निगमले फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने, भाडा ७ हजार
काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । फूलपातीको दिन ए ३२० जहाजले काठमाडौं-भैरहवा उडान भर्ने निगमले जनाएकाे छ । निगमका प्रवक्ता रमेश पौडेलले पर्वकाे अवसरमा आन्तरिक उडानमा परेकाे चापलाई कम गर्न न्याराेबडी सञ्चालन गर्न लागिएकाे जानकारी दिए । आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो। निगमकाे वेबसाइट वा मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिन्छ ।
राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य, ओजेडको मूल्य ७९५० रुपैयाँ
काठमाडौं । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य बढाइएकाे जानकारी दिएकाे हो । सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धि कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णयअनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो । राष्ट्र बैंकका अनुसार यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ५ सय ५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९५० रुपैयाँ पुर्याइएको छ । यस्तै, ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँ पर्नेमा बैंकले उक्त सिक्काको मूल्य ७ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएकाे छ ।
नोटमा रङ्ग लगाउँदा जेल हाल्ने कानुन, कोरे पनि तीन महिना कैद
‘दशैं आयो खाउँला पिउँला’भन्दै गुनगुनाउँदै मनमा भएका अनेकौं पीडा बिर्सेर मन फुरुङ्ग पारी परम्परागत महान पर्वको स्वागतका खातिर नयाँ महँगा कपडा, दुई/चार खसीबोका, च्याङ्ग्रा किने जस्तो देखाउनै पर्ने, देवालयहरुमा खचाखचको भीड , अनि मध्यान्हको टन्टलापुर घाममा लामो लाइन लागेर भए पनि खुद्रा पैसा साट्नु र मध्यरात मै बसपार्क पुगेर लाईन बसी घर फर्किन टिकटको जोहो गरेपछि बल्ल हामी सबैलाई दशैं आएजस्तो लाग्नु स्वाभाविकै हो । बडो उत्साह, उमंगका साथ घर परिवार, छरछिमेक मिलिजुली टिका र जमरा थाप्दै हातमा दक्षिणा थाप्दाको मज्जा त झन बेग्लै भयो । तर, राज्यले बर्सेनि अरबौं रकम खर्चेर विदेशी मुद्रामा भुक्तानी गरेर छपाई गरी ल्याएका मुद्राको हिफाजत र जतन हामीले गरेका छौं या छैनौं भन्ने कुरामा हाम्रो हेक्का पुग्न सकेको छैन । देशको आफ्नै सेक्युरिटी प्रेस नभएको हुनाले यस्ता नोटहरु विदेशबाट छपाई गरि चलनचल्तीमा ल्याउन बर्सेनि ठूलो धनराशी खर्च भइरहेको छ । यसरी छपाई गरि ल्याइएको बैंक नोटलाई देशभित्र चलनचल्तीमा ल्याउन केन्द्रीय बैंकले आफ्ना विभिन्न प्रदेश स्थित कार्यालय, बैंक वित्तीय संस्थाहरु र नोटकोष मार्फत व्यवस्था मिलाएको छ । तपाईं हामीले प्रयोग गर्ने नोट कला, संस्कृति, सम्पदा र सभ्यताको प्रतिक तथा राज्यको सम्पत्ति हो । देशको इज्जत, प्रतिष्ठा त्यस देशका नागरिकको काम, व्यवहार र चालचलनले पनि देखाउँछ । हामीलाई दैनिक प्रयोगका लागि नयाँ नोट नै चाहिन्छ भन्ने छैन सफा र सुकिलो नोट प्रयोग गर्न सकिन्छ । हरेक बर्ष वितरण भएका यस्ता बैंक नोटहरु लामोसमय देखि बैकिङ्ग च्यानलका भल्टहरुमा रहेकोले