विकासन्युज

प्रभुका दुई म्युचुअल फण्डको लाभांश घोषणा, १० प्रतिशत प्रतिफल पाउने

काठमाडौं । प्रभु क्यापिटलले दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरेका छन् । कम्पनीले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरूलाई ८.५० प्रतिशत नगल लाभांश वितरण गर्ने भएको हो । दुईटै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । यी म्युचुअल फण्डको कोष प्रवद्र्धक प्रभु बैंक हो भने योजना व्यवस्थापक प्रभु क्यापिटल हो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघले फुटसल टुर्नामेन्ट आयोजना गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । संघले असोज ३ गतेदेखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्न लागेको हो । संघका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ । नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने संघले बताएको छ । महिला तथा पुरुष तर्फको विजेता टोलीले १ लाख नगद रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संघले जानकारी दिएको छ । संघका अनुसार पुरुष तर्फको उपाधि रक्षाको लागि एनआइसी एसिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमइ बैंकले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरिएको हो ।

साहस उर्जाले घोषणा गर्याे लाभांश, चुक्ता पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने

काठमाडौं । साहस उर्जा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ । साथै कम्पनीले बोनस पश्चात् १ सय प्रतिशत हकप्रद सेयर वितरण गर्नेछ । हकप्रद सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने कम्पनी सचिव दिनेश कुमार रोक्कले जानकारी दिए ।

दशैं-तिहार अफर: बाइक किन्दा सतप्रतिशत क्यास ब्याकदेखि १० लाख जित्ने अवसर

काठमाडौं । चाडपर्वलाई लक्षित गरी मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कम्पनीहरूले दशैं तथा तिहार अफरहरू सार्वजनिक गरेका हुन् । कम्पनीहरुले पुराना बाइकहरु एक्सचेञ्जको अफरदेखि लाखौं रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरेका छन् । कुन कम्पनीको कस्ताे अफर ? केटीएम ड्युक केटीएम नेपालले दशैं तथा तिहारको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले केटीएमका जुनसुकै पनि बाइक खरिदकर्तालाई केटीएम ज्याकेट प्रदान गर्ने भएको छ। कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई सूरक्षित गराउँछ । यस्तै, कम्पनीले पुराना बाइक एक्सचेन्ज गर्दा मूल्यांकनको १५ हजार रुपैयाँ थप गरिदिने जनाएको छ । हिरो चाडपर्वको अवसरमा हिरो ब्राण्डको मोटरसाइकल तथा स्कुटर खरिदमा गर्दा ५ लाख रुपैयाँसम्म जित्न सकिने नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले जनाएको छ । स्क्रयाच कार्डद्वारा ५ लाख रुपैयाँसम्म पक्का नगद जित्न सकिने कम्पनीले जनाएको छ । यसका साथै बम्पर उपहारमा नेटा ईभी कार पनि जित्न सकिनेछ । यसका साथै हिरोको जुनसकै बाइक तथा स्कुटर खरिद गर्दा ८ हजार देखि ५ लाख रुपैयाँसम्म छुट पनि पाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।  यामाहा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले बिगेस्ट १०औं नामक स्कीम ल्याएको छ । चाडपर्वलक्षित ल्याइएको उक्त स्कीमअन्तर्गत १० लाख रुपैयाँसम्मको हालखाली नजाने स्योरशट क्याशब्याक पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै यामाहाको बाइक तथा स्कुट खरिदका गर्न शून्य प्रतिशत ब्याजदरमा ग्राहकले कर्जा सुविधा पाउने पनि कम्पनीले जनाएको छ । सीएफमोटो र जिहो नेपालका लागि सीएफमोटो र जिहो ब्राण्डको आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा उक्त ब्राण्डहरूको मोटरसाइकल तथा स्कुटर किन्दा छुटसहित विभिन्न सुविधा पाइने कम्पनीले जनाएको छ । सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार रूपैयाँ मूल्य बराबरको फ्री एसेसरिज पाउन सकिने छ । त्यसैगरी, हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने छ । जिहो ब्राण्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी, एई ४ मा १५ हजार रुपैयाँ र एई ८ मा १० हजार रूपैयाँ नगद छुट पाउन सकिने छ । यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्राण्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीको भनाइ छ । यो अफर असोज १ देखि आगामी कात्तिक २५ गतेसम्म लागू हुनेछ ।   होन्डा: होन्डा दुईपांग्रे सवारीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । साथै ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिने छ । होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएके छ । सुजुकी नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले दशैं-तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने छ । कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ । बजाज बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । योजना अन्तर्गत बजाजको हरेक बाइक खरिदमा स्योरसट रूपमा १ लाख रूपैयाँसम्म क्यास जित्न सकिने छ । यस्तै, साप्ताहिक-ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनसक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउनेछन् । टीभीएस नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक सप्ताह १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको छ । साथै, पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेको छ ।

पठाओ दशैं महोत्सव सुरु, उपहारमा होण्डा साइन मोटरसाइकल पाइने

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दशैं महोत्सव २०८१’ सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ । हमालकाअनुसार दसैँ महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । ‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र हो,’ उनले भनिन् । साथै दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ । उनका अनुसार, दैनिक १ प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नु पर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्नेछ । धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट गरिने हमालले बताइन् । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल बम्पर उपहार पाउनेछन् । बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पुरा गर्नुपर्नेछ ।  

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा विभिन्न अफरहरू ल्याएको छ । कम्पनीका अनुसार यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ । ‘यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीको भनाई छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । सो अफर बुधबार (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने कम्पनीले बताएको छ ।

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ । पानी खोज्दै बसाइ सर्नेह्ररु बढेपछि ध्येको सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए । ‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन’, उनले भने, ‘जमिन सबै बाँझो हुँदै गयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो ।’ उनले आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाए । खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो । हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेको वडाध्यक्ष गुरुङले बताए । ‘पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भने जति हिउँ पर्न छाड्यो’, उनले भने, ‘भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो ।’ उनका अनुसार अहिले स्थानीयहरू बर्खामा भेडा च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन् । पानी पर्न छाडेपछि खेतीयोग्य जमिन खेती हुन छाडेको छ । ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो । अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ । पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले  बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए । सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए । नयाँ बस्तीमा उनीहरुले स्याउखेती  गरिरहेका छन् । ‘तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ’, उनले भने । ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार सात सय मिटर उचाइमा छ । उक्त गाउँमा हाल २६ घरधुरीको बसोबास छ । बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ । विसं २०६४ देखि नै ध्येवासी बसाइ सरेर वेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत्लगायत सुविधा छ। रासस

२५ प्रतिशत नगद लाभांश बाँड्ने सिद्धार्थको घोषणा, असोज १८ गते साधारण सभा हुँदै

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज १८ गते दिउँसो साढे ३ बजे नारायणचौर नक्साल काठमाडौंमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक समितिको निर्वाचन गर्नेछ ।