिलाउनका लागि आफूहरुले ठूलो संघर्ष गरेर क्याम्पस स्थापना गरेको तर अहिले बन्द हुने स्थितीमा पुगेको बताए । गाउँमा १२ पास भएर पढाइ छाडेकाहरूलाई पढ्नका लागि प्रोत्साहन गर्दै निःशुल्क पढ्ने वातावरण तय गर्दा पनि विद्यार्थी नबढेको उनको भनाइ छ ।

विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।

विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री विमानस्थल जाँदै

काठमाडौं । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन् । दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जान लागेका उनको सचिवालयले जनाएको छ । काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ ।

सडकले निम्त्याएको सास्ती

गलेश्वर । म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्ती ? अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ । विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढी भनेर भन्न सकिने अवस्था छैन । सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ । सडक यात्रीहरुको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हो । म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुङ्गा–पोखरा) सँग जोडिएको करिब तीन दशक भयो । विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको बेनी–मालढुङ्गा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो । जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्षपछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ‘ट्र्याक’ खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो । ७६ किलोमिटर दूरीको यो सडकमार्गबाट हिमालपारिको जिल्ला मुस्ताङलाई देशको सङ्घीय राजधानी काठमाडौं, प्रदेशको केन्द्र पोखरालगायत देशका अन्य सहरहरुसँग जोड्ने एकमात्र माध्यम हो । कालीगण्डकी नदीको तिरैतिर, अनेकौँ भिर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नुका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका रमेश अधिकारीले जानकारी दिए । ‘सडक खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँद्मा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ’ उनले भने । ‘राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक वन्द गर्न सकिने अवस्था नै । हिउँद होओस् वा बर्खा भगवान् पुकार्दै ज्यानकै माया मारेर यो सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ म्याग्दीको पर्यटन अभियन्ता तथा बेनी बजारका व्यवसायी राजेश शाक्यले बताए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए । ‘ती पहिरोहरुमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौँ,’ उनले भने । कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ । ‘अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन,’ आयोजना प्रमुख झाले भने । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ । भिर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक, सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोलका कारण यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नाका साथै सडक अवरुद्ध हुने गरेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले पन्छाउने गरिएको पनि उनले जानकारी दिए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहने  र ठाउँठाउँमा पहिरो जाने भएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरोले  बेनी–जोमसोम सडकको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ । उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताए । भिरकोट र बाँदरजुङ्गे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो  । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधानविहीन समस्याको विषयमा छलफल भएको थियो । आयोजना प्रमुख झाले विकल्पविहीन सडकले निम्त्याएको जोखिम र समस्याका बारेमा आयोजना एक्लैले केही गर्न नसक्ने र सबै पक्षको उत्तिकै चासो रहनुपर्ने बताएका थिए । ‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’  हुने गरेको छ’,  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।’ बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बर्सातको समयमा वर्षाजन्य विपद्का कारणबाट हुने सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । ‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ,’ प्रजिअ ढकालले भने । ‘अति जोखिमपूर्ण’ चारओटा पहिरो पहिचान राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा  चारओटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान भएका छन् । भूगर्भविद्हरुबाट अहिले भइरहेको भौगर्भिक अध्ययनअनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेकामा बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान भएका बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए । उनका अनुसार गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर पहिरोलाई जोखिमपूर्ण पहिराको सूचीमा राखिएको छ । पहिरोको विस्तृत अध्ययन भइरहेकोले पहिरो नियन्त्रणका लागि लागत अनुमान तथा डिपिआर निर्माण गर्ने काम भने अझै बाँकी रहेको उनले जानकारी दिए । ‘बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किमी सडक खण्डमा पर्ने पहिराको भौगर्भिक अध्ययन भइरहेको छ, अहिलेसम्म चारओटा अति जोखिमयुक्त पहिरो पहिचान गरी सूचीकृत गरिएको छ,’ आयोजना प्रमुख झाले भने । ‘बेनी–लेते खण्डमा रहेका ३५ ओटा पहिराहरुमध्ये नौओटा पहिरो मनसुन याममा यात्रा जोखिमपूर्ण रहेका पाइएको छ,’ मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना इन्जिनियर विष्णु चापागाईंले भने,  ‘यी स्थानमा वर्षा हुने बित्तिकै पहिरो खस्ने भएकाले मनसुन अवधिभरका लागि एस्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौँ । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनुपर्ने देखिएको छ ।’ मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकाले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् । अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकाले अति कम्प्लेक्स देखिएकाले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको उनले जानकारी दिए । जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो डेढदशक देखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँ पटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झनझन् भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाइ छ । ‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ, वैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ छ,’ मङ्गला गाउँपालिका–१, कुहुँका दीपशिखा माविका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले भने । उनले अहिलेको अवस्थामा प्रयोग भइरहेको वैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्नसमेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताए । बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘बर्खाको समयमा वैकल्पिक मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ, अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ’, अध्यक्ष रोकाले भने । मङ्गला गाउँपालिका–३ पखेर लुलियाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले हालै प्रस्तावित स्थानको अध्ययनसमेत गरेको थियो । प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता नहुँदा वैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ । सडक विभागले फापरखेत–पखेर जोड्ने एक सय पाँच मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन । फापरखेतमा करिब दुई सय मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर जोखिममा परेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्गेपहिरो मुख्य चुनौती बनेको छ । रासस

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना यात्रु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । १८ जनाको शव निकालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ । जहाजमा पाइलट मनिषरत्न शाक्य र काे-पाइलट एस कटुवालसहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्दार गरेर तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरूको विवरण 

दुर्घटनाको उद्धार अभ्यास गरेको ४५ दिनमै खस्यो सौर्य एयरलायन्स

काठमाडौं । उद्धार अभ्यास गरेको ४५ दिनमै त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको छ । गत जेठ २८ गते त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको थियो । तर, उद्धार अभ्यासको ४५ दिन अर्थात् डेढ महिनामा नबित्दै सौर्य एयरलायन्सको विमान बुधबार दुर्घटनामा परेको हो । त्रिभुवन विमानस्थल संकटकालीन योजना अन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दार सम्बद्ध विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । त्रिभुवन विमानस्थल परिसरमा विमान आगलागी पश्चात् नमूना उद्धार अभ्यास गरिएको थियो । अभ्यासको मुख्य उद्देश्य भनेको संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि गराउनु हुन्छ । साथै सहभागी निकायले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराई दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो सुचारू गराउनु हो ।

एक वर्षमा पाथीभरामा करिब ४ करोड भेटी संकलन

फुङ्लिङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड छ लाख ४३ हजार एक सय ७२ रुपैयाँ भेटी संकलन भएको थियो । पुसमा ३५ लाख २९ हजार रुपैयाँ, माघमा २४ लाख एक हजार पाँच सय रुपैयाँ र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी संकलन भएको उनले जानकारी दिए । पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ रुपैयाँ र असारमा १६ लाख ८८ हजार नौ सय रुपैयाँ भेटी संकलन भएको उल्लेख गरिएको छ । गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

जहाज दुर्घटना : अग्नी नियन्त्रक भन्छन्- १८ जनाको शव निकालिसक्यौं

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयर दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म १८ जनाको शव निकालिसकको छ । अग्नी नियन्त्रकहरुले सञ्चारकर्मीहरुसँग १८ जनाको शव निकालिसकेको प्रतक्रिया दिएका छन् । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताइएको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।