विकासन्युज

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो । दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२÷२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ । साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘एक्सेल एण्ड इलिभेटु भन्ने नाराका साथ तीन दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गदै अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । उनले देशै भरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेका थिए । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।

पूर्वी नाकाबाट ५ अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए । गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् । पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको भेनियर पत्ती र  पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट १४ करोड ७१ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको भेनियर पत्ती र नौ करोड ९३ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ । नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् । भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् । प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन् । काँकडभिट्टा, विराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ । बिगतमा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उनको भनाइ छ । नेपाल भेनियर उत्पादक सङ्घका सचिव सञ्जीव बर्मा विदेशी मुद्रा भित्र्याउने र राजस्व अभिवृद्धिमा योगदान पु¥याउने भेनियर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनुपर्ने बताउँछन् । हाल भेनियर पत्ती भारत निकासी गर्दा प्रति केजी रु छका दरले भन्सार महसुल बुझाउनुपरेको उनले बताए । जबकि, सरकारले प्लाईबोर्डको भारत निकासीमा शून्य भन्सार महसुल कायम गरेको छ । नेपाल भेनियर उत्पादक सङ्घले भेनियर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पटकपटक माग गरिरहे पनि सुनुवाइ नभएको बर्माले गुनासो गरे । रासस

प्रधानमन्त्री ओली जुम्ला जादै

काठमाडौं । प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्लातर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ ।

युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ, सञ्चित नाफा ५ अर्ब २८ करोड पुग्यो

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४.६३ प्रतिशत घटेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कस्ट अफ मेट्रियल कन्जम्ड १ अर्ब २ करोड ५१ लाख रुपैयाँ, कर्मचारी खर्च १७ करोड ७७ लाख रुपैयाँ, वित्तीय खर्च ९० लाख रुपैयाँ गरी कुल खर्च १ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको कुल खर्च १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ थियो । गत वर्षको तीन महिनामा १२ करोड ८ लाख रुपैयाँ कर खर्च छट्याएको कम्पनीले यसपटक ११ करोड ६८ लाख रुपैयाँ छट्याएको छ । ९ करोड २१ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चित नाफा ४ अर्ब ८२ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५७२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २५० गुणा छ भने प्रतिसेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ रुहेको छ ।

चिसोका कारण गोठाला बेँसी झरे, बुकीपाटन सुनसान

ढोरपाटन (बागलुङ) । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताइन् । बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उनको भनाइ छ । ‘लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो,’ उनले भनिन् । समुन्द्री सतहदेखि २ हजार ९ सयदेखि ४ हजार ५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् । ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताए । ‘बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हेर्यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ,’ उनले भने । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् ।

सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

मर्जरका लागि जोडी खोज्दै प्राइम बैंक, सञ्चालकको भत्ता बढाउने

काठमाडौं । प्राइम कमर्सियल बैंकले सञ्चालकहरूको भत्ता तथा सुविधा वृद्धि गर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले मंसिर १९ गते आर्मि अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण गर्न रन्जिव एण्ड एसोसियट्स, चाटर्ड एकाउन्टेण्टसलाई पूनः नियुक्त गर्ने र पारिश्रमीक तोक्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।