तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालन, पर्यटकलाई सहज
म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो । मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् । यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम–ठिनी–नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताए। ‘गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,’ उनले भने ‘यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।’ म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायहरू जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन् । यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास (झञ्जयाङ) पार गर्नुपर्छ । होटल र रेष्टुरेन्टको सुविधा नभएकाले आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ । जोमसोमदेखि दुई घण्टा सवारी साधन र छ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ । मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसैहप्ता तिलिचो भ्रमण गरेर फर्कनुभएका म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका तुलन बुढामगरले बताए। ‘उकालो हिँडाइको थकान तिलिचो पुगेपछि वरपरका हिमालको बीचमा रहेको निलो र निश्चल तालको दृष्य अवलोकन गर्न पाउँदा मेटियो,’ उनले तिलिचो यात्राको अनुभव सुनाए । आर्थिक वर्ष २०८०/०८१ मा घरपझोङ गाउँपालिकाले विभिन्न शीर्षकमा ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख खर्च गरेको छ । घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप २८ लाख ५८ हजार बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिए। झोर खोलादेखि –नमखुलेंक खर्क–निलगिरि आइसफल– छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताए। एक्याप मार्फत पाँच हजार १२० मिटर उचाईमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको बरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिए। जोमसोम–तिलिचो पदमार्गमा सूचनामूलक साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, विशेषता, स्थान र उचाइको जानकारीलगायत पर्यटक लक्षित जानकारीमूलक होर्डिङ बोर्ड र साइन पोष्टिङ राखिएको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए । प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् ।
डेढ करोड बढीमा बनेको पशु अस्पताल अलपत्र
नवलपरासी । नवलपरासीको सुनवल‐२ रजहवामा एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन । ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको दुुई वर्ष भइसकेको छ । जनप्रतिनिधिहरूबीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताए । उनले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो गरे । ‘अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ । दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको छ’, उनले भने, ‘सङ्घीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जङ्गल जस्तै बनेको छ ।’ सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुननसक्दा केही समस्या रहेको बताइन् । उनले समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइन् । अस्पताल सञ्चालन नहुँदा किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ ।
मेची भन्सारबाट २ अर्ब ४२ करोड राजस्व संकलन
भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा २ अर्ब ४२ करोड ९ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो । चालु आवमा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट १ अर्ब ३८ करोड ३९ लाख ४ हजार राजस्व संकलन भएको हो । कार्यालयले गत आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखिएकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व संकलन गरेको थियो । चालु आवमा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।
नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन् : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सकिने बताएका हुन् । ‘नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन्, हाम्रो जलविद्युत् सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी छ, नवीकरणीय ऊर्जामा लगानी गरेर, हामीले आफ्ना घरेलु ऊर्जाको आवश्यकताहरू पूरा गर्न मात्र होइन, छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सक्छौं,’ पौडेलले भने,‘ दिगो पर्यटनले हाम्रो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्ने एउटा मार्ग प्रदान गर्दछ, इको-पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पर्याउन, र भविष्यका पुस्ताहरूको लागि हाम्रो वातावरणलाई संरक्षण गर्न सक्छन् ।’ अर्थमन्त्री पौडेलले विकास र पर्यावरणीय संकटको समाधान एकअर्कामा विरोधाभाषी नभएको बताए। उनले अर्थतन्त्रलाई बढाउँदै वातावरणलाई सुरक्षित राख्न सम्भव रहेको बताए । ‘विकास र पर्यावरणीय संकटको समाधान एकअर्कामा विरोधाभाषी होइनन्, हाम्रो अर्थतन्त्रलाई बढाउँदै वातावरणलाई सुरक्षित राख्न सम्भव छ, आज हामीले लिने निर्णयहरूले भोलिको नेपाललाई परिभाषित गर्नेछ । तर, यसका लागि साहसी सोच र परम्परागत विचारलाई चुनौती दिने इच्छाशक्ति आवश्यक छ र, यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, र शैक्षिक क्षेत्रको सामूहिक प्रयास तथा सहकार्य आवश्यक छ,’ उनले भने, ‘नेपाल जहिले पनि सहनशीलताको भूमि रहँदै आएको छ, हामीले प्राकृतिक विपद्, आर्थिक कठिनाइहरू, र राजनीतिक संक्रमणको सामना गरेका छौं, म विश्वस्त छु कि सही नीति, लगानी, र दिगो विकासप्रतिको प्रतिबद्धताका साथ हामी जलवायु परिवर्तनको चुनौतीमा पनि सफलतापूर्वक अघि बढ्न सक्छौं ।’ पौडेलले सरकारले नीति निर्माणमा भूमिका खेल्ने भएकाले अनुसन्धान र नवप्रवर्तनका लागि विश्वविद्यालयजस्ता शैक्षिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘हामीलाई वातावरणीय क्षतिको आर्थिक लागत, दिगो विकासको आर्थिक फाइदा, र हरित अर्थतन्त्रका लागि लगानी गर्ने उपायहरूमा थप अनुसन्धान आवश्यक छ, म तपाईंहरूलाई विकास र समानताको सम्बन्धबारे गहिरो रूपमा सोच्न आग्रह गर्छु ।’ अर्थमन्त्री पौडेलले सबैभन्दा गरिब र कमजोर समुदायहरू नै वातावरणीय संकटबाटबाट बढी प्रभावित हुने बताए । जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र नभई यो सामाजिक न्यायको मुद्दा भएकाले सबै मिलेर आर्थिक विकासको लक्ष्यलाई समान र समावेशी बनाउनुपर्ने उनको भनाई छ ।
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान र यससम्बन्धी मान्यताहरु विकास भए पनि महिलालाई नेतृत्वमा पुग्न अझै धेरै चुनौती रहेको बताएकी हुन्। लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा. राणाको तर्क थियो । ‘संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्’, परराष्ट्रमन्त्री राणाले भनिन् । कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उनको भनाइ थियो । उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको बताइन् । नेपालमा आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेका कारण नेपालका लक्षित नीति र कार्यले केही सुधार भने ल्याइरहेको उनको तर्क थियो । उनले भनिन्, ‘हामीले महिला समानताका लागि लडेको धेरै भयो । अहिले भने हाम्रो संविधानले सङ्घीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालमा हामीले महिला राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीश पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।’ सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव लगायत विषयमा छलफल भएको थियो ।
जसले आफूलाई घर बनाएनन्, अरूलाई उद्यमी बनाए
