काठमाडौं । नेपालमा संसारका धेरै देशबाट पर्यटक घुम्न आउनु स्वाभाविक हो । तर, नेपालीहरू आफै पर्यटक बनेर विभिन्न देश घुम्न जानुलाई पनि अब स्वाभाविक नै मान्दा अतिशयोक्ति नहोला । केही वर्षयता सुरु भएको नेपालीहरूको विदेश घुम्ने क्रम पछिल्लो समय तीव्र गतिमा बढिरहेको देखिन्छ । यस्ता गतिविधिले व्यापकता पाउँदै गएको छ ।
नेपालमा सञ्चालित सयौं टुर तथा ट्राभल एजेन्सीहरूले दसैंतिहार र छठजस्ता चाडपर्व लक्षित गरेर विदेश भ्रमणका लागि आकर्षक ‘टुर प्याकेज’ ल्याउने गर्छन् । यस्ता प्याकेजले नेपालीहरूलाई विदेश भ्रमण गराउन धेरै नै सहज बनाइरहेको छ । यसबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली पनि पर्यटक हुन् है भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको सम्बद्ध पर्यटन व्यवसायीहरू बताउँछन् ।
त्यस्तै, टुर तथा ट्राभल प्याकेजका कारण नेपालीहरूको ‘आउटबाउन्ड टुरिज्म’ गतिविधि उल्लेख्य हिसाबमा बढिरहेको छ । अरू समयभन्दा चाडपर्वका बेला लामो छुट्टी हुने र चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएका कारण नेपालीहरू दशैंतिहार पारेर विदेश घुम्न जाने चलन बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।
यसबारे यो एउटा गतिलो उदाहरण काफी छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा थाइल्यान्डबाट २५ हजार ६ सय ७८ पर्यटक नेपाल घुम्न आएका थिए । तर, सोही वर्ष करिब २१ हजार नेपालीहरू पर्यटक बनेर थाइल्यान्ड घुम्न गएको एक पर्यटन व्यवसायीले जानकारी दिए ।
‘यो संख्याले के पुष्टि गर्छ भने नेपालीहरू पनि पर्यटक बनेर संसार घुम्न सक्छन्,’ ती व्यवसायी भन्छन्, ‘विडम्बना, थाई पर्यटकलाई नेपालले अन अराइभल भिसा दिन्छ तर नेपालीलाई थाइल्यान्डले अन अराइभल भिसा दिँदैन । भिसा पाउन धेरै नै लामो प्रक्रिया पूरा गर्नुपर्छ । यसबारे सरकारले पहल गर्नैपर्छ ।’
सुलभ ट्राभल प्याकेज रामवाण
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तथा स्वाँ होलिडेजकी अध्यक्ष जिस्वाँ तुलाधर इन्टरनेटको बढ्दो पहुँचका कारण नजिकिँदै गएको बाह्य संसारका साथै विदेश जान सहज र सुलभ हुँदै गएको अवस्थाका कारण नेपालीहरू विभिन्न गन्तव्य जाने क्रम बढ्न थालेको बताउँछिन् ।
उनका अनुसार स्वाँ होलिडेजले दशैंलक्षित गरेर महिलाहरूलाई माल्दिभ्स घुम्न जानका लागि ‘स्पेसल प्याकेज’ ल्याएको छ ।
स्वाँ होलिडेजले परिवार नहुने महिला तथा परिवारमा अरू बाहिर घुम्न जान इच्छुक नभएर एक जना मात्रै जान इच्छुक भएका, माल्दिभ्स जान इच्छुक भएका तथा पैसाका कारण जान नसक्ने महिलाका लागि यो अफर ल्याएको अध्यक्ष तुलाधर बताउँछिन् ।
