काठमाडौंको तापक्रम ३१ डिग्रिसेल्सियस रहने, मौसम आजको कस्तो छ ?
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । ‘आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ उनले भने । आज काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रिसेल्सियस रहनेछ । उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ । मौसम बुलेटिनअनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणयता बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यता सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूू-भागका थोरै स्थान तथा बाँकी पहाडी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको छ ।
स्थानीय तह उपनिर्वाचन कार्यतालिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । कार्यतालिकाअनुसार यही असोज ९ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरी असोज १० देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ । यस्तै, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ । आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ ।
नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवासुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटलबीच भएको दुई पक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरे । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा सेवासुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिमसेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने र्याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । र्याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ । नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
गरिमा क्यापिटलको दशैं अफर, डिम्याट र मेरो सेयर खाता खोल्दा स्मार्ट वाच
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले दशैंतिहारलाई लक्षित गरी नयाँ याेजना सार्वजनिक गरेकाे छ । योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने जनाइएकाे छ । यसका लागि असोज १ गते देखि कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नु पर्नेछ । ग्राहकहरूले यो अफरअन्तर्गत खाता खोल्न काठमाडौंकाे कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटबाट पनि खाेल्न सक्नेछन् । यससम्बन्धमा थप जानकारी बैंककाे वेबसाइट तथा फाेन नम्बरबाट प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ । साथै गरिमा क्यापिटलले आउँदै गरेकाे दशैंतिहार तथा छठ पर्वकाे उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेकाे छ ।
शैलुङका श्रेष्ठ दम्पतीले दिए छोरालाई पास्निमा बीमा पोलिसी उपहार
काठमाडौं । दोलखा जिल्लाको शैलुङ निवासी एक दम्पतीले आफ्नो छोराको पास्निमा बीमा पोलिसी उपहार दिएका छन् । शैलुङ निवासी दम्पती विशाल श्रेष्ठ र कमला श्रेष्ठले आफ्नो छोरा सबिक श्रेष्ठलाई पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरूले नेशनल लाइफ इन्स्योरेन्समा बीमा गराएर छोरालाई उपहार दिएका हुन् । छोरो सबिकको नाममा १० लाख रुपैयाँ बीमांक रकमको पोलिसी, बुबा विशालको नाममा १० लाख र आमा कमलाको नाममा १० लाख गरी कुल ३० लाख रुपैयाँ बीमांक रकमको बीमा गरेर छोरालाई उपहार दिइएको जनाइएको छ । उक्त सबै बीमा छोराको उज्जवल भविष्यका लागि गरिएको बुबा विशालले बताए । भविष्यमा छोरालाई पढाइका लागि सहयोग होस् भन्ने उद्देश्यले उक्त बीमा गरेकाे उनले बताए ।
२५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, दुई महिनामै थपियो १ खर्ब
काठमाडौं । चालु आर्थिक वार्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो दुई महिनामा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण तिरेको छ । दुई महिनामा विदेशी मुद्राको उचारचढावबाट नेपालले तिर्नुपर्ने ऋण ३० अर्ब १४ करोड रुपैयाँ बढेको हो । समग्रमा दुई महिनामा नेपालको तिर्नुपर्ने सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ । गत आव २०८०/०८१ को असार मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । यो दुई महिनामा थपिएको जोड्दा भदौ मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कुल ग्राहस्थ उत्पादनको ४४.३२ प्रतिशत सार्वजनिक ऋण पुगेको छ । लक्ष्यको १९.०२ प्रतिशत परिचालन नेपालले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउन र भदौ महिनामा त्यसको १९.०२ प्रतिशत मात्र प्राप्ति गरेको छ । आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको २७.२७ प्रतिशत अर्थात ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ । यसैगरी, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा यो दुई महिनामा १४ अर्ब ५ करोड अर्थात ६.४८ प्रतिशत प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्ने लक्ष्य लिएको छ । जसमध्ये यो दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएको छ । अर्थात् लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी दिएको कार्यालयले जनाएको छ । सरकारले आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये दुई महिनामा ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अर्थात् आन्तरिकतर्फ नेपाल सरकारले लक्ष्यको १२.४७ प्रतिशत भुक्तानी दिएको छ । यसैगरी, बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये ८.६३ अर्थात ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको छ ।
दशैंलक्षित अग्रिम टिकट खुलाउनेबारे यातायात मन्त्रालयमा छलफल
काठमाडौं । दशैंलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिनलगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो । आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए । टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भइरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए । प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए ।
ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे । ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले ९० वटा कोठामार्फत् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सेवा प्रदान गरिरहेको छ । यस होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरि ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरूमध्ये रमदा ६३ देशमा ८५१ वटा होटलहरू सञ्चालनमा रहेका छन् ।