विकासन्युज

३ महिनामा लघु बीमा कम्पनीको व्यापार साढे ४० करोड, कुनको कति ?

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरूले साढे ४० करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।नेपालमा हाल सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरूले ३ महिनामा ४० करोड ६९ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये जीवन बीमातर्फ २२ करोड १३ लाख र निर्जीव बीमातर्फ १८ करोड ५६ लाख रुपैयाँको व्यापार भएको छ । जीवनतर्फ सबैभन्दा धेरै व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ अगाडि रहेको छ । गार्डियनले ८ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकल गर्दा क्रेष्ट माइक्रोले ७ करोड ९७ लाख र लिबर्टी माइक्रोले ५ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ । निर्जीवनतर्फ सबैभन्दा धेरै व्यापार नेपाल माइक्रोले गरेको छ । नेपाल माइक्रोले ५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

धनतेरसको दिन सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६८ हजार ५ सय

काठमाडौं । नेपाली बजारमा मंगलबार अर्थात धनतेरसको दिन सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको १ लाख ६७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

मानुषी लघुवित्तको सञ्चालक बने सिलवाल

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीए कमलप्रसाद सिलवाल नियुक्त भएका छन् । कार्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पदमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो । ‘उपरोक्त सम्बन्धमा यस मानुषी लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको कार्तिक १२ गते बसेको ८७ औं बैठकको निर्णयअनुसार सीए कमलप्रसाद सिलवाललाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक सदस्य पदमा नियुत्ति हुनु भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं,’ नेप्सेको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए एलन मस्क अर्थमन्त्री बन्ने चर्चा, प्रचार-प्रसारमा देखाए ‘ग्रिन सिंग्नल’

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अमेरिकाको नयाँ अर्थमन्त्री बन्न सक्ने अनुमानले अमेरिका गर्माएकाे छ । मस्कले राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लागि कस्सिएर प्रचार गरिरहेका छन् । ट्रम्पको जित्ने सम्भावना पछिल्लो समय निकै बढेको छ । यदि ट्रम्प राष्ट्रपति बने भने मस्कलाई २०२५ को फेब्रुअरीमा मन्त्रिपरिषद्का लागि मनोनयन गर्न सकिने विश्वास गरिएको छ । मस्कले अमेरिकाको बढ्दो ऋणप्रति चिन्ता व्यक्त गरेका छन् । आफू अर्थमन्त्री भए अमेरिकी बजेटमा कम्तीमा २ ट्रिलियन डलर बचत गर्न सक्ने उनको भनाइ छ । न्युयोर्कमा आइतबार ट्रम्पको समर्थनमा आयोजित र्‍यालीमा मस्कले भनेका थिए, ‘तपाईंहरूको पैसा बर्बाद भइरहेको छ । म अमेरिकी बजेटबाट कम्तीमा २ खर्ब डलर बचत गर्न सक्छु ।’ अमेरिकाको ऋण ३५.७ खर्ब डलर पुगेको छ र सरकारले वार्षिक १ खर्ब डलरभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । अमेरिकाको बढ्दो ऋणलाई आर्थिक आपतकालको संज्ञा दिँदै मस्कले यो संकट तत्कालै सामना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । मस्ककाे फाइदा मस्कले जसरी जनतासामु आफ्नो भावी रणनीति प्रस्तुत गरिरहएका छन्, त्यसले उनी देशको अर्थमन्त्री बन्ने अनुमान गरिएको छ । र्‍यालीमा ट्रम्पले मस्कलाई सरकारी खर्च कटौती गर्ने विभागको जिम्मेवारी दिने बताए । तर, आलोचकहरूले मस्कलाई यस्तो जिम्मेवारी दिँदा स्वार्थको द्वन्द्व सिर्जना हुने बताएका छन् । टेस्ला र स्पेस एक्सलगायत धेरै कम्पनीहरू मस्ककाे स्वामित्वमा छन् ।  उनका कम्पनीहरूसँग धेरै सरकारी सम्झौता छन् । मस्कका कम्पनीहरू विशेषगरी टेस्ला र स्पेस एक्स सरकारको नीतिबाट धेरै लाभान्वित भएका छन् । ट्रेजरी विभागका अनुसार यस वर्ष अमेरिकी सरकारको खर्च करिब ६.७५ खर्ब डलर हुनेछ । मस्कले यसको एक तिहाइ बचत गर्ने कुरा गरिरहेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले देशको ऋण घटाउने कुरा गरेका थिए तर उनले यस सम्बन्धमा कुनै खास योजना भने पेस गरेका छैनन् । मस्कले ट्रम्प र अन्य रिपब्लिकन पार्टीका उम्मेद्वारहरूका लागि कम्तीमा १३२ मिलियन डलर खर्च गरेका छन् । उनी २०२४ को चुनावमा सबैभन्दा बढी चन्दा दिने व्यक्तिहरूको शीर्ष सूचीमा समेत परेका छन् । मस्क २७२ बिलियन डलरको साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । (एजेन्सीको सहयाेगमा )

बालुवाटारमा १० हजार मानिस उतार्ने रास्वपाको रणनीति, रविको रिहाइ मुख्य माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) बालुवाटारमा विरोध गर्ने भएको छ । रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतारेर विरोध गर्ने भएको हो । सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले विरोध गर्ने भएको हो । रास्वपाले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेर अन्ततः बालुवाटारमा आन्दोलन गर्ने भएको हो । रास्वपा सचिवालका अनुसार चावाहिल‚ कोटेश्वर‚ कलङ्की चोक‚ ललितपुर‚ स्वयम्भु, वनस्थली बालाजु एरिया‚ सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली बालुवाटारमा आउनेछ । नेपाल प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेको थियो । उनलाई रास्वपा कार्यालयबाटै प्रहरीले पक्राउ गरेर पोखरा लगेको हाे । उनी हिरासतमा बसेको दुई साता भइसकेको छ ।  उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको छ ।

मन्त्रिपरिषदको बैठक बस्दै, ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी छलफल हुने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आह्वान गरिएकाे छ । बैठक मंगलबार पाँच बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयकाले जनाएकाे छ । आजकाे बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवादबारे छलफल हुने जनाइएकाे छ । साथै समसामयिक विषयमा पनि छलफल हुनेछ । पछिल्लाे समय ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवाद चुलिएकाे छ । पीडित तथा प्रताडित उद्याेगी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएकाे थियाे । यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले याे विवाद आफ्नाे कार्यकालभन्दा अगाडि सिर्जित भएकाे बताएका छन् । हिजाे बस्ने भनिएकाे मन्त्रिपरिषदकाे बैठक प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यस्तताले बस्न सकेकाे थिएन ।

ट्रयाक खोलिएको करिब २० वर्षपछि नुवाकोटको विदुरहुँदै धादिङ पुग्ने सडक कालोपत्र सुरु

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ । बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे । ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । ‘अहिले विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ’, उनले भने, ‘बाँकी रहने थप छ किमीसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ ।’ गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गनुपर्ने उल्लेख छ । बहुवर्षीय ठेक्का भएकाले चालु आवमा आठ करोड रुपैयाँ बजेट विनियोजन भएको छभने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए । ‘राईसिं–हर्कपुर–गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । हाल उक्त कच्ची सडकमा यात्रुबाहक सवारीसाधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सम्पन्न भएको छ । गत शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्ण रत्न माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमगरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु हो । विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ । कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।