अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै प्रारम्भिक मतदान गरेका छन् । आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने निर्णय गरेका बाइडेनका लागि यो तितोमिठो क्षण हो । राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गरेका हुन् । राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खेका थिए । अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।
हाइड्रोमा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँ पुगेको छ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले देशलाई लोडसेडिङमुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको बताएकाे छ । मंगलबार पत्रकार सम्मेलन गर्दै इप्पानले यस्ताे बताएकाे हाे । आफ्नो २५ औं वार्षिकोत्सव मनाउन लागेकाे जानकारी दिँदै इप्पानले निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य भएकाेमा हर्ष प्रकट गरेकाे छ । इप्पान विसं २०५७ साल माघ ४ गते स्थापना भएकाे थियाे । यसले नेपालको ऊर्जा विकासका लागि २५ वर्ष समर्पित गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । देशको कुल विद्युत जडित क्षमता ३ हजार २ सय ३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २ हजार ५ सय ४८ मेगाबाट अर्थात् कुल जडित क्षमताको करिब ८० प्रतिशत विद्युत उत्पादन भइरहेकाे इप्पानले जनाएकाे छ । साथै ३ हजार ९ सय ४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन र ४ हजार ५ सय ४५ मेगावाट क्षमताका आयोजनाहरू विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, १२ हजार ५ सय मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा रहेका छन् भने त्यति नै क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेकाे इप्पानले जनाएकाे छ । इप्पानका अनुसार आयाेजनाकाे अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ । रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरू दिने इप्पान कार्यसमितिको १८७ औं बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तिकाे लागि छुट्टै लाेगाे र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनजी प्रस्पोरेटी’ रहेको छ। उक्त दिन दुईवटा प्यानल डिस्कसन आयोजना गरिने पनि बताइएकाे छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरूबारे मन्चन हुनेछ । त्यस्तै, रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यकमहरूकाे पनि आयोजना गरिने जनाइएकाे छ ।
६ वर्षयताकै उच्च लाभांश बाँड्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकको घोषणा, यस्तो छ इतिहास
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ वर्ष यताकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन ६ वर्ष अर्थात आर्थिक वर्ष २०७३/७४ यताकै उच्च हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यसअघि बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आव २०७८/७९ मा १६.५१ प्रतिशत, आव २०७७/७८ मा १३.०६ प्रतिशत, आव २०७६/७७ मा ११.८४ प्रतिशत, आव २०७५/७६ मा २२.५ प्रतिशत, आव २०७४/७५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, बैंकले आव २०७३/७४ मा १०५.२६ प्रतिशत, आव २०७२/७३ मा ३५.०८ प्रतिशत, आव २०७१/७२ मा ४४.२१ प्रतिशत, २०७०/७१ मा ५१.५ प्रतिशत लाभांश वितरण गरेको इतहिास छ । यस्तो छ लाभांश इतिहास
नेप्सेमा ९९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से) ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद बापदको ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजी ९९ करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
एनआइएमबि एसले ल्यायो धनतेरस योजना, १ हजार इकाई उपहार पाउने
काठमाडौं । एनआइएमबि एस क्यापिटलले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । जसअन्तर्गत तीनजना भाग्यशाली विजेताहरूले १ हजार इकाई उपहारस्वरूप पाउनेछन् । यसका लागि ग्राहकहरूले एनआइएमबिबाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । कार्तिक १३ गते राति ११:५९ बजेसम्म रजिस्ट्रेशन गरेकाेहरू मात्र लक्की ड्रमा पर्ने क्यापिटलले जनाएकाे छ । विजेताहरूको घोषणा कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत गरिनेछ । एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्डअन्तर्गत विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै आएको छ ।
दाहालसहित माओवादीका १३ नेताविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । युवराज पौडेल ‘सफल’ले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी हालेका छन् । सफलले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै उजुरी हालेका हुन् । उजुरीमा राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतापछि लडाकु समायोजन र अवकाशका लागि सरकारी कोषबाट ६ वर्षको अवधिमा झण्डै २० अर्ब रुपैयाँ खर्च भएको थियाे । यो रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन थालेको बताएपनि पछि सामसुम पारिएको थियो । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले ५५ करोड बेरुजु देखाएको थियो । करिब ४ अर्ब माओवादी नेतृत्वले हिनामिना गरेको आरोप लाग्दै आएको छ । लडाकु शिविरमा घोटाला भएको प्रसंग पटक-पटक उठेपछि माओवादी अध्यक्ष दाहालले क्यान्टाेनमेन्टमा दोषी देखिए जेल जान तयार रहेको बताएका थिए । उजुरी पढ्नुहोस् [pdf id=519793]
मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते
काठमाडौं । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मंगलबार बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए । भिडियोमा त्यसपछि एउटा भवन भित्रबाट चर्को आवाज सुनिन्छ र एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ । ‘करिब आठ जनाको अवस्था गम्भीर छ र करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्’, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भने, ‘उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।’ द्यवैयाले फुटेका पटाकाका झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेको बताए । भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् । स्थानीय सरकारी अधिकारी के। इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ । भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ । सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो । भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ । यो भव्य र रङ्गीन चाडले हिन्दू देवी लक्ष्मीको पूजा गर्छ र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्छ । पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ । राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ । हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन् । रासस
वैदेशिक रोजगार बीमा: पुलमा गएपछि सुस्ताए नेपाल र आइएमई, आक्रामक बन्दै सन र एशियन
काठमाडाैं । वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लागू गरेपछि केही कम्पनीको व्यवसाय सुस्ताएको छ भने केही कम्पनी झन आक्रामक बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणले गत साउन एक गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लगेको छ । पुल प्रणाली लागु भएपछि नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको व्यपार घटेको छ । यसैगरी, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल इन्स्योरेन्स व्यापारमा उच्च वृद्धि भएको छ । नेशनल लाइफको व्यापारमा सामान्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांकलाई गत आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा यस्तो देखिएको हो । चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकलाई हेर्ने हो भने व्यवसाय वृद्धिमा एशियन लाइफ अगाडि छ । एसियन लाइफले गत आवको सोही अवधिको तुलनामा १६६.९६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । एशियल लाइफले चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगारी म्यादी जीवन बीमातर्फ ११ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसैगरी, सन नेपालले १०४ प्रतिशतले व्यापार वृद्धि गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले गत आवको सोही अवधिमा १६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यता आईएमई लाइफ इन्स्योरेन्सको व्यापार ८५ प्रतिशतले खस्किएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा पोर्टफोलियोअन्तर्गत चालु आवको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, नेपाल लाइफको व्यापार ५४ प्रतिशतले घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको सोही कम्पनीले गत आवमा १४ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसैगरी, सिटिजन लाइफको व्यापार ४३ प्रतिशतले, रिलायबल लाइफको ४० र सूर्यज्योति लाइफको व्यपार २८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षदेखि लघु बीमा कम्पनीहरूले पनि वैदेशिक रोजगारी म्यादी जीवन बीमा पोलिसी बिक्री गर्न थालेका छन् । पहिलो त्रैमासमा गार्डियन माइक्रो लाइफले ५६ हजार, क्रेष्ट माइक्रो लाइफले ९६ हजार र लिबर्टी माइक्रो लाइफले ३ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।