‘यो हामीले एनआईएमबी बैंकसँग सहकार्य गरेर मासिक ११ हजार रुपैयाँ किस्ता १८ महिनामा तिर्ने गरी मिलाएका छौं,’ उनी भन्छिन्, ‘अरू प्याकेज त रेगुलर अन डिमान्डमै कस्टिङ गरिरहेका छौं, यो एउटा स्किममात्रै स्पेसल हो ।’
माल्दिभ्स नै रोज्नुको कारण पहिलो पटक यात्रा गर्दा भिसाको समस्या नहोस् र अर्को परिवारसँग जाँदा ८ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्छ । महिलाहरूले पनि त्यहाँ फ्री भएर इन्जोय गर्न पाउने उनले जानकारी दिइन् । यो प्याकेज १ लाख ७७ हजार रुपैयाँमा आउँछ ।
अरू ट्राभल एजेन्सीहरूले दुबई (यूएई), भियतनाम, बाली (इन्डोनेसिया) लगायत देशका लागि पनि स्किमहरू निकालेका छन् । तर, स्वाँ होलिडेजले निकालेको यो स्किम महिला लक्षित भएको हुनाले बजारमा धेरै प्रतिस्पर्धा गर्नु नपरेको अध्यक्ष तुलाधर बताउँछिन् ।स्वाँ होलिडेजले दसैंतिहार ‘पिक सिजन’ भएकाले अन्य धेरै देशका लागि टुर तथा ट्राभल प्याकेज बेचिरहेको छ ।
तुलाधरका अनुसार अहिले नेपालीहरूको रोजाइको पर्यटन गन्तव्य दुबई हो । दुबईका लागि १ लाख १० हजार बढीको प्याकेज हुन्छ ।त्यस्तै, थाइल्यान्ड १ लाख हाराहारी, सिंगापुर र मलेसिया १ लाख ३० हजार रुपैयाँ हाराहारी हुने उनी बताउँछिन् । बालीका लागि १ लाख ५० हजार, भियतनामका लागि १ लाख ३० हजारदेखि ५० हजारसम्मका डेस्टिनेसन प्याकेज चलिरहेका छन् ।
अध्यक्ष तुलाधर नेपाली विदेश घुम्न जाने क्रम पहिलेभन्दा अहिले घटेको बताउँछिन् । ‘अहिले कस्ट एकदमै बढी भएको छ,’ उनी भन्छिन्, ‘अहिले पनि फ्लाइटहरू त म्याक्सिमम फुल नै छन्, टुरभन्दा पनि हवाई टिकट महँगो छ । अहिले भन्नुपर्दा नेपालीहरू दसैंतिहार र पछि ५० देखि ६० हजार विदेश भ्रमणमा जान्छन् ।’
उनका अनुसार अहिले धेरै संख्यामा कर्पोरेट संस्थाका माध्यमबाट घुम्न जान्छन् । कतिपय कर्पोरेट शुल्क महँगो भएर स्टाफ भएर बसेका छन् भने कतिपय घुम्न भ्याइसकेका छन् ।
त्यसैगरी, सन् २००० देखि नेपालमा चिनियाँ पर्यटक भित्र्याइरहेको सीएन्डके नेपाल ट्राभल कम्पनीका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ चाडपर्वको छुट्टीमा विदेश घुम्न जाने नेपालीको संख्या बढ्दै गएको बताउँछन् ।
‘हामीले नेपाललाई पर्यटक ल्याउने देश भन्छौं, तर कतिपय देशमा त्यहाँबाट नेपाल आउनेभन्दा नेपालबाट त्यहाँ जाने पर्यटकको संख्या धेरै छ,’ उनी भन्छन्, ‘अहिले भियतनाम, इन्डोनेसिया र क्याम्बोडियाजस्ता गन्तव्य नेपालीको रोजाइमा परेको छ ।’
उनका अनुसार पहिला थाइल्यान्ड, मलेसिया, सिंगापुर र दुबई नेपालीका रोजाइमा पर्ने देश हुन् । तर, पछिल्लो समय यी देश धेरै घुमिरहेको हुनाले नयाँ गन्तव्य भियतनाम, कम्बोडिया आगाडि छन् ।
