विकासन्युज

दुबईको प्रसिद्ध अल हरमेन परफ्युम अब नेपालमै

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरे । नेपालका परफ्युम पारखीहरूलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ । इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिश्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्शियललगायतका ब्रान्डका परफ्युम बिक्री गर्दै आइरहेको छ । इना सेन्टरले पाँचवटा विशेष शोरुमसहित अनलाइन ई–कमर्स प्लेटफर्मबाट पनि यी परफ्युम बिक्री गर्दै आइरहेको हाे ।

महाकाव्यकार मुना अर्याल महालक्ष्मी साहित्य पुरस्कार- २०८० बाट सम्मानित

काठमाडौं । महालक्ष्मी साहित्य पुरस्कार- २०८१ महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयाेजित एक कार्यक्रमका बीच उनलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई पुरस्कार प्रदान गरिएको हो । महालक्ष्मी साहित्य पुरस्कार २०५९ सालमा स्थापित भएकाे थियाे । भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ याे पुरस्कार स्थापित गरिएकाे हाे । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट हुने भएको छ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट (पटिहानी,चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । सम्झौताअनुसार बैंकका ग्राहकहरूले चितवन स्थित जंगल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइँ (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो । चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले रु ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु ३५ अर्ब बराबर ऋण तिरेको छ । त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण रु १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ भने यही अवधिमा ४ अर्ब ६७ करोड रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा एक खर्ब चार अर्ब पाँच करोड रुपैयाँ ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

ज्योति विकास बैंकले प्रदान गर्‍यो ६ जना बालबालिकालाई कृत्रिम हात

काठमाडौं । ज्योति विकास बैंकले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो । कृत्रिम हातले बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरू २६ जना बालबालिकालाई प्रदान गरिसकेकाे छ । ज्योति विकास बैंकले आफ्नो १६औैं वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौताअनुरूप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरिएको हाे । थ्रीडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ​ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

‘बैंकको ऋण तिर्नु हुँदैन’ भन्ने प्रसाईं पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध गरेको कसुरमा उनी पक्राउ परेका हुन् । प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियाे। साेही अनुमतिअनुसार व्यवसायी प्रसाईं आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । प्रसाईंले चरित्र हत्या गरेको भन्दै प्रहरी साइबर ब्युरोमा उजुरी परेको थियो । साेही उजुरीकाे आधारमा उनी पक्राउ परेका हुन् । प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गत वर्षकाे मंसिरमा राजतन्त्र फर्काउनेलगायत अजेन्डासहित बल्खुमा प्रदर्शन गरेकाे थियाे । पछिल्लो समय उनी ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने लगायतका सामाजिक विचलन ल्याउने किसिमका अभिव्यक्ति दिँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई पक्राउ गर्न पनि चुनौती दिँदै आएका थिए ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ११ दशमलव ५८ अङ्कले बढ्यो

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह शून्य दशमलव ३१, होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ । इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ ।

बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।