ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, यस्तो छ इतिहास
काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बाेनस सेयर प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव विष्णु प्रसाद बाँस्कोटाले जानकारी दिए । बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख ३० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा
कमलामाई । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुगेका हुन् । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् । अहिले उनले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल जारी राखेका छन् । मन्त्रीहरु सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइको छ ।
चन्द्रागिरीद्वारा स्थानीय स्वेच्छिक मूल्यांकन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिँदै
काठमाडौं । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरी नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्यांकन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् । अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसंघमा प्रस्तुत गर्ने तयारीसमेत थालेको छ । चन्द्रागिरी यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशप्रसाद सिंह, संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्ना सिगर हाम्दी लगायतले संयुक्त रूपमा विश्व बसोबास दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ‘भिएलआर’ प्रतिवेदन सार्वजनिक गरे । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको चन्द्रागिरी नगरप्रमुख गिरीले जानकारी दिए । उनले भने, ‘दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसंघमा शीघ्र प्रस्तुत गर्छ ।’ सहरीकरणसँग सम्बन्धित तथ्यांक व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाले दातृ निकायका सहकार्यमा ‘कोभिड–१९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । सहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्यांकन एकापसमा अन्तरसम्बन्धित हुने बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, ‘सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने ध्येयलाई पूरा गर्न ‘स्थानीय स्वेच्छिक मूल्यांकन’ प्रतिवेदनले सहयोग पुर्याउँछ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै समुन्न नगर बनाउने हाम्रो प्रमुख ध्येय हो । यसैमा हाम्रा समग्र नीति, योजना तथा कार्यक्रम केन्द्रित छन् ।’ उनले नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथमा विशेष गरेर शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता क्षेत्रमा नयाँ ढंगबाट काम गरिरहेका जानकारी दिए ।
लिबर्टी माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त सेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।
भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण
जानकी । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री संकलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौं पठाइने प्रजिअ रिजालले जानकारी दिए ।
मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन, ज्यान गुमाउनेको सङ्ख्या शून्य
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट ३ हजार ७१० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । ‘लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो, उपचार केन्द्र प्रभावकारी बनेका छन्,’ उनले भने । मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा ५ लाख रुपैयाँ विनियोजन भएको अध्यक्ष गुरुङले बताए । रानीपौवाबाट मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो । सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए । उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक १० हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ । बिहान ६ देखि दिउँसो ३ बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८/७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०/८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए । ‘कम उचाइ भएको ठाउँबाट उच्च उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्छ, स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय हो,’ उनले भने । लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ । लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ । लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन्छ । मुक्तिनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने विश्वासका साथ तीर्थयात्री दर्शन र पूजाआजाका लागि आउने पुजारी कृष्णप्रसाद सुवेदीले बताए । अनुकूल मौसम, सडक यातायतको सहजता, होटल तथा लजको सुविधा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत स्वदेश तथा विदेशका उच्च पदका व्यक्तित्वको भ्रमण आदिका कारण मुक्तिनाथमा तीर्थालुको आगमन बढेको छ । आव २०८०/८१ मा सडकमार्ग भएर चार लाख २७ हजार जना पर्यटक भित्रिएको मुस्ताङमा केही दिनअघि सकिएको सोह्रश्राद्धको समयमा २० हजार जना आएका जिल्ला प्रहरी कार्यालयको अभिलेख छ । मुस्ताङ भित्रने अधिकांश पाहुनाको गन्तव्य मुक्तिनाथ मन्दिर हो । सोह्रश्राद्धमा कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) का रूपमा लिने प्रचलन छ । मुक्तिनाथ परिसरको एक सय आठ धाराको पानी मिसिने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व छ । हिन्दू धर्मावलम्बीले शालिग्रामलाई विष्णु भगवान्को अवतारका रूपमा पुज्ने गर्छन् । मुक्तिनाथमा तीर्थालु र पर्यटकको आगमन वृद्धिसँगै निजी क्षेत्रबाट सुविधा विस्तारका साथै सरकारी तवरबाट पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए । मन्दिर परिसरमा ढलान गरेर भक्तजन चिप्लिएर लड्ने समस्या हटाइएको छ । हेलोजिन लाइट जडान गरेर रातमा उज्यालो बनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले फोहर व्यवस्थापन गर्ने घर बनाएको छ । पुरातत्व विभागले मन्दिर परिसरको भूमिगत पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने संरचना बनाएको छ । धर्मगुरु त्रिदण्डी श्रीमन्नारायण रामानुज जीयरले मुक्तिनाथ मन्दिर परिसरमा विष्णु भगवान्को स्तम्भ बनाएका छन् । पर्यटन विभागमार्फत निर्माणाधीन रानीपौवा–मुक्तिनाथ मन्दिर जोड्ने पदमार्गले भने वर्षौसम्म पनि पूर्णता पाउन सकेको छैन ।
आगामी तीन महिनामा पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण-पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश भू-भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिए । वर्षाको आकलन कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण-पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ । कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छ भने कोशी प्रदेशको दक्षिणी भू-भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर-पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण-पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ । अधिकतम तथा न्यूनतम तापक्रम यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू-भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू-भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।