आउँदै गरेको दसैंतिहार लक्षित गरेर उनको सीएन्डके ट्राभलले भने अहिलेसम्म कुनै प्याकेज तथा स्किम ल्याएको छैन ।
‘बजार प्रतिस्पर्धी छ र अरू ट्राभल कम्पनीहरूले यस्ता अफर सार्वजनिक गरिरहेका छन्, व्यापार पनि राम्रो गरिरहेका छन्,’ उनी भन्छन्, ‘यसपालि मैले टफ कम्पिटिसन भएकाले नै नल्याएको हो, म चाहिं पर्ख र हेरकै अवस्थामा छु ।’
श्रेष्ठका अनुसार वार्षिक साढे २ लाख नेपाली पर्यटक बनेर विदेश घुम्नकै लागि बाहिरिन्छन् ।
त्यसैगरी, अर्को ट्राभल कम्पनी जेनिथ एक्सपेरियन्सेस ट्राभल्सकी प्रबन्ध निर्देशक मिहिका शाह पनि अहिलेको दसैंतिहारलाई लक्षित गरेर कुनै पनि स्किम तथा प्याकेज आफ्नो कम्पनीले नल्याए पनि नेपालीहरू घुम्न जाने ‘ट्रेन्ड भने ह्वात्तै बढेको बताउँछिन् ।
उनका अनुसार अहिलेको अवस्थामा हवाई टिकट पाउनै सकस छ । हवाई भाडा महँगो भएकाले पनि त्यतातिर ध्यान नदिएको उनी बताउँछिन् ।
‘अहिले हवाईजहाजकाे सिट पाउन मुस्किल छ,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘महँगो हुनु पनि एउटा कारण भइहाल्यो, हामीले इन्डिभिजुललाई प्याकेज पनि निकाल्दैनौं, रिक्वायरमेन्ट अनुसार मात्रै बनाउँछौं ।’
उनका अनुसार पछिल्लो समय नेपालीलाई विदेश भ्रमणमा पठाउनै सकस भएको छ ।
‘घुम्न जानेभन्दा पनि पढ्न भनेर विद्यार्थीहरू नै बढी विदेश जान्छन्,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘यही कारणले सिट पाइँदैन, भ्रमण पठाउन एकदमै गाह्रो छ, घुम्न जानेको संख्या पनि कम छ ।’
उनका अनुसार महँगो हवाई भाडामा कहाँ घुम्न जाने भन्ने पनि छ । सरकारले हवाई टिकटमा पनि भ्याट लगाएको छ । टिकटमा १३ र प्याकेजमा ५ प्रतिशत जोड्दा १८ प्रतिशत कर हुन आउने भएकाले घुम्न जाने नेपाली समस्यामा छन् ।
‘हवाई भाडा केही सरल हुन सके विदेश घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढ्ने देखिन्छ,’ प्रबन्धक निर्देशक शाहले भनिन्, ‘सम्बन्धित निकायले पहल गरे यो समस्या समाधान हुने देखिन्छ ।’
अध्यागमन विभागका अनुसार सन् २०२४ अगस्ट महिनामा ९५ हजार ६ सय ८२ पुरुष र ४४ हजार ३ सय २२ महिला र अन्य १३ गरी कुल १ लाख ४० हजार १७ नेपालीहरू विदेश गएका छन् ।
यो हिसाबमा हेर्दा नेपालबाट वार्षिक औसत १६ लाखभन्दा बढी नेपाली विदेश गइरहेका छन् । तर, लामो समयदेखि नेपालीहरूलाई टुर तथा ट्राभल प्याकेज बेच्दै आएका एक पर्यटन व्यवसायीका अनुसार पछिल्लो पटक वार्षिक औसत २ लाख हाराहारी नेपालीहरू पर्यटकका रूपमा विभिन्न देश घुम्न जाने गर्छन् ।