नागरिक लगानी कोषको नाफा १३.६२ प्रतिशत बढ्यो, ब्याजदर घट्दा कोषको आम्दानीमा असर
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कोषको नाफा १३.६२ प्रतिशत बढेको देखिन्छ । असोज मसान्तसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले ३२ करोड ९५ लाख रुपैयाँ सेवा शुल्क आम्दानी गरेको थियो । तीन महिनाको अवधिमा कोषको कुल आम्दानी १२.६० प्रतिशत बढेर ५१ करोड ७० लाख रुपैयाँ र कुल खर्च ९.१९ प्रतिशत बढेर ११ करोड ५७ लाख रुपैयाँ गरेको छ । यस अवधिमा कोषको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेर ११ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा कोषको ब्याज आम्दानीमा असर परेको देखिन्छ । कोषका अनुसार असोजसम्म बैंकको मुद्दती निक्षेपमा १ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँ लगानी छ । कोषको चुक्ता पुँजी १४ प्रतिशत बढेर ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ र जगेडा कोष २१.५६ प्रतिशत घटेर १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ रहेको छ । कोषको प्रतिसेयर आम्दानी ७ पैसा घटेर १९.८७ रुपैयाँमा झरेको छ । कोषको प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ ।
आज देशभर मौसम सफा रहने, यस्तो छ २४ घण्टाको पूर्वानुमान
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
अमेरिकी डलर रेकर्ड मूल्यमा स्थिर, अधिकांश देशको मुद्राको भाउ घट्यो
काठमाडौं । आज अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा स्थिर रहेको छ भने अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । आज युरोपियन यूरोको एकको खरिदर १४३.२२ रुपैयाँ र बिक्रीदर १४३.८५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८६ रुपैयाँ र बिक्रीदर १७३.६३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.९० रुपैयाँ र बिक्रीदर १५३.५८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१९ रुपैयाँ र बिक्रीदर ८८.५८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.५५ रुपैयाँ र बिक्रीदर ९६.९८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.७१ रुपैयाँ र बिक्रीदर १०१.१६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८७ रुपैयाँ र बिक्रीदर ३६.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१७ रुपैयाँ र बिक्रीदर ३०.५० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.५८ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.३५ रुपैयाँ र बिक्रीदर ४४०.३० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४६ रुपैयाँ र बिक्रीदर ३५९.०५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
मेची-महाकाली राष्ट्रिय उद्धार अभियानले गर्याे २३१ जनाको उद्धार
काठमाडौं । विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान-२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ । यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ । मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट १७३ जना पुरुष, ४९ जना महिला र ९ बालबालिकासहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । संस्था स्थापना भएको १२ वर्षमा पुरुष ६ हजार ६३७, महिला ४ हजार ८२ गरी १० हजार ७२२ जनाको उद्धार गरिएको छ । साथै २ हजार ३३६ पुरुष र १ हजार ८६५ महिला गरी कूल ४ हजार २०१ जनाको पारिवारिक पुनःमिलन गराएको उल्लेख गर्दै अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल १ हजार १२१ पुरुष र ७६९ महिला गरी कूल १ हजार ८९० जना आश्रित रहेको बताए । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनःमिलन गराउन सफल भएको छ । अभियानमा सात प्रदेशमध्येबाट कोशीबाट ४४ जना, मधेसबाट ४० जना, बागमतीबाट ५२ जना, गण्डकीबाट ३५, लुम्बिनीबाट ४९ जना, कर्णालीबाट ३ जना र सुदूरपश्चिमबाट ८ जनाको उद्धार गरिएको भन्दै उनले भक्तपर र ललितपुरमा अझै उद्धार जारी रहेको जनाए । अभियानलाई आगामी मङ्सिर २ सम्पन्न गरी ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको समापन गरिने बताउँदै उनले देशलाई सडक मानवमुक्त बनाउन जिल्ला र प्रदेश प्रदेशले घोषणा गर्न स्थानीय तह र प्रदेश सरकारले भूमिका निर्वाह गर्न आग्रह गरे । अध्यक्ष अधिकारीले भन्नुभयो, ‘विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ, काठमाडौं महानगरपालिकामै समस्या र चुनौती छ, काठमाडौँ महानगरबाट मात्रै तीन दिनमा ४० जनाको उद्धार गरेका छौँ, भक्तपरका चार वटै पालिका, प्रहरी र प्रशासन एवं सरोकाराला निकायले चासो दिँदै सहयोग गरेर सडक मानवमुक्त घोषणा गर्न आग्रह गर्दछौँ ।’ उद्धार अभियानका सहयोगकर्ता एवं गायिका आनिछोइङ डोल्माले अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको बताइन् ।
श्रमिकको शुल्क तोक्नेदेखि हवाई भाडा घटाउन माग, महिला कामदार पठाउन अनुमति दिनुपर्ने
काठमाडाैं । वैदेशिक रोजगार व्यवसायीहरुले विभिन्न ६ वटा माग राखेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न ६ वटा माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । संघले व्यवसायीको सेवा सुल्क र कामदारको लागत निर्धारण, मागपत्र प्रमाणीकरण, हवाई टिकटको घटाउनुपर्ने, जापान, इजरायल र कोरियाको रोजगारी, महिला कामदार पठाउन अनुमति प्रदान गर्ने र म्यानपावरले १०० संख्या कामदार अनिवार्य पठाउनु पर्ने विषयमा केही सुधार गर्नुपर्ने उल्लेख गरेको छ । सेवा शुल्क निर्धारण संघले वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि लागत शुल्क निर्धारण गर्नुपर्ने माग गरेको छ । हाल खाडीका केही मुलुक र मलेसियाका लागि फ्री भिसा फ्री टिकटको व्यवस्था रहेको छ । यसले गर्दा कामदार नै मर्कामा पर्ने गरेको संघको दाबी रहेको छ । संघका प्रथम उपध्याक्ष दिक बहादुर खत्रीले फ्रि भिसा फ्रि टिकटको प्रावधानले श्रमिक र राज्यलाई नै नोक्सान भएको बताए । उनले फ्रि भिसा फ्रि टिकटको प्रावधान ७ प्रतिशतमात्र कार्यन्वयन भएको दाबी गर्दै ९३ प्रतिशत श्रमिकले लाखौँ रकम तिर्न बाध्य भएको बताए । तसर्थ सेवा शुल्क तोक्नुपर्ने उनको भनाइ छ । म्यानपावर व्यवसायीले १० हजारको रसिद बनाएर लाखौँ रुपैयाँ लिने गरेको र सो रकम करको दायराभन्दा बाहिर भएकाले राज्यलाई पनि घाटा भएको उनको भनाइ छ । उनका अनुसार कुनै पनि श्रमिकलाई खाडी मुलुक वा मलेसिया जाँदा न्यूनतम एक महिनाको तलब ४५ हजार रुपैयाँ सेवा शुल्क लागु गर्नुपर्ने र यसो गर्दा श्रमिक र राज्य फाइदा पुग्नेछ । मागपत्र प्रमाणिकरणमा समस्या संघले मागपत्र प्रमाणिकरणमा समस्या भएको जनाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले यूरोपका विभिन्न देशबाट कामदारको माग आएको तर ति देशमा नेपालको राजदूतावास नभएकाले मागपत्र प्रमाणिकरण नभएको बताए । यस्तै दूतावास भएको देशहरु जर्मन र अष्ट्रियाले पनि विगत १८ महिनादेखि मागपत्र प्रमाणिकरण बन्द गरिदिँदा त्यस देशमा कामदारको माग भए पनि नेपाली कामदार जान पाएका छैनन् । उक्त देशमा संस्थागत रुपमा कामदार पठाउन नपाउँदा बिचौलिया र कन्सल्टेन्सी हावी भएको उनको दाबी छ । उनका अनुसार व्यक्तिगत श्रम स्वीकृत गर्न लगाएर कन्सल्टेन्सीले यूरोप लगायत जापान र कोरियासम्म कामदार पठाइरहेका छन् । यसले गर्दा म्यानपावर व्यवसायीहरु धरासायी बन्न पुगेको उनको भनाइ छ । हवाई टिकटको मूल्यवृद्धि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमीकहरुले अत्यन्त महँगो दरमा विदेश जाने हवाई टिकट खरिद गर्नु परेका कारण र हवाई कम्पनीहरुले दिनदिनै भाडा वृद्धि गरेकाे विषयमा संघले ध्यानाकर्षण गराएकाे छ । नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा दैनिक रुपमा १५ सय कामदार बैदेशिक रोजगारमा गएका कारण एयरलाइन्सहरुको व्यापार वृद्धि भएको भन्दै संघले कृतिम अभाव खडा गरी कालोबजारी गरेर अस्वभाबिक रुपमा टिकटको मुल्य बृद्धि गरिएको संघको भनाइ छ । टिकटमा सिण्डिकेट गर्ने र पर्यटक आउने मुख्य समयमा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तराेन्नतिकाे बाहानामा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउँदै हवाई कम्पनीहरुले समान्यत: ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुर्याएकाे संघकाे दाबी छ । यसले श्रमिकहरु वैदेशिक रोजगारीमा जान नपाउने भएकाले वैदेशिक रोजगारीको अवसर समेत गुम्ने र यसले बिदेशि मुद्राको सञ्चिति साथै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने अवगत संघको भनाइ छ । जापान, इजरायल र कोरिया रोजगारका सम्बन्धमा सरकारले जापान, इजरायल र कोरियामा कृषि, उद्योग, निर्माण लगायतका क्षेत्रमा इजाजतपत्रवाल संस्था मार्फत कामदार पठाउने गरि कार्यविधि २०८० बनाएको भए पनि सो कार्यविधि कार्यान्वयन नभएको भन्दै संघले असन्तुष्टि जनाएको छ । स्वीकृत भई कार्यान्वयनमा ढिलाई भएको हुँदा उक्त कार्यविधिहरु कार्यान्वय ल्याउन सरकार सहजकर्ता भएर इजाजतपत्रवाला व्यवसायीहरुले व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरी व्यवसाय गर्ने व्यवस्था गर्न संघले माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष जापानमा उच्च सीप भएका कामदार पठाउन कार्यविधि बनाएको थियो । कोरियामा ई-सेभेन भिसा म्यानपावर कम्पनीबाट पठाउने भन्दै कार्यविधि बनाएको थियो । तर, पछि सरकार परिवर्तन भयो । र मन्त्रालयको जिम्मेवारी डोल प्रसाद अर्यालले लिए । उनले पूर्वमन्त्री शरदसिंह भण्डारीले बनाएको कार्यविधि उल्ट्याए । गत साउनदेखि फेरि मन्त्रालयको नेतृत्वमा भण्डारी फर्किए । उनले ई-सेभेन भिसा सम्बन्धी कार्यविधि जारी गरे । उक्त कार्यविधिको कार्यान्वयन गर्नुपर्ने र जापानको पूर्व कार्यविधि पनि ब्युत्याउनु पर्ने उनीहरुको माग छ । महिला कामदार पठाउन अनुमति प्रदान गर्ने मलेसिया मुलुकबाट महिला कामदारको माग भएको हुँदा सरकारले आवश्यक अध्ययन गरि तत्कालै संस्थागत रुपमा महिला कामदार पठाउने व्यवस्था मिलाइदिन संघले माग गरेकाे छ। संघका अनुसार वैदेशिक रोजगार ऐन २०६४ बमोजिम ३ हजार पठाउने लक्ष्य राखेका कम्पनीलाई ५० लाख नगद र १ करोड ५० लाख रूपैयाँ बैंक ग्यारेन्टी, वार्षिक ३ हजारभन्दा बढी ५ हजार सम्म कामदार पठाउने लक्ष्य राखेका कम्पनीलाई १ करोड नगद र ३ करोड बैक ग्यारेन्टी गरि जम्मा ४ करोड र वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने लक्ष्य राखेका कम्पनीलाई २ करोड नगद र ४ करोड बैक ग्यारेन्टी गरि ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ । बाध्यकारी १०० काे सीमा हाल कुनै पनि म्यानपावर कम्पनीले वर्षमा १०० जना श्रमिकलाई विदेश पठाउन नसकेको खण्डमा सो म्यानपावरले कामदार पठाउन नपाउने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई खारेज गर्नुपर्ने माग संघको छ । उल्लेखित मागहरु पुरा नभए वैदेशिक रोजगार व्यवसाय धरासायी हुने संघको जिकीर छ । वार्षिक १४ खर्ब रेमिट्यान्स भित्र्याउन भूमिका खेलेको याे क्षेत्र धरासायी हुँदा राज्यलाई पनि त्यसको असर पर्ने उनीहरुको भनाइ छ ।
सिभिल सहकारीका १६ सय पीडितले सात अर्ब बचत मागे
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबार एक हजार ६०० पीडितले सात अर्ब रुपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए । सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो । सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो । समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन् । बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ । सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन् । तामाङले सहकारीबाट रु सात अर्ब ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताए । समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ । बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ ।
९२ ब्रोकर कम्पनीले नवीकरण गरे सदस्यता
काठमाडौं । २ धितोपत्र व्यापार (स्टक डिलर)सहित ९२ वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीले सदस्यता नवीकरण गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ वटा स्टक डिलर र ९० वटा ब्रोकर कम्पनीको सदस्यता नवीकरण गरेको जनाएको छ । नेप्सेले चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टक डिलर र ब्रोकर कम्पनीको सदस्यता नवीकरण गरेको जनाएको छ । धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार (खरिद र बिक्री) गर्न नेप्सेबाट २०८१ असोज मसान्तसम्म स्टक डिलर र ब्रोकर कम्पनीले सदस्यता नवीकरण गरेका हुन् । नेप्सेका अनुसार धितोपत्र व्यापारी (स्टक डिलर) संस्था नागरिक स्टक डिलर कम्पनी र नबिल स्टक डिलरले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । यस्तै, समित कार्य गर्ने ब्रोकर ८८ वटा र पूर्ण कार्य गर्ने ब्रोकर २ वटा रहेका छन् ।[pdf id=522208]
कुलमान आफ्नो निर्णयबाट ‘ब्याक’, उद्योगमा काटिएका लाइन जोड्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्डको बैठकले बिजुलीको लाइन काट्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको थियाे । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई सो निर्णय गरेर निर्देशन दिने निर्णय गरेको थियाे । बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगमा यसअघि नेपाल विद्युत प्राधिकरणले काटिदिएको बिजुली लाइन जोड्न निर्देशन दिने निर्णय पनि गरेको थियाे । तर, प्राधिकरणले आज मात्रै बैठक बसेर लाइन जोड्ने निर्णय गरेको हो । यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८ कात्तिकमा बक्यौता विवाद रहेका उद्योगहरूको लाइन काटिदिएका थिए ।