काठमाडौं । दुई दशकअघि गुल्मीबाट व्यापार–व्यवसाय गर्न उनी काठमाडौं आएका थिए । सामान्य काममा हात हालेका उनले दिनरात नभनी अथक मिहिनेत र इमान्दारिताका साथ कर्म गर्दै गए । बिस्तारै सफलता पनि हात लाग्दै गयो । काममा उनले कहिल्यै सम्झौता गरेनन् । कामलाई सानो वा ठूलो पनि भनेनन् । मिहिनेत र परिश्रम नै कर्म हो भन्ने मन्त्र सधैं आत्मसाथ गरेर अगाडि बढे । यही मन्त्रले उनलाई सफलताको उचाइतिर अगाडि बढाउँदै लग्यो । र, एकदिन त्यो उनको पोल्टामा परिछाड्यो । जुन, सायद उनले सोचेका पनि थिएनन् होला । अथक मिहिनेत र कडा परिश्रमबाट उनले ‘नाम र दाम’ दुवै कमाए । पैसा कमाएपछि आरामदायी जिन्दगी बिताउने रहर मानवीय स्वभाव हो । पैसा कमाएपछि घरजग्गा जोडौं, देशविदेश शयर गरौं, अब धेरै दुःख किन गर्ने भन्ने भावना आममानिसमा उत्पन्न हुनु अस्वाभाविक पनि होइन । तर, गुल्मीका शंकर भण्डारी भने यो मामलामा ‘अपवाद’ देखिन्छन् । व्यापार–व्यवसाय नै गर्न भनेर काठमाडौं झरेका शंकरले आफन्तसँगै काम सिके । लगनसाथ आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा प्रवेश गर्न ज्ञान सिके, सिप पनि सिके । विडम्बना, आफन्तसँगको उनको सहयात्रा त्यति लामो समय अगाडि जान सकेन । तर, हस्पिटालिटी क्षेत्रमा अहिले पाएको सफलतामा तिनै आफन्तको देन भनेर शंकर भुल्न सक्दैनन् । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ । ‘मलाई धेरै पैसा कमाउँ, लक्जरियस लाइफ बिताउँ भन्ने नै लाग्दैन,’ शंकर सादगी सुनिन्छन्, ‘म एक सामान्य मान्छे हुँ, मैले कमाएको पैसा म सकेसम्म बिजनेसमै लगानी गरेर यसलाई अझ विस्तार गरौं भन्ने नै रहन्छ ।’ होटल–रेस्टुरेन्टबाट कमाएको पैसा घरजग्गा किन्ने, उपभोगमा खर्च गर्ने सोच उनमा कहिल्यै आएन । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ । २२ वर्षअघि २०५९ साल । काठमाडौं सुन्धारामा शंकरले आफन्तसँगको साझेदारीमा होटल सुरु गरे । काम गर्दै जाने क्रममा लामो समय सहकार्य नहुने देखिएपछि उनले होटलको साझेदारी छाडे । होटल छाड्दा उनीसँग ८० हजार रुपैयाँ थियो । त्यही पैसाले सुन्धारामै किराना पसल खोल्ने निर्णय गरे । ‘पसल सुरु गर्दा ८० हजार मात्रै थियो, त्यसमा पनि ३५ हजारको त समान राख्न र्याक नै बनाएँ,’ शंकर सम्झिन्छन्, ‘बाँकी ४५ हजार रुपैयाँको सामान हालेँ ।’ पसल उनले सोचेभन्दा राम्रो हुन थाल्यो । त्यो किराना पसल पाँच वर्ष चलाए । त्यो बेला उनको पसल सुन्धारा क्षेत्रकै ‘उत्कृष्ट’ पसल भएको उनी सम्झिन्छन् । ‘मैले यस क्षेत्रका सबैजसो होटललाई किराना सामान सप्लाई गर्थें,’ उनी भन्छन्, ‘त्यसबेला दैनिक डेढ लाखसम्मको व्यापार पनि भयो ।’ किराना पसलबाटै राम्रो व्यापार भए पनि उनको मन भने होटल व्यवसाय कसरी गर्ने भन्नेमै डुलिरहेको थियो । ‘किराना पसल मेरो लक्ष्य होइन, मैलै त योभन्दा राम्रो गर्न सक्छु भन्ने हिम्मत थियो,’ शंकर तत्कालीन योजना सुनाउँछन्, ‘त्यसपछि मैले फेरि होटल व्यवसायमा हात हाल्ने निर्णय गरेँ ।’ शंकरले २०६३ सालमा सुन्धारामै एउटा घर भाडामा लिएर होटल स्थापना गरे । उनको मनमा व्यवसाय गरेपछि ‘ब्रान्ड’ स्थापित गर्नुपर्छ भन्ने सधैं हुन्थ्यो । उनले ‘भोलि म नरहे पनि मैले सुरु गरेको ब्रान्ड रहोस्’ भनेर होटलको नाम राखे ‘प्रेसिडेन्ट होटल’ । उनले होटल सुरु गर्ने समय देशमा पनि विभिन्न आन्दोलन भइरहेका थिए । देशको राज्य सत्ता परिवर्तनसँगै शंकर पनि व्यवसाय गरेर जीवन परिवर्तन गर्ने सुरुमा थिए । ‘होटल सुरु गर्ने बेला पनि मसँग धेरै पैसा थिएन,’ उनी सम्झिन्छन्, ‘६ तलाको घरको दुई तलालाई मैले होटलमा रूपान्तरण गरेँ, बाँकी रहेका चार तलामा चिनेका साथीभाइसँग सरसापट गरेर त्यसलाई बढाउँदै लगेर एक वर्षमा पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याएँ ।’ निरन्तरको संघर्ष र मिहिनेतमा उनले सुरु गरेको होटलले राम्रो गति लिन थाल्यो । त्यसपछि यो गतिलाई थप उचाइ दिनुपर्छ भन्ने लाग्यो । २०६५ सालमा उनले फेरि सुनधारामै अर्को घर लिएर थप होटल सुरु गरे । दुवै होटलबाट सफलता मिल्दै गएपछि शंकरले २०६९ सालमा रुपन्देही (लुम्बिनी) मा १५ कोठाको होटल सुरु गरे । त्यसपछि २०७२ सालमा बालाजुमा २० कोठाको अर्को होटल पनि सञ्चालनमा ल्याए । गुल्मीको एक मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका शंकरको परिवारको व्यापार–व्यवसायमा टाढासम्म कुनै साइनो थिएन । पुस्तादेखि कृषि पेसा अँगाल्दै आएको परिवारमा होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गर्दै आएका शंकर मात्रै थिए । यो सफलता होटलमा मात्रै सीमित राख्न चाहेनन् शंकरले । त्यसपछि शंकरको मन रेस्टुरेन्ट व्यवसायतिर मोडियो । २०७३ सालमा सुन्धारामा ‘पे्रसिडेन्ट सेकुवा’ रेस्टुरेन्ट सञ्चालन गरे । ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ को नारा राखेर सञ्चालनमा ल्याइएको प्रेसिडेन्ट सेकुवाले छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि यसका आउटलेट पनि खुल्दै गए । करिब दुई दशकको यात्रामा प्रेसिडेन्टका १४ आउटलेटमा सञ्चालनमा छन् । सेकुवाको स्वादले धेरैको मन जितेपछि शंकरलाई थप रेस्टुरेन्ट खोल्ने हौसला मिल्दै गयो । उनले क्रमशः कलंकीको रविभवन, पुरानो बानेश्वरको बत्तीसपुतली, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा सुरु गरे । काठमाडौंमा मात्रै २० वटा आउटलेट खोल्ने शंकरको योजना छ । प्रेसिडेन्ट सेकुवा काठमाडौंमा ‘स्थापित ब्रान्ड’ भएको उनको दाबी छ । प्रेसिडेन्टकै नामबाट बेकरी पनि सञ्चालनमा ल्याएका छन् । आज (असोज ५ गते) शनिबारदेखि सिनामंगल एयरपोर्टमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । यसलगत्तै लुम्बिनीमा मायादेवी मन्दिरबाट ५ मिनेट दुरीमा प्रेसिडेन्ट होटल सञ्चालनमा ल्याउँदैछन् । साझेदारी बढाउँदै व्यावसायिक यात्राले सफलता पाउँदै गएपछि ‘अब एक्लै धान्न सकिँदैन, साझेदार पनि चाहिन्छ’ भन्ने शंकरलाई लाग्यो । त्यसपछि उनको प्रेसिडेन्ट बिजनेस ग्रुपमा विभिन्न साझेदार जोडिए । साझेदार संख्या अहिले २५ पुगेको छ । प्रेसिडेन्ट बिजनेस ग्रुप र गैरआवासीय नेपालीहरूको सहकार्यमा नेपालभरि १ अर्ब रुपैयाँ लगानीमा एयरपोर्टमा खुलेको होटलसहित १० होटल खोल्न लागिएको शंकर खुसीसाथ सुनाउँछन् । ‘कुल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभरि १० नयाँ होटल र रेस्टुरेन्ट खोल्ने घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं, यी होटल काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर, जनकपुर लगायत प्रमुख सहरमा बन्नेछन्,’ शंकर योजना सुनाउँछन्, ‘गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबीचको यस सहकार्यले नेपालको होटल उद्योगलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास छ ।’ प्रेसिडेन्ट ग्रुपमा हाल करिब ३ सय युवाले रोजगारी पाएका छन् । त्यसमा २५ देखि ३० जना फरक क्षमता भएका व्यक्ति छन् । शंकरसँग सुरुवातदेखि जोडिएका धेरै कर्मचारी साथीहरू नै उनको बिजनेसमा साझेदार छन् । ‘हामीले धेरै ठूला होटलभन्दा साना होटल र रेस्टुरेन्टलाई फोकस गरेर काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसमा नै सफलता हासिल गर्ने हाम्रो लक्ष्य हो ।’ प्रेसिडेन्ट सेकुवामा टिपिकल नेपाली स्वादका विभिन्न आइटम पस्किने जमर्को गरेको शंकर बताउँछन् । नेपाली खाना र त्यसको स्वादलाई इन्डियन, कन्टिनेन्टल, चाइनिज, इटालियन, थाई खानाहरूले पनि ग्राहकलाई सन्तुष्ट पार्ने कोसिस रहेको उनी बताउँछन् । ‘नेपाली खाना स्वाद मात्रै नभएर पहिचान समेत भएकाले यसैलाई हामीले सिग्नेचर डिसका रूपमा विस्तार गर्दै लगेका छौं,’ उनी भन्छन्, ‘प्रेसिडेन्ट सेकुवामा आउने ग्राहकलाई हामी सकेसम्म नेपाली खाना खान प्रेरित गर्छौं, पिज्जा, बर्गर हाम्रो पहिचान होइन, त्यसैले हामीले प्रेसिडेन्ट सेकुवामार्फत नेपाली मौलिक खाना पस्केका हौं । प्रेसिडेन्टले खानाको क्वालिटी, हाइजिन र क्वान्टिटीलाई मेन्टेन गरेको छ ।’ पर्यटनमा शंकरले देखेको सम्भवाना विगत कोट्याएर हेर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा धेरै ठूला दुर्घटना भए । यसले पनि यस क्षेत्रमा धेरै असर पारेको शंकर बताउँछन् । तर, नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएकाले आत्तहिाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘हरेक कुराका नकारात्मक र सकारात्मक पक्ष हुन्छन्, कोभिडपछि पर्यटन क्षेत्र चलायमान बन्दैछ, कमीकमजोरी त अझै पनि छन्,’ उनी भन्छन्, ‘नेपालीहरूमा पनि रेस्टुरेन्टमा खाने, घुम्ने, रमाउने कल्चरमा वृद्धि हुँदै गएको छ, जुन हिसाबले अन्य देशमा छ त्यो चाहिँ अहिले नभए पनि भोलिका दिनमा हुन्छ भन्नेमा हामी आशावादी छौं ।’ पाँच–सात वर्षदेखि नेपालको हस्पिटालीटी क्षेत्रमा काम गर्ने व्यवसायीहरूले एकाध बाहेक खासै मुनाफा आर्जन गर्न नसकेको शंकर बताउँछन् । तर, बिस्तारै यस क्षेत्रले फड्को मार्ने र धेरै मुनाफा आर्जन गर्नेमा उनी विश्वस्त छन् । ‘यो क्षेत्र आज लगानी गरेर भोलि नै प्रतिफल आइहाल्ने क्षेत्र होइन,’ उनी भन्छन्, ‘यसमा जसले धैर्य गर्न सक्यो, प्यासनमा अडिग रहन सक्यो, त्यसले नै प्रगति गर्न सकेको देख्दै आइरहेका छौं ।’ पछिल्लो समय नेपालको हस्पिटालिटी क्षेत्रमा ठुल्ठूला ब्रान्ड र लगानी भित्रिने क्रम जारी छ । भएका नाम चलेका चारतारे–पाँतारे होटल बन्द भएका पनि छन् । यो प्रस्पिर्धात्मक क्षेत्र हो । यहाँ आउने जाने क्रम चलिरहने शंकर बताउँछन् । ‘नेपाल आउने पर्यटक सबै पाँचतारे, चारतारेमा बस्ने मात्रै हुन्छन् भन्ने छैन, साना तथा मझौलामा बस्ने पर्यटक पनि आउँछन्,’ उनी भन्छन्, ‘यसै कारणले पनि यस क्षेत्रका सानादेखि ठूला व्यवसायीलाई व्यवसायमा थप हौसला मिलेको छ, दुर्घटनाले केही असर पारेको छ तर यसको असर लामो समय रहँदैन ।’ भर्खरै नेपाल पर्यटन बोर्डले नयाँ सीईओ पाएको छ । नेपालको पर्यटन प्रचार प्रसारमा बोर्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा शंकर आशावादी छन् । एयरपोर्टमा प्रेसिडेन्ट होटल काठमाडौंको एयरपोर्ट गेट नजिकै शनिबारदेखि सञ्चालनमा आउन लागेको प्रेसिडेन्ट होटलमा करिब ५ करोड लगानी रहेको छ । २५ कोठा रहेको उक्त होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउने शंकर बताउँछन् । नयाँ होटलले यात्रुका लागि विकल्पहरूको रोजाइ सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे । उक्त होटलमा पर्यटकहरूले तीनतारे र चारतारे आवास सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चारदेखि पाँच हजार रुपैयाँको बीचमा राखिएको उनी बताउँछन् ।
महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
म्याग्दी । कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रूपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो । क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए । ‘म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ,’ उनले भने, ‘उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।’ म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका ६ वटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् । अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो । तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताइन् । उनले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताइन् ।
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै १ अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व संकलन भएको थियो । प्रशासक लामिछानेले सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । ‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ,’ उनले भने । भन्सार विभागले गत साउनमा १६ अर्ब ८६ करोड ८७ लाख संकलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन भएको थियो ।