विकासन्युज

माछापुच्छ्रे क्यापिटलले नवलपरासीको विद्यालयलाई गर्‍यो सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नवलपरासीको विद्यालयलाई सहयोग गरेको छ । क्यापिटलले कार्तिक ९ गते शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्राम ५, परासी, नवलपरासी स्थित ‘श्री आदर्श माध्यमिक विद्यालय’ लाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरू प्रदान गरेको छ । उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरू तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक तथा विद्यार्थी वर्गहरू तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरू उपस्थित थिए । धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीको रुपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ ।

उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

काठमाडौं । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो । छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिएका थिए । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्न नसक्ने अवस्थाबाट उद्योग चलिरहेको तर्फ सबैले चिन्ता लिएर उद्योगलाई बचाउन जरुरी रहेको बताए । निमित्त महाप्रबन्धक साहका अनुसार २०८१ साउन ६ गतेसम्मको तिर्नु पर्ने बाँकी दायित्वमा कर्मचारीहरुको तलव र नागरिक लगानी कोषको १२ करोड ७१ लाख, अवकास प्राप्त कर्मचारीहरुको ३२ करोड ४७ लाख, कर दायित्व १६ लाख, बैंक ऋण २ करोड, विद्युत प्राधिकरण डेडिकेटेड लाइन ३३ करोड ६४ लाख र कोइला तथा अन्य सामान सप्लायर्स दायित्व ६१ करोड ३१ लख रहेको छ । उद्योगका केमिष्ट तथा वरिष्ठ अधिकृत (सहायक नायव महाप्रबन्धक) कोविद काफ्लेका अनुसार अन्य दायित्वका कुरा छाडेर तत्काल उद्योग संचालनकालागि ५५ करोड रुपैया आवश्यक भएको र सरकारले यो उद्योग संचालन गर्न निजीकरणको बाटोमा नगई लिजमा दिएर संचालनको बाटो रोज्नु उपयुक्त हुने छलफलमा जानकारी गराएका थिए । छलफलमा बसेको एमालेको तर्फबाट एमालेकी पोलिटव्युरो सदस्य तथा संविधानसभा सदस्य मञ्जु कुमारी चौधरीले उद्योग उदयपुरको गौरव र गहनाको रुपमा रहेकोले यसलाई निजिकरण हुनबाट बचाएर संचालन गर्न कसरी सहज हुन्छ मन्त्री स्तरमा, मन्त्रीपरिषद्मा छलफल गरेर अघि बढ्नु पर्ने र कर्मचारी तथा मजदुरहरुले पनि यो मेरो उद्योगको मात्र नभएर जीविकोपार्जन गरिरहेको रोजगारदाता भएकोले मैले इमान्दार भएर काम गरेमा यसको उन्नति प्रगति हुन्छ र मेरो भविष्य पनि यसले बनाउँछ भन्ने सोच राखेर काम गर्नु पर्ने धारणा राखे । नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापाले उद्योगको समग्र वर्तमान अवस्था अध्ययन गरेर सुधारकालागि आवश्यक पहल र छलफल गर्दा राम्रो हुने र उद्योग स्थानीय जनताको हितमा संचालन हुनु पर्ने बताइन् । एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा उदयपुर निर्वाचान क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझीले उद्योगलाई निजिकरणबाट जोगाएर संचालन गर्न सकिने उपायका बारेमा उद्योगमन्त्री, प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल गरेर अघि बढ्नु पर्ने धारणा राखेका थिए । सोमबारको छलफलमा यस अघि पनि उद्योगमन्त्रीसँग छलफल भएको तर उद्योगमन्त्री सकारात्मक नभएको हुँदा उद्योगको अवस्था झन कमजोर भएकोले पुःन एक पटक उद्योग बचाउनकालागि अनुरोध गर्ने र केही नलागेमा निजिकरण नगरी लिजमा दिएर संचालनको मोडालिटी बनाउने कुरामा सहभागी सबै सहमत भएका छन् । रत्ना रिर्सोटमा भएको सोमबारको छलफलमा उद्योगका तर्फबाट निमित्त महाप्रबन्धक महेश प्रसाद साह, सहायक नायव महाप्रबन्धक कोविद् काफ्ले, वरिष्ठ इन्जिनियर हरि अधिकारी, गंभिरजंग खत्री लगायतका सहभागी भएका थिए भने नेकपा एमालेका तर्फबाट पोलिटव्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणी राउत, उदयपुर २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी, कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, उदयपुर जिल्ला कमिटी अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उपसचिव द्वय गंगा राई र हेम खड्का लगायत सहभागी रहेका थिए ।

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी । स्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए । उनका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् । मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिए । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । ‘बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ’, पुजारी सुवेदीले भने । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुगेकाका शालिकराम रिजालले बताए । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताए । उनका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् । रासस

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी, युवा विदेश जानुभन्दा देशमै काम गर्दा राम्रो

ढोरपाटन । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । घर्कँदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन् । काम गर्ने जोस जाँगर पनि उनमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ । उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले विसं २०५० देखि व्यावसायिक रूपमा मौरीपालन गर्न थालेका हुन् । तीन दशक मौरीपालन गरेका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागती खेती समेत गर्न थालेको बताए। उनको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उनले सुन्तलाका तीन सय र कागतीका एक सय ५० बोट लगाएका छन्। ती बिरुवाले बिस्तारै फल दिन थालेको उनले बताए । जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रूपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आएका छन् । उनी अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि छन् । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पुर्‍याउँदा उनीहरूलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गरे । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उनले सबै खर्च कटाएर १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको जानकारी दिए । ‘विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरी पालनतर्फ लागेँ’, उपाध्यायले भने, ‘मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।’ मह प्रतिकेजी  एक हजार तीन सय रुपैयाँमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उनले बताए । महको माग निकै बढेको हुँदा पुर्‍याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उनको भोगाइ छ । मौरी पालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मान्ने उनले पहाडी क्षेत्र मौरी पालनका उपयुक्त हुने धारणा राखे । उपाध्यायले भने, ‘विसं २०४८ तिर मौरी पालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रूपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पुर्‍याउन सकिरहेका छैनौँ ।’ युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उनले जोड दिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए। किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उनले उल्लेख गरे । पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताए । रासस

पाल्पामा सयपत्री फूलको माग उच्च

रामपुर (पाल्पा) । ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उनको व्यस्तता बढ्न थालेको छ । यस व्यवसायबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको उनी बताउछन् । करिब चार रोपनी क्षेत्रफलमा फूलखेती गरिहरेका छन् । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उनी बताउछन् । यसपटकको तिहारमा दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ । ‘तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको हो, सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्त यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्’, उनले भने, ‘चुनौतीका बाबजुद पनि व्यवसाय सुरु गरियो, पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइएको छ ।’ यहाँ उत्पादन भएको फूल प्रतिकिलो रु पाँच सय खुद्रा, होलसेल चार सय रुपैयाँ, प्रतिमाला एक सय ५०  रुपैयाँ खुद्रा, होलसेल एक सय २० रुपैयाँ कायम गरिएको छ । बुटवल, नेपालगञ्ज, तानसेनलगायत विभिन्न बजारबाट फूल मालाको माग धेरै आएको लालबहादुर थापा बताउछन् । रामपुरमा फूल मालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिए । ‘तिहार सुरु नहुँदैदेखि नै फूल मालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनौँ, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्‍याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ’, उनले भने । उनीहरूले विगत पाँच/छ वर्षदेखि निरन्तर रूपमा व्यवसाय गरिरहेका छन्। यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ । यस जातबाट उत्पादन राम्रो हुने भएपछि कर्मा ५५५ लाई रोजाइमा पारेका छन् । दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरिरहेका छन् । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ । रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि यस वर्ष सयपत्री फूल मालाको माग रामपुर बजारमा बढेको छ । रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न संघसंस्थामा फूल लगाउन थालिएको छ । यहाँबाट बिरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ । यतिबेला ढकमक्क फुलेको फूलमा रमाउँदै तस्बिर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ । रामपुर नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ । नगरपालिकाको सहयोगमा एकहप्ते पुष्प व्यवसाय तालिम लिएर व्यवसाय थालनी गरिएको व्यवसायीले बताएका छन् । यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूलखेती हुने गरेको छ । नगरपालिकाभित्र हुने विभिन्न संघसंस्थाको सभासमारोह, कार्यक्रम, विवाह, व्रतबन्ध, शुभ कार्यलगायतमा राम्रो खपत हुने गरेको छ । रासस

प्रसादको मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् । अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताएका छन् । उनीहरू सबैको अवस्था सामान्य छ । आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए । बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ भने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए । दुई जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

काठमाडौं । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिए। उनले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताए । टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौं उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ । उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ । हाल देशभर चार हजार नौ सय ९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शककोे रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण पथप्रदर्शकलाई अनुरोधसमेत गरेको छ ।

एनपीएल घटेपछि ग्रामीण विकास लघुवित्तको नाफा ३०.६० प्रतिशत बढ्यो

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा ३०.६० प्रतिशत बढेको हो । असोज मसान्तसम्म लघुवित्तले ३२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा २५ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको तीन महिनाका लघुवित्तको नेट पि एण्ड कमिसन आम्दानी ३ करोड ३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ करोड २६ लाख रुपैयाँ, सञ्चालन नाफा १५ करोड ४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ७५ करोड रुपैयाँ छ भने ३ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ६.८५ रुपैयाँबाट बढेर ८.९५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४.८८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.७६ गुणा रहेको छ । यसअवधिमा लघुवित्तले खराब कर्जा (एनपीएल) स्वाट्टै घटाएको छ । गत वर्ष ११.५ प्रतिशत रहेको खराब कर्जा असोजमा ४.७८ प्रतिशतमा झारेको छ । लघुवित्तको आधार दर ११.४८ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.७३ प्रतिशत रहेको छ ।