थप नोट निस्कासन गर्दा थप नोटको परिमाणमा वृद्धि भई पुराना नोटहरु बिग्रने, मक्किने भै चाँडै यस्ता नोट नष्ट गर्नुपर्दा राज्यको करौडौं आर्थिक नोक्सानी हुनसक्ने जोखिमबाट जोगाउन यस वर्षदेखी केन्द्रीय बैंकले बैंकिङ्ग च्यानलमा रहेका यिनै सुकिला नोटहरुको व्यवस्थापन गरी वितरण गर्ने नीति लिएको छ । चलनचल्तीमा ल्याइएका यस्ता नोट केही समयपछि च्यातिने, फोहोर हुने र मैलो भए पश्चात् पुनः चलनचल्तीबाट खिच्ने दायित्व पनि केन्द्रीय बैंककै हुन्छ । नोट धेरै छिटो च्यातिने, बिग्रने र फोहर हुने प्रमुख कारण पनि हाम्रो आफ्नै काम, व्यवहार र हेलचेक्राई नै हो । नेपाली नोटमा जथाभावी कोर्ने र बिरुप पार्ने सम्वन्धी बिषयमा बैकको मौद्रिक नीतिले स्पष्ट कारवाही र निर्देशन दिएको छ भने नेपाल सरकारले अपराध संहिता कानुन २०७४ मा पनि स्पष्ट सजाय तोकेको छ । उक्त कानुनको परिच्छेद–२२ मुद्रा सम्वन्धी कसुरको महलको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न वा लेख्न नपाइने कुरा लेखिएको छ । यदि यस्तो काम गरिएको पाइएमा सोही दफाको १ वा २ वमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिना कैद र पाँच हजार रूपैयाँ सम्म जरिवाना हुनेछ भनी स्पष्ट व्यवस्था भएको छ । यसर्थ हामीले दैनिक जीवनमा प्रयोग गर्ने बैंक नोटको प्रयोग राम्रोसँग हिफाजत साथ गरौँ र गर्न सिकाऔं । रंग अबीर लागेका हातले नोट नछोऔं भनी बुबाआमा, हजुरबुबा, हजुरआमालाई पनि सिकाऔं साना नानीहरुलाई नोटमा कोर्न र च्यात्न हुदैन भनी बुझाउन प्रयास गरौं । हामी सबैले नोटको हिफाजत गरि सभ्य नागरिकको परिचय दिऊँ । (खतिवडा नेपाल राष्ट्र बैंकका प्रधान सहायक तथा नेपाली मुद्रा संकलक हुन् ।)
सानिमा बैंकले पहिरोपीडितलाई दियो २५ लाख रुपैँया
काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैँया सहयोग गरेको छ । अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
दशैं उत्सव: बजारमा किनमेल गर्नेको ठेलमठेल (फोटोफिचर)
काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् । तीन लाखभन्दा धेरैले काठमाडौं उपत्यका छाडिसकेका छन् । दशैं नजिकिएसँगै विभिन्न सामानहरू किन्न बजारमा उल्लेख्य भीड लागेकाे छ । काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा किनमेल गर्नेहरूकाे भीड देख्न सकिन्छ । साेही भीडलाई विकासन्यूजका फाेटाे पत्रकार साैगात पुडासैनीले तस्बिरमा खिच्ने जमर्काे गरेका छन् ।
साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन डब्ल्यूएचओसँग स्वास्थ्यमन्त्रीको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रूपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे । भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’ मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफै पनि स्रोत बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने । संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्यमन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्ने बताए । बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए । त्यसक्रममा एद्लेद नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए । उनले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए ।
