विकासन्युज

१६ अर्बको लागतमा बन्यो खुदी २२० केभी सबस्टेसन

काठमाडौं । मर्स्यांदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् । सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युतलाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यममर्स्यांदी विद्युतगृहको स्वीचयार्डमा जोडिएको थियो । सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यमर्स्यांदीको स्वीचयार्डतर्फ विद्युत प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्यांदी–ममर्स्यांदी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘आयोजनाअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ, उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’ मर्स्यांदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्यांदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ । तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३/र३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी–उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ । ६ वटा टावर खडा गरिएको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

टाटाको इभी पन्च एकैपटक चार सहरमा लन्च

काठमाडौं । टाटाको पन्च इभी एकैपटक चार सहरमा लन्च भएको छ । एकैदिन औपचारिक रूपमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए । पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । टाटा पन्च इभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च इभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।

लगातार तीन दिन घट्यो सेयर बजार

काठमाडौं । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बुधबार परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता सेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता सेयर किनबेच भएको छ । याे पनि पढ्नूहाेस् : सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल

सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयमा पुगेका छन् । सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा पुगेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै सेयर बजार निरन्तर उकालो लाग्दै २ हजार बिन्दुबाट ३ हजार पुगेको थियो । कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारप्रति लगानीकर्ता पनि उत्साहित भएका थिए । सरकार गठनपछि नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको थियो भने ३० अर्ब रुपैयाँ बराबरको कारोबा भएको थियो । तर, भदौदेखि निरन्तर अ‍ोरालो लाग्दै ३ हजार बिन्दुबाट पुरानै बिन्दुमा पुग्न थालेपछि मन्त्री पौडेलले चासो दिँदै नेप्सेको कार्यालयमा पुगेका हन् । उनी राजश्व सचिव दिनेश घिमिरे र नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालसहित पुगेका थिए । किन ३ हजार बिन्दु्बाट २५ सयको बिन्दुमा झरेको भनेर अर्थमन्त्री पौडेलले नेप्सेका कर्मचारीलाई प्रश्न गरेका थिए । यसको उचित जवाफ नपाएसम्म प्रश्न गरिरहने उनले बताए । नेप्से परिसूचकसँगै कारोबरा रकममा पनि गिरावट आएपछि उनले जिज्ञासा राखेका थिए । ३० अर्बको कारोबार भएको नेप्सेमा २५ अर्ब रकम कहाँ गयो भनेरसमेत प्रश्न गरेका थिए । साउन महिनामा सर्वाधिक कारोबार भएकोमा भदौ लागेपछि निरन्तर गिरावट भइरहेको छ ।

भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए ।  उनले भने, ‘मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँगाउँमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।’ अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको उनले जानकारी दिए । उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेंगाी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका सूचना अधिकारी डोबालले बताए । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । उनले भने, ‘दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब ५० प्रतिशत भाइरल ज्वरोका छन् ।’ मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय उपचारका लागि आउने गरेकामा ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । पुर्चौँडी क्षेत्रमा पनि अन्यको तुलनामा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य संस्थामा उपचार गर्न पुग्नेमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए । मौसम परिवर्तनका साथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार गर्न आउने बिरामीमा भाइरल सङ्क्रमण देखिने गरेको छ । ज्वरोका बिरामीमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छौँ ।’ पछिल्लो समय जिल्लामा भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । ज्वरोका बिरामीले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्न उनले सर्वसाधरणलाई आग्रह गरे । प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हसने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापा दावी : शिक्षा ऐन छिटै टुंग्याउँछौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसदको सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको जानकारी दिए । उनले शिक्षा ऐन दशैंतिहार लगत्तै सुरु हुने संसदको हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए । महामन्त्री थापाले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउन सके छिटै शिक्षा विधेयक पारित हुने प्रतिवद्धतासमेत व्यक्त गरे ।

