उपसभामुख रानामाथि छानबिन गर्न सांसदहरूको माग

<p>काठमाडौं । सांसदहरूले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानबिन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरूले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् । सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन [&hellip;]</p>

काठमाडौं । सांसदहरूले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरूले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् । सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् । उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शीर निहुरिएको बताइन् । छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने जानकारी दिए ।

‘कस्तो लज्जास्पद विषय । यो विषयमा वास्तवमा हामी सांसदहरुले शीर निहुराउनुपर्ने छ । देशको सम्मानित पदमा बस्नुभएको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन । तर यसको छानबिन हुनुपर्छ कि पर्दैन ? गर्नुभएको छैन भनेपनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ’, उनले भनिन् ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले)का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानवीन गर्नुपर्ने बताए । उनले दोषि देखिएमा कानूनी कारबाही गर्नुपर्ने जानकारी दिए ।

उनले भने – ‘यो विषय सिंगो संसदसँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो । र यसलाई आवश्यक कारबाही अगाडी बढाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’

नेकपा(एमाले)को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए । उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडी बढाउनुपर्ने बताए । समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिए ।

‘उपसभामुखको विषयमा हामीकहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने ? यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस् । कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौ भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ’, उनले भने ।

उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानबिनको निर्णय गर्नुपर्ने उनको भनाई छ ।

Share News