हिमालयन ८०-२० को नगद लाभांश घोषणा
काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले हिमालयन ८०-२० को लाभांश घोषणा गरेको हो । हिमालयन क्यापिटल योजना व्यस्थापक रहेका हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०/२० का इकाईधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
खसीबोकाको स्वास्थ्य परीक्षण : दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
काठमाडौं । नेपालीहरूको महान चाड दशैं घर आँगनमै आइपुगेकाे छ । यसलाई खानपिन र रमाइलोको चाड पनि भनिन्छ । यो बेला माछामासु अन्य समयको तुलनामा बढी खपत हुने गर्छ । बजारमा माछामासुको माग बढिरहेको बेला ब्यापारीलाई पनि बढी मासु कसरी बिक्री गर्ने भन्ने होड चल्छ । यस्तो हुँदा विज्ञहरू भने स्वस्थभन्दा अस्वस्थकर मासु बढी बजारमा आउने सम्भवना हुने बताउँछन् । चाडबाडमा हुनसक्ने यस्तो कालोबजारी रोक्न विभिन्न निकायले अनुगमन गर्छ । तर, मासुको हकमा भने कुन स्वस्थ, कुन अस्वस्थ भन्ने विषयमा खासै छुट्याएको पाइँदैन । यसैको मौका उठाइ बजारमा अस्वस्थकर माछामासु हुनसक्ने भन्दै विज्ञहरू भने स्वस्थ्य माछा मासुमात्र खान आग्रह गर्छन् । चिकित्सकका अनुसार आजभोलि कुखुराको सानो बच्चामा विभिन्न किसिमका हर्मोनको प्रयोग गरी बजारमा ल्याउने गरेको पाइन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । ग्राण्डी इन्टरनेशनल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. प्रशान्त त्रिपाठी खसी बोकादेखि कुखुरामा सुइ लगाएर ठूलो पार्ने र त्यसैको मासु बजारमा ल्याउने गरेको बताउँछन् । ‘मासुले हाम्रो शरीरलाई प्रोटिन दिन्छ । तर, अस्वस्थकर खाँदा झन बेफाइदा गर्छ,’ उनी भन्छन्,‘ यो बेलामा मासु खाँदा निकै ध्यान दिनुपर्छ ।’ स्वास्थ्य परीक्षण चाडबाडमा नागरिकले अस्वस्थकर मासु खानसक्ने जोखिम हुने भन्दै पशुसेवा विभागले पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिरहेको छ । नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै पशुसेवा विभागले काठमाडौं उपत्यकालगायत देशभर पशुपंक्षीको स्वास्थ्य सुरु गरेको छ । विशेषगरी दशैंका लागि बजारमा ल्याएका पशुचौपाया र दोपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ । काठमाडौं उपत्यकामा भने विभिन्न १० ठाउँमा अहिले स्वास्थ्य चौपायाको परीक्षण भइरहेको विभागका सूचना अधिकारी डा. सुधीरकुमार सिंहले बताए । उनका अनुसार कलंकी, टुकुचा, खाद्य संस्थान, धापाखेल, चापागाउँ, टोखा, कपनमा रहेका हाटबजारबाट चौपायाको स्वास्थ्य परीक्षण भइरहेको छ । यस्तै, सुकेधारा, बालाजु बाइपास, लोकन्थली,दक्षिणकालीको चाल्नाखेलमा राँगा-भैंसी, सल्लाघारीमा च्याङ्ग्रा र भेडा, बल्खु कालीमाटीमा माछा, कुखुरा र हाँसको स्वास्थ्य परीक्षण जारी रहेको छ । घटस्थापनादेखि सुरु भएको स्वास्थ्य परीक्षण नवमीसम्म चल्नेछ । सूचना अधिकारी सिंहका अनुसार अहिले देशका ७ सय ५३ वटै स्थानीय तह जहाँ हाटबजार लागेर चौपाया बिक्रीवितरण भइरहेको छ । १३ हजार बढी पशुपंक्षीको परीक्षण विभागको पशु क्वारेन्टाइन महाशाखाका प्रमुख वरिष्ठ पशुचिकित्सक डा. राजेश यादवका अनुसार आइतबारसम्म १३ हजार बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा खसी ९ हजार ४ सय १३, बोका ४ सय २८, बाख्रा ४२, भेडा ३ सय ११,च्यांग्रा २ हजार ५ सय ९५,राँगाभैसी १ सय २८, कुखुराहाँस ८ सय १२ गरी जम्मा १३ हजार ७ सय २९ रहेका छन् भने माछा ५८.९२ मेट्रिकटन स्वास्थ्य परिक्षण गरिएको छ । यो अवधिमा एउटा पशुमात्र अस्वस्थ्कर भेटिएको छ । खसी, बोका बाख्रा, राँगाभैंसी, भेडा, च्याङ्ग्रा, हाँसकुखुरा र माछाको स्वास्थ्य परीक्षण जारी राखेको विभागले क्लस्टर छुट्याएर परीक्षण जारी राखेको छ । कसरी गरिन्छ जाँच ? खसी, बोका, बाख्रा, राँगा भैंसी र दोपाया कुखुरा, हाँस को स्वास्थ्य जाँच गर्दा विभिन्न किसिमले गरिन्छ । सबैभन्दा पहिले चौपायाको आँखा, छाला, नाक हेरिन्छ । एउटा स्वस्थ चौपायाको आँखा चम्किलो र स्पष्ट हुन्छ । उसको छाला सफा र चम्किलो र फुर्तिलो देखिन्छ । यस्तै, चौपायाको तौल र शरीरको संरचना सामान्य हुन्छ । डा. यादव पशु स्वस्थ वा अस्वस्थ थाहा पाउन कुनैपनि चौपायाका आँखा, नाकबाट केही बगिरहेको छ या छैन भनेर हेर्न सकिने बताउँछन् । यदि आँखा, नाकबाट केही बगेको छैन, पखाला पनि लागेको छैन भने त्यस्तो चौपायालाई स्वस्थ रहेको ठानिन्छ । कुनै चौपाया झोक्रयाएको छ, आँखा अनि नाकबाट पानी बगिरहेको छ, पखाला लागेजस्तो छ भने त्यसलाई अस्वस्थ मानिन्छ । अहिले विभागले चौपायाका लक्षणका आधारमा स्वास्थ्य जाँच गरिरहेको यादवले जानकारी दिए । परीक्षणका क्रममा अस्वस्थ भेटिएको चौपायालाई औषधी दिने गरिन्छ । डा. यादव भन्छन्, ‘सबै चौपाया र दोपायाको जाँच हेरेरै गरिन्छ, हेर्दै सद्यजस्तो छ, केही भएको छैन भने त्यसलाई स्वस्थ नै भनेर बजारमा पठाउँछौं ।’ यस्तै, दोपाया (कुखुरा, हाँस, आदि) जाँच गर्दा पनि यस्तै लक्षणहरू हेरिन्छ । स्वस्थ दोपायाकाे पखेटा सफा, चम्किलो, र टाँसिएको हुन्छ । पञ्जा मोटो र दुरुस्त देखिन्छ । आँखामा चमक र चोचो सफा हुन्छ । अस्वस्थ छ भने यसको फरक हुन्छ । स्वस्थ कुखुरा चलाख, उड्ने वा दौडने फुर्तिलो हन्छ, अस्वस्थ छ भने एउटै ठाउँमा बस्ने, खानेकुरा नखाने हुन्छ । स्वस्थ हरियो, अस्वस्थ रातो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष १ हजार ४ सय खसीबोका र तीन च्यांग्रा खरिद गर्ने योजना बनाएको छ । जसअन्तर्गत कम्पनीले अहिलेसम्म ६ सय ६८ खसीबोका र च्यांग्रा किनिसकेको छ । यस्तै, अन्य व्यवसायीहरूले पनि दशैंलक्षित चौपाया बजारमा ल्याएका छन् । बजारमा ल्याएका यिनै पशुचौपायाको स्वास्थ्य परीक्षण गरिरहेको पशुसेवा विभागले स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ चौपायाको सिङमा रातो लगाउने गरेको छ । पशु सेवा विभागका सूचना अधिकारी सिंहले सिङमा हरियो लगाएको खानयोग्य स्वस्थ र रातो लगाएको चौपायाको तत्काल खान अयोग्य वा अस्वस्थ भनी प्रमाण दिएकाले सिङमा हरियो स्प्रे लगाएको चौपाया मात्र खरिद गर्न आग्रह गरेका छन् ।