विकासन्युज

मेलम्चीको पानी आजै काठमाडौं ल्याइने

काठमाडौं । मेलम्चीको खानेपानी आजै काठमाडौंको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौं ल्याउन लागिएको हो । खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए । उनले भने, ‘काठमाडौंमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानी मन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ ।’ दसैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकामन्त्री यादवसहितको टोलीवार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो । वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताए । उनले भने, ‘मेलम्ची खानेपानी विकास समितिले काठमाडौं पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी ल्याउन छिटो हुनेछ ।’ विसं २०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीपछि मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौंमा हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

बजारसँगै घट्यो कारोबार रकम, मिड सोलुको सेयरमा लाग्यो सर्किट

काठमाडौं । आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से २७.३९ अंकले घटेर २ हजार ६६३.३२ बिन्दुमा रोकिएको छ । यसदिन कारोबारमा आएका दुई सय ७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३५ वटा कम्पनीको मूल्य भने बढेको छ । दुईवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । बजार घटेसँगै यस कारोबार रकम पनि घटेको छ । आज १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४५ हजार ८७० पटक किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । हिजो सोमबार ७ अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । बजार घटेपनि आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा बुटवल पावरको मूल्य ६.८३, माण्डु हाइड्रोपावरको मूल्य ६.३१, प्रभु स्मार्ट फण्डको मूल्य ५.९६ र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ५.४४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, इस्ट्रन हाइड्रोपावरको मूल्य ८.५०, बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ७.२४, नेपाल फाइनान्सको मूल्य ६.९८, बोटलर्स नेपाल तराईको मूल्य ५.८८ र कालिञ्चाेक दर्शनको सेयर मूल्य ५.५० प्रतिशतले घटेको छ । आज एनएलजी इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एशिया बैंक र गुडविल फाइनान्सको सेयर कारोबार उच्च रहेको छ ।

टर्किएको अटोमोटिभ निर्यात सेप्टेम्बरमा २०.९ प्रतिशतले बढ्यो

काठमाडौं । सेप्टेम्बरमा टर्किएको अटोमोटिभ निर्यात गत वर्षको तुलनामा २०.९ प्रतिशतले बढेर ३.४ बिलियन अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । टर्की निर्यातकर्ता सभाको तथ्याङ्कले वर्षको पहिलो नौ महिनामा उद्योग निर्यातमा ५.३ प्रतिशत वृद्धि भएको छ । जर्मनी शीर्ष निर्यात बजार रहेको छ । जसले ३.२ बिलियन डलरको टर्की अटोमोटिभ सामानहरू प्राप्त गरेको छ । बेलायतले ३.२ अर्ब डलर र फ्रान्सले ३ अर्ब डलर लिएको छ । इटाली र स्पेनले क्रमशः २.५ बिलियन डलर र १.८ बिलियन डलर आयात गरी शीर्ष ५ मा छन् । बेलायतले टर्किएबाट अटोमोटिभ आयातमा ७९६.७ मिलियन डलरको वृद्धिको साथ सबैभन्दा महत्त्वपूर्ण वृद्धि अनुभव गरेको  छ । रोमानिया, इटाली, स्लोभेनिया र संयुक्त राज्य अमेरिकामा पनि उल्लेख्य वृद्धि भएका अन्य हुन् ।

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा आर्थिक सहयोग

काठमाडौं । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले  दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरे । यसैगरी, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५५५ रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन, संयोजकमा पूर्वसचिव रामेश्वर खनाल

पूर्व अर्थ सचिव रामेश्वर खनाल । फाइल तस्बिर । काठमाडौं । सरकारले अर्थतन्त्र सुधारका लागि राय पेस गर्न आयोग गठन गरेकाे छ ।  पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन भएकाे हाे । सरकारका प्रवक्ता एंवम सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वअर्थसचिव खनालको संयोजकत्वमा विज्ञहरूकाे पाँच सदस्यीय आयोग गठन गरिएकाे हाे । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको उनले जानकारी दिए । आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकताअनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्शसमेत गर्नेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरू दिने विश्वास व्यक्त गरे । अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरूको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । आयोगले कार्यविधि आफै बनाउने छ । निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गर्दै आएको थियो । सरकारले त्यसको सम्बोधन हुनेगरी आयाेग गठन गरेको हो ।

बैंकको ब्याज निरन्तर घट्दा व्यवसाय खुम्चिने चिन्तामा बीमा कम्पनी, बोनसदेखि लाभांशसम्म धक्का

