माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ । जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ । साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ । एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, ‘आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं यो एक नवीनतम विद्युतीय सवारी साधन हो । जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन भी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।’ एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, ‘फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, १ लाख भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ । माउन्टेन ईभी आनो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको ह।’ माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ।
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० मंगलबार अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए । कतार एयरवेजले अब नियमित रुपमा दोहा–भैरहवा–काठमाडौं–दोहा ‘रुट’मा एक उडान गर्नेछ । उक्त विमान कम्पनीले आगामी मङ्सिर १५ गतेसम्म गौतमबुद्ध विमानस्थलमा उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरसँगै गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या पाँच पुगेको छ । यसअघि उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले सेवा प्रारम्भ गरिसकेका छन् ।
चीनमा २०२३ मा २.४४ ट्रिलियन चुरोटको खिल्ली बिक्री, सरकारी कम्पनी नै धूम्रपान नियन्त्रणमा बाधक
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चुरोट कम्पनी ‘चीन नेशनल टोबाको कर्पोरेसन’ ‘चीन टोबाको’ लाई मानिन्छ, जसको बारेमा सायदै मानिसले सुनेका होलान् । चीन टोबाकोले चीनको चुरोट उत्पादन र बिक्रीमा लगभग एकाधिकार राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला चार वर्षदेखि चीनमा खुद्रा चुरोट बिक्री बढ्दै गइरहेको र सन् २०२३ मा २.४४ ट्रिलियन चुरोट खिल्ली बिक्री भएको जनाइएकाे छ । २०२८ सम्ममा २.४८ ट्रिलियन खिल्ली चुराेट बिक्री हुने अनुमान युरोमोनिटरले गरेको छ । युरोमोनिटरले स्लिम चुरोटको लोकप्रियता बढ्दै गएको पनि उल्लेख गरेकाे छ, जसलाई धेरैजसो ‘कम टार’ भएको भनेर प्रचारप्रसार गरिन्छ । साथै विभिन्न प्रकारका स्वादयुक्त चुरोटहरू पनि बढिरहेको देखिन्छ । चीन टोबाकोले प्रवर्द्धन गरेका यी प्रवृत्तिले विश्वव्यापी रूपमा चुरोट बिक्री घटिरहेको समय चीनको धूम्रपान बजारलाई भने सुदृढ बनाएको हाे । २०१९ देखि २०२३ सम्ममा विश्वभरमा वार्षिक चुरोट बिक्री लगभग २.७ % घटेर ५.१८ ट्रिलियनमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार चीनमा ३० करोडभन्दा बढीले धूम्रपान गर्छन्, जसले विश्वका कुल धूम्रपानकर्ताको लगभग एक-तिहाई हिस्सा ओगटेका छन् । यद्यपि बेइजिङले धूम्रपान दर घटाउन प्रतिबद्धता जनाएको भए पनि यसले चुरोट बिक्रीमा खासै प्रभाव पारेको छैन । चीनको स्टेट टोबाको मोनोपोली एडमिनिस्ट्रेशन (एसटीएमए) ले २०२३ मा चीनको चुरोट उद्योगले १.५ ट्रिलियन युआन (२१० अर्ब अमेरिकी डलर) को राजस्व आर्जन गरेको बताएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३ % ले बढी हो । चीन टोबाकोले देशको टोबाको उत्पादन र बिक्रीमा ९७ % हिस्सा ओगटेको अनुमान छ । २०१९ मा चीन टोबाकोले २० देशमा आफ्नो पहुँच विस्तार गरेको थियो, जसमा बिक्री कार्यालय, उत्पादन कारखाना र विशेष चुरोट खरिद कम्पनीहरू समावेश थिए । २०२३ मा चीनको चुरोट निर्यातमा २२.२% ले वृद्धि भएको जनाइएकाे छ । विश्वको दोस्रो ठूलो टोबाको कम्पनी फिलिप मोरिस इन्टरनेशनलले २०२३ मा ३५.२ अर्ब अमेरिकी डलरको आम्दानी गरेकाे जनाइएकाे छ । चीन टोबाकोको अवस्थामा भने उद्योग र सरकारी नीतिबीच प्रत्यक्ष सम्बन्ध रहेको छ । कम्पनीको स्थापना १९८२ मा एक केन्द्रीय योजनाअन्तर्गत विशेष उद्देश्यका साथ गरिएको थियो । चीनको एसटीएमए देशको टोबाको नियन्त्रण नीतिको निर्धारणमा सिधै संलग्न छ । चीन टोबाको एक कम्पनी र नियामक निकाय दुवैको रूपमा काम गर्दै आएकाले यसले स्वार्थको द्वन्द्व सिर्जना गरिरहेको विज्ञहरू बताउँछन् । एक विज्ञका अनुसार चीन टोबाकोले यो आन्तरिक स्थितिकाे फाइदा उठाउँदै सरकारभित्र आफ्नो प्रभावलाई प्रभावकारी रूपमा प्रयोग गरी टोबाकाे नियन्त्रण नीतिको अपनाइमा अवरोध पुर्याइरहेको छ । २०१४ सम्म यो विशाल संस्थाले पाँच लाखभन्दा बढी कर्मचारी राखेको थियो र ३३ प्रान्तीय टोबाको निगरानी ब्यूरो, ५७ चुरोट उत्पादन गर्ने कम्पनी र एक हजारभन्दा बढी साना व्यवसायहरूलाई नियन्त्रण गरेको थियो । बाथ युनिभर्सिटीका अनुसार यो कम्पनीले चीनको कर राजस्वमा १२% सम्म योगदान गरिरहेको अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)
कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो १८औं वार्षिकोत्सव
काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्तिक २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमवाट कुल ३९३ पिन्ट रगत संकलन भएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनवाट बैंकको वुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसंचार केन्द्रकी निशा भण्डारीलाई व्लड व्याग हस्तान्तरण गरि समुद्घाटन गरेका थिए । बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीहरुमा प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदी, कानुन विभाग प्रमुख डण्डपानी भट्राई, जोखिम सम्पत्ती विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखहरु राजेश कुईकेल र यज्ञमुर्ति लुईटेल, सवारी चालक याम वहादुर श्रेष्ठलाई केएसविविएल आईकनको रुपमा समेत सम्मान गरेको छ । रक्तदान कार्यक्रम कोशी प्रदेशको ईटहरी शाखा, मधेस प्रदेशको वर्दिवास शाखा, नारायणगढ क्षेत्रको खुरखुरे शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, वुटवल क्षेत्रको वुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिरहरुको सरसफाई, डस्टविन हस्तान्तरण कार्यक्रम, अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप, वित्तीय साक्षरता मुलक पदयात्रा कार्यक्रमहरु आयोजना गरेको थियो ।
दोहोरो अंकले घट्यो सेयर बजार, ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । ११.२४ अंकले घटेर नेप्से परिसूचक २७४५.८१ बिन्दुमा झरेको छ । आज ८० कम्पनीको सेयर बढ्दा १५७ वटाको मूल्य घटेको छ । ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे । ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तिय संस्था र मेन्सीयाम हाइड्रो १० प्रतिशत तथा बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । गुणविल फाइनान्स ९.३६ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी ४.९१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ३.७१ प्रतिशत र हिमालयन बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले गिरावट आएको छ । कारोबार तर्फ गुणविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार २०६, फेस्ट फाइनान्स कम्पनीको २९ करोड २५ लाख ६९ हजार ४००, आँखुखोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख ४७ हजार ७७५ र जानकी फाइनान्स कम्पनीको २० करोड ५९ लाख ३ हजार ५०८ बराबरको सेयर किनबेच भएको छ ।
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरले गर्यो साढे ५ करोड सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पंकज रायले महानगरले उक्त कार्यका लागि पाँच करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए । उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।
दूरसञ्चार तालिम केन्द्र बाहिर धर्ना दिने जनशक्तिसँग टेलिकमको कुनै सरोकार छैन : नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले काठमाडौंस्थित बबरमहलमा रहेको दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्रकाे प्राङ्गण बाहिर केही व्यक्तिहरूले धर्ना दिइरहेको बारे ध्यानाकर्ण गराएकाे छ । कार्तिक १२ गतेदेखि केही व्यक्तिको समूहले धर्ना दिँदै आएकाले आमसर्वसाधारण तथा सञ्चारमाध्यममा यसबारे केही भ्रम पर्न गएकोले टेलिकमले ध्यानाकर्षण गराएकाे हाे । कम्पनीको सेवा विस्तार, मर्मतसम्भार, सुरक्षा, सरसफाइ लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसाेर्सिङकाे माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको टेलिकमले जनाएकाे छ । टेलिकमका अनुसार सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ । दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाइको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको टेलिकमले जनाएकाे छ । नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराएकाे भन्दै विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिएकाे हाे । कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जनासमेत गरेको टेलिकमले जनाएकाे छ । साथै टेलिकमले उक्त जनशक्तिसँग कुनै सरोकार नरहेको बेहोरा पनि स्पष्ट पारेकाे छ ।
फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार बिहान सानोभर्याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै मंगलबार हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।’