अपांगता भएका १२ सहित ९६ जना इजरायली पर्यटक नेपालमा

काठमाडौं । अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको सो टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए । सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ । अपांगता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । ‘हामीले कतिपय स्थानमा अपांगता मैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपांगतामैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं, जसले नेपाल सवलांगका लागि मात्र नभइ अपांगताहरूका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ,’ उनले भने । विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपांगमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे । ‘नेपाल प्रकृतिको अनुपम उपहार हो, यो देश साँच्चिकै सुन्दर छ, यहाँको कला संस्कृति र परम्परा र प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँछ, विगतका वर्षहरूमा नेपाल भ्रमणमा आएका अपांगता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन्, यो सङ्ख्या आउँदा दिनमा पुनः बढ्नेछ,’ उनले भने । नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपांगता भएका व्यक्तिहरूको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वभरिका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए । ‘इच्छा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो, जुन इच्छा शक्ति र आत्मविश्वासले तपाईंहरूलाई नेपालसम्म आइपुग्न अभिप्रेरित गर्यो, यसले अपांगता भएका अन्य व्यक्तिहरूमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ,’ उनले भने । इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपांगता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

‘आउटबाउन्ड’ पर्यटनमा अघि बढ्दै नेपाल, हजारौं नेपाली दशैंतिहारमा घुम्न तयार

काठमाडौं । नेपालमा संसारका धेरै देशबाट पर्यटक घुम्न आउनु स्वाभाविक हो । तर, नेपालीहरू आफै पर्यटक बनेर विभिन्न देश घुम्न जानुलाई पनि अब स्वाभाविक नै मान्दा अतिशयोक्ति नहोला । केही वर्षयता सुरु भएको नेपालीहरूको विदेश घुम्ने क्रम पछिल्लो समय तीव्र गतिमा बढिरहेको देखिन्छ । यस्ता गतिविधिले व्यापकता पाउँदै गएको छ । नेपालमा सञ्चालित सयौं टुर तथा ट्राभल एजेन्सीहरूले दसैंतिहार र छठजस्ता चाडपर्व लक्षित गरेर विदेश भ्रमणका लागि आकर्षक ‘टुर प्याकेज’ ल्याउने गर्छन् । यस्ता प्याकेजले नेपालीहरूलाई विदेश भ्रमण गराउन धेरै नै सहज बनाइरहेको छ । यसबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली पनि पर्यटक हुन् है भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको सम्बद्ध पर्यटन व्यवसायीहरू बताउँछन् । त्यस्तै, टुर तथा ट्राभल प्याकेजका कारण नेपालीहरूको ‘आउटबाउन्ड टुरिज्म’ गतिविधि उल्लेख्य हिसाबमा बढिरहेको छ । अरू समयभन्दा चाडपर्वका बेला लामो छुट्टी हुने र चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएका कारण नेपालीहरू दशैंतिहार पारेर विदेश घुम्न जाने चलन बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । यसबारे यो एउटा गतिलो उदाहरण काफी छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा थाइल्यान्डबाट २५ हजार ६ सय ७८ पर्यटक नेपाल घुम्न आएका थिए । तर, सोही वर्ष करिब २१ हजार नेपालीहरू पर्यटक बनेर थाइल्यान्ड घुम्न गएको एक पर्यटन व्यवसायीले जानकारी दिए । ‘यो संख्याले के पुष्टि गर्छ भने नेपालीहरू पनि पर्यटक बनेर संसार घुम्न सक्छन्,’ ती व्यवसायी भन्छन्, ‘विडम्बना, थाई पर्यटकलाई नेपालले अन अराइभल भिसा दिन्छ तर नेपालीलाई थाइल्यान्डले अन अराइभल भिसा दिँदैन । भिसा पाउन धेरै नै लामो प्रक्रिया पूरा गर्नुपर्छ । यसबारे सरकारले पहल गर्नैपर्छ ।’ सुलभ ट्राभल प्याकेज रामवाण नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तथा स्वाँ होलिडेजकी अध्यक्ष जिस्वाँ तुलाधर इन्टरनेटको बढ्दो पहुँचका कारण नजिकिँदै गएको बाह्य संसारका साथै विदेश जान सहज र सुलभ हुँदै गएको अवस्थाका कारण नेपालीहरू विभिन्न गन्तव्य जाने क्रम बढ्न थालेको बताउँछिन् । उनका अनुसार स्वाँ होलिडेजले दशैंलक्षित गरेर महिलाहरूलाई माल्दिभ्स घुम्न जानका लागि ‘स्पेसल प्याकेज’ ल्याएको छ । स्वाँ होलिडेजले परिवार नहुने महिला तथा परिवारमा अरू बाहिर घुम्न जान इच्छुक नभएर एक जना मात्रै जान इच्छुक भएका, माल्दिभ्स जान इच्छुक भएका तथा पैसाका कारण जान नसक्ने महिलाका लागि यो अफर ल्याएको अध्यक्ष तुलाधर बताउँछिन् । ‘यो हामीले एनआईएमबी बैंकसँग सहकार्य गरेर मासिक ११ हजार रुपैयाँ किस्ता १८ महिनामा तिर्ने गरी मिलाएका छौं,’ उनी भन्छिन्, ‘अरू प्याकेज त रेगुलर अन डिमान्डमै कस्टिङ गरिरहेका छौं, यो एउटा स्किममात्रै स्पेसल हो ।’ माल्दिभ्स नै रोज्नुको कारण पहिलो पटक यात्रा गर्दा भिसाको समस्या नहोस् र अर्को परिवारसँग जाँदा ८ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्छ । महिलाहरूले पनि त्यहाँ फ्री भएर इन्जोय गर्न पाउने उनले जानकारी दिइन् । यो प्याकेज १ लाख ७७ हजार रुपैयाँमा आउँछ । अरू ट्राभल एजेन्सीहरूले दुबई (यूएई), भियतनाम, बाली (इन्डोनेसिया) लगायत देशका लागि पनि स्किमहरू निकालेका छन् । तर, स्वाँ होलिडेजले निकालेको यो स्किम महिला लक्षित भएको हुनाले बजारमा धेरै प्रतिस्पर्धा गर्नु नपरेको अध्यक्ष तुलाधर बताउँछिन् ।स्वाँ होलिडेजले दसैंतिहार ‘पिक सिजन’ भएकाले अन्य धेरै देशका लागि टुर तथा ट्राभल प्याकेज बेचिरहेको छ । तुलाधरका अनुसार अहिले नेपालीहरूको रोजाइको पर्यटन गन्तव्य दुबई हो । दुबईका लागि १ लाख १० हजार बढीको प्याकेज हुन्छ ।त्यस्तै, थाइल्यान्ड १ लाख हाराहारी, सिंगापुर र मलेसिया १ लाख ३० हजार रुपैयाँ हाराहारी हुने उनी बताउँछिन् । बालीका लागि १ लाख ५० हजार, भियतनामका लागि १ लाख ३० हजारदेखि ५० हजारसम्मका डेस्टिनेसन प्याकेज चलिरहेका छन् । अध्यक्ष तुलाधर नेपाली विदेश घुम्न जाने क्रम पहिलेभन्दा अहिले घटेको बताउँछिन् । ‘अहिले कस्ट एकदमै बढी भएको छ,’ उनी भन्छिन्, ‘अहिले पनि फ्लाइटहरू त म्याक्सिमम फुल नै छन्, टुरभन्दा पनि हवाई टिकट महँगो छ । अहिले भन्नुपर्दा नेपालीहरू दसैंतिहार र पछि ५० देखि ६० हजार विदेश भ्रमणमा जान्छन् ।’ उनका अनुसार अहिले धेरै संख्यामा कर्पोरेट संस्थाका माध्यमबाट घुम्न जान्छन् । कतिपय कर्पोरेट शुल्क महँगो भएर स्टाफ भएर बसेका छन् भने कतिपय घुम्न भ्याइसकेका छन् । त्यसैगरी, सन् २००० देखि नेपालमा चिनियाँ पर्यटक भित्र्याइरहेको सीएन्डके नेपाल ट्राभल कम्पनीका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ चाडपर्वको छुट्टीमा विदेश घुम्न जाने नेपालीको संख्या बढ्दै गएको बताउँछन् । ‘हामीले नेपाललाई पर्यटक ल्याउने देश भन्छौं, तर कतिपय देशमा त्यहाँबाट नेपाल आउनेभन्दा नेपालबाट त्यहाँ जाने पर्यटकको संख्या धेरै छ,’ उनी भन्छन्, ‘अहिले भियतनाम, इन्डोनेसिया र क्याम्बोडियाजस्ता गन्तव्य नेपालीको रोजाइमा परेको छ ।’ उनका अनुसार पहिला थाइल्यान्ड, मलेसिया, सिंगापुर र दुबई नेपालीका रोजाइमा पर्ने देश हुन् । तर, पछिल्लो समय यी देश धेरै घुमिरहेको हुनाले नयाँ गन्तव्य भियतनाम, कम्बोडिया आगाडि छन् । आउँदै गरेको दसैंतिहार लक्षित गरेर उनको सीएन्डके ट्राभलले भने अहिलेसम्म कुनै प्याकेज तथा स्किम ल्याएको छैन । ‘बजार प्रतिस्पर्धी छ र अरू ट्राभल कम्पनीहरूले यस्ता अफर सार्वजनिक गरिरहेका छन्, व्यापार पनि राम्रो गरिरहेका छन्,’ उनी भन्छन्, ‘यसपालि मैले टफ कम्पिटिसन भएकाले नै नल्याएको हो, म चाहिं पर्ख र हेरकै अवस्थामा छु ।’ श्रेष्ठका अनुसार वार्षिक साढे २ लाख नेपाली पर्यटक बनेर विदेश घुम्नकै लागि बाहिरिन्छन् । त्यसैगरी, अर्को ट्राभल कम्पनी जेनिथ एक्सपेरियन्सेस ट्राभल्सकी प्रबन्ध निर्देशक मिहिका शाह पनि अहिलेको दसैंतिहारलाई लक्षित गरेर कुनै पनि स्किम तथा प्याकेज आफ्नो कम्पनीले नल्याए पनि नेपालीहरू घुम्न जाने ‘ट्रेन्ड भने ह्वात्तै बढेको बताउँछिन् । उनका अनुसार अहिलेको अवस्थामा हवाई टिकट पाउनै सकस छ । हवाई भाडा महँगो भएकाले पनि त्यतातिर ध्यान नदिएको उनी बताउँछिन् । ‘अहिले हवाईजहाजकाे सिट पाउन मुस्किल छ,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘महँगो हुनु पनि एउटा कारण भइहाल्यो, हामीले इन्डिभिजुललाई प्याकेज पनि निकाल्दैनौं, रिक्वायरमेन्ट अनुसार मात्रै बनाउँछौं ।’ उनका अनुसार पछिल्लो समय नेपालीलाई विदेश भ्रमणमा पठाउनै सकस भएको छ । ‘घुम्न जानेभन्दा पनि पढ्न भनेर विद्यार्थीहरू नै बढी विदेश जान्छन्,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘यही कारणले सिट पाइँदैन, भ्रमण पठाउन एकदमै गाह्रो छ, घुम्न जानेको संख्या पनि कम छ ।’ उनका अनुसार महँगो हवाई भाडामा कहाँ घुम्न जाने भन्ने पनि छ । सरकारले हवाई टिकटमा पनि भ्याट लगाएको छ । टिकटमा १३ र प्याकेजमा ५ प्रतिशत जोड्दा १८ प्रतिशत कर हुन आउने भएकाले घुम्न जाने नेपाली समस्यामा छन् । ‘हवाई भाडा केही सरल हुन सके विदेश घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढ्ने देखिन्छ,’ प्रबन्धक निर्देशक शाहले भनिन्, ‘सम्बन्धित निकायले पहल गरे यो समस्या समाधान हुने देखिन्छ ।’ अध्यागमन विभागका अनुसार सन् २०२४ अगस्ट महिनामा ९५ हजार ६ सय ८२ पुरुष र ४४ हजार ३ सय २२ महिला र अन्य १३ गरी कुल १ लाख ४० हजार १७ नेपालीहरू विदेश गएका छन् । यो हिसाबमा हेर्दा नेपालबाट वार्षिक औसत १६ लाखभन्दा बढी नेपाली विदेश गइरहेका छन् । तर, लामो समयदेखि नेपालीहरूलाई टुर तथा ट्राभल प्याकेज बेच्दै आएका एक पर्यटन व्यवसायीका अनुसार पछिल्लो पटक वार्षिक औसत २ लाख हाराहारी नेपालीहरू पर्यटकका रूपमा विभिन्न देश घुम्न जाने गर्छन् ।