दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै
काठमाडौं । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा हो । मिथिला क्षेत्रमा दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्न हिन्दू मैथिलले तयारी गरेका छन् । षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास-२ का बासिन्दा मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता दिनेश झा बताउँछन् । सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिने गरिएको मैथिल परम्पराका जानकार महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय कृष्णचन्द्र झा बताउँछन् । दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती–बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ । पर्वविशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।
तीन दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य बढ्यो, चिनियाँ युआन स्थिर कायमै
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.११ रुपैयाँ र बिक्रीदर १४७.७७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१३ रुपैयाँ र बिक्रीदर १७६.११ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.५२ रुपैयाँ र बिक्रीदर १५७.२२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.०० रुपैयाँ र बिक्रीदर ९१.४१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.६८ रुपैयाँ र बिक्रीदर ९९.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८५ रुपैयाँ र बिक्रीदर १०३.३१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०३ रुपैयाँ र बिक्रीदर ९.०७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९६ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९३ रुपैयाँ र बिक्रीदर १२.९९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७३ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.५७ रुपैयाँ र बिक्रीदर ४३९.५२ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५७ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना
फाइल फोटो काठमाडौं । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिवाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् । केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ । क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३-०१-०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए । चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले जानकारी दिए ।
भूकम्पले दक्षिणतर्फ ढल्केको तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै
काठमाडौं । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । वि.सं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ । दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिए । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले २ करोड रुपैयाँ र पुरातत्व विभागले २५ लाख रुपैयाँ गरी कूल २ करोड २५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिए । समितिले १० करोड रुपैयाँको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । अबको ६ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उनले बताए । फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको ४ करोड ७० लाख रुपैयाँ समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ । कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताए । ‘मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ, प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ,’ सचिव बरालले भने । मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताए । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले दान सहयोग गरिरहेको उनले सुनाए । तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी, कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ । स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए । पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरुपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने त्रिपाठीले सुझाव दिए । तालबाराही मन्दिरमा दर्शन गर्न बाराही घाटबाट डुङ्गा चढेर जानुपर्ने हुन्छ ।
यसरी भयो सिन्धुलीमा गाडी दुर्घटना…
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा पर्यो । काठमाडौंबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो । घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले । दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे । घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा सघाएका थिए । घटनास्थलमै पुगेका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । साङ्ग्रिला विकास बैंकको एटीएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहिचान खुल्यो । अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउँछन् । हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उनको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताए । उनले भने, ‘काठमाडाँैबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो ।’ उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताए । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी काठमाडौंको चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।
राष्ट्रियस्तरमा उत्कृष्ट कृषक बनिन् नवलपुरकी रेग्मी
काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएकी छिन् । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट-१८ की कृषक रेग्मी पुरस्कृत भएकी हुन् । रेग्मीलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा (सुन्तला जात) व्यवसायतर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ तारिखमा विश्व खाद्य दिवस मनाउने गरिएकामा त्यस दिन दसैँ परेका कारण सोमबार नै मनाइएको विभागका महानिर्देशक डा नरहरिप्रसाद घिमिरेले बताए । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्रसङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरुप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको हो । उत्कृष्ट कृषकका रुपमा सम्मानित रेग्मीले गैँडाकोट–१८ को बसेनीमा लिफ्टिङ सिँचाइबाट फलफूल तथा तरकारीखेती गर्दै आएकी छिन् । उनी ७ वर्ष अगाडिदेखि करिब २ करोड रुपैयाँभन्दा बढीको लगानीमा ‘टीकारत्न टुल्कीदेवी कृषि फर्म’ मार्फत सुन्तला जातको फलफूलखेती गर्दै आएकी छिन् ।
आश्विन शुक्ल पञ्चमी : आज स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौँथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।
संकटमा बैंकको फराकिलो हृदय, अर्बपति बने कन्जुस
काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर अविरल वर्षा भयो । वर्षाका कारण देशका अधिकांश ठाउँ बाढी-पहिरो र डुबानमा परे । बाढी-पहिरोमा परी हालसम्म २४६ जना बढीको ज्यान गएको छ । साथै १७८ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा १३९ जनाको मृत्यु भएको बताइएको छ । मानवीय क्षतिसँगै अर्बाैंको पूर्वाधारमा क्षति पुगेकाे छ । हजारौं परिवारको बिचल्ली बनाएको छ । हजारौंका घर बगाएर सर्वसाधारणहरू खुला आकाशमा बस्न बाध्य छन् । देश बाढी-पहिरोको संकटमा परेका बेला सरकारले राहत तथा उद्धारका कार्य पनि जारी राखेको छ । तर, यस्तो बेलामा सरकार मात्रै एक्लैले सबै काम गर्न सक्दैन । त्यसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सरकारले नै आह्वान गरेको छ । सोही बमोजिम विभिन्न संघसंस्थाहरू निरन्तर सहयोग गरिरहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ५७ करोड ९७ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । एक साताको अवधिमा विभिन्न संघसंस्थाले कोषमा २० करोड रुपैयाँ सहयोग गरेका छन् । सहयोग गर्ने संस्था बढिरहेकाले आगामी दिनमा रकम बढ्न सक्ने देखिन्छ । सिटिजन्स बैंकको २५ लाख सहयोग अविरल वर्षासँग बाढी-पहिरो जारी थियो । सोही समयमा सिटिजन्स बैंकले बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्याे । अविरल वर्षाले बाढी, डुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरूमा ठूलो धनजनको क्षति भएपछि राहतस्वरूप बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले असोज १४ गते उक्त रकम कोषमा जम्मा गरिसकेको छ । भाटभटेनीको १ करोड ११ लाख रुपैयाँ भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री ओलीमार्फत उक्त सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् । अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको अध्यक्ष गुरुङले बताए । उक्त रकम असोज १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको २ करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितका लागि २ करोड रुपैंयाँ सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री ओलीलाई उक्त रकम बराबरको चेक रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम असोज १५ गते जम्मा भएको कोषले जनाएको छ । कृषि विकास बैंकको १ करोड ५० लाख रुपैयाँ कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ लगायतको उपस्थितमा प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गरिएको हो । आइएमई ग्रुपको ५ करोड रुपैयाँ आइएमई ग्रुपले हालै आएको बाढी, पहिरो र विपदमा सहयोग पुर्याउन ५ करोड रुपैयाँ रकम सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । प्रभु समूहको १ करोड ७५ लाख रुपैयाँ प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ, प्रभु क्यापिटल र प्रभु इन्सोरेन्स रहेका छन् । नेपाल बैंकको २ करोड रुपैयाँ सहयोग नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चेक हस्तान्तरण गरेका हुन् । प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले सहयोगको घोषणा गरेको हो । बैंकका तर्फबाट बाढी पीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ । नागरिक लगानी कोषको ५१ लाख सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । नेपाल एसबिआई बैंकको २५ लाख सहयोग नेपाल एसबिआई बैंकले पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् । एनएमबी बैंकको कोषमा ५१ लाख सहयोग एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । निर्माण व्यवसायी विकास परिषद्को १ करोड रुपैयाँ नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतले उक्त चेक हस्तान्तरण गरेका हुन् । कांग्रेसको ५० लाख सहयोग नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । एनआरएनएको १ करोड रुपैयाँ सहयोग गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रूपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले पहिलो चरणमा बाढीपीडितका लागि १ करोड रूपैयाँ सहयोग गरेको जनाएका हुन् । यस्तै, नेपाल इन्स्योरेन्सले ५० लाख, मेटलाइफ इन्स्योरेन्सले २५ लाख र ओरिएन्टल इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग गरेका छन् । विभिन्न देशमा यस्तो किसिमको संकट पर्दा त्यहाँका उद्योगी व्यवसायीहरूले हात फराकिलो पार्छन् । आफूले सकेसम्मको सहयोग सरकारलाई गर्छन् । अहिलेको बाढी पहिरोमा पनि देशका ठूला उद्योगपति तथा व्यवसायीहरुले सहयोग गर्लान् भन्ने अपेक्षा सरकारको थियो । तर, देशमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ठूला धनाड्य तथा अर्बपतिहरुले भने सरकारलाई सहयोग गरेको देखिएन । ठुलो उद्योगी तथा अर्बपति विनोद चौधरी, नेपालको ठूलो भनिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुप, शंकर समूह, खेतान समूह, मुरारका ग्रुप, शारदा ग्रुप, बैद्य अर्गनाइजेसन, पञ्चकन्या समूह, गोल्यान ग्रुप, दुगड ग्रुप, एमएस समूह, एनई समूह, एमएडब्लू ग्रुप अफ कम्पनिज, गोयन्ता ग्रुप लगायत ठूला व्यावसायिक घरानाहरूको नाम देश संकटमा परेको बेला सहयोग गर्नेको सूचिमा छैन ।