काठमाडौं । वाणिज्य बैंकरूले धमाधम निक्षेपको ब्याजदर घटाउँदा बीमा कम्पनीहरूलाई बिजनेस घट्ने चिन्ता थपिएको छ । वाणिज्य बैंकहरूले प्रत्येक महिना ब्याजदर घटाउँदा ठूलो रकम निक्षेपका रूपमा बैंकमा राखेका बीमा कम्पनीहरू यसले व्यवसाय घट्ने चिन्तामा छन् । पछिल्ले १३ महिनाको अवधिमा वाणिज्य बैंकको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३७.४४ प्रतिशतले घटिसकेको छ । २०८० को भदौमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर औसात ८.२८ प्रतिशत थियो । त्यसको १३ महिनापछि चालु २०८१ को असोज महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर औषतमा ५.१८ प्रतिशतमा झरेको छ । अर्थात गत वर्षको भदौको तुलनामा संस्थागत निक्षेपकर्ताको ब्याजदर ३७.४४ प्रतिशतले घटिसकेको छ । हाल बीमा कम्पनीहरुको कुल लगानीको ८५ प्रतिशत बढी रकम मुद्धती निक्षेपमा राखेका छन् । बैंकले भने प्रत्येक महिना संस्थागत मुद्दतिको ब्याजदर घटाउँदा बीमा कम्पनीलाई व्यवसाय घटेर नाफा समेत घट्ने धारणा राखेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म बीमा कम्पनीहरूले बैंकमा कुल ६ खर्ब ८ अर्ब ९० करोड रुपैयाँ निक्षेप राखेका छन् । पछिल्लो ९ महिनामा बीमा कम्पनीहरुले बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेपमा ७३ अर्ब २५ करोड रुपैयाँ लगानी बढाएका छन् । गत आर्थिक वर्षको असोज मसान्तसम्म बीमा कम्पनीहरुले मुद्दति निक्षेपमा ५ खर्ब ३५ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका थिए । नेपालमा हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले उक्त रकम मुद्दति निक्षेपमा राखेका हुन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको रकम मुद्दति निक्षेपमा छ । जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्म ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेका छन् । निर्जीवन बीमा कम्पनीले ५२ अर्ब ७१ करोड, लघु बीमा कम्पनीहरुले ३ अर्ब ५ करोड र पुनर्बीमा कम्पनीहरूले ३१ अर्ब २५ करोड रुपैयाँ मुद्दति निक्षेपमा राखेका छन् । कम्पनीको व्यवसायमा असर यसरी निरन्तर ब्याजदर घट्दा बीमा कम्पनीको आम्दानी घट्दा गई व्यवसाय विस्तारमा असर पुग्ने र कम्पनीको लाभांशमा पनि प्रभाव पर्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन् । यसले बीमितको बोनस दरमा पनि कमी आउने उनीहरूको भनाइ छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे मुद्दति निक्षेपको ब्याजदर घट्दा बीमा कम्पनीको नाफामा असर पर्ने बताउँछन् । बीमा कम्पनीहरूको अधिकांश रकम मुद्दति निक्षेपमा लगानी हुने भएकाले ब्याजदर घट्दा त्यसको नकरात्मक असर नाफामा सँगै बीमितलाई दिने बोनस र लगानीकर्तालाई वितरण गर्ने लाभांशमा समेत पर्ने उनको भनाइ छ । बीमा कम्पनीहरूको ठूलो रकम मुद्दति निक्षेपमा हुन्छ । केही वर्ष अघिदेखि मुद्दतिमा राखेको रकम म्याच्यूरिटी हुँदा फेरि मुद्दतिमा नै राख्ने अभ्यास कम्पनीहरूको छ । त्यसले गर्दा सस्तो ब्याजदरमा मुद्धती राख्नुपर्ने अवस्था आउने गरेको सीईओ पाण्डेको भनाइ छ । यसले बीमा कम्पनीको आम्दानीमा ह्रास आउने गर्छ भने कम्पनीको नाफा पनि घट्छ । उनका अनुसार बीमा कम्पनीहरूले सर्वसाधारणको रकमलाई बढी जोखिम नलिनका लागि मुद्दति निक्षेपमा राखेका हुन्छन् । बीमा कम्पनीहरूको नाफाको मुख्य स्रोत भनेको संकलन गरेको बीमाशुल्कलाई लगानी गरेर आम्दानी गर्नु हो । तर, सो रकमको ८५ प्रतिशत मुद्दतिमा रहँदा त्यसको नकरात्मक असर नाफामा पर्न जाने उनको भनाइ छ । घट्दो ब्याजदरको असर आगामी दिनमा देखिने अधिकृत पाण्डेले बताए । ‘अहिले विगतमा गरिएको मुद्दति निक्षेपको फल पाइरहेका छौं, सो निक्षेपको म्याच्युरिटी भएपछि घट्दो ब्याजदरमा नै लगानी गर्ने हो,’ उनले भने, ‘अहिले गरेको लगानीको फल आगामी दिनमा देखिन्छ ।’ बीमा कम्पनीहरूले ब्याजदर घट्दा लगानी गर्नु परेमा कम अवधिको लागि गर्ने र ब्याजदर बढ्दा दिर्घकालीन लगानीका लागि निक्षेपमा राख्ने अभ्यास छ । नेपाल बीमा प्राधिकरणका वित्त विश्लेषण शाखाका प्रमुख विरोध वाग्लेले निक्षेपको ब्याजदर घटबढले बीमा कम्पनीहरूमा सामान्य असरमात्र पर्ने बताए । उनले जीवन बीमा कम्पनीलाई सामान्य र निर्जीवन कम्पनीलाई धेरै असर पुग्ने धारणा राखे । ‘दीर्घकालसम्म ब्याजदर घटिरहे जीवन बीमा कम्पनीलाई पनि असर पर्न सक्छ, अहिले नै त्यति धेरै असर नपर्न सक्छ,’ उनले भने । प्राधिकरणका उपनिर्देशकसमेत रहेका वाग्लेले निर्जीवन बीमा कम्पनीहरुले दुई वर्षभन्दा धेरै अवधिका लागि मुद्दति निक्षेपमा राख्न नपाइने व्यवस्था भएकाले ब्याजदर घट्दा निर्जीवनलाई असर पुग्ने धारणा राखे । ‘जीवन बीमकहरूले १०/१५ वर्षका लागि निक्षेप राख्छन्, निर्जीवनले २ वर्षभन्दा धेरै अवधिका लागि निक्षेप राख्न पाउँदैनन्,’ उनले भने, ‘यसले गर्दा दुई वर्षमा डिपोजिट म्याच्युरिटी हुन्छ र फेरि रिन्यू गर्दा सस्तो ब्याजदरमा रिन्यू गर्नुपर्ने हुन्छ, यसले व्यवसाय र आम्दानीमा असर पर्न सक्छ ।’ बीमा कम्पनीहरूले सुरक्षित उपकरणमा मात्रै लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । त्यसैले पनि बीमा कम्पनीहरूले सुरक्षित उपकरणका रूपमा मुद्दति निक्षेपमा लगानी गर्ने गरेका छन् । विदेशतिर बीमा कम्पनीले ६० प्रतिशतभन्दा धेरै रकम सरकारी बोण्डमा राख्ने गरेको अभ्यास वाग्लेले सुनाए । प्रतिफल कम भए पनि जोखिम नहुने भएकाले सरकारी बोर्ड उनीहरूको रोजाइमा परेको उनले बताए । उनका अनुसार नेपालमा सरकारी बोण्ड कम जारी हुने भएकाले त्यसपछिको सुरक्षित क्षेत्र बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्नु परेको हो ।

दशैंमा पनि मानव अधिकार आयोग खुला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैं अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । आयोगले यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घट्यो

काठमाडौं । इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घटेको छ । २०२४ को सुरुवातदेखि जलमार्गमा जाने जहाजहरूको संख्या ४९ प्रतिशतले घटेको छ । स्वेज नहर प्राधिकरण (एससीए) का अध्यक्ष ओसामा रबील हालको अवस्था र लाल सागर क्षेत्रमा अभूतपूर्व चुनौतीले सिपरहरूलाई स्वेज नहरबाट टाढा वैकल्पिक नेभिगेसन मार्गहरू खोज्न अफ्ठ्यारो बनाएको बताए । एससीएका अनुसार आर्थिक वर्ष २०२२/२०२३ मा ९.४ बिलियन अमेरिकी डलरबाट आर्थिक वर्ष २०२३/२०२४ मा ७.२ बिलियन डलरमा झरेको छ । इजिप्टमा आर्थिक वर्ष जुलाई १ मा शुरु हुन्छ र जुन ३० मा समाप्त हुन्छ । गत अक्टोबरमा गाजा द्वन्द्व सुरु भएदेखि यमनको हुथी समूहले इजरायलसँग जोडिएको लाल सागरमा रहेका जहाजहरूमा बारम्बार आक्रमण गरेको छ । स्वेज नहर इजिप्टको लागि विदेशी मुद्राको एक महत्त्वपूर्ण स्रोत हो ।