विकासन्युज

१५ वर्षका लागि २ वटा घर भाडामा लिँदै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले घर भाडामा लिने भएको छ । बैंकले दुई वटा शाखा कार्यालय स्थापनाका लागि घर भाडामा लिने भएको हो । बैंकले काठमाडौंको बालुवाटार र ठमेल क्षेत्रमा शाखा कार्यालय स्थापनका लागि घर भाडामा लिने जनाएको छ । २ हजारदेखि २ हजार ५ सय वर्गफुटसम्म क्षेत्रफल भएको घर भाडामा लिने बैंकले जनाएको छ । भाडामा दिन इच्छुक घरधनीहरूले १५ दिनभित्र भाडा रकमसहित बोलपत्र पेश गर्नुपर्नेछ । भाडामा दिइने घर सार्वजनिक बाटोको क्षेत्रमा नपर्ने गरी निर्माण गरेको तथा घरको नक्सा सम्बन्धित निकायबाट पास भएको हुनुपर्ने, घरको भुई तल्लामा मूलसडक तर्फ एटीएमको लागि ५ फिट १० फिट क्षेत्रफल भएको कोठा उपलब्ध गराउनुपर्नेछ । घरमा जेनेरेटर राख्नको लागि आवश्यक स्थान, गार्ड रुमको लागि १ वटा कोठाको समेत व्यवस्था हुनुपर्ने, घर भाडामा दिने अवधि शुरुमा कम्तिमा १५ वर्षको हुनेछ र तत्पश्चात आपसी समझदारीबाट नविकरण गरिने बैंकले जनाएको छ ।

२७५ रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर किन्ने मौका

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तले आज कात्तिक १३ गतेदेखि संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो । लघुवित्तले संस्थापक समूहको २८ हजार ३०१ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २७ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको उक्त सेयर बिक्री प्रबन्धकको कार्य भने मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले कम्तिमा १० हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ ।

सीईडीबी हाइड्रोको नाफामा २०२ प्रतिशत उछाल, यस्ता छन् अन्य सूचक

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको आम्दानी बढेपछि खुद नाफा २०२.२८ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशत बढेर १० करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । कम्पनीको प्रशासनिक खर्च ४२.७२ प्रतिशत बढेर ८८ लाख रुपैयाँ र कुल खर्च ४१.३९ प्रतिशत बढेर ८९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३.२१ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ छ भने जगेडा कोष ०.३९ प्रतिशत घटेर ४८ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २०.८० रुपैयाँ बढेर ३५.११ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।

अष्ट्रेलियन डलरको मूल्य ८८.६७ रुपैयाँमा झर्याे, साउथ कोरियन वनको ९.७० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.२१ रुपैयाँ र बिक्रीदर १४५.८६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.२१ रुपैयाँ र बिक्रीदर १७४.९९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.९६ रुपैयाँ र बिक्रीदर १५५.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.६७ रुपैयाँ र बिक्रीदर ८९.०६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६२ रुपैयाँ र बिक्रीदर ९७.०५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५४ रुपैयाँ र बिक्रीदर १०१.९९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७८ रुपैयाँ र बिक्रीदर ३०.९२ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६६ रुपैयाँ र बिक्रीदर १२.७२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४७ रुपैयाँ र बिक्रीदर १९.५५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७६ रुपैयाँ र बिक्रीदर ४३९.७२ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०२ रुपैयाँ र बिक्रीदर ३५७.६१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

i1.wp.com काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् । तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ । ‘८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्,’ अध्यक्ष भडारीले भने, ‘४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।’ राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताए । गत साउनमा छ दशमलव २७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र जलविद्युत् गृहको अधिकांश संरचना निर्माण सकिएका उनले जानकारी दिए । तुदी पावरका दुई आयोजना अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। राहुघाटको बाँधदेखि करिब ४ सय मिटर माथि अपर राहुघाटको विद्युत गृह छ । १४ अर्ब रुपैयाँ लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताए । प्रसारण लाइनको पर्खाइमा ठूलोखोला संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१.२ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि ६.०६ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो । उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताए । २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ । राहुघाट र आसपासका खोलामा ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन् । प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने जलविद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन् । मालिका गाउँपालिका-७ बिमबाट रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए । ‘३० महिनाको अवधिमा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ, राहुघाटमा कमजोर भू-बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादले आयोजना निर्माण अवधी लम्बिएको हो,’ उनले भने । १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए । अम्बाङमा सबस्टेसन बनाउन ५ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन् ।

तिहार विधिवत् रुपमा आरम्भ, आज धनतेरस

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा. अधिकारीले जानकारी दिए । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे । उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन । गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ । भाइटीका कात्तिक १८ गते ११ः३७ बजे कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ । बडादसैँमा सुनसान प्रायः हुने काठमाडौं उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बनेको छ । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्नैपर्छ भन्ने मान्यताले पनि कतिपयलाई आकर्षण गर्दछ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिले भने विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ । कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसबाट कतिले जीतको आनन्दका साथै कतिले हारको नरमाइलो अनुभव पनि सँगाल्ने गर्छन् । धेरै पैसा राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । संस्कृतिका नाममा यस्ता विकृतिको भने अन्त्य हुनुपर्ने आवाज पनि उठ्ने गरेको छ । दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।

गुरुङको दानमा पार्टी कार्यालय नबनाउन एमालेलाई सर्वोच्चको रोक, अल्पकालीन अन्तरिम आदेश जारी

  काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएकाे जग्गामा एमालेले पार्टी कार्यालय बनाउने निर्णयविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ । अधिवक्ता ज्ञानकुमार बस्नेतले रिट दायर गरेका थिए । साेही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गरेकाे हाे । उक्त दानको लेनदेन प्रक्रिया तत्काल अघि नबढाउन सर्वाेच्चले आदेश दिएकाे छ । अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई कात्तिक २६ गते बोलाएको छ । उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन मागसमेत गरेको छ । सर्वोच्चका अनुसार भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिनु प्रथम दृष्टिमै कानुनप्रतिकूल रहेकाे छ । एउटा दलविशेषलाई पोस्नेगरी एकजना व्यवसायीले यति ठूलो लगानी गरेपछि त्यसबाट निर्वाचनसमेत प्रभावित हुन सक्ने सम्भावतातर्फ पनि अदालतको आदेशले इंगित गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङले काठमाडौंको कीर्तिपुरमा एमालेका लागि १० रोपनी १४ आना जग्गा उपलब्ध गराई भवन बनाइदिने घाेषणा गरेका थिए ।

भाइटीकाको शुभसाइत कात्तिक १८ गते ११:३७ बजे, पश्चिम मोहडा गरेर टीका लगाउनु उत्तम

  काